Nepal's No. 1 Digital Newspaper

रानीपोखरी पुनर्निर्माणको मोडल तयार, पानी अटुट राख्न मेलम्ची पाइप जोडिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माणको ‘मोडल’ टुंगो लगाएको छ। यो मोडलअनुसार पोखरीमा पानी निरन्तर भरिराख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान खुला राखिने भएको छ।

प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको विज्ञसहितको बैठकले पोखरीमा अटुट पानी व्यवस्था गर्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान खुला गर्ने निर्णय गरेको हो।

Order Now: 98510-87891

पानी व्यवस्थापन गर्न पोखरीको पूर्वतर्फ एउटा बोरिङको व्यवस्था गरिनेछ। र, ठाउँ ठाउँमा आकाशे पानी संकलन गर्ने संयन्त्र पनि निर्माण गर्ने निर्णय भएको छ।

पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि बनाइनेछ।

प्राधिकरणका अनुसार रानीपोखरी पुनर्निर्माण गर्दा सबभन्दा पहिले करिब एक फिट तलसम्म खनेर घाँस हटाइनेछ। त्यसपछि त्यहाँ भएको सबै बालुवा निकालेर एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिनेछ।

यसैगरी कालीमाटी रहेको तहमा थप एक फिट कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिट बालुवा राखिनेछ।

रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार बनाइनेछ। त्यसपछि, डिलको माथिल्लो भागमा पुराना इँट्टा (माअप्पा)को पेटी लगाइनेछ।

डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ एवम् लाइम कंक्रिट गरेपछि ठाडो इँट्टा बिछ्याइनेछ। हालै बनाइएको ढुंगाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाइनेछ। फुटपाथ लेवलमा पनि लाइम कंक्रिटपछि माअप्पाकै रेलिङ बनाइनेछ।

त्यसक्रममा फुटपाथमा इँट्टा सोलिङ र लाइम कंक्रिट गरी २ इन्च बाक्लो कालो ढुंगा बिछ्याइनेछ।

पोखरीको सिँढीमा बस्न मिलोस् भनी ढुंगाको पेटी राखिनेछ। बाहिरबाट इँट्टा माअप्पाले मोडिनेछ। साथै  पोखरीको पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखेर बाहिरबाट माअप्पाले छोपिनेछ। यसले मौलिकता र एकरुपता झल्किने प्राधिकरणको भनाइ छ।

यसअघि, प्राधिकरणले पोखरी बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको टुंगो लगाइसकेको छ।

गत माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.