Nepal's No. 1 Digital Newspaper

सुन–चाँदी बैंकमा राखेर ब्याज खान पाइएला ?

२४ जेठ, काठमाडौं । सर्वसाधरणले सुन र चाँदीजस्ता बहुमूल्य धातु निक्षेपका रुपमा बैंकमा राख्न पाइने नयाँ अवधारणा सरकारले अघि सारेको छ । बजेट भाषणको २३८ औं बुँदामा भनिएको छ, ‘नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदी लगायत बहूमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइनेछ ।’

लकर सुविधा भन्दै सर्वसाधरणको बहुमूल्य गरगहना बैंकमा राखेर निश्चित शुल्क लिएर गरेका बैंकहरु के अब उल्टै ब्याज तिर्न तयार होलान् ? बैंकरहरु यस विषयमा अहिले बोल्न चाहँदैनन् ।

Order Now: 98510-87891

एक बैंकरले भने, ‘कार्यविधि नआई अहिले नै यसमा केही भन्न सकिन्न ।’

यो व्यवस्थालाई नेपाल राष्ट्र बैंकले परम्परागत बैंकिङ प्रणालीबाट फड्को मारेर नेपाल आधुनिक प्रणालीमा प्रवेश गरेको रुपमा व्याख्या गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार मौद्रिक नीतिले बजेटको यो व्यवस्थालाई सम्बोधन गरेपछि कार्यविधि आउने छ ।

ढिलोमा करिब ३ महिनासम्ममा यो सुविधा व्यवहारिक रुपमा प्रयोगमा आउन सक्ने उनले बताए । अन्तर्राष्ट्रिय अभ्यासलाई मानेर कार्यविधिको तयारी केन्द्रीय बैंकले थालेको प्रवक्ता निरौलाले जानकारी दिए ।

यस्तो निक्षेप छोटो अवधिको लागि भने राख्न सकिने छैन । राष्ट्र बैंकका अनुसार कम्तीमा एक वर्षदेखि पाँच बर्षभन्दा बढी अवधिका लागि यस्तो निक्षेप योजना बैंकहरुले सञ्चालन गर्न सक्नेछन् ।

स्किममा ब्याजदर पनि वार्षिक रुपमा तोकिने र ५ प्रतिशतभन्दा न्युन ब्याजदर निक्षेप योजनामा रहने राष्ट्र बैंकको अनुमान छ । बहुमू्ल्य गहना निक्षेप राखेका ग्राहकले निश्चित अवधिपछि सुन अथवा प्रचलित बजार मूल्य बराबरको रकम के लिने भन्ने निधो गर्न आपसी समझदारी गर्न सक्ने निरौलाले बताए ।

गहनालाई निक्षेपको रुपमा कसरी राख्ने ?

बहूमूल्य गहना भन्नाले सुन, चाँदी र अन्य तोकिएका धातु पर्छन् । हिरा यो स्कीममा समेटिँदैन । केन्द्रीय बैंकको कार्यविधिपछि निश्चित ब्याजदर तथा सर्तसहित सर्वसाधारणको सुन/चाँदी निक्षेपका रुपमा राख्न बैंकहरुले सार्वजनिक आह्वान गर्नेछन् ।

सामान्यतया यस्तो सुविधामा नियमित प्रयोगमा आउने औंठी, सिक्री, पाउजु, तिलहरी लगायत र प्रयोगमा नआउने सुन/चाँँदीका बिस्कुटहरु राख्न प्रोत्साहन गरिनेछ । तत्कालिन बजारभाउ अनुसार बैंकले ग्राहकसँग सुन लिन्छ । उक्त सुनको जर्ति कटाएर निक्षेपको रुपमा बैकमा जम्मा गरिन्छ । निक्षेप समय अवधि सकिएपछि ग्राहकले समझदारी अनुसार सुन वा पैसा लिन सक्छन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले बजेटको परिकल्पना पुरा गर्न कार्यविधि बनिनसकेकाले यस विषयमा बिस्तृत कुरा अहिले नै भन्न नसकिने बताए । सीईओ श्रेष्ठको बुझाइमा बजेटले सुन र चाँँदी भने पनि त्यो दैनिक प्रयोगमा आउने खालको हो वा अन्य भन्ने प्रष्ट भएको छैन । करिब एक सातमा कार्यविधिको विस्तृत खाका बन्ने र यसले मोडालिटी टुंग्याउने सिईओ श्रेष्ठको भनाई छ ।

उद्यमशीलता विकासको लक्ष्य

संस्कृति–परम्परा अनुसार नेपालीले सुन जोड्ने क्रम तिब्र भएपछि यसले व्यापार घाटालाई थप मलजल गरिरहेको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि निक्षेपको योजना ल्याइएको अर्थमन्त्रालयका अधिकारी बताउँछन् ।

‘घरमा थन्क्याएर राख्ने गहनाबाट अर्थतन्त्र चलायमान हुँदैन,’ प्रवक्ता खत्री भन्छन्, ‘गरगहनाबाट कर्जा लिएर नयाँ उद्यमशिलता विकास गर्न सहज होस भन्नका लागि पनि यो योजना घोषणा गरिएको हो ।’ खिईने तथा घरमा निस्कृय रहने सुनबाट गृहणीहरु, मन्दीर तथा गुठीलाई थप आर्जनको बाटो खुल्ने अर्थमन्त्रालयको विश्वास छ ।

अन्योलमा व्यावसायी

नेपाल सुन–चाँदी व्यवसायी महासंघका महासचिव मर्धसुन्दर बज्राचार्य बजेटको उक्त घोषणाबाट आफूहरु अन्यौलमा परेको बताउँछन् । बजेटमा हुने यस किसिमको व्यवस्थाबारे आफूहरुसँग पहिले कुनै छलफल तथा अध्ययन नै नभएको उनको भनाइ छ ।

महासचिव बज्राचार्यका अनुसार नेपालको कानुन अनुसार कुनै पनि नेपालीले घरमा ढिक्का सुन तथा चाँदी राख्न पाउँदैन । ‘कसैसँग छ भने पनि त्यो गैह्रकानुनी हुन्छ, निक्षेप राख्ने त परको कुरा,’ उनले भने, ‘सरकारले गहनालाई भनेको हो भने यो दैनिक प्रयोगमा आउने कुरा हो । मानिसहरु निक्षेप योजनामा कसरी आर्किषित होलान् ?’

निक्षेप राख्नकै लागि गहना मासेर यसलाई कच्चा सुन बनाउन पनि महिलाहरु तयार नहुने उनको भनाई छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.