पूर्वराष्ट्रपति यादवले भनेः बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा


पूर्वराष्ट्रपति डा.रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तन सक्ने खतरा औल्याएका छन् । आज ललितपुरको महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि महायज्ञ शुभारम्भ गर्दै पूर्वराष्ट्रपति यादवले धर्म र संस्कृतिको विषय संवेदनशील भएकाले बेलैमा होस् पुर्याउनुपर्नेमा जोड दिए । धर्म संस्कृतिको व्यवस्थापन जटिल भएपनि संविधान अनुरुप यसको व्यवस्थापन अनिवार्य भएको उनको भनाई थियो ।

धर्म संस्कृतिबारे उठेको विषय बेलैमा व्यवस्थापन नगरे त्यसले द्वन्द्व निम्त्याउन चाहनेलाई हतियार मिल्न सक्ने खतरा औल्याउँदै यादवले भने, ‘सँसारमा धर्मको विषयले ठूला युद्धहरु भएका छन्, हामीले बेलैमा होस् पुर्याउन जरुरी छ ।’ ‘आफूले यही स्थिति आउने खतरा देखेर संविधान जारी गर्दा दलहरुलाई मधेशको समस्याका अलावा धर्म संस्कृतिको विषयमा गम्भीर भएर सोच्न भनेको स्मरण गराएको थिएँ’ उनले भने ,‘मलाई थाहा थियो कि यस्तो समस्या आउन सक्छ, त्यसैले मैले सबै दलहरुलाई सहमति निर्माणका लागि आग्रह गरेको थिएँ ।’

पूर्व राष्ट्रपति यादवले देशमा विकासका नाममा विनाश भइरहेको औल्याउँदै बेलैमा सोच्न समेत आग्रह गरे । सडकलगायत पूर्वाधार निर्माणका लागि चुरेका जङ्गल फडानी भइरहेकोले भविष्यमा पानीको संकट बढेर अर्को द्वन्द्व निम्तन सक्ने औल्याए । चुरे क्षेत्रमा निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गले विकास भन्दा विनाश गर्न सक्ने उनको भनाई थियो । यादवले भन्नुभयो,‘आदरणीय मदन भण्डारीको नाममा बन्न लागेको राजमार्गले चुरेको विनाश हुन सक्छ जसले तराईमा पानीको हाहाकार हुन सक्छ ।’

महायज्ञको सफलताको शुभकामना दिँदै यादवले दान गर्न चौडा छाति चाहिने बताए । पवित्र कार्यमा सबैलाई सहयोगका लागि आग्रह समेत गर्नुभयो । पूर्वराष्ट्रपति यादवले लोकप्रीय बक्सिङ्ग खेलाडी मनोहर बस्नेत म्याक्स बी, पर्वतारोही प्रकाशराज पाण्डे र कल्पना श्रेष्ठलाई सम्मान गरेका थिए ।

ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले धर्म संस्कृतिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार र अनैतिक कार्यहरु मौलाएको बताए । उनले भने ,‘हामीले हाम्रो धर्मलाई बेवास्ता गर्दा भ्रष्टाचार मौलाएको छ ।’ धर्मबाट नैतिक र आध्यात्मिक शक्ति प्राप्त हुने भएकाले यसको विशेष महत्व रहने उनले बताए ।

ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनले धर्म र संस्कृति हाम्रो समाजको आधार भएकाले त्यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।  महायज्ञ शुभारम्भमा ललितपुरका प्रदेश सांसद माधव पौडेल, पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, पूर्व सभासदहरु चन्द्र महर्जन र रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा, नेपाली सेनाका पूर्वरथी नेपालभुषण चन्द, पूर्व डिआइजी गणेश केसी, नेपाल प्रहरीका एसपी शेखर खनाल, डिएसपी गौतम मिश्र, सशस्त्र प्रहरीका डिएसपी मोहन न्यौपाने, महालक्ष्मी नगरपालिकाका वडाध्यक्षहरु विश्वराज श्रेष्ठ, वासुदेव शर्मा, वासुदेव महर्जन, रामबहादुर केसी सुवेदी र लक्ष्मण रोकायाको उपस्थिति थियो ।

कार्यक्रममा शुभतारा स्कुल लामाटारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । विश्वामित्र गणेश उच्च मावि गणेशथान, नवकुञ्ज मावि सिद्धिपुर, लभ्ली होम सिद्धिपुरका विद्यार्थीहरुले स्वागतका लागि सांस्कृतिक भेषभुषामा सहभागिता जनाएका थिए ।
महायज्ञ २६ मंसिर देखि ३ पौषसम्म हुनेछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress