डेढ अर्ब प्रकाश वर्ष टाढाबाट आइरहेका रहस्यमय तरंगहरू


क्यानडामा रहेको एउटा दुरबिनले समातिरहेको धेरै टाढाको आकाशगंगाबाट निस्केका रहस्यमय रेडियो संकेतबारे खगोलविद्हरूले विस्तृत विवरण सार्वजनिक गरेका छन्।

यो अनुसन्धान विज्ञान जर्नल ‘नेचर’ मा भर्खरै प्रकाशित भएको छ।

त्यो रेडियो तरंगको ठ्याक्कै प्रकृति र स्रोत अझै पनि थाहा हुन सकेको छैन।

१३ वटा रेडियो तरंगका द्रुत झोका (फास्ट रेडियो बर्स्ट्स)मध्ये एउटा अस्वभाविक र निरन्तरको संकेत करिब डेढ अर्ब प्रकाश वर्ष टाढा रहेको एउटै स्रोतबाट आइरहेको छ। (प्रकाशको गति प्रति सेकेण्ड ३ लाख किलोमिटर हुन्छ। एक वर्षमा प्रकाशले तय गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ।)

त्यस्तो घटना यसअघि एक पटकमात्रै भेटिएको थियो। त्यस्तो संकेत एउटा अर्को दुरबिनले सन् २००७ मा फेला पारेको थियो।

‘त्यस्तो अर्को पनि संकेत छ भने ब्रह्माण्डमा त्यस्ता अरू धेरै पनि हुन सक्छन्,’ ब्रिट्रिस कोलोम्बिया विश्वविद्यालयकी एस्ट्रोफिजिसिस्ट इन्ग्रिड स्टेयर्सले भनिन्, ‘अध्ययनका लागि यस्ता धेरै दोहोरिरहने संकेत र स्रोत उपलब्ध भएकाले हामीले यी कहाँबाट आएका र के कारणले उत्पन्न भएका हुन् भन्ने ब्रह्माण्डीय पहेली बुझ्न सक्छौं।’

ब्रिट्रिस कोलोम्बियाको ओकांगन उपत्यकामा रहेको क्यानडियन हाइड्रोजन इन्टेन्सिटी म्यापिङ एक्पेरिमेन्ट (काइम) अब्जर्भेटरीको दुरबिनमा सय मिटर लामा अर्धबेलनाकार एन्टेना छन्। सम्पूर्ण उत्तरी आकाश तिनले हरेक दिन नियाल्छन्।

गत वर्षदेखिमात्र काम गर्न सुरू गरेको सो दुरबिनले तुरून्तै ती १३ वटा फास्ट रेडियो बर्स्ट्स समातेको थियो।  यी १३ वटै फास्ट रेडियो बर्स्ट्सको फ्रिक्वेन्सी अहिलेसम्म पत्ता लागेकामध्ये सबैभन्दा कम छन्।  तर ती पहिले देखिएका  फास्ट रेडियो बर्स्ट्सभन्दा चम्किला छन्।

क्यानडाको म्याकगिल विश्वविद्यालयका श्रीहर्ष तेन्दुलकरले यसको मतलब यी अझ टाढाबाट आइरहेको भन्ने नहुन पनि सक्ने बताए।

प्रकाश ब्रह्माण्डका विभिन्न भागबाट यात्रा गर्दा ती संकेतमा भिन्नभिन्न भागको आ-आफ्नै असर पर्ने भएकाले ती तरंगहरूको फ्रिक्वेन्सी र चमकमा प्रभाव परेको हुन सक्ने उनको तर्क छ।

‘हामीले दोस्रो दोहोरिरहने संकेत पत्ता लगाएका छौं र यसको विशेषता पहिले पत्ता लगाएको संकेतको जस्तै छ। यो अनौठो हो। यी विशेषताहरू दोहोरिरहने संकेतमा मात्रै देखिन्छन्। यो झनै अनौठो हो,’ तेन्दुलकरले  भने, ‘यसले दोहोरिरहने संकेत समूहको विशेषताबारे थप प्रकाश पार्छ।’

वैज्ञानिकहरूले यी दोहोरिने र नदोहोरिने  फास्ट रेडियो बर्स्ट्स एकै खालका हुन् कि होइनन् भनेर खुट्याउने प्रयास गरिरहेका छन्।

‘के तिनीहरू भिन्नभिन्नै स्रोतबाट आइरहेका हुन्? तिनीहरूबीच केही सम्बन्ध छ? भन्ने पत्ता लगाउन खोजिरहेका छौं, ’ तेन्दुलकरले भने।

फास्ट रेडियो बर्स्ट्स रेडियो तरंगका  चम्किला झिल्का हुन्। यी  एक सेकेन्डको हजारौं भाग छोटा हुन्छन् र ब्रह्माण्डको झन्डै आधा दूरी टाढाबाट आउँछन्।

अहिलेसम्म वैज्ञानिकहरूले ६० वटा त्यस्ता फास्ट रेडियो बर्स्ट्स पत्ता लगाएका छन् र तीमध्ये दुइटामात्र दोहोरिरहन्छन्। आकाशमा हरेक दिन त्यस्ता लगभग हजार वटा  फास्ट रेडियो बर्स्ट्स रहेको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

ती के कारणले उत्पन्न भइरहेका छन् भन्नेबारे धेरै व्याख्या छन्। त्यसमध्ये एक व्याख्याका अनुसार त्यो संकेत धेरै बलियो चुम्बकीय शक्तिसहित निरन्तर द्रुत गतिमा घुमिरहेको एउटा न्युट्रन ताराबाट आएको हो। अर्को व्याख्याका अनुसार दुई न्युट्रन तारा बिलय भई बनेको नयाँ ताराबाट आएको हो। केही थोरै वैज्ञानिकका अनुसार ती संकेतहरू एलियन अन्तरिक्ष यानबाट आएका हुन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress