Nepal's No. 1 Digital Newspaper

बारामा किन र कसरी विनाशकारी आँधी आयो ? (भिडियो)

काठमाडौँ– गत आइतबार राति बारामा विनाशकारी आँधी चल्यो, जसले ठूलो मात्रामा धनजनको क्षति पुर्यायो । केही दिनदेखि साँझपख पानी पर्ने र मेघ गर्जन गरे पनि त्यस दिन ठूलो मात्रामा हावाहुरी (आँधी) आउने र त्यसले विनाश गर्नेबारे नेपालको मौसम पूर्वानुमान गर्ने जिम्मा पाएको जल तथा मौसम विभागले अनुमान गर्न सकेन । नेपालको जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय मौसमको भविष्यवाणी मिलाउँदै गए पनि आइतबार भएको भिषण आँधीको पूर्वानुमान किन गर्न सकेन ? आम मानिसमा मात्र हैन मौसम पूर्वानुमान गर्ने मौसमविदहरु पनि यो विषयमा अहिले घोत्लिरहेका छन् । बारामा भिषण हावाहुरी जानका लागि बिहीबारदेखि शनिबारसम्मको मौसमी वातावरण बनेको थियो । देशका विभिन्न भागमा दिनभरी घाम लाग्ने र साँझ चट्याङ पर्ने, गड्याङगुडुङ गर्ने र हल्का पानी पर्ने भइरहेको मौसमविदहरु नै बताउँछन् ।

आइतबार बिहान देशको मध्य तथा पूर्वी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद बरुण पौडेल बताउँछन् । चैत वैशाखमा पहाड तथा तराईको क्षेत्र दिनभरी घामले तात्ने र साँझ हावाहुरी चल्नु सामान्य प्रक्रिया भएको उनको भनाइ छ ।

Order Now: 98510-87891

आइतबारको घटना पोखरा आसपासको आकाशमा विकास भएको बादल र हावाको चाप पश्चिम वायुको काठमाडौँ, चितवन हुँदै पूर्वतर्फ सर्दै बारा पुग्दा ठूलो मात्रामा विकास भएको र बारामा पूर्वतिरबाट आएको वायुसँग भेट हुँदा विनाशकारी रूप लिएको उनले बताए ।

तत्काल उत्पन्न हुने यस्तो मौसमी अवस्थाको पूर्वानुमान गर्न नसकिएको मौसमविद् पौडेल बताउँछन् । उनले भने– ‘कहिले काहीँ यो नियमित प्रक्रिया हुँदाहुँदै पनि शक्ति सञ्चयका हिसाबले ठूलो मात्रामा भयो । त्यसलाई बिहान २४ घण्टा अगाडि त्यो यस्तो हुन्छ भनेर अनुमान गर्न अत्यन्त कठिन अवस्था थियो । अहिलेको सिजनमा त्यो सानो सानो सेलहरुलाई त्यसरी अनुमान गर्न गाह्रो पनि हुन्छ । त्यस्तो कुरा अनुमान गर्न नजिकबाट नियमित रूपमा अवलोकन गरेर दुई चार घण्टा अगाडि भए पनि चेतावनी सङ्केत जारी गर्न सकिन्थ्यो ।’

यसका लागि मौसम विभागसँग प्रविधिको पनि अभाव रहेको उनले बताए । घटना भएको स्थान आसपास मौसमी राडार पनि नभएकाले, मौसम अध्ययन गर्ने कम्युटर सिस्टम पनि नभएकाले पूर्वानुमान गर्न नसकिएको उनको भनाइ छ ।

मौसम पूर्वानुमान गर्न सकिए अगाडि नै अलर्ट गराएर भए पनि धनजनको क्षति कम गराउन सकिने उनी बताउँछन् । उनले भने– ‘हुरी बतास रोक्ने कुरा त थिएन । यद्यपि त्यसबाट केही धनजनको क्षति कम गर्न र मान्छेहरुलाई सुरक्षित स्थानमा राख्न सकिने अवसर हुन्थ्यो कि भन्ने हामीलाई पनि लाग्यो । सो घटनाबाट हामी अत्यन्तै दुःखी पनि छौँ । यसबाट हामीले केही पाठ भने सिक्नुपर्ने हुन्छ ।  भविष्यमा यस्तो खालको भयो भने कस्तो गर्ने, राज्यले नै एउटा संयन्त्र बनाएर जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखा छ  । यसले पनि आफूमा निखार ल्याउन जरुरी देखिन्छ ।’

भारतीय मौसम विभागले भारतको विहार क्षेत्रमा हावाहुरीको पूर्वानुमान गरे पनि त्यस किसिमले हुरी आउने नभनेको मौसमविद पौडेलले बताउँछन् । मौसम पूर्वानुमान महाशाखाले हावाहुरी आउने पूर्वानुमान गरे पनि त्यो मात्राको हावाहुरी आउने अनुमान भने नगरेको उनले बताए ।

कत्रो थियो आँधीको स्केल

जल तथा मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक आँकलमा बाराको फेटा गाउँपालिका आसपासको क्षेत्रमा ९० देखि १ सय किलोमिटर प्रतिघण्टाको दरमा हावाको बहाव थियो । 

काठमाडौंमा ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा रहेको हावाको बहाव बारा पुग्दा प्रतिघण्टा १ सय हाराहारीको स्पिडमा पुगेको पौडेलले बताए । बारामा पाँचदेखि सात मिनेट भुमरी परेको र पछि मौसममा सुधार आएको उनको भनाइ छ । ‘वर्षा पनि धेरै भएको थिएन’, उनले भने– ‘एकदम छोटो समयमा सानो क्षेत्रमा भएको हुनाले यहाँ बसेर त्यसलाई क्याप्चर गर्न हामीलाई चुनौतीपूर्ण नै थियो ।’

हुरी बतास, साँझपख गड्याङ गुडुङ गर्ने क्रम अगाडिदेखि नै भइरहेको थियो । चैत, वैशाख, जेठ भनेको त्यही सिजन नै हो । त्यस्तो हुरीबतासको अवस्था वायुमण्डलको तल्लो अवस्थामा मात्र छ कि माथिल्लो भागमा पनि त्यसको प्रभाव छ, त्यो शक्तिशाली बन्नुमा माथिल्लो वायुमण्डलको अवस्थाले पनि प्रभाव पर्छ । त्यो दिनमा पनि नेपालको पूर्वी क्षेत्रको उपल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्र मजबुत अवस्थामा थियो । त्यसले गर्दा त्यहाँ स्थानीय वायुसँग एकत्रित हुने क्रममा त्यसले शक्तिशाली रूप लियो । त्यो अवस्था केही क्षण रह्यो र त्यसपछि हराएर गयो । यो भनेको सिजनमा देखिने नियमित प्रक्रिया नै हो । तर यति मात्रामा ठूलो हुन्छ भनेर त्यो संयन्त्रलाई तुरुन्तै यो ठाउँमा यो जिल्लामा भनेर पूर्वानुमान गर्ने  प्रविधि हामीसँग छैन । त्यसका लागि तीन चार घण्टा अगाडि नियमित रूपमा नजिकबाट हेरेर मोनिटरिङ गर्दै जाने र त्यहाँ चेतावनी जारी गर्न सक्ने अवस्था त हुन्छ तर त्यसका लागि पनि केही प्रविधिहरु विकास गर्न बाँकी नै छ ।’

मौसम पूर्वानुमान प्रविधिको अभाव

जल तथा मौसम विज्ञान विभागसँग पानी पर्ने, तापक्रम नाप्नेलगायत मौसमी अवस्था पत्ता लगाउने उपकरण भए पनि हावाहुरी मापन गर्ने प्रविधि भने छैन । मनसुनबारे पूर्वानुमान गर्न सकिने प्रशस्त उपकरण भए पनि नेपालको जटिल भूबनोटका कारण कुनै ठाउँमा बन्ने साना साना किसिमका मौसमी परिवर्तन, स्थानीय मौसमी प्रणालीको मुभमेन्ट हेर्न मौसमी राडारको अभाव रहेको छ । सुर्खेतमा एउटा राडार राखिए पनि देशको पूर्वी भागमा पनि त्यस्तो राडार राख्न आवश्यक भएको मौसमविद् पौडेल बताउँछन् ।

यस्तै कम्प्युटराइज्ड मोडेल सिस्टमअन्तर्गत मौसम पूर्वानुमान महाशाखासँग अहिले एउटा मात्र डब्ल्यूआरएम एउटा मात्र मोडेल रहेको छ । आगामी दिनमा थप मोडेलहरु जडानको आवश्यकता रहेको उनको भनाइ छ । त्यसो भयो भने सानो क्षेत्रमा हुने स्थानीय मौसमी प्रणाली जुन छोटो समयमा विकास हुने र छोटो समयमा हराएर जाने मौसमी प्रणालीलाई समयमै पूर्वानुमान गरेर सूचना सम्प्रेषण गर्न सकिने उनले बताए ।

हेर्नुहोस् भिडियो ः
https://www.youtube.com/watch?v=dVcPmIpjnSg


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.