Nepal's No. 1 Digital Newspaper

सरकारी स्कुल होस् त रझेना मावि जस्तो

१९ जेठ, दाङ । विद्यार्थीलाई स्वीमिङ पुल, अंग्रेजी माध्यमबाट पढाई, मन्टेश्वरी शिक्षा, अत्याधुनिक ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षा कोठा र विद्यालय परिसर सिसी टिभी क्यामेराबाट निगरानी, विद्यार्थी आवतवत गर्ने बसको व्यवस्था… । यी सबै कुनै काठमाडौंको सुविधा सम्पन्न निजी स्कुलको कुरा होइन । यो त दाङ जिल्लाको सरकारी स्कुल रझेना माविको हो । जुन दाङको उदाहरणीय सरकारी स्कुल हो ।

घोराही बजारबाट थोरै उत्तरतिर खोला किनारमा छ रझेना मावि । यसको प्रगति देख्नेहरु सबैले भन्ने गर्छन्- सरकारी स्कुल पनि यस्तो हुँदो रहेछ Û हो, रझेना मावि भौतिक पूर्वाधार, यहाँ पढाइ हुने विषय र उत्कृष्ट नतिजाको कारण अब्बल छ ।

Order Now: 98510-87891

विद्यार्थीको चाप बढेर अब भर्ना लिँदैनौं, पुग्यो भनेर फर्काउनु परेको छ । ‘विद्यार्थी बढी हुन थालेपछि यो वर्ष पनि निश्चित कोटामा मात्रै भर्ना खोलिएको थियो,’ प्राचार्य उद्धव न्यौपानेले भने ।

रझेना माविमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थी भर्ना गर्नेहरुको लहर नै चलेको छ ।

जिल्लाका चलेका भनिएका बोर्डिङ स्कुलमा पढाइ हुने पाठ्यपुस्तक यहीँ पढाइ हुन्छ । सोही पाठ्यपुस्तकअनुसार दक्ष जनशक्तिको पनि व्यवस्था गरिएको छ । यसले विद्यार्थी र अभिभावकलाई आकर्षण मात्रै गरेको छैन, नतिजामा पनि सुधार आउन थालेको छ । त्यसैले यो वर्षदेखि घोराही उपमहानगरले शुरु गरेको कक्षा ८ को नगरस्तरीय परीक्षामा रझेना माविले ९८ विद्यालयहरुमध्ये दोस्रो स्थान हासिल गर्‍यो ।

अहिले प्राविधिक कक्षासहित १ हजार ५ सय विद्यार्थीले यो विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यार्थी ओसार्न दुईवटा बसको व्यवस्था गरिएको छ । सरकारी भए पनि रझेना माविले निजी विद्यालयले अवलम्बन गर्दै आएको कतिपय नियम लागु गरेको छ । अरु सरकारी स्कुलमा शुक्रबार हाफ छुट्टी हुन्छ, तर यहाँ हुँदैन । हप्ताको सातै दिन दिनभरि नै पढाइ हुन्छ ।

अतिरिक्त क्रियाकलापमा नियमित कार्यक्रमबाहेक स्वीमिङ, ट्रेकिङलगायतका कार्यक्रम पनि थपिएको छ । विद्यालयमा स्वीमिङ पुल निर्माणाधीन छ । तत्कालको लागि भने घोराहीको कुनै एक होटलको स्वीमिङ पुलमा लगेर विद्यार्थीहरुलाई अभ्यास गराउने गरिएको छ । स्वीमिङ पुल र साना बालबालिकाका लागि इन्डोर खेल मैदान निर्माणको काम भइरहेको शिक्षिका विमला भट्टराई बताउँछिन् ।

विद्यालयलाई नमूना बनाउन ब्यवस्थित पुस्तकालय, ल्याब, छुट्टै परीक्षा शाखा, विद्यालयको आफ्नै क्यान्टिन, स्वच्छ खानेपानी, सिसीटिभी आदिको ब्यवस्था गरिएको छ ।

कतिपय विद्यालयलाई शिक्षक तथा कर्मचारीहरुलाई तलब खुवाउन पनि हम्मेहम्मे पर्छ तर, रझेना माविमा ६५ जना शिक्षक/कर्मचारी कार्यरत छन् । शिक्षक छनोट गर्दा पनि स्वस्थ प्रतिस्पर्धाका आधारमा गरिएको प्राचार्य न्यौपाने बताउँछन् । ‘यहाँ सोर्स फोर्स, भनसुन केही लाग्दैन । परीक्षामा जो अब्बल देखिन्छ, त्यसैलाई छनौट गर्ने गरेका छौं,’ उनले भने ।

बालबालिकाहरुका लागि मन्टेश्वरी कक्षादेखि प्राविधिकतर्फ सिभिल सब-इञ्जिनियरिङ र राजधानी बाहिर कमैमात्र पढाइ हुने सर्भेक्षकको पनि पढाइ पनि रझेना माविमा हुन्छ ।

आगामी शैक्षित्र सत्रदेखि कक्षा ११ र १२ मा कानून बिषय पनि पढाउने तयारी छ । त्यसका लागि घोराही उपमहानगरपालिकासँग अनुमति मागिएको छ ।

उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा प्राविधिक शिक्षा पढाइ हुने अलग्गै भवन बनाउने योजना छ । उपमहानगरपालिकाले हालको विद्यालय भवनको पछाडिपट्टी कटुवा खोला किनारको जग्गा दिएको छ ।

जीवनले दिए पुनर्जीवन

रझेना स्कुल २०१४ सालमा स्थापना भएको थियो । २०३७ साल अगाडिसम्म त्यहाँ निमाविसम्म मात्र पढाइ हुन्थ्यो । २०३८ सालदेखि प्रावि कक्षा पनि सुरु गरियो ।

२०४५ सालबाट माविको पढाइ सुरु भयो । २०४८ सम्म विद्यालय राम्रै चलिरहेको थियो । जिल्लाका प्रतिष्ठित व्यक्तिदेखि सरकारका उच्च अधिकारीहरुले पनि आफ्ना छोराछोरी त्यहीँ पढाउँथे । तर, २०४८ पछि विद्यालय ओरालो लाग्न थाल्यो । अवस्था यस्तोसम्म भयो कि विद्यार्थी नै नहोलान् कि जस्तो । यसको कारण थियो राजनीतिक खिचातानी ।

जीवन गौतम

दुई वर्ष अगाडिसम्म व्यवस्थापन समितिको अध्यक्ष चुनावबाट चुनिन्थ्यो । हार्ने पक्ष विद्यालयप्रति नकारात्मक बनिदिनाले समस्या हुन्थ्यो । तर अहिले स्थिति फेरिएको छ । रझेना माविले पुनर्जीवन पाएको छ ।

आजभन्दा करिब दुई वर्ष अगाडि व्यवस्थापन समिति गठन गर्ने बेला अध्यक्ष बन्न कसैले मानेनन् । नमान्नुको कारण थियो विद्यालयको खस्किदो स्तर ।

स्थानीयबासीले भरत अर्याल (हाल घोराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष) लाई अध्यक्ष बन्न प्रस्ताव गरे । तर अर्यालले मानेनन् । अर्यालले मात्र होइन, अरु कोही पनि अध्यक्ष बन्न तयार भएनन् ।

त्यसपछि रझेनाका जीवन गौतम अघि सरे । उनको प्रस्ताव थियो चुनावबाट होइन, सहमतिबाट विद्यालय व्यवस्थापन समिति चयन गर्ने ।

त्यति बेलाको अवस्था सम्झिँदै जीवन भन्छन्, ‘व्यवस्थापन समितिको अध्यक्ष पद फालाफाल भयो । मैले पनि सुरुमा त अध्यक्ष हुन्न भनेको थिएँ । तर, कसैले पनि नमानेपछि म आफैं अध्यक्ष बनें ।’

जीवनकै प्रस्तावमा सहमतिमा व्यवस्थापन समिति चुनियो । यसो गर्नुको कारण थियो- चुनावमा हारेको व्यक्ति विद्यालयप्रति नकारात्मक बनिदिने । त्यही भएर उनले बहुमतीय नभई सहमतीय प्रणालीबाट व्यवस्थापन समिति छनोटको उपाय लगाएका थिए । यो कुरा थियो २०७४ साल माघ महिनाको । त्यसयता साढे २ वर्षको अवधिमै रझेना मावि कायापलटको दिशामा अग्रसर छ ।

जीवन त्यही स्कुलको छात्र थिए । १ र २ कक्षा बालविकासमा पढे । ३ कक्षादेखि निमाविसम्म रझेना माविमा पढे । त्यसपछि राम्रो स्कुल रोज्दै भरतपुर माविमा पढेका थिए । आफूले जेजस्तो शिक्षा लिए पनि गाउँकै स्कुलको स्तर उकास्ने र नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिलाउने अठोट लिएर काम सुरु गरे उनले ।

सुरुवात आफैंबाट

भनिन्छ संसार बदल्नु छ भने त्यसको सुरुवात आफैंबाट गर्नुपर्छ । जीवनले पनि त्यस्तै गरे । सरकारी स्कुलको गुणस्तर उकास्न मन्टेश्वरी शिक्षाबाट सुरुवात गर्नुपर्ने धारणा राख्ने जीवनले रझेना माविमा पनि त्यस्तै गरे । रझेनामा मन्टेश्वरी कक्षा सुरु गरेर सबैभन्दा पहिले आफ्नो कान्छी छोरीलाई भर्ना गरे ।

त्यसपछि उनले बोर्डिङ स्कुलमा पढिरहेकी जेठी छोरीलाई पनि आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको रझेना माविमा भर्ना गरे । ‘माउन्टभ्यू बोर्डिङ स्कूलमा ३ कक्षा पास गरेर ४ कक्षामा पुगेकी मेरी जेठी छोरीलाई निकालेर मैले रझेना माविमा भर्ना गरिदिएँ,’ उनले भने ।

मन्टेश्वरी शिक्षा, अंग्रेजी माध्यमबाट पढाई र प्राविधिक शिक्षाका कारण अहिले रझेना मावि धेरै विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । रझेना माविले अहिले पुनर्जीवन पाएको छ र जिल्लाका चल्तीका बोर्डिङ स्कुललाई टक्कर दिन थालेको छ ।

‘आफ्ना छोराछोरी २ वर्ष पूरा हुनेबित्तिकै मन्टेश्वरीमा भर्ना गर्न चाहन्छन् भन्ने अभिभावकको मानसिकता बुझेर नै मैले मन्टेश्वरी कक्षा सुरु गरें र त्यसको सुरुवात मेरै छोरी भर्ना गरेर गरेँ,’ जीवनले भने, ‘माघ महिनामा सरस्वती पूजाको दिनदेखि प्लेग्रुप सुरु गरेका थियौं । अभिभावकको आकर्षण यति धेरै बढ्यो कि हामीले बैशाख महिनादेखि नै एलकेजी र युकेजी पनि सुरु गर्‍यौं ।’

यो बोर्डिङ स्कुलहरुसँग रझेना माविको प्रतिस्पर्धाको सुरुवात थियो । किनभने स्कुल वरिपरिका रझेना र मसिना लगायतका गाउँबाट घोराहीका बोर्डिङ स्कुलले विद्यार्थीहरु ओसार्थे । अहिलेका बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न नसक्ने हो भने विद्यालय बन्द हुने अवस्थामा पुग्न सक्थ्यो । त्यसैले मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमबाट पढाइको विकल्प थिएन ।

मन्टेश्वरी कक्षा त हुनेखाने अभिभावकका बच्चाहरुका निम्ति थियो । तर, मासिक १८ सय शुल्क तिर्न नसक्ने अभिभावकहरु पनि गाउँमा छन् । उनीहरु पनि आफ्ना बालबच्चाले मन्टेश्वरी शिक्षा पाउन् भन्ने चाहन्छन् । त्यस्ता अभिभावकका बच्चालाई पनि विद्यालय भर्ना गराउन ‘१ सय रुपैयाँमा मन्टेश्वरी’ नारासहित अभियान सुरु गरियो ।

‘निम्न वर्गलाई लक्षित गरेर हामीले १ सय रुपैयाँमा मन्टेश्वरी नारा दिएर सस्तो शुल्कमा मन्टेश्वरीमा पढाउन सुरु गर्‍यौं । यसरी १ सय रुपैयाँमा मन्टेश्वरी नाराबाट अहिले हाम्रो पि्रस्कुलमा साढे २ सय बच्चाहरु पढिरहेका छन् ।’ निम्न वर्गका बालबालिकालाई १ सय रुपैयाँ शुल्क लिएर पढाउन सुरु गरिए पनि यसै वर्षदेखि मासिक २ सय रुपैयाँ शुल्क लिन थालिएको जीवनले बताए ।

विद्यार्थीको चाप बढेपछि कक्षा कोठाको अभाव भयो । त्यहाँ पढ्न आउनेहरु हुनेखानेका पनि होइनन् । उनीहरु महंगो खर्चमा अरु स्कुलमा पढ्न सक्दैनन् । त्यसैले जति विद्यार्थी आए पनि भर्ना लिने र र बरु पुरानै कक्षा कोठालाई पार्टेसन गरेर थप कोठा निकालेर पढाउने गरिएको छ ।

केही वर्षपछि घोराही उपहानगरपालिकाले दिएको जग्गामा प्राविधिक शिक्षा पढाइ हुने छुट्टै कक्षा सञ्चालन गर्ने योजना बनाइएको प्राचार्य उद्धव न्यौपाने बताउँछन् ।

अहिले रझेना माविमा निजी स्रोतबाट मात्रै तलब सुविधा खाने करिब २० जना शिक्षक तथा कर्मचारी छन् । यति धेरै खर्च कसरी पुग्छ ? स्कुलको आम्दानीको स्रोत के हो ? जीवन भन्छन्, ‘हाम्रो आम्दानीको मुख्य स्रोत भनेको सिटिईभिटीको प्राविधिक विषय सिभिल इन्जिनियरिङ र सर्भे इन्जिनियरिङको पढाइ हो । सरकारले दिने मसलन्द खर्च भनेर वार्षिक दिने एक लाख रुपैयाँले छ त हामीलाई चक डस्टर किन्न पनि पुग्दैन ।’

शिक्षक भर्नामा कडा मापदण्ड

मन्टेश्वरी कक्षा सुरु गरेपछि सुरुमा विद्यालयकै केही शिक्षकलाई मन्टेश्वरीको तालिम दिलाइएको थियो । विद्यार्थीको चाप बढेपछि थप शिक्षक आवश्यकता महसुस भएपछि नयाँ शिक्षक भर्ना गरियो । गत वर्षदेखि नै अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिएपछि अंग्रेजी माध्यमबाट पढाउन सक्ने शिक्षकहरु पनि निजी स्रोतबाट तलब खुवाउने गरी नियुक्त गरियो ।

रझेना स्कुलले शिक्षक छनोट गर्दा कडा मापदण्ड अपनाउने गरेको छ । निजी स्रोतमा शिक्षक भर्ना गर्ने बेलामा शिक्षक सेवा आयोगको भन्दा पनि कडा मापदण्डमा प्रतिस्पर्धा गराएर शिक्षक छनोट गर्ने गरिएको जीवन बताउँछन् । ‘शिक्षक सेवा आयोगले लिने परीक्षाको पास मार्क ४० हो, रझेना स्कुलको पास मार्क चाहिँ ५० हो,’ जीवनले भने, ‘कम्तीमा ५० नम्बर नल्याएकालाई प्रतिस्पर्धामै नगराउने नियम कारण दुई वटा विज्ञापन त खेर नै गए । कुनै पनि शिक्षकले पास मार्क ५० ल्याउनै सकेनन् ।’

दबाव र प्रभावबाट मुक्त

सुरुसुरुमा आफ्ना मान्छे शिक्षकको रुपमा भर्ना गरिदिनको लागि दबाव आयो । तर, विद्यालयले त्यसलाई बेवास्ता गर्‍यो र प्रतिस्पर्धाबाट मात्र दक्ष शिक्षक छनोट थाल्यो ।

‘इष्टमित्र, साथीभाइ, पार्टीका मान्छेबाट दबाव आयो । तर म त्यो दबावबाट गलिनँ,’ जीवनले भने, ‘विद्यालयको परिसरभित्र छिरिसकेपछि मेरो दिमागमा राजनीति हुँदैन । म शुद्ध विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँ । अभिभावक र एउटा स्कुललाई बनाउनुपर्छ भन्ने अभियन्ताको रुपमा मात्र आफूलाई प्रस्तुत गर्छु ।’

शिक्षक छनोटको बेला उनीसँग एक रोचक अनुभव पनि छ । एक जना प्रतिष्ठित नेताले शिक्षक नियुक्त गरिदिन दबाव दिए । तर, जीवनले पुरानै उत्तर दोहोर्‍याए- भनसुनको आधारमा हुँदैन । प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैलाई नियुक्त गरिन्छ । ती नेताले भनेका व्यक्ति छनौट प्रक्रियामा फेल भए । त्यसपछि ‘जीवनले मेरो मान्छे राखिदिएन’ भनेर बोलचाल नै बन्द भयो ।

प्रतिस्पर्धाबाट छानिएका शिक्षकहरुलाई काठमाडौंबाट प्रशिक्षक झिकाएर तालिम दिने र बेलाबेलामा काठमाडौंमै पठाएर पनि तालिम दिलाउने गरेको जीवन बताउँछन् । ‘बूढानीलकण्ठ स्कुलका अंग्रेजी र नेपाली शिक्षकहरु दाङमै आएर तीन पटकसम्म तालिम दिनुभयो । यस वर्ष चाहिँ शिक्षकहरुलाई तालिम लिन काठमाडौंमा पठाइयो,’ जीवनले भने ।

काठमाडौंको पाठशाला स्कुलले हरेक वर्ष नयाँ शैक्षिक सत्र हुने बेलामा आफ्ना शिक्षकहरुका लागि चलाउने १० दिनको वर्कसपमा रझेना स्कुलका शिक्षकहरुलाई पनि सहभागी गराइएको थियो । यस्ता तालिमबाट शिक्षकहरुको मनोबल पनि बढ्ने र विद्यालयको नतिजामा पनि सुधार आउने गरेको जीवनको अनुभव छ । त्यसकारण सरकारी स्कुललाई सुधार्ने हो भने पहिले प्रि-स्कुल चलाउनुपर्ने उनको सुझाव छ । त्यसले सरकारी स्कुलमा अभिभावक र विद्यार्थीको आकर्षण बढाउँछ । विद्यार्थीको आकर्षण बढेसँगै शिक्षाको गुणस्तर पनि सुधार्दै लैजानुपर्ने उनको धारणा छ ।

उनी भन्छन्, ‘स्कुलमा राजनीति बन्द गरौं, समुदायको मन जितौं । र अर्को महत्वपूर्ण कुरा भनेको शिक्षक छनोट गर्ने बेलामा शिक्षक नै छानौं, न कि नातागोता ।’

आलोचना

जीवन गौतम रझेनाकै स्थायी बासिन्दा हुन् । उनी तत्कालीन माओवादी केन्द्रको दाङ जिल्ला इञ्चार्जसमेत थिए । माओवादी केन्द्रको दाङ जिल्ला इञ्चार्ज रहेकै बेला उनी घोराही उपहानगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए, तर उनी तेस्रो भए ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्य रहेका उनी हाल शिक्षामन्त्री गरिराजमणि पोखरेलको सल्लाहकार छन् ।

व्यवस्थापन समितिको अध्यक्ष बनेपछि गौतमले आफ्नै पारिवारमा पनि एकै वर्ष दुईवटा जोखिमपूर्ण निर्णय लिए । २०७४ माघ ८ गते कान्छी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर मन्टेश्वरी कक्षाको सुरुवात गरेका उनले २०७५ को नयाँ शैक्षिक सत्र सुरु भएपछि घोराहीको एक निजी विद्यालयबाट जेठी छोरीलाई पनि निकालेर आफू अध्यक्ष रहेको सामुदायिक विद्यालयमा भर्ना गरे ।

यो निर्णयसँगै उनले धेरै व्यक्तिका प्रश्नका सामना पनि गर्नुपर्‍यो । यति धेरै पहुँच भएको व्यक्तिले राजधानीका चलेका बोर्डिङ स्कुलमा छोरी भर्ना गर्नुको साटो चलेको निजी विद्यालयबाट पनि निकालेर किन सरकारीमा भर्ना गरेको भनेर धेरैले प्रश्न गरे उनलाई । गौतम भन्छन्, ‘यी प्रश्नको जवाफ दिने सामर्थ्य भएरै मेरा छोरीहरु सामुदायिक विद्यालयमा राखेको छु, जवाफमात्र होइन, म सन्देश दिन चाहन्छु कि आजको युगका नेताहरुले शुरु आफैंबाट गर्नुपर्छ र जहाँ पाइला टेक्यो, त्यहाँ परिवर्तन गरेर देखाउनु पर्छ ।’

राजनीतिक पहुँचमा हुँदा त्यसलाई समुदायको हितमा प्रयोग गर्नुपर्छ भनेर पनि आफूले आफ्नो समुदायमा रहेको विद्यालय र जिल्लाका विद्यालयहरुमा केही गर्न खोजेको उनको भनाइ छ ।

उनले शिक्षामन्त्रीको सल्लाहकार भएपछि दाङमा सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय स्थापना गरे भने तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने गरी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने नीतिगत निर्णय गराए । त्यसो त उनले दाङमा २३ वटा विद्यालयमा प्राविधिक शिक्षा र तीन वटा तहका माविमा प्राविधिक धारको स्थापना पनि गरेका छन् । उनले आफूले दाङलाई शैक्षिक हब बनाउन चाहेको र मावि रझेना त्यसकै अंग बन्ने विश्वास गरे ।

त्यसो त दाङको घोराही उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने श्रेय पनि उनैलाई जान्छ । त्यसैले उनका आलोचकहरुले सबै अवसर दाङ र त्यो पनि घोराही क्षेत्रमै लैजान्छ भन्ने आरोप लगाउने गर्छन् । तर, यस्ता आलोचनामा उनको फरक तर्क छ । उनी भन्छन्, ‘हो म पहुँचमा भएको बेला आफ्नो ठाउँका लागि केही गर्न चाहन्छु, मैले मेरो पद भजाएर कतै निजी उद्योग खोलेको छैन, समुदायका लागि केही काम भयो भने त्यो समुदायकै हितमा हुनेछ, कसैको टाउको दुखाइ किन ? जसले मलाई प्रश्न गर्छन्, उनीहरु पदमा नपुगेको हो र ? बरु पदमा रहँदा उनीहरुले किन काम गरेनन्, यो पो सोध्नुपर्ने प्रश्न हो ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.