Nepal's No. 1 Digital Newspaper

काठमाडौंमा अझै २० लाख जनसंख्या थप्ने सहरी विकास

कसैले सहरको परिभाषा एक वाक्यमा सोध्यो भने मेरो उत्तर हुन्छ, यो आर्थिक कारोबार हुने एक मञ्च हो।

सहर बहुआयामिक छ। हरेक व्यक्ति, हरेक संस्था र हरेक संरचनाको आफ्नै परिभाषा। सहर विगतका घटनाहरूको संग्रह हो। भविष्यमा रचिने कथाहरूको मञ्च पनि हो। यी सबै आयाम एकै लेखमा उधिन्न सम्भव छैन। म यहाँ सहरमा हुने राजनीतिको सानो परिदृश्य मात्र खिच्ने प्रयास गर्दैछु।

Order Now: 98510-87891

सहर भनेको पूर्वाधार पनि हो। ठूल्ठूला पूर्वाधार। गाउँसम्म ती पूर्वाधार पुगेका हुँदैनन्, तब न सहर। ती पूर्वाधारसँग जोडिन्छ, आर्थिक कारोबार। आर्थिक कारोबारसँग जोडिन्छ, आर्थिक स्वार्थ। यो स्वार्थले जहिले पनि राजनीतिको केन्द्रलाई समातिरहन्छ। इतिहास फर्केर हेर्ने हो भने सहरीकरणसँग केही महत्वपूर्ण राजनीतिक घटनाक्रम जोडिएका हुन्छन्।

म तिनै घटनाक्रमको उकेरा हालेर सहरीकरणको परिदृश्य प्रस्तुत गर्न चाहन्छु।

सन् १८५३-१८७०। फ्रान्सको राजधानी पेरिस।

नेपोलियन तृतीयले जुन २३, १८५३ मा पेरिसको नक्सा देखाउँदै भनेछन्, ‘हावा नछेकिने खुला ठाउँ दिनू, सहरका विभिन्न क्षेत्र जोडेर एकीकृत गर्नू र सहरलाई अझ सुन्दर बनाउनू।’

नेपोलियनको आदेश पत्थरको लकीर। आदेश तामेल गर्न नियुक्त भए, जोर्ज युजिन (ब्यारोन) हाउसमन। अहिले हामीले देख्ने पेरिसका फराकिला सडक, दायाँबायाँ रूखको छहारी हालेर बग्गी कुद्न बनाएजस्ता बाटा र फूलको बासना मगमगाउने सहरी पार्कहरू तिनै हाउसमनको नेतृत्वमा रचिएको हो। कविले सुन्दर कविता रचेजस्तो हाउसमनले पेरिसको प्यारो स्वरूप रचे।

हाउसमन एक इमानदार र कुशल योजनाकार थिए। उनकै सहरी योजनाले आज पेरिस संसारकै सुन्दर सहरमा गनिन्छ। फ्रेन्च क्रान्तिबाट सत्तामा आएका नेपोलियनलाई पेरिस पुनर्जीवनको आकांक्षा थियो। भोल्टाएरजस्ता दार्शनिकले पेरिसलाई व्यवस्थित सहरीकरण गर्नुपर्ने आवश्यकता औंलाएका बेला उनलाई यो काम गर्न धेरैको स्वीकृति लिनुपर्ने आवश्यकता थिएन। हाउसमनलाई पेरिस पुनर्निर्माणको सम्पूर्ण अधिकार दिइयो। उनले करिब १५ वर्ष लगाएर लगभग ३ अर्ब फ्रान्क (फ्रेन्च मुद्रा) मा पूर्वाधारका काम सम्पन्न गरे।

भनिन्छ, प्रत्येक ५ पेरिसियनमध्ये एक जनाले सहरीकरणको अभियानमा काम गरेका थिए। यति ठूलो पूर्वाधार निर्माणले फ्रान्सको आर्थिक अवस्थामा भार परेको भन्दै नेपोलियनको आलोचना पनि भयो। उनले विद्रोही स्वर मत्थर पार्न हाउसमनमाथि दोष थोपर्दै सन् १८७० मा पदच्यूत गरे। हाउसमनका धेरै आलोचक पनि थिए। तै भौतिक र सामाजिक रूपमा दूषित भैसकेको पेरिस सहर, महामारीले ग्रसित समुदाय र लुटपाट हुने गल्लीलाई पुनर्जीवन दिएकामा आलोचकहरू पनि कृतज्ञतासाथ हेर्छन्।

सन् १९२४-१९७५। अमेरिकाको न्यूयोर्क।

न्यूयोर्क सहरको अहिलेको भौतिक दृश्य, खासगरी सहरी पूर्वाधारहरू रोबर्ट मोसेसको पालामा बनेका हुन्। न्यूयोर्क मोसेसकै कल्पनाको सहर हो। यसको सहरीकरण उनकै प्रत्यक्ष चासो र नेतृत्वमा भएकाले गुण-दोषका भागीदार उनै हुन्।

न्यूयोर्कको सामाजिक र सांस्कृतिक इतिहास त्यहाँका भौतिक पूर्वाधार र बस्तीहरूले बिरलै दर्शाउँछन्। लोकतन्त्रको उदहारण दिने न्यूयोर्कको सहरीकरण राजनीतिमा मोसेसको उदय कम आश्चर्यजनक छैन।

मोसेसले आफ्नो जीवनकालमा कहिल्यै चुनाव जितेनन्, तै जहिल्यै सहरीकरणको शक्तिशाली सार्वजनिक पदमा रहे। पुलिट्जर पुरस्कार विजेता रोबर्ट करोले आफ्नो किताब ‘द पावर ब्रोकर- रोबर्ट मोसेस एन्ड द फल अफ न्यूयोर्क’ मा मोसेसबारे विस्तृत विवरण दिएका छन्।

मोसेसमाथि न्यूयोर्कलाई समावेशी सहरीकरणदेखि टाढा केही निश्चित वर्गको निम्ति विकास गरेको आरोप छ। यति हुँदाहुँदै उनले करिब ४४ वर्षको शक्तिशाली सार्वजनिक जीवनमा रहँदा ६ गभर्नर र ५ मेयरसँग काम गरे। न्यूयोर्कलाई आफ्नो सोचअनुरुप एकलौटी विकास गर्न सफल भए। मोसेसको यही विशेषतालाई कारोले आफ्नो किताबमा राजनीतिको भिन्न आयामका रूपमा प्रस्तुत गरेका छन्।

मोसेसले निर्माण गरेको सहरबीचबाट जाने राजमार्गहरू, ट्राइभोर ब्रिज, क्वीन्स मिडटाउन सुरूङ, ब्रोङ्क्स ह्वाइटस्टोन ब्रिज, हेनरी हड्सन ब्रिज, थोरको ग्यास पुल, वेस्टसाइड राजमार्ग, जोन्स बिच स्टेट पार्क र अन्य पार्कले न्यूयोर्कको अहिलेको चित्र कोरेको छ। न्यूयोर्कमा ६५८ खेलकुद मैदान छन्। करिब ६७० किलोमिटर राजमार्ग छ र १३ वटा पुल छन्। यी पूर्वाधारसँगै मोसेसले सहरको आवास योजना पनि अघि बढाए।

न्यूयोर्कको कुरा गर्दा मोसेसको इतिहास जान्न किन पनि जरुरी छ भने, उनले अंगालेका सहरीकरण प्रक्रिया धेरै ठाउँमा नजिरका रूपमा लिइयो। बीसौं शताब्दीको सहरीकरणले उनकै परिकल्पना पछ्यायो। सार्वजनिक पदमा रहेर पनि मोसेसले निकै चतुर्याइँपूर्वक विभिन्न स्वायत्त सार्वजनिक प्राधिकरण निर्माण गरे र तानाशाही रूपमा पूर्वाधार निर्माण अघि बढाए। त्यही भएर अन्य सहरमा हुने सहरीकरणमा पनि उनी प्रमुख सल्लाहकारका रूपमा उदाए।

न्यूयोर्कको सहरीकरण राजनीतिमा मोसेसको संयन्त्र यति बलियो थियो, कुनै मेयर वा गभर्नरले चाहेर पनि उनलाई शक्तिबाट हटाउने सक्ने अवस्था थिएन। करिब १२ वटा शक्तिशाली सार्वजनिक पदको प्रमुखका रूपमा सँगसँगै काम गर्दै आएका मोसेस पूर्वाधारबाट उठ्ने टोल दस्तुर, बीमा र अन्य ठेक्काबाट आउने कमिसनको उचित व्यवस्थापन गर्न माहिर थिए।

मोसेसले जे दिए, त्यो आजको न्यूयोर्क हो। त्यहाँबाट के-के खोसे, त्यसबारे जेन जेकब्सले आफ्नो किताब ‘द डेथ एन्ड लाइफ अफ ग्रेट अमेरिकन सिटिज’ मा लेखेकी छन्। उनको सहरीकरणले विस्थापित समुदायहरू, न्यूयोर्कको सामाजिक तथा ऐतिहासिक चित्रहरू र हराएको मानवताबारे जेकब्स लेख्छिन्, ‘सहरसँग सबैलाई केही दिने क्षमता हुन्छ। यो तब मात्र सम्भव छ, जब सहर सबैका लागि बनाइन्छ, बसाइन्छ।’

मोसेसले न्यूयोर्कका माध्यमबाट समग्र अमेरिकालाई आधुनिक सहरीकरणको पाठ सिकाए। तर, त्यही सहरीकरणले अमेरिकालाई कारमा आधारित सहर बनायो। सहरको आत्मा नै कुण्ठित गरायो। मोसेसको सहर कहिल्यै समावेशी हुन सकेन। यो ‘मास ट्रान्जिट’ को केन्द्र बनिरह्यो।

करिब ४४ वर्षको कार्यकालमा मोसेसले २७ अर्ब अमिरिकी डलरको पूर्वाधार विकास गरे। यो पूर्वाधार विकास र शक्तिको राजनीति यतिसम्म अदूरदर्शी थियो, सन् १९७५ अन्त्यतिर न्यूयोर्क आर्थिक संकटबाट गुज्रियो। र, अहिलेसम्म न्यूयोर्क अमेरिकाको दोस्रो ऋणी राज्य हो।

रोबर्ट मोसेस र ब्यारोन हाउसमन- यी दुई जना दुई छुट्टाछुट्टै सहरका रचनाकार हुन्। आज पनि संसारका धेरै सहरमा उनीहरूकै परिकल्पना पछ्याइँदै आएको छ।

विगत ५० वर्षको इतिहास हेर्ने हो भने चीनमा कम्युनिस्ट सरकारले यस्ता धेरै सहर निर्माण गरिसक्यो। जर्मनीजस्तो समाजवादी देशमा पनि तानाशाही रूपमा सहरी पूर्वाधार निर्माण हुँदै आएका छन्। यसको उदाहरण स्टुटगार्टमा करिब २० वर्षदेखि निर्माण भइरहेको ‘एस २१’ सहरी रेल्वे परियोजना हो, जुन राजनीतिक शक्ति प्रदर्शनका रूपमा स्थापित भएको छ।

राज्य संरचना जसरी चले पनि सहरी विकासको खाका कोर्न नीति निर्माणमा चलखेल हुने गरेको हामी संसारभरका यस्ता उदाहरणबाट पाउँछौं। नेपालको सहरीकरण इतिहास धेरै लामो छैन। केन्द्रीय स्तरबाट केही प्रयास भने भएका छन्।

विसं १९९८। राणा शासनकालमा इञ्जिनियर डिल्लीजंग थापाले बाढी प्रभावित क्षेत्र हनुमाननगरबाट सहरको केन्द्र अहिलेको राजविराज सारेर नयाँ सहर विस्तार गरेका थिए। त्यस्तै, काठमाडौंबाहिर जग्गा एकीकरणका मध्यमबाट धेरै ठाउँमा आधुनिक रूपले सहर विस्तार गरिए।

काठमाडौंमा सहरीकरणको कथा फर्केर हेर्दा केही मुख्य घटना सतहमा आउँछन्।

राजा महेन्द्रको राज्यारोहण र बेलायती महारानी एलिजावेथको नेपाल भ्रमण बेला काठमाडौंमा सहरी विकासका केही काम भए। त्यतिबेला सहर सुन्दर बनाउन केही साना योजना कार्यान्वयन गरिएका थिए। तर, केही वर्षयताको सहरीकरण र शक्तिको राजनीतिलाई काठमाडौंको केन्द्रविन्दुमा राख्ने हो भने राजनीतिक र आर्थिक चलखेल प्रस्ट देखिन्छन्। काठमाडौंको सहरी विकासलाई नयाँ रूप दिने होडमा केही यस्ता काम भए र भइरहेका छन्, जुन तत्काल र दीर्घकालीन रूपमा निकै घातक हुने देखिन्छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास समितिलाई अधिकारसम्पन्न प्राधिकरणका रूपमा अघि सारियो। काठमाडौं महानगरपालिकामा दुईपटक मेयर भइसकेका र विकास निर्माणमा खरो छवि बनाएका केशव स्थापितलाई नियुक्त गर्दै भट्टराईले सहरको स्वरूप बदल्ने प्रयास गरे। वास्तुकला र सहरीकरणका विद्यार्थी भट्टराई सहर सफा र आधुनिक बनाउन कटिबद्ध त देखिए, तर बागमती किनारका सुकुम्बासीको रातारात विचल्लीले उनी समावेशीभन्दा आधुनिक सहर बनाउने हतारमा भएजस्तो देखियो।

उता, करिब २० वर्षपछि फेरि शक्तिशाली सार्वजनिक पद ओगट्न पाएका स्थापित काठमाडौंलाई आफ्नै दिवास्वप्नमा ढाल्न चाहन्थे। यसबीच काठमाडौंमा सडक विस्तारले गति लियो। सडक विस्तारलाई यस्तो कानुनी काम्लो ओढाइयो, जसले सडक विस्तारका पीडितहरू सबै रातारात सार्वजनिक जग्गा अतिक्रमणकारी भए।

निर्देशित भूमि विकासका नाममा काठमाडौंका सबै गल्लीहरू कम्तीमा ६ मिटर फराक हुनुपर्ने प्रावधान बनाइयो। व्यक्तिगत जग्गाधनीहरू न्यायका लागि अदालत गए। मालिकबिनाका रूख, मन्दिर, हिटी, पाटी र सांस्कृतिक स्थान मासेर कालोपत्रे गरिए। दुई मिटरको गल्ली ६ मिटरको भयो। मान्छे हिँड्ने गल्लीमा अब गाडी मात्र कुद्ने भए। छ मिटरको बाटो ४ मिटरको फुटपाथ जोडेर १० मिटरको भयो। यसमा अझ धेरै गाडी कुद्न थाले।

सडक विस्तारले हजारौं मानिस विस्थापित भए। सयौं ऐतिहासिक स्थल मासिए। आधुनिक सहरीकरणको होड यस्तो चल्यो, बानेश्वर र कोटेश्वरका चौडा बाटाको फेसबुके फोटोले सबैलाई भुलायो। सडक विस्तार आतंक नजिकबाट नियाल्ने मानिस यस्तो पनि भन्छन्, डोजरका मालिक र धेरै जग्गाधनी यसबाट लाभान्वित छन् र यसको निरन्तरता चाहन्छन्।

स्थापितको कार्यशैलीप्रति असन्तुष्ट भट्टराईले वास्तुकला अध्ययनका सहपाठी र अलि शालिन स्वभावका आर्किटेक्ट योगेश्वर पराजुलीलाई प्राधिकरणको आयुक्त नियुक्त गरे। सडक विस्तारको काम भने त्यस्तै गतिमा अघि बढ्यो। पराजुलीले आफ्नो समयमा पार्क निर्माण काम पनि बढाए। नक्सालस्थित नारायणचौर र कमलपोखरी पार्क बने।

पराजुलीसँगै प्राधिकरणको डोर समात्न पुगेका भाइकाजी तिवारीसँगै काठमाडौंको सहरीकरणले अहिले नयाँ स्वरूप लिँदैछ। उनी प्राधिकरणका प्रमुख विकास आयुक्त छन्। प्राधिकरणको वेबसाइट हेर्ने हो भने करिब सात सय किलोमिटर सडक विस्तार गर्ने लक्ष्य छ, जुन लगभग आधा पूरा भइसकेको छ। हास्यास्पद रूपमा करिब नौ सय सार्वजनिक जग्गामध्ये ३० वटा मात्र प्राधिकरणले आफ्नो अधिनमा ल्याएको जनाएको छ।

यी त अहिलेसम्म भएका काम हुन्। अब प्राधिकरण काठमाडौं उपत्यकामा करिब एक लाख रोपनीभन्दा बढी जग्गा एकीकरण गरेर ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने योजना अघि सार्दैछ। काठमाडौं सहरीकरणको मुख्य समस्या सार्वजनिक यातायात र पैदलयात्रीलाई सुविधाजनक सडक नहुनु हो। प्राधिकरण भने यसलाई आफ्नो अधिकार र कर्तव्यभित्र राख्न चाहँदैन। प्राधिकरण त्यस्तो काममा मात्र जोड दिन्छ, जो राजनीतिक शक्तिकेन्द्र र आर्थिक चलखेलको परिधिमा घुमिरहन्छ।

बाहिरी चक्रपथको रेखा कुन गाउँ र कुन बस्तीबाट कोर्नेमा धेरै चलखेल भयो। अर्बौंका खेतीयोग्य जग्गा प्लटमा परिणत भए। ठूलो परिमाणमा आर्थिक चलखेल भएको र आधारभूत समस्या देखिएको भन्दै सहरी विकास मन्त्रीले यो काम केही समयलाई रोकेका छन्। तर, केही आमूल शक्ति परिवर्तन नभए यो योजना फेरि सुरू हुनेमा शंका छैन।

काठमाडौं विकासको मुख्य समस्या नै फैलिएर बसेको बस्ती र भू-उपयोग योजनाबिनाको जनघनत्व विकास देखिन्छ। यसको असर सहरको यातायात प्रणाली र अन्य पूर्वाधारमा पर्दै आएको छ। यस्तो अवस्थामा काठमाडौंको बस्ती विकासमा अझै १ लाख रोपनी जग्गा थप्दा साधारण हिसाबले पनि करिब २० लाख व्यक्तिको बसोबास थपिने देखिन्छ। करिब ६० लाख जनसंख्या भएको काठमाडौंमा अझै २० लाख थपेर देशका करिब आधि जनता काठमाडौंमा मात्र थुपार्ने, यो कस्तो सहरी विकासको नीति हो? अनि यो कस्तो संघीयताको ढाँचा हो?

प्राधिकरणको विकास मोडल केही प्राविधिक विज्ञहरूको टोलीले बनाएको हो। त्यो विज्ञ टोलीमा एक समाजशास्त्री, एक संस्कृतिप्रेमी, एक समावेशी समाजका अभियन्ता, एक कुशल राजनेता, एक वृद्ध, एक विद्यार्थी, एक समावेशी सहरका स्वप्नद्रष्टाको कमी देखिन्छ। नत्र बाटो विस्तार गर्दा कसैले पनि फुटपाथ फोडेर गाडी गुड्ने सडक बनाउने थिएन होला। सहरबीचको खाली जग्गा देख्दा देख्दै डाँडा काटेर ‘स्मार्ट सिटी’ बनाउने सोच्दैन थिए होला। बागमती सफा नगरेर नयाँ मूल खोज्ने काम गर्दैन थिए होला।

काठमाडौंको विकासमा प्राधिकरणको मुख्य भूमिका भएर यहाँ धेरै कुरा त्यसैबारे गरिएको हो। नभए सडक विभागले बनाएको चक्रपथ पनि रोबर्ट मोसेसले सहरको बीचबाट दौडाएको हाइवेभन्दा कम छैन। सेनाले टुँडिखेल खुम्च्याएर राख्दा, प्रहरीले कमलपोखरीमा चौकी बनाउँदा, जनताले आफैं पुनर्निर्माण गर्छु भनेको काष्ठमण्डप र रानीपोखरीमा महानगरपालिकाले ठेकेदार घुसाउँदा, रत्नपार्क सानो बनाएर भ्यू टावरसहितको भवन बनाउँदा र राष्ट्रपति निवास अझै ठूलो बनाउनुपर्ने बहस चल्दा सहरीकरणभन्दा शक्तिको राजनीति र राजनीतिको शक्ति बढी हाबी देखिन्छ।

यी सबै कार्य रोबर्ट मोसेसले बनाएको न्यूयोर्क र ‘एस २१’ परियोजनाभन्दा फोहोरी र अदूरदर्शी छन्। यदि सार्वजनिक पार्क, सार्वजनिक यातायात, समावेशी सहरीकरण वा सुरक्षित सडकबारे बहस हुन्थ्यो भने यो सहरीकरणको राजनीति हुन्थ्यो। तर, यो सहरीकरणभन्दा धेरै टाढा शक्ति र अर्थको राजनीति हो।

लोकतान्त्रिक पद्धतिमा सहर विकासको अधिकार र जिम्मेवारी सम्पूर्ण व्यक्तिको रहन्छ। यो पनि सत्य हो, शक्तिको राजनीति गर्ने जता पनि सक्रिय रहन्छन्। काठमाडौंको सहरीकरण यस मानेमा पनि महत्वपूर्ण छ, यसले पूरै देशको सहरीकरण पद्धति विकास गर्दैछ। काठमाडौंमा भएको सडक विस्तार राजधानीबाहिर पनि व्यापक रूपमा देखियो। तर, त्यो कति सही र कति गलत छुट्याउने बहस कहिल्यै भएन।

काठमाडौंको विकास बहस जरुरी छ। बाहिरी चक्रपथको आवश्यकताबारे बहस जरुरी छ। एक लाख ३० हजार रोपनी जग्गा एकीकरणको विकास बहस जरुरी छ। काठमाडौंका खुला स्थानहरू कसरी र कसले प्रयोग गर्ने भन्नेमा पनि बहस जरुरी छ।

लोकतान्त्रिक पद्दति राज्य सञ्चालनमा मात्र हैन, सहरीकरण र यसको व्यवस्थापनमा पनि आवश्यक छ। यसका लागि सबैले सामूहिक आवाज उठाउनु उत्तिकै आवश्यक छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.