के हो क्रिप्टोकरेन्सी ?


क्रिप्टोकरेन्सी (Crypto currency) शब्द दुई वटा अंग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात गुप्त वा गूढ र करेन्सीअर्थात मुद्रा। अतः शाब्दिक रुपमा पनि क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। सिक्का र नोटहरुको जस्तो यसको भौतिक अस्तित्व रहँदैन।

लेखक-नारायणप्रसाद शर्मा

अर्थात, यसलाई सिक्का र नोटजस्तो छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन। यसमा कारोबारहरुलाई सुरक्षित राख्न, तिनलाई रुजू गर्न र नयाँ मुद्रा निष्काशन गर्न संकेताक्षरको सहारा लिइन्छ। क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका ती सीमित प्रविष्टि  (इन्ट्री) हुन् जसलाई खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्।

इतिहास र काम गर्ने तरिका

सन् १९९० को दशकमा विद्युतीय मुद्रा -Digital Currency_ बनाउन विभिन्न प्रयासहरु भए। फ्लूज, बिन्ज र डिजिक्याशजस्ता उपकरण बजारमा देखिए। तर कुनै पनि टिक्न सकेनन्। ठगी, वित्तीय समस्या र कम्पनीका कर्मचारी एवं तिनका मालिकको द्वन्द्वका कारण तिनीहरु जसरी आए, त्यसैगरी बिलाए। यी सबै प्रणालीहरुले विश्वसनीय तेश्रो पक्ष -Trusted Third Party_ को ढाँचा अपनाएका थिए। यी विद्युतीय मुद्रा बनाउने कम्पनीहरुले नै कारोबारहरुलाई रुजू र सहजीकरण गर्थे। तर, यिनले प्रयोगकर्ताको मन जित्न सकेनन्।

यसैबीच, सन् २००९ को प्रारम्भमा सातोसी नाकामोतो (Satoshi Nakamoto) छद्म नामका एक व्यक्तिले बिटक्वाइन -Bitcoin_ को आविष्कार गरे। यो एक पूर्ण विकेन्द्रित प्रणालीमा आधारित छ। अर्थात, यसमा नत कुनै केन्द्रीय सर्भर हुन्छ नत केन्द्रीय नियन्त्रणकारी निकाय नै। भुक्तानी सञ्जाल -Payment Network_ को मुख्य समस्या भनेको दोहोरो खर्चलाई रोक्न नसक्नु हो। अर्थात एउटै रकमलाई अनाधिकृत रुपमा २ पटक खर्च गरिदिने। यसको परम्परागत समाधान भनेको केन्द्रीय सर्भर वा विश्वसनीय तेश्रो पक्षलाई अपनाउनु हो। यसले हाम्रा सबै कारोबार र मौज्दातको हिसाब राख्ने गर्छ। तर, यसो गर्दा हाम्रो कोष अरुको नियन्त्रणमा हुने र सबैका व्यक्तिगत विवरण चुहावट हुने जोखिम देखियो।

बिटक्वाइनले धेरै हदसम्म यो समस्यालाई हल ग–यो। यसमा कुनै केन्द्रीय प्राधिकार निकाय नभएकोले प्रत्येक उपभोक्ता वा प्रयोगकर्ताले नै आफ्नो कारोबार र मौज्दातको हिसाब राख्नुपर्छ। यसका लागि ब्लकचेन -Blockchain_ नामक कारोबारको एक सार्वजनिक खातालाई प्रयोगमा ल्याइन्छ। यसमा सो नेटवर्कमा भएका सबै कारोबारका जानकारी उक्त नेटवर्कका सदस्य सबैलाई हुन्छ। अतः नेटवर्क भित्रका सबैले एक अर्काको ब्यालेन्स सहजै हेर्न पाउँछन्।

प्रत्येक कारोबारमा एउटा फाइललाई प्रेषक र प्रापकका सार्वजनिक चाबी -Public Key_ मार्फत तोकिएको मूल्यका भर्चुअल सिक्काको आदानप्रदान गरिन्छ। प्रेषकले आफ्नो व्यक्तिगत चाबी -Private Key_ द्वारा यो कारोबारलाई रुजू वा सहीछाप पनि गर्नुपर्छ। अन्ततः त्यो कारोबारलाई नेटवर्कभर प्रसारण गरिन्छ।

क्रिप्टोकरेन्सी नेटवर्कमा माइनर ले मात्र एक सांकेतिक समीकरण वा पजल -Cryptographic Puzzle_ हल गरी कारोबारहरुलाई रुजू गर्न सक्छन्। उनीहरुले कारोबार स्वीकार गर्छन्, तिनलाई वैध हो भनी प्रमाणित गर्छन् र नेटवर्कभर पठाउँछन्। त्यसपछि, नेटवर्कको प्रत्येक नोड वा इकाईले यसलाई आफ्नो डाटाबेसमा थप गर्दै जान्छ। यसलाई हो भनेर पुष्टि गरिसकेपछि भइसकेको कारोबारलाई फिर्ता गर्न मिल्दैन। यसरी माइनरले पारिश्रमिकका अतिरिक्त कारोबारको शुल्कसमेत प्राप्त गर्छ।

कारोबार र मौज्दातको वैधानिकतामा सबै सहभागीहरु विश्वस्त भएपछिमात्र क्रिप्टोकरेन्सी नेटवर्क क्रियाशील हुन्छ। यदि कुनै ब्यालेन्सका बारेमा नेटवर्कको कुनै पनि नोड वा इकाईले शंका गरेमा त्यो प्रणाली आफैं ढल्न पुग्छ। तर, नेटवर्कमा पहिल्यै नै यसबारेमा नियम बनाई राखिसकिने हुँदा यस्तो हुने सम्भावना कमै हुन्छ। यसरी, क्रिप्टोकरेन्सीको सुरक्षा मानिस वा विश्वासले होइन कम्प्युटरचालित गणित आफैंले गरिरहेको हुन्छ।

क्रिप्टोकरेन्सीबाट के के गर्न सकिन्छ ?

विगतमा क्रिप्टोकरेन्सीलाई कारोबारको माध्यमको रुपमा स्वीकार गर्न व्यापार, व्यवसायहरु हच्किन्थे। तर, अहिले अवस्था फेरिईसकेको छ। अहिले अनलाइन वा अफलाइनमा धेरै व्यापारीहरु छन् जसले बिटक्वाइनलाई भुक्तानीको एक साधनको रुपमा स्वीकार्दछन्। पश्चिमा मुलुकमा ठुल्ठुला अनलाइन बिक्रेतादेखि साना स्थानीय पसल, बार र रेष्टुरेण्टमा बिटक्वाइन चल्न थालिसकेको छ। साथै, होटल, उडान, गहना, कम्प्युटर आदिका लागि मात्र होइन कलेजको फी तिर्नसमेत बिटक्वाइन चल्न थालिसकेको छ। बिटिफाई र ओपनबजारजस्ता केही अनलाइन शपिङ्ग साइटहरु छन् जसले केवल क्रिप्टोकरेन्सीमात्र स्वीकार गर्छन्।

किनमेलका अतिरिक्त क्रिप्टोकरेन्सीलाई लगानी गर्नमा समेत प्रयोग गर्न सकिन्छ। अचेल, शेयर बजारपछि सबैभन्दा आकर्षक लगानी क्रिप्टोकरेन्सीमा मान्न थालिएको छ। बिटक्वाइनमा लगानी गरेर मानिसहरु रातारात धनी भएका कथाहरु पहिले निकै पढ्न पाइयो। नोभेम्बर २०१७ मा एउटा बिटक्वाइनको भाउ ७००० अमेरिकी डलरभन्दा बढी थियो। अहिले नोभेम्बर २०१८ मा यसको भाउ घटेर ३८५९ डलर पुगेको छ। तर, सन् २०१९ मा यसको भाउ फेरि बढ्ने अनुमान छ।

तर क्रिप्टोकरेन्सीमा राखिने पैसा एक जोखिमपूर्ण लगानी हो। तिनको बजारभाउ प्रत्येक हप्तामा तलमाथि भइरहन्छ। यसको नियमन नभएको हुँदा कतिपय मुलुकमा यसलाई अवैध घोषणा गर्ने डर हुन्छ। क्रिप्टोकरेन्सीको एक्सचेञ्ज ह्याक हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। क्रिप्टोकरेन्सीमा लगानी गर्न चाहनेका लागि बिटक्वाइन सबैभन्दा विश्वासिलो र लोकप्रिय माध्यम बनेको छ।

एकपटक हामीले क्रिप्टोकरेन्सी किनिसकेपछि त्यसलाई पैसा बैंकमा राखेजस्तै यसलाई पनि भण्डारण गर्ने ठाउँ चाहिन्छ। सबै ठूला एक्सचेञ्जहरुले यसरी क्रिप्टोकरेन्सी राख्न वालेट सेवाहरु -Wallet Services_ उपलब्ध गराउँछन्। यो सजिलो विकल्प भएता पनि आफ्नो हार्ड ड्राइभको अफलाइन वालेटमा यस्तो मुद्रा राख्नु वा हार्डवेयर वालेटमा लगानी गर्नु बुद्धिमानी हुन्छ। आफ्ना क्वाइनहरु राख्नलाई यो सबैभन्दा सुरक्षित माध्यम हो र यसमा आफ्नो मुद्रामाथि पूर्ण नियन्त्रण पनि कायम हुन्छ।

अरु जुनसुकै लगानीजस्तै क्रिप्टोकरेन्सीको वर्तमान बजारभाउका बारेमा चनाखो हुनैपर्छ। क्वाइनमार्केटक्याप जस्ता वेबसाइटमा गएर यिनका बारेमा ताजा जानकारीहरु पाउन सकिन्छ। कतिपय देशमा क्रिप्टोकरेन्सीमा लगानी गर्दा भएको नाफा वा नोक्सानलाई कर विवरणमा देखाउनुपर्छ। अमेरिकामा आन्तरिक राजश्व सेवाले बिटक्वाइन र अरु डिजिटल मुद्राहरुलाई मुद्रा होइनकै सम्पत्तिकै हिसाबले कर लगाउँछ। यस्तो कारोबारबाट भएको नाफामा त्यहाँ पूँजीगत लाभ कर लगाइन्छ जसको दर १५ प्रतिशतसम्म छ। तहाँ बिटक्वाइन र अरु क्रिप्टोकरेन्सीहरुलाई परिवत्र्य भर्चुअल मुद्राको रुपमा स्वीकारिएको छ। तिनलाई भुक्तानीको साधनको रुपमा स्वीकार्नु भनेको नगद, सुन वा उपहार कार्ड स्वीकारेजस्तै हो।

हाल विश्वका ५८ वटा मुलुकमा बिटक्वाइन किन्न मिल्ने १८०० वटा एटिएमहरु छन्। सन् २०१० मा विश्वमा पहिलोपटक २ वटा पिज्जा किन्न कसैले १० हजार बिटक्वाइन खर्चेको थियो। अहिले भए त्यसको मूल्य लाखौं डलरमा हुने थियो। अचेल केही मुलुकमा पिज्जाहट, केएफसी र सबवेजस्ता विश्वव्यापी फुड चेनहरुले समेत बिटक्वाइनबाट भुक्तानी स्वीकार्न थालेका छन्।

माइनिङ्ग के हो ?

बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी उत्पादन गर्ने प्रकृया नै माइनिङ्ग वा उत्खनन हो। यसमा माइनरहरुले आ–आफ्ना समुदायका लागि लेखा राख्ने काम गरिरहेका हुन्छन्। कम्प्युटरको माध्यमबाट जटिल क्रिप्टोग्राफिक पजलहरु हल गरेर उनीहरुले कारोबारलाई प्रमाणितमात्र गर्दैनन् ब्लकचेन नामक सार्वजनिक खातामा त्यसको अभिलेख पनि राख्छन्। जति मानिसहरुले यस्ता पजल हल गर्न खोज्यो, यी पजल उत्ति नै जटिल बन्दै जान्छन्। कुनै क्रिप्टोकरेन्सी जति लोकप्रिय बन्छ, त्यति नै धेरै मानिसहरुले त्यसलाई माइनिङ्ग गर्न खोज्छन् र यो प्रकृया अझ कठिन बन्दै जान्छ। यसप्रकार, भौतिक मुद्रा (नोट) प्रेसमा छापे वा निष्काशन गरेजस्तै कम्प्युटरबाट पजलहरु हल गरेर विद्युतीय मुद्रा वा क्रिप्टोकरेन्सी उत्पादन गर्ने काम नै माइनिङ्ग हो।

पहिले माइनिङ्ग गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट कनेक्शनमात्र भए पुग्थ्यो। यिनै आधारभूत सामान र सेवाबाट धेरै मानिसहरुले शुरुवाती समयमा माइनिङ्गबाट राम्रो नाफा कमाए। तर, जसै बिटक्वाइन र अरु मुद्राहरुको माइनिङ्गले गति लियो, अब औद्योगिक दर्जाको माइनिङ्ग हार्डवेयर एवं उपकरण आवश्यक पर्न थाल्यो। माइनिङ्गको काममा अत्याधिक विद्युत खपत हुन्छ। यही भएर नर्वेले हालसम्म माइनिङ्गका लागि निःशुल्क दिँदै आएको विद्युतमा अब महसूल लगाउने भएको छ।

तस्बिरः (blockgeeks.com)

माइनरहरुले नाफा गर्ने तरिका पनि रोचक छ। जति उनीहरुसँग कम्प्युटरमा गणनाशक्ति  -Computing Power_ हुन्छ, त्यति जटिल पजल वा समीकरण हल गर्ने उनीहरुको क्षमता बन्छ। एउटा गणितीय समीकरण हल गर्दासाथ उनीहरुले पारिश्रमिकका साथै कारोबार शुल्क पनि पाउँछन्।

क्रिप्टोकरेन्सीमा मानिसको मोह र प्रयोग बढेसँगै माइनिङ्गको काम दुष्कर बन्दै जान्छ र पारिश्रमिकका रुपमा पाएको क्वाइनको संख्या घट्न थाल्छ। सन् २००९ मा बिटक्वाइन शुरुमा भित्रिँदा सफल माइनिङ्ग गरेबापत ५० क्वाइन ज्याला पाइन्थ्यो। अहिले त्यो घटेर १२.५ क्वाइन छ। यस्तो किन भयो भने बिटक्वाइनको नेटवर्क नै यसरी डिजाइन गरिएको छ कि एकपटकमा २ करोड १० लाख क्वाइन (सिक्का) मात्र प्रचलनमा रहन सक्छन्। अप्रिल २०१८ सम्ममा कुल १ करोड ७० लाख बिटक्वाइन माइन गरिसकिएकोले अब ४० लाखजति बिटक्वाइनहरु माइन गर्न वा निकाल्न बाँकी छ। त्यसपछि नेटवर्कको प्रोटोकल नै बदलेर थप माइनिङ्ग गर्ने सुविधा नजोडेसम्म माइनिङ्गको भविष्य अनिश्चित बन्नसक्छ। माइनिङ्गको पारिश्रमिक जति घट्दै जान्छ त्यसबाट निस्किने मुद्रा भने महंगो हुँदै जान्छ।

क्रिप्टोकरेन्सीका मुख्य प्रकार

क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा लोकप्रिय किसिम बिटक्वाइन हो। यद्यपि, अरु कम प्रचलित मुद्राहरु पनि अस्तित्वमा छन्।

बिटक्वाइनः दैनिक २ लाखभन्दा बढी पटक कारोबार हुने बिटक्वाइनलाई क्रिप्टोकरेन्सीको राजा भन्नु फरक नपर्ला। यसलाई विश्वका धेरै मुलुकमा भुक्तानीको माध्यमका रुपमा स्वीकारिएको छ। घरेलु र व्यापारिक प्रयोजनका लागि त छँदैछ, यसको प्रयोग डार्कनेटमा अवैध सामान किन्न र अवैध काम गराउन पनि भइरहेको छ किनकि यसको नियामक निकाय कुनै छैन।

इथिरियमः भिटालिक बुटेरिनले पत्ता लगाएको यो विद्युतीय मुद्रा वरियतामा दोश्रो स्थानमा आउँछ। इथिरियमले मानिसहरुको कारोबार र मौज्दातलाई मात्र होइन जटिल करार एवं कार्यक्रमहरुलाई समेत प्रमाणित गर्नसक्छ। यसको ब्लकचेनमा बिटक्वाइनमा भन्दा धेरै कुरा अटाउनसक्छ। तर प्रयोगमा बढी जटिल भएका कारण यो तुलनात्मक रुपमा कम लोकप्रिय छ।

रिपलः बिटक्वाइन र अरु क्रिप्टोकरेन्सीहरु बैंकिङ्ग प्रणालीबाट अलग हुन चाहन्छन्। तर रिपलले वित्तीय संस्थाहरुलाई सहयोग गर्ने लक्ष्य राख्छ। रिपललाई बिटक्वाइनभन्दा छिटो कारोबार गर्न सकिने दावी एकथरि प्रयोगकर्ताको छ। भोलि बैंकहरुले क्रिप्टोकरेन्सीलाई अपनाए भने रिपल नै उनीहरुको रोजाइ बन्ने पक्का छ।

लिटक्वाइनः बिटक्वाइनलाई भन्दा छिटो माइनिङ्ग गर्नसकिने लिटक्वाइनलाई बिटक्वाइनको भाइ पनि भन्ने गरिन्छ। यसको कारोबारको गति पनि बिटक्वाइनको भन्दा द्रुत हुने दावी गरिन्छ। अमेरिकाको न्यू जर्सीस्थित हेलन्स पिज्जा नामक रेष्टुरेण्टले बिटक्वाइनका साथै लिटक्वाइनलाई पनि स्वीकार गर्ने जनाइसकेको छ।

मोनेरोः बिटक्वाइनमा नभएका गोपनीयता -Privacy_ गुणहरुलाई परिपूरण गर्न मोनेरो आएको मानिन्छ। हामीले बिटक्वाइन प्रयोग गर्दा प्रत्येक कारोबारको अभिलेख ब्लकचेनमा रहन्छ र कुनै पक्षले चाह्यो भने कारोबारको श्रृंखला नै पत्ता लगाउनसक्छ। तर मोनेरोको आगमनसँगै यस्तो श्रृंखलालाई टुटाउन सकिन्छ। डार्कनेटका केही बजारहरुले मुद्राको रुपमा अपनाएसँगै सन् २०१६ को गर्मीमा मोनेरोको भाउ एकाएक चुलियो। तर अब भने स्थिर भइसकेको छ। यसलाई बिटक्वाइनकै परिपूरक वा सहायक मुद्राको रुपमा लिने गरिन्छ।

क्रिप्टोकरेन्सी र वैधताको प्रश्न

जसै क्रिप्टोकरेन्सीको प्रचलन विश्वभर बढ्दै छ, कर प्रशासन र कानुन कार्यान्वयनकर्ताहरुलाई यसलाई बुझ्न एवं विद्यमान कानुनी ढाँचामा तिनलाई कता फिट गर्न सकिन्छ भन्ने चुनौति थपिएको छ। विकेन्द्रित, स्वनिर्भर र कुनै भौतिक स्वरुप वा आकारमा प्रकट नहुने एवं कुनै एकल निकायले नियन्त्रण पनि गर्न नसक्ने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीको आगमनले कारोबार र भुक्तानीका परम्परागत प्रणालीमा हलचल ल्याएको छ। नियामकहरुको चिन्ता यिनको प्रयोग अवैध वस्तु वा सेवाको प्राप्ति र करछली वा मुद्रा निर्मलीकरणजस्ता क्रियाकलापमा हुन्छ कि भन्ने छ, जुन चासो आफैंमा जायज छ।

बिटक्वाइन र अरु क्रिप्टोकरेन्सीको माइनिङ्ग गर्दा खर्च हुने विद्युत ऊर्जा पनि हाल आएर वातावरणीय चासोको विषय बनेको छ। माइनिङ्ग गर्दा विश्वमा अहिले वार्षिक रुपमा जति ऊर्जा खर्च भइरहेको छ, त्यो डेनमार्कको एक वर्षको कुल ऊर्जा खपत बराबर छ।

यसैले क्रिप्टोकरेन्सीको वैधानिकताका बारेमा देशपिच्छे अलग अभ्यास पाइन्छ। नेपाल, बंगलादेश, बोलिभिया, इक्वेडोर, भियतनाम र किर्गिजस्तानजस्ता मुलुकमा बिटक्वाइनलगायत सबै डिजिटल मुद्राहरु अवैध छन्। जोर्डन, थाइल्याण्ड र रुसजस्ता मुलुकमा मा यिनले आंशिक स्वीकृति पाएका छन्। नेपालमा अक्टोबर २०१७ मा बिटक्वाइनको अवैध माइनिङ्ग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट ७ जना एक्सचेन्ज अपरेटरहरुलाई पक्राउ गरेको थियो। नेपाल राष्ट्र बैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई मिति २०७४।०४।२९ मा अवैध घोषणा गरिसकेको छ। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले अप्रिल २०१८ मा एक प्रेस विज्ञप्ति जारी गरी बिटक्वाइनसहितका क्रिप्टोकरेन्सीहरु भारतमा आधिकारिक रुपमै प्रतिबन्धित रहेको जनाएको थियो। तैपनि भारतमा गुपचुपमा यस्ता मुद्राहरुको कारोबार भइरहेको बुझिन्छ। भारतले आफ्नै मौलिक डिजिटल मुद्रा निष्काशन गर्ने सोच पनि बनाएको छ। नेपालको सन्दर्भमा बिटक्वाइन वा अरु क्रिप्टोकरेन्सीबाट कारोबार वा भुक्तानी भएको हालसम्म औपचारिक जानकारी छैन। अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, हंगकंग, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेशिया, सिंगापुर, फिलिपिन्स, अष्ट्रेलिया, न्युजिल्याण्ड र युरोप महादेशका सबै मुलुकहरुमा बिटक्वाइनलाई अनुमति एवं मान्यता दुवै प्राप्त छ। सार्क क्षेत्रका कुनै पनि मुलुकमा यसले वैधानिकता पाएको भेटिँदैन।

अन्तमा बिटक्वाइन वा अरु क्रिप्टोकरेन्सीका सम्भाव्य दुष्परिणामबारे जतिसुकै हल्लीखल्ली गरिएता पनि यिनीहरु बजारमा टिकिरहने कुरामा विवाद छैन। प्रतिबन्धित मुलुकहरुमा पनि यिनको प्रयोगलाई खुला गर्नुपर्ने आवाज उठिरहेको छ। विश्वका शक्तिशाली र आधुनिक अर्थतन्त्रहरुमा यिनको प्रयोग भइरहेको छ। आफ्नो राष्ट्रिय मुद्राको अवमूल्यनबाट हुने नोक्सानीबाट जोगिन पनि धेरै व्यक्तिहरुले बिटक्वाइन खरिद गरिरहेका छन्। विश्वमत विस्तारै यिनको प्रयोगलाई स्वीकृति दिनेतर्फ अघि बढ्दैछ। तर, यिनको प्रयोगलाई कसरी स्वस्थ राख्ने, कसरी नियमन गर्ने र लगानीकर्ताहरुको रकमलाई कसरी जोगाउने भन्ने बारे संस्थागत अध्ययन जरुरी देखिन्छ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress