त्रेतायुगको स्मरण गराउने पर्व विवाहपञ्चमी


मिथिलाञ्चलको घर घरमा आज रामजानकी विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ। त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौं दर्शनार्थीहरू जनकपुरधाम पुगिसकेका छन्।

जानकी मन्दिरको महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहे गरिरहेको जस्तै अनुभव भइरहेको बताए। महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन्।

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनन्। उनी भन्छन्,‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर छु।’

रामजानकी विवाहको स्वयम्बर तथा विवाह उत्सवलाई भव्य बनाउनका लागि जोडतोडका साथ तयारी भइरहेको छ। यस पटकको राम जानकीको स्वयम्बरमा भारतीय प्रधानमन्त्रीको विशेष दूतको रूपमा आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिले विवाहपञ्चमी महोत्सको आकर्षणलाई थप बढाउनेछ

विवाहपञ्चमीको सात विधि

त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका  शिरध्वज राजर्षी जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा  साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ। जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ। यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ ।

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरी दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ। त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको मानिन्छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।

महोत्सवको चौंथो दिन राम मन्दिरको प्राङ्गणमा हजारौंको भीडकाबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुना राम मन्दिरमा आउँछन्। जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अंकमाल (समधि मिलान) हुन्छ। तिलकोत्सवमा सहभागी महिलाहरू रामजानकीको बिहेका गीतहरू गाउँछन् भने हास्य परिहासको माहौल समेत हुने पूजारी ऋषिकेश झा बताउँछन्।

जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित हस्सी ठटटा गरिन्छ । राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधि मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थउत्तराधिकारी महन्थपूजारीहरू सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयमगुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी हुन्छन् ।

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर  रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

छैठौ दिन ऐतिहासिक रंगभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुन्छ भने रातिमा वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ। स्वयंबरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्बरपछि दुबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्ने गर्छ जहाँ वैवाहिक कार्यक्रम हुन्छ र रातभरि चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरू गीत गाउने गर्छन्।

विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ। मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अद्भूत वातावरणको निर्माण गर्छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress