भारुमा प्रतिबन्ध भारतले नै लगायो’


मङ्सिर २४ गते मन्त्रिपरिषद्को निर्णयबाट १ सयभन्दा ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाउने घोषणा गरियो ।

यसअघि सहज रूपमा सञ्चालनमा आइरहेका भारतीय रूपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू सोही दिनदेखि साथमा राख्न र कारोबार गर्न गैरकानुनी हुने भन्दै प्रतिबन्धको घोषणा भयो ।
सरकारले ठूला दरका भारुमा प्रतिबन्ध लगाए पनि नेपालमा भने त्यसको खासै चर्चा भएन ।

भारु भारतीय सञ्चारमाध्यममा भने यसले व्यापक चर्चा पायो । नेपालले ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाएको भन्दै नेपाल र भारतको सम्बन्धमा दरार आउनेसम्मको समाचार प्रकाशन र प्रसारण गरिए ।

तर नेपालले ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाउनुको कारण भने नेपाल नभएर भारत आफै रहेको राष्ट्र बैङ्कले दाबी गरेको छ ।

भारतले नै प्रतिबन्ध लगाएको हो : राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कका अनुसार ठूला दरका भारतीय रूपैयाँमा लागेको प्रतिबन्ध नेपालले लगाएको नभई भारतले नै लगाएको हो ।

राष्ट्र बैङ्कका निर्देशक भिष्मराज ढुङ्गानाका अनुसार १ सयभन्दा ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध नेपालको कारणले नभई भारतकै कारणले लागेको हो ।

त्यसो त नेपालमा २१ जनवरी २०१५ सम्म भारतीय रूपैयाँ ५ सय र १ हजार दरका नोट प्रयोगमा प्रतिबन्ध नै थियो । तर जब भारतले फेमा अर्थात् फरेन एक्सचेन्ज म्यानेज्मेन्ट एक्ट लागू गर्दै नेपालमा पनि ठूला दरका भारतीय नोट मान्य हुने र प्रतिव्यक्ति २५ हजार भारतीय रूपैयाँसम्म बोक्न पाउने नीति ल्यायो ।

त्यसपछि मात्रै नेपालमा ठूला दरका भारतीय रूपैयाँले वैधानिकता पाएको थियो ।

तर जब भारतले ८ नोभेम्बर २०१६ मा आफ्ना पुराना ५ सय र १ हजार दरका नोट अमान्य हुने र निश्चित समयभित्र साट्नुपर्ने भन्दै नचल्ने निर्णय गर्यो । त्यसको केही दिनमा नै नेपाल राष्ट्र बैङ्कले पनि ठूला दरका भारतीय रूपैयाँ गैरकानुनी हुने घोषणा गर्यो ।

 

भारतले पुराना ५ सय र १ हजार दरका नोट प्रतिस्थापन गर्दै नयाँ ५ सय र २ हजार दरका नोट निष्काशन गरेको थियो । तर भारतले फेमा नोटिफिकेसन जारी नगरेकाले नेपालमा उक्त दरका नोट अमान्य हुन्थ्यो र नेपाल राष्ट्र बैङ्कले २३ नोभेम्बर २०१६ मा सार्वजनिक सूचना जारी गर्दै ५ सय २ हजार दरका नयाँ भारतीय नोट गैरकानुनी हुने र राख्न नमिल्ने भन्दै सूचना जारी गरेको थियो ।

तत्कालीन समयमा नयाँ नोट नेपाली बजारमा आइनपुगेकाले त्यसको असर र प्रभाव वा सूचनाको बारेमा खासै महत्त्व र चर्चा भएन ।

तर जब मङ्सिर २४ गते नेपाल सरकारले ‘रिमाइन्ड’ मात्रै गरायो । त्यसपछि मात्रै यसको चर्चा भयो । जबकि ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाउने निर्णय २१ नोभेम्बकर २०१६ मै भएको थियो । त्यो प्रतिबन्धको निर्णय पनि भारतले फेमा नोटिफिकेसन जारी नगरेकाले भारतकै कारण भएको थियो, जबकि यो नेपालले गरेको थिएन र होइन ।

मङ्सिर २४ गते सरकारले कुनै नयाँ निर्णय गरेको नभई ‘रिमाइन्ड’ मात्रै गराएको थियो । तर जब सरकारले आफ्ना नागरिकलाई ठूला दरका भारतीय नोट राखे गैरकानुनी हुने कुरा सम्झायो त्यसपछि मात्रै यसले चर्चा पाउन थाल्यो । ठूला दरका भारतीय नोट प्रतिबन्धले पार्ने सकारात्मक र नकारात्मक प्रभावबारे यसको चर्चा सुरु भयो ।

यस्ता छन् भारतीय ठूला नोट प्रतिबन्धका फाइदा

नेपाल र भारतबीच खुला सिमाना भएका कारण दुवै देशका मुद्राको प्रयोग नौलो विषय होइन । नेपालमा भारतीय रूपैयाँ निर्वाधरूपमा चले पनि भारतमा भने नेपाली रूपैयाँको प्रतिबन्ध नै लागेको छ । अझ तराईका केही जिल्ला र सिमावर्ती क्षेत्रमा त नेपालीभन्दा बढी भारतीय रूपैयाँ नै प्रयोगमा आउने गरेको छ ।

अनौपचारिक अर्थतन्त्रमा कमी
सरकारले निर्णय नै गरेर ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाएसँगै यसले देशको अनौपचारिक अर्थतन्त्रमा कमी ल्याउने अपेक्षा गरिएको छ ।

देशको कुल अर्थतन्त्रमध्ये करिब ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक रूपमा चलिरहेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।

 

सरकारले यो निर्णय गरेसँगै अब अनौपचारिक अर्थतन्त्रमा केही कमी आउने र राजस्वमा वृद्धि हुने क्षेत्रीको अपेक्षा छ ।

ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लागेसँगै १ सय दरका नोटका भारी बोकेर मानिसहरू ब्यापारका लागि भारत जाँदैनन् ।

उनीहरू एलसी र ड्राफ्ट लिएर व्यापार व्यवसायमा संलग्न हुने, जसका कारण सिमावर्ती क्षेत्रमा हुने अनौपचारिक अर्थतन्त्रमा कमी आउनुका साथै यसले राजस्व सङ्कलनमा पनि वृद्धि गराउने क्षेत्रीको जिकिर छ ।

डलराइजेसनको खतरामा कमी
विदेशी मुद्राको प्रयोगमा एउटा शब्द छ, डलराइजेसन । डलराइजेसन अर्थात् आफ्नो मुद्राको प्रयोग हटेर विदेशी मुद्राको मात्रै प्रयोग हुनु ।

विदेशी मुद्राको बढ्दो प्रभावले आफ्नै देशको मुद्राको प्रयोग कम हुनु र कमजोर बन्नु नै डलराइजेसन हो । उदाहरणका लागि पनामा एएटा यस्तो देश हो, जसको आफ्नै मुद्रा लोप भयो र अमेरिकी डलरमै निर्भर हुनुपर्यो । यसले देशको परनिर्भरता बढाउँछ र समग्र अर्थतन्त्रमा नै असर गर्छ ।

गैरकानुनी कारोबारमा कमी ल्याउँछ
त्यसो त ठूला दरका भारतीय रूपैयाँको प्रतिबन्धले गैरकानुनी कारोबार र भुक्तानीमा पनि कमी ल्याउनेछ ।

पूर्वगभर्नर क्षेत्रीका अनुसार ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाएसँगै अब गैरकानुनी कारोबार र त्यसको भुक्तानीमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

अहिले भने नेपाल र भारतबीच सबैभन्दा धेरै सुनको तस्कारी र गैरकानुनी कारोबार हुने गरेको छ ।

बेला बेलामा सीमाक्षेत्रमा जफत हुने ४० लाख ५० लाख नेपाली तथा भारतीय रूपैयाँको कारोबार सुनको तस्करीसँग जोडिएको क्षेत्रीको टिप्पणी छ ।

त्यसैगरी भारतबाट किनिने साना हतियारको कारोबारमा पनि यो निर्णयले प्रभाव पार्ने भएकाले गैरकानुनी कारोबार तथा भुक्तानीमा यसले केही नियन्त्रण गर्ने क्षेत्री बताउँछन् ।

बैङ्किङ कारोबारमा वृद्धि
सरकारले ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाएसँगै अब बैङ्किङ कारोबारमा पनि वृद्धि हुने राष्ट्र बैङ्कको अपेक्षा छ । यसअघि प्रत्येक व्यक्तिले प्रतिव्यक्ति २५ हजारसम्म भारतीय रूपैयाँ बोक्न मिल्ने र विभिन्न बहाना बनाएर लाखौँलाख भारतीय रूपैयाँ बोक्ने गरिन्थ्यो ।

तर जब अब नेपालमा त्यस्ता नोटहरूको प्रयोग र साथमा राख्न पनि गैरकानुनी हुने भएपछि यसले बैङ्किङ कारोबारमा वृद्धि गराउने राष्ट्र बैङ्कको अपेक्षा छ ।

रेमिटेन्स बढ्न थाल्यो
भारतमा पनि लाखौँलाख नेपालीहरू रोजगारीका लागि पुगेका छन् । तर उनीहरूले भारतबाट औपचारिक रूपमा पठाउने रेमिटेन्सको मात्रा ज्यादै न्यून रहेको थियो । तर सरकारले ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाउने औपचारिक निर्णइ गर्यो, त्यसको असर देखिन सुरु गरिसकेको राष्ट्र बैङ्कका निर्देशक भिष्मराज ढुङ्गाना बताउँछन् ।

उनी भन्छन्, ‘पहिले भारतबाट आउने रेमिटेन्सको मात्रा ज्यादै कम थियो । जब सरकारले यसबारे औपचारिक निर्णय गर्यो तब भारतबाट आउने रेमिटेन्समा वृद्धि हुन थालिसकेको छ । यसले राजस्व सङ्कलनदेखि सुरक्षित बैङ्किङ कारोबारको सुरुवात गराएको छ ।’

मुद्राको सुरक्षामा प्रत्याभूति
नेपाली नोटहरूमा लेखिएको हुन्छ, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रूपैयाँ… तुरुन्त पाइने छ ।’ यसको अर्थ सो मूल्य बराबरको विनिमय नेपाल सरकारको ग्यारेन्टीमा राष्ट्र बैङ्कले दिने छ भन्ने बुझिन्छ ।

त्यस्तै कुरा भारतीय रूपैयाँमा पनि लेखिएको हुन्छ कि केन्द्र सरकारद्वारा रक्षा प्रत्याभूत गरिएको ।

तर जब भारतले सन् २०१६ को नोभेम्बर ८ मा नोटबन्दीको घोषणा गर्यो, त्यसपछि नेपालमा रहेका करिब ७ करोड रूपैयाँ बराबरको भारतीय नोटको सटही हालसम्म पनि भारत सरकारले गरेको छैन ।

जबकि भारतले फेमा नोटिफिकेसन जारी गरेर नेपालमा चलनचल्तीमा ल्याएको नोटमध्ये बैङ्कमै रहेका नोटहरू पनि भारतले सटही गर्न मानेको छैन । अहिले बैङ्किङ च्यानलमै करिब ७ करोड र व्यक्ति विशेषसँग गरी १० करोडभन्दा बढी भारतीय रूपैयाँ नेपालमा रहेको दाबी गरिएको छ । भारतमा नोटबन्दीको प्रभाव शून्यप्रायः हुँदै कुल नोटमध्ये ९९ दशमलब ३ प्रतिशत नोट सटही भयो । तर भारतले नेपालमा रहेको आफ्ना ठूला दरका नोट सटहीमा भने कुनै चासो नै दिएन ।

भुटानबाट ४ अर्ब लिने नेपालबाट ६ करोड नलिने ?
नोटबन्दीको घोषणापछि भारतले छिमेकी देश भुटानमा रहेको करिब ४ अर्ब भारतीय रूपैयाँ सटही गर्दै आफूले फिर्ता लिएको थियो ।

भारत आफैले जारी गरेको फेमा नोटिफिकेसनअन्तर्गत उक्त रकम भारतले भुटानबाट फिर्ता लिई नयाँ नोट वा डलर भुटानलाई दिएको थियो ।

तर भारतले नेपालमाथि भने हेपाहा व्यवहार गर्दै नेपाली बैङ्कहरूमै रहेको करिब ७ करोड भारतीय रूपैयाँ भने अझै पनि सटही गर्न मानिरहेको छैन ।

भारतीय रिजर्भ बैङ्कले सरकारले निर्णय गरे उक्त रकम लिइदिने बताए पनि भारत सरकारले नेपालमा रहेको उक्त रकमको सटही गर्नेबारे कुनै पहल गरेको छैन, जसका कारण नेपाली बैङ्कहरूमा रहेको भारतीय रूपैयाँ बेकामे बनेको छ ।

भारतले गरेको नोटबन्दी र भारतीय रूपैयाँको प्रयोगले भविष्यमा ठूलै सङ्कट आउनसक्ने सम्भावना देखिन थालेको छ ।

भारतले जुनसुकै बेला नोटबन्दी गरिदिने र आफ्ना नागरिकसँग रहेको रकम भारतले नसाटिदिने हो भने भविष्यमा झन् ठूलो सङ्कट ल्याउनसक्छ । त्यसकारण भारतीय रूपैयाँको प्रतिबन्धले मुद्रा सुरक्षाको प्रत्याभूति गरेको राष्ट्र बैङ्कको जिकिर छ ।

यस्ता छन्, ठूला भारतीय नोट प्रयोगमा प्रतिबन्धको बेफाइदा  
त्यसो त ठूला दरका भारतीय नोट प्रतिबन्धले केही बेफाइदा पनि पक्कै गर्नेछन् । यसको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा पर्ने छ ।

नेपालको पर्यटनको ठूलो हिस्सा भारतीय पर्यटकहरू हुन् ।

तर भारतीय ठूला नोटमा प्रतिबन्ध लागेसँगै भारतबाट नेपाल आउने पर्यटक अन्यत्र मोडिनसक्ने स्म्भावना पनि बढेको छ । भातबाट नेपाल आउँदा एक सय दरका नोटको भारी बोकेर घुम्न आउन कठिन हुने भएकाले उनीहरू अन्यत्र जान सक्ने पर्यटन व्यवसायीको भनाइ छ ।

त्यसबाहेक भारतीयहरूले नेपालमा पनि भारतीय नोट नै चल्ने भन्दै अहिले पनि ठूला दरका भारतीय नोट नै बोकेर नेपाल आउने गरेका छन् । तर नेपालमा उक्त नोट नचलेपछि उनीहरू समस्या पर्ने गरेका छन् ।

क्यासिनो बिजनेसमा धक्का
त्यसो त नेपालको क्यासिनो बिजनेसको मुख्य ग्राहक भारतीय नै हुन् । भारतीय पर्यटक भएनन् भने नेपालको क्यासिनो व्यवसाय चल्न सक्दैन ।

नगदमा कारोबार हुने क्यासिनो व्यवसायमा ठूलो नोटको प्रतिबन्धले ठूलै धक्का पुग्ने भएको छ । पीओएसमा पनि धेरै रकम निकाल्न नमिल्ने र क्यास पनि धेरै बोक्न नमिल्ने भएपछि क्यासिने व्यवसायमा धक्का पुग्ने व्यवसायीले बताएका छन् ।

सटहीका लागि पुनः भारत नै जानुपर्ने
त्यसो त सबै नेपालीलाई रेमिटेन्सबारे जानकारी रहेको छैन । यद्यपि भारतमा काम गरेर फर्कने नेपालीहरूले अहिले पनि भारतीय रूपैयाँ बोकेर नै नेपाल फर्कने गरेका छन् ।
तर नेपालमा १ सय रूपैयाँभन्दा माथिका भारतीय रूपैयाँमा प्रतिबन्ध लागेसँगै अब उनीहरूले नेपाल ल्याएको नोट सटहीका लागि पुनः भारत नै जानुपर्ने वा भारतबाट जिन्सी किनेर ल्याउनुपर्ने भएको छ ।

ठूला भारतीय नोट बोके ३ वर्षसम्म जेल !
सरकारले ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाएसँगै अब ती नोटहरू बोकेमा उनीहरूलाई ३ वर्षसम्म जेल सजाय हुनसक्ने राष्ट्र बैङ्कले बताएको छ ।

राष्ट्र बैङ्कका निर्देशक भिष्मराज ढुङ्गानाका अनुसार विदेशी विनिमय ऐनले प्रतिबन्धित नोट बोकेको पाइएमा वा छानबिनमा भेटिएमा भेटिएको रकम जफत, सो बराबरको बिगो र जफतको ३ गुणासम्म जरिवानाका साथै ३ वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

नेपालभित्र प्रतिबन्धित नोट नेपाली, भारतीय वा तेस्रो मुलुकका व्यक्तिले बोक्न पाउँदैनन् । यदि उनीहरूले यस्तो नोट बोकेमा ३ वर्षसम्म जेल बस्नुपर्ने हुनसक्ने ढुङ्गाना बताउँछन् ।नेपाल सरकारले अहिले तत्कालका लागि ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाए पनि यो दीर्घकालसम्म रहने सम्भावना पनि बढेको छ ।

भारतले फेमा नोटिफिकेसन जारी गरेर नेपालमा पनि ठूला नोट चलाउन सकिने भने पनि नेपालले खुला नगर्न पनि सक्छ ।

ठूला नोटको प्रयोगले अपराध तथा तस्करी बढाउने तथा मुद्राको सुरक्षा प्रत्याभूति नहुँदासम्म नेपालले यो खुल्ला नगर्न पनि सक्छ । त्यसकारण अल्पकाल मात्रै नभएर लामो समयसम्म पनि नेपालमा ठूला दरका भारतीय नोटको प्रयोगमा प्रतिबन्ध लाग्न सक्छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress