बडिविल्डिङमा नेपाललाई ऐतिहासिक सफलता, महेश्वर बने विश्वविजेता | नेपालले स्वर्ण जित्दा बज्यो श्रीमान गम्भीर (भिडियो)


१ पुस, काठमाडौं । थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।

भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालिको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।

थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ । एक प्रकारले यसलाई ‘ह्यान्डसम प्रतियोगिता’ पनि भन्न सकिन्छ ।

एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए ।

बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन । यसमा खानपानमा नियन्त्रण सबैभन्दा प्रमुख कुरा हो । महर्जनले ६ महिना अगाडिदेखि नून खान छोडेका थिए । नूनले तौल बढाउने र डिहाइड्रेसनसमेत हुने गरेकाले प्रतियोगिताभन्दा धेरै अगाडिदेखि नून खान नहुने नेपाल बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएशनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।

महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा (सेतो भाग मात्र) खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे ।

राजभण्डारीका अनुसार प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् । महर्जनले पनि यसै गरेका थिए ।

उपेक्षित शारीरिक सुगठन

शारीरिक सुगठन अर्थात् बडीबिल्डिङलाई नेपालमा उपेक्षित नै छ । बडीबिल्डिङ एसोसियसन नेपाल खेलकुद परिषदमा दर्ता भए पनि परिषदले यो खेललाई प्रबद्र्धन गर्न खासै चासो नदिएको राजभण्डारी बताउँछन् ।

‘हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी आफैंले स्रोत जुटाएर पठाउनुपर्छ,’ उनले भने, ‘परिषदले गर्ने सहयोग नोमिनल (पचास हजारदेखि एक लाख) मात्र हुन्छ ।’

थाइल्याण्डको प्रतियोगितामा पठाउँदा त परिषदले अहिलेसम्म एक पैसा पनि नदिएको उनले बताए ।

‘दुई खेलाडीलाई तयार पार्नदेखि प्रतियोगितामा सहभागी गराउनसम्म ६–७ लाख रुपैयाँ खर्च भएको छ, तर परिषदबाट एक पैसा पाएका छैनौं,’ राजभण्डारीले भने । परिषदका सदस्यसचिव शोकमा रहेकाले पैसाको विषयमा निर्णय हुन नसकेको उनले जानकारी पाएका छन् ।

प्रतियोगिताको आयोजकले कुनै खर्च नव्यहोर्ने उनी बताउँछन् । आतेजाते टिकट, होटलमा बस्ने खाने सबै एसोसिएसनले नै गरेको उनको भनाई छ । ६ दिन होटलमा खान बस्नका लागि ७ सय २० डलर आयोजकलाई बुझाइएको उनले जानकारी दिए ।

प्रतियोगितामा बिजेताले कुनै नगद पुरस्कार पाउँदैनन् ।

‘राष्ट्रलाई विश्वसामु चिनाउने बाहेक यसमा हाम्रो अर्को कुनै स्वार्थ छैन,’ उनले भने ।

यो प्रतियोगितामा भाग लिन खेलाडीहरु पठाउँदा संघले राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको थियो । तर, परिषदका प्रतिनिधि भने गएका थिएनन् ।

को हुन् महर्जन ?

काठमाडौंको छाउनीमा घर भएका महर्जन लामो समयदेखि शारीरिक सुगठनमा छन् । सामान्य किसान परिवारमा जन्मेका उनी सानोमा ख्याउटे थिए । कक्षा नौमा पढ्दा नरदेवीको यूनिभर्सल जिमबाट उनले शारीरिक व्यायाम सुरु गरेका थिए । तर उनलाई घरबाट सहयोग थिएन । खासगरी आमाले यो क्षेत्र मन पराएकी थिइनन् ।

२००५ मा उनले पहिलोपटक दशौं धर्मश्रीमा भाग लिएर पाचौं भएका थिए । परिवारको आर्थिक स्थिति कमजोर भएकाले उनले बाहिर काम पनि गरिरहेका थिए ।

त्यसपछि उनले मिस्टर हिमालयमा भाग लिए र सेकेन्ड पोजिसनमा आए । अहिलेसम्म २४/२५ वटा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका मानन्धरले १८ वटा गोल्ड मेडल जितेका छन् ।

२०११ मा भियतनाममा आयोजित ४७ औं एसियन च्याम्पियनसीप उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा उनी ११ जनामा सातौं भए । १३ औं धर्मश्रीमा सर्वोत्कृष्ट उनको चर्चा बढेको थियो ।

परिवारको दायित्वले गर्दा महर्जन दुईपटक विदेशिए । पहिलोपटक साउदी अरब गएर उनले फिटनेस जिममा डेढ वर्ष काम गरे । बाबु बिरामी भएपछ नेपाल आए । तर, परिवार पाल्न गाह्रो भएपछि ५–६ महिनापछि दुबई गए । त्यहाँ होटलमा फिटनेस डिपार्टमेन्टमा असिस्टेन्ट फिटनेस म्यानेजरका रुपमा साढे तीन वर्ष काम गरे । केही पैसा कमाएर उनी फर्के ।

अहिले चाहिँ उनी साथीहरुसँग मिलेर जिम सेन्टर सञ्चालन गरिरहेका छन् । अहिले उनको आर्थिक अवस्था केही राम्रो छ ।

महेश्वर २५ तारिखमा थाइल्यान्डबाट नेपाल फर्केपछि नगर परिक्रमा गराउने तयारी एसोसिएशनले गरेको छ । साथै उनलाई नगद पुरस्कार दिने विषयमा पनि छलफल भइरहेको राजभण्डारीले बताएका छन् ।

थाइल्यान्डमा नेपालले स्वर्ण जित्दा बज्यो श्रीमान गम्भीर (भिडियो)

१ पुस, काठमाडौं । थाइल्यान्डमा आयोजित वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालले इतिहास रच्यो । तर, स्वर्ण पदकको खुशीसँगै आयोजकको कमजोरीले नेपाललाई दाँतमा ढुंगा लागेझैं भएको छ । स्वर्ण विजेता महेश्वर महर्जनको सम्मानमा राष्ट्रिय धुन बजाउँदा गम्भीर गल्ती भयो ।

नेपालले स्वर्ण जितेपछि पृष्ठभूमिमा रहेको ठूलो स्क्रिनमा नेपालको राष्ट्रिय झण्डा देखाइयो । अनि, उद्घोषकले नेपालको नेसनल एन्थम (राष्ट्रिय धुन) बज्ने घोषणा गरे । राष्ट्रिय धुन त बज्यो तर, अहिलेको नभएर पुरानो । राजतन्त्रकालिन ‘श्रीमान गम्भीर नेपाल’ को धुन बजाइयो ।

तो गल्ती हुन पुगेको नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।

‘म पनि अनलाइनमा बसेर लाइभ हेरिरहेको थिएँ, पुरानो राष्ट्रिय धुन बजेपछि स्तब्ध भएँ,’ उनले भने । गलत राष्ट्रिय धुन बजेको विषयमा आफूले तत्काल म्यासेज पठाएर रोक्न भने पनि रेस्पोन्स नभएको राजभण्डारीले बताए ।

प्रतियोगितामा नेपालबाट टिम म्यानेजरका रुपमा श्याम श्रेष्ठ सहभागी थिए । तर, राष्ट्रिय गानको विषयमा आयोजकले उनीसँग कुनै जानकारी लिएको थिएन । न त उनले नै चासो राखेका थिए ।
राजभण्डारी भन्छन्, ‘आयोजकलाई सायद नेपालले जित्छ भन्न थिएन होला, त्यसैले नेपालको धुनको तयारी नै गरेका रहेनछन् । पछि हतारमा आफैंले इन्टरनेटमा खोजेर पुरानो धुन डाउनलोड गरेछन्, हाम्रा प्रतिनिधिसँग कुनै परामर्श गरिएनछ ।’

आफूले टिम म्यानेजरसँग यस विषयमा आयोजकसँग बुझ्न लगाएको र उनको जवाफ आएपछि थप कदम चाल्ने राजभण्डारीको भनाई छ ।

‘आयोजकले यस विषयमा क्षमायाचना गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

पुरानो राष्ट्रिय धुन बजे पनि मानन्धर भावविव्हल बनेका थिए । धुन सकिएपछि उनले शरीरमा ओढेको राष्ट्रिय झण्डाले आँशु पुछेका थिए ।

यसअघि भुटानमा ५० औं एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनै महर्जनले स्वर्ण जित्दा नेपालको नयाँ राष्ट्रिय धुन नै बजेको थियो ।

परिषदलाई थाहा छैन

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले गलत राष्ट्रिय धुन बजेको विषयमा आफूलाई जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘मलाई कसैले जानकारी गराएको छैन, अब बुझ्छु ।’

उनले राष्ट्रिय धुन बजाउने विषयमा आफूहरुको कुनै दायित्व नरहने पनि बताए ।

‘यो उतैको आयोजकको जिम्मेवारी हो, हामीले यहाँबाट एन्थम/सेन्थम दिएर पठाउने कुरा आउँदैन, परिषदका प्रतिनिधि पनि कोही गएका छैनन्,’ तिम्सिनाले भने । यद्यपि, एसोसिएसनले परिषदसँगको समन्वयमा नै प्रतियोगितामा भाग लिएको उनको भनाई छ ।

तिम्सिनाले उक्त कार्यक्रमको भिडियो हेरेर आयोजकलाई क्षमायाचना गराउन परिषदको तर्फबाट पत्र पठाउने बचन दिएका छन् ।

यस कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress