दुई सातामै हटाउन सकिन्छ कोटेश्वरको जामः


उपत्यकाको सबभन्दा व्यस्त र जाम हुने क्षेत्रमध्ये पहिलो नम्बरमा आउँछ, कोटेश्वर। कोटेश्वरबाट पूर्वीक्षेत्र जाने यात्रुका लागि यो ठाउँ पार गर्नु फलामको च्युरा चपाएसरह। बिहान-बेलुकी कार्यालय समयमा त २-३ घन्टा जाममै बित्छ।

यो समस्याको कारण साँघुरो सडक होइन।

भक्तपुरबाट कोटेश्वर‍ हुँदै तीनकुनेसम्म जापान सरकारले छ लेनको ९.६ किलोमिटर सडक बनाइदिएको छ। यस्तै चीन सरकारले कलंकीदेखि कोटेश्वरसम्म आठ लेनको १०.६ किलोमिटर भर्खरै बनाइसकेको छ। यसका बाबजुद जाम घट्ने संकेत छैन। उल्टो बढ्दो छ।

केही समयअघिसम्म सबभन्दा बढी जाम हुने सूचीमा कलंकी चोक अग्रस्थानमा थियो। आठ लेन सडकसँगै अण्डरपास बनेपछि कलंकीको जाम घटेको छ। कोटेश्वरमा भने तीनतिर सडक चौडा भइसक्दा पनि समस्या टसमस छैन।

 

यसै विषयमा हामीले पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूसँग कुराकानी गर्यौं। २९ वर्ष ट्राफिक सेवामै खटिएका हाछेथूले यहाँ जाम हुने प्रमुख कारण र समाधानका केही उपाय सुझाए।

उनका अनुसार यहाँ जाम हुनुको पहिलो कारण सडक चौडाइको तालमेल नमिल्नु हो।

‘कलंकी-कोटेश्वर र कोटेश्वर-भक्तपुर खण्ड नेपालकै राम्रा सडक मानिन्छन्,’ हाछेथूले भने, ‘दुइटै सडकको उद्गम विन्दु कोटेश्वर हो। तर यहाँ दुई देशले बनाइदिएका सडकको तालमेल मिलेको छैन। एकातिर आठ लेनबाट गाडी आउने, अर्कोतिर छ लेनबाट। कोटेश्वर चोक आइपुगेपछि दुई लेन मात्र। फराकिलो सडकबाट हुइँकिएर आएका त्यतिविधि गाडी कसरी अट्नु?’

उनका अनुसार एकतर्फी हेर्दा यहाँ आठ लेन सडकका चार लेनबाट गाडी आउँछन्। छ लेन सडकको तीन लेनबाट। दुइटै गरी सात लेनबाट आएका गाडी एकैपटक एक लेनमा अट्नुपर्छ। पहिले भक्तपुर र सातदोबाटो सडक फराकिलो थिएन। एक लेनबाट गाडी आउँथे। एक लेनमै अट्थे। सडक विस्तारसँगै गाडी ओइरिन थाले। जाम बढ्दै गयो।

‘यसमा बाटो विस्तार नमिलेको हो कि इञ्जिनियरहरू चुकेका हुन्, यसै भन्न सकिन्न,’ उनले भने, ‘तर प्राविधिक गडबडी छ।’

एकातिर सडक चौडाको अमेल, अर्कातिर कोटेश्वर भएर जाने राजमार्गको बढ्दो व्यस्तत

अरनिको राजमार्ग भएर भक्तपुर र काभ्रेतिर जाने स्थानीय सवारी बढेका छन्। बनेपा–सिन्धुली–बर्दिवास हुँदै पूर्वतिर जाने सवारी चाप पनि दिनकै बढ्दो छ। यो राजमार्गमा चल्ने ४ सय १८ वटा माइक्रोका स्टेसन कोटेश्वर हो। बाँकी सवारीको पनि मुख्यविन्दु कोटेश्वर नै।

‘यहाँको सास्ती थामिनसक्नु छ। काठमाडौंबाट बाहिरिने गाडी कोटेश्वर चोकमा पुगेर यात्रु ओराल्ने र पर्खेर बस्ने गर्छन्। यी रूटमा चल्ने गाडीका लागि कोटेश्वर अघोषित बसपार्क बनेको छ,’ उनले भने।

कोटेश्वरमा बसपार्क छैन। तै सबै गाडी यहीँबाट जान्छन्। हाछेथूका अनुसार बसपार्क नै नभएको साँघुरो कोटेश्वरबाट हरेक दिन ४ सय १८ वटा माइक्रो पूर्व जान्छन्। यी माइक्रो यहीँ पार्क गरिन्छन्।

एउटा माइक्रो १७ फिट लामो हुन्छ। हरेक माइक्रोलाई एक लाइनमा ५ फिट दूरीमा राख्दा करिब ९ किलोमिटर लामो लाम बन्छ। गुजुमुज्ज राख्दा पनि ७ किलोमिटरभन्दा लामो। यी माइक्रो चढ्न र ओर्लन दैनिक कम्तीमा ६ हजार ७ सय मान्छे आउँछन्। यसको आधाभन्दा बढी यिनलाई लिन र पुर्‍याउन आउनेहरू हुन्छन्।

‘दिनकै दस हजार मान्छे गाडीकै लागि आउँछन्। यो बाहेक अरू आवतजावत गर्ने त छँदैछन्,’ हाछेथूले भने, ‘यो त सामान्य समयको कुरा। दसैं-तिहार बेला त भिडमभाड मेलाभन्दा कम हुन्न।’

दसैंताका पूर्व जाने माइक्रो संख्या ६ सय नाघ्ने उनी बताउँछन्। योसँगै गाडीको लाइन, अरू सवारी र यात्रुले कोटेश्वर पूरै ढाक्छ।

‘यति धेरै मान्छे एकैपटक जम्मा हुँदा त बाटो काट्नधरि समस्या हुन्छ। कोटेश्वरमा गाडी पार्क गर्न दिएकैले जाम चरम भएको हो,’ उनले भने।

 

यस्तै कोटेश्वर हुँदै भक्तपुरतिर जाने स्थानीय बस एक हजारभन्दा बढी छन्। ती दैनिक ओहोरदोहोर गर्छन्। कोटेश्वर चोक भएरै एक मिनेटमा १ सय ६५ वटा मोटरसाइकल चल्छन्। ठूला/ साना गाडी ५९ वटासम्म चल्छन्। यस्तै एक मिनेटमा १ सय ५० जनाले बाटो काट्छन्।

‘यी हजार वटा बसका यात्रु, अरू सबै गाडी र मान्छेको संख्या हेर्दा नै यहाँ कति जाम हुन्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

कोटेश्वर चोकमा बस बिसौनी छ। यो १२ वटा बस अट्ने ठाउँ हो। तर एकपटक बाटो खुल्दा २८ वटासम्म बस/मिनिबस आउँछन्। यही संख्यामा माइक्रो पनि। यी गाडीका यात्रु ओराल्न पर्‍यो। चढाउन पर्यो। अझ सामानहरू भए बाटो पूरै ढाकिने हाछेथू बताउँछन्।

‘मैले कोटेश्वरमा ४ वर्ष बिताएको थिएँ। म हुँदा कोटेश्वर भएर एक मिनेटमा ६६ वटा मोटरसाइकल पार हुन्थे। गाडी २८ वटासम्म चल्थे। त्यति बेलाका लागि यो बिसौनी पर्याप्त थियो। अहिले सवारी साधन बढेर कहाँ पुगिसक्यो। बिसौनी भने उही। अनि किन नहोस् जाम,’ उनले भने।

यहाँको साँघुरो बिसौनीमा ठूला बस पनि समस्या भएको उनी बताउँछन्। यातायात सिन्डिकेट हटेपछि ३ सय ८१ वटा ठूला बस थपिएका छन्। यी स्थानीय बसको लर्को नै १२ किलोमिटरसम्म हुने उनले बताए।

‘२० वर्ष पुराना र साना गाडी हटाउने नीति ठ्याक्कै मिल्छ भनेर ठूला गाडी ल्याइयो। नियम नै बन्यो। तर जुन ठाउँमा आवश्यक छ त्यहाँ गाडी थपिएन,’ उनले भने, ‘रत्नपार्कदेखि स्वयम्भू, रत्नपार्कदेखि बौद्धतिर खै गाडी थपेको? त्यता सडक र ठूला गाडीको तालमेल अलि मिल्छ। यात्रु चाप पनि बढी छ। गाडी नपाएर यात्रुको बिचल्ली हुन्छ। कुन क्षेत्रमा यात्रु चाप छ, कहाँ ठूला गाडी चलाउन सहज र आवश्यक छ भन्ने अध्ययन नै नगरी जहाँ मन लाग्यो त्यहीँ गाडी थपेर समस्या सल्टिँदैन। झन् थपिएको छ।’

सडक अवस्था र यात्रुचापबारे अध्ययन र छलफलबिनै धमाधम गाडी थप्नु राम्रो तरिका नभएको उनको भनाइ छ।

यहाँ जाम हुनुको अर्को कारण पनि उनी औंल्याउँछन्- बढ्दै गएको व्यापार-व्यवसाय।

कोटेश्वरमा गाडी र यात्रु आउजाउ बढेसँगै व्यापार-व्यवसाय फस्टाएको छ। कोटेश्वरले नयाँ बसपार्ककै रूप लिइसकेको छ। चार हजार रूपैयाँ प्रतिमहिना पर्ने सटरको भाडा २० हजारमा लिन तँछाडमछाड हुन्छ। प्रायः सटरहरू टिकट काउन्टर र होटलले भरिएका छन्। सानो क्षेत्रमा चहलपहल धेरै भएको छ।

 

‘यहाँ होटल र काउन्टर धेरै भएपछि मान्छे पनि धेरै आउँछन्,’ हाछेथूले भने, ‘यसले सवारी आवागमनमा थप बाधा पुगेको छ। मान्छे नआऊन् भन्ने होइन। तर यो साँघुरो ठाउँलाई यति धेरै व्यस्त बनाउन हुँदैन।’

कोटेश्वरको जाम व्यवस्थापन राम्ररी हुन नसक्नुमा ट्राफिकको कार्यशैलीको पनि केही भूमिका रहेको उनी बताउँछन्। यहाँ ट्राफिक प्रमुखहरू परिवर्तन भइरहन्छन्। हाछेथूका अनुसार यहाँ वर्षमा ३ जनासम्म ट्राफिक इन्चार्ज परिवर्तन भएका छन्।

‘यहाँको जाम चरम र अव्यवस्थित छ। प्रहरीलाई निकै कठिन हुन्छ,’ उनले भने, ‘दुई महिना काम गर्दा पनि जाम २० को १९ हुँदैन। अनि गाली किन खाने भन्दै आएका प्रमुख अन्तै सरूवा हुन्छन्। ट्राफिक अधिकृत स्थिर नभएपछि कसरी काम गर्ने? नयाँ आएर लय समात्न नपाउँदै फेरिन्छ। अनि यो यस्तो ठाउँ हो, जहाँ दैनिक ६० जना ट्राफिक प्रहरी खटाए पनि जाम हट्नेवाला छैन।’

ट्राफिक प्रहरीको काम कारबाहीले मात्र यहाँको जाम कम नहुने उनी दाबी गर्छन्। सडक इञ्जिनियरको कमजोरी र वैकल्पिक बाटो अभावले जाम भएको ठाउँमा ट्राफिक प्रहरीले मात्र नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ।

भन्छन्, ‘७ किलोमिटर लामो जाममा ट्राफिकले के गर्ने? बोकेर कटाउने? बिसौनीमा धेरै बेर रोकियो भनेर कसलाई कराउने? कुनलाई हटाउने? १२ वटा बस अट्ने ठाउँमा ३० वटा कसरी मिलाउने?’

 

यी त भए कोटेश्वरमा जाम हुनुका मुख्य कारण। यो हटाउन के गर्न सकिन्छ त?

कोटेश्वरको सवारी जाम दीर्घकालीन रूपमा हटाउन सम्बन्धित निकायले चासो र ‘एक्सन’ लिनुपर्ने हाछेथू बताउँछन्।

‘यहाँ जाम किन बढिरहेको छ भनेर सम्बन्धित निकायले अहिलेसम्म चासो दिएको छैन,’ उनले भने, ‘नेता, मन्त्री र प्रधानमन्त्रीको सवारी हुँदा बाटो बन्द गरेर गाडी चलाउँछन्। सम्बन्धित निकायका व्यक्ति कहीँ जानुपर्‍यो भने बाटो खाली गरिन्छ। अनि उनीहरूले जाम कसरी देखुन्?’

उच्च तहका व्यक्तिलाई गाडी रोकेर सवारी कटाएका कारण उनीहरूको नजरमा यहाँको जाम नपरेको उनको गुनासो छ।

‘अहिले मान्छेहरू कोटेश्वर भएर कतै जानुपर्‍यो भने नाक खुम्च्याउँछन्। कम्तीमा एक घन्टाअघि हिँड्नुपर्छ,’ उनले भने,’ जामको दोष सबै ट्राफिकलाई जान्छ। एउटा चिर्कटोको भरमा ट्राफिक व्यवस्थापन गर्न सकिन्न। यसमा सबै निकायले एकैसाथ काम गर्नुपर्छ।’

सडक व्यवस्थापनसँग जोडिएका सबै निकायले एकसाथ भएर काम गर्न नसक्दा समस्या थपिँदै गएको उनी बताउँछन्। यसनिम्ति ‘सवारी जाम समिति’ गठन गरेर काम अघि बढाउन सकिने उनले बताए। सडक समस्या अध्ययन गरेर काम थाले दुई सातामै कोटेश्वरको जाम आधा कम हुने उनको दाबी छ।

सडक विभागले तीनकुने–जडिबुटी खण्डमा सुरूङमार्ग (अण्डरपास) बनाउने भनेको छ। हाछेथू भने यसले वर्तमान समस्या नसुल्झिने बताउँछन्। बरू यहाँ पैदलयात्रुका निम्ति आकाशे पुल बनाउनुपर्ने उनको भनाइ छ। भद्रकाली र पुरानो बसपार्कजस्तै कम लागतका फलामे आकाशे पुल बनाउन सकिन्छ। यस्तो पुल २ सातामै तयार हुन्छ। पैदलयात्रु आकाशे पुलबाट ओहोरदोहोर गर्दा त्यही समय सडकमा गाडी आउजाउ गराउन सकिने उनको तर्क छ।

‘यसले गाडी धेरैबेर रोकिनु पर्दैन। जाम धेरै कम हुन्छ,’ उनले भने, ‘सुरूङमार्ग बन्ने कहिले हो कहिले। यहाँको उकुसमुकुस जाम नहटाइ कहाँ सुरूङ खन्नु? जाम हटाउने विकल्प सुरूङ मात्र होइन। भोलि बानेश्वरमा यस्तै होला, चाबहिलमा होला। के सबैतिर सुरूङ बनाउने?’

 

तत्काल जाम कम गर्न कोटेश्वरबाट विभिन्न ठाउँमा जाने रूट फेर्नुपर्ने उनको भनाइ छ।

जस्तै, चाबहिल जाने सवारीलाई पेप्सीकोला हुँदै एअरपोर्टको पछाडिबाट चाबहिल निस्कने बनाउने।

भक्तपुरबाट सातदोबाटोतिर जानेलाई हनुमन्ते मनोहरा पुलबाट खोलैखोला बालकुमारी पुल निकाल्ने।

भक्तपुरबाट नयाँ बानेश्वरभन्दा अगाडि र पुल्चोक पुग्नेका लागि हनुमन्ते मनोहरा पुलबाट बालकुमारी पुलमुनि हुँदै युएनपार्कसम्म निकाल्न सकिन्छ।

पेप्सीकोलाबाट कोटेश्वर जाने गाडी बायाँ मोड्ने। अनि मनोहरा पुलमुनिबाट क्रसिङ गरेर कामख्या पेट्रोल पम्प हुँदै कोटेश्वर ट्राफिक बिट अगाडिबाट बाटो निकाल्ने।

कोटेश्वरबाट पेप्सीकोलातिर जाने गाडीका लागि एअरपोर्ट पेटीनिरको खाली ठाउँ प्रयोग गर्ने। त्यो बाटोबाट दायाँ/बायाँ जान पाउने बनाउने। जग्गा नपुगे एअरपोर्टको १०-१० फिट लिने।

कोटेश्वरको माइक्रो स्ट्यान्ट अनुमति खारेज गरी त्यसलाई पेप्सीकोला सार्ने। त्यहाँ एउटा छुट्टै स्थानमा माइक्रो पार्क बनाउने। बाटोमा पार्क गर्न नदिने। यात्रु चढाउने र ओराल्ने काम पनि यहीँबाट गर्ने।

पूर्वबाट आउने माइक्रोहरू गठ्ठाघरबाट दायाँ मोडिने र सानोठिमी हुँदै पेप्सीकोला जाने। उताबाट आएका माइक्रोहरू कोटेश्वर नआउने। जाने बेला त्यही बाटो हुँदै अथवा पेप्सीकोला-जडिबुटी हुँदै पूर्व जाने। कोटेश्वर नआउने। जडिबुटीबाट सातबजेसम्म गाडी छुटिसक्नुपर्ने नियम बनाउने।

 

यी त भए रूटका कुरा। कोटेश्वरको चरम जामको मुख्य कारणमध्येको एक बस बिसौनी पनि सार्नुपर्ने हाछेथू सुझाउँछन्।

उनका अनुसार यो बिसौनी अहिलेका गाडीका लागि एकदमै सानो छ। भक्तपुरतिरबाट आउने गाडीका लागि अहिलेको सार्वजनिक शौचालय हटाएर बस बिसौनी राख्ने। जाम नहुने ठाउँमा लगेर घुम्ती शौचालय राख्न सकिन्छ।

सातदोबाटोबाट आउने गाडीका लागि कोटेश्वरको प्रहरी प्रभाग नपुग्दै आकाशे पुलमुनि बिसौनी बनाउने।

कोटेश्वर पार गरेपछि तीनकुनेमा कान्तिपुर भवन अगाडि र गैह्रीगाउँमा मात्र रोक्न पाउने बनाउने।

जहाँ जहाँ जाम, त्यहाँ त्यहाँ सीताराम

तीनकुनेबाट सातदोबाटोतर्फ जाने गाडीहरू कोटेश्वरवारि रोक्न नपाउने र तिनका लागि कोटेश्वरपारि आकाशे पुलनजिक बिसौनी बनाउने।

तीनकुनेबाट भक्तपुरतिर जाने गाडी चोक नपुग्दै एक लेन मात्र बिसौनीमा राख्ने। तीनकुनेबाट जडिबुटीतिर जानेका लागि लेन खाली राख्ने।

जडिबुटी चोक नपुग्दै बनाएको बिसौनी हटाउने। मनोहरा पुलको पनि हटाउने। पेप्सीकोलातिर रोक्ने बनाउने।

‘हाललाई यति भयो भने यहाँको ९० प्रतिशत जाम नियन्त्रण हुन्छ,’ हाछेथूले भने, ‘अनावश्यक माइक्रो पार्कले मान्छे बढी हुन्छन्। यी हटाइयो भने यहाँका व्यवसाय पनि सर्छन्। यतिका चौडा बाटामा यस्तो जाम घटाउन नसक्दा के अझै बाटो थप्ने हो र? कि यसलाई व्यवस्थित गर्ने?’

अहिले कोटेश्वर भएर यात्रा गर्ने सर्वसाधारण घन्टौं जाममा बस्नुपर्दा दैनिक ५ लाख रूपैयाँभन्दा बढीको इन्धन खर्च हुन्छ। समयको बर्बादी छँदैछ। सबै गाडी स्टार्ट गरेर राख्नुपर्दा प्रदूषण पनि बढ्ने उनी बताउँछन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress