जमिनमुनिको पानी धेरै तान्दा जकार्ता सहर पनि खतरामा, १० वर्षमा एकचौथाइ भाग भासिने चेतावनी


जमिनमुनिबाट अनियन्त्रित रूपले पानी तान्यो र खेर गएको भूमिगत पानी ‘रिचार्ज’ हुन पाएन भने के हुन्छ भन्नेबारे हामीले हिजो इरानको राजधानी तेहरानको उदाहरण दियौं।

त्यस्तो सहरको माटो सुख्खा भई क्रमिक रूपले भासिँदै जान्छ। त्यहाँका भौतिक संरचना प्रभावित हुन्छन्। र, अन्ततः मानव बसोबास संकटमा पर्न सक्छ।

पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको तेहरान मात्र होइन, संसारका धेरै ठूल्ठूला सहर यो समस्याबाट पीडित छन्।

संकटको मुखमा पुगेको अर्को ठूलो एसियाली सहर इन्डोनेसियाको राजधानी जकार्ता हो।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

भूमिगत पानीको अत्यधिक प्रयोगले जकार्तामा देखिएको भौगोलिक प्रभावबारे इन्डोनेसियाको बान्डुङ इन्स्टिच्युट अफ टेक्नोलोजी (आइटिबी) ले लामो समयदेखि अनुसन्धान गर्दै आएको छ। उक्त अनुसन्धानअनुसार जकार्ता अहिलेकै दरमा भासिँदै गए अबको १० वर्षभित्र सहरको एकचौथाइ भाग पानीमा डुब्नेछ।

जकार्ताको कुल ६ सय ६१ वर्गकिलोमिटरमध्ये सन् २०२५ सम्म ३५ प्रतिशत भूभाग पानीमा डुब्ने उक्त अनुसन्धानको निष्कर्ष छ।

‘उत्तरी जकार्ताको मात्र ९० प्रतिशत भूभाग सन् २०५० सम्म पूर्ण रूपले पानीमा डुब्नेछ,’ अनुसन्धान टोलीका सदस्य हेरी एन्ड्रियसलाई उद्धृत गर्दै द जकार्ता पोस्टले मंगलबार लेखेको छ।

आइटिबीले सन् १९२५ देखि २०१५ सम्मको स्याटलाइट तस्बिरका आधारमा विश्लेषण गर्दा १९७५ बाट जमिन भासिने क्रम सुरु भएको देखिन्छ। उत्तरी जकार्ता सबभन्दा बढी प्रभावित छ। अनुसन्धानकर्ता एन्ड्रिसका अनुसार पछिल्लो दस वर्षमा उत्तरी जकार्ता वार्षिक औसत २.५ सेन्टिरमिटरका दरले भासिँदै गएको छ। केही स्थानमा भासिने दर २५ सेन्टिमिटरसम्म पाइन्छ।

मरुन्डा र सिलिन्सिङजस्ता ठाउँका भूभाग सन् २०१५ यता १.५ मिटर भासिएको छ। केलापा गाडिङमा यो दर २.४ मिटर छ। सबभन्दा प्रभावित प्लूट हो, जहाँ तीन वर्षकै बीचमा ४ मिटर जमिन भासिएको अनुसन्धानमा देखिएको छ।

एक करोड जनसंख्या भएको सिंगो सहर नै यसरी भासिनुमा समुद्री सतह बढ्दै जानु मात्र कारण होइन। तेहरानमा जस्तै यहाँ पनि दैनिक उपभोग निम्ति अत्यधिक मात्रामा भूमिगत पानी तानिनुले जकार्ता भासिएको हो।

इन्डोनेसिया विश्वविद्यालयको गणित तथा विज्ञान विभागले गरेको अध्ययनले पनि भूमिगत पानीको अनियन्त्रित प्रयोगले सहर भासिएको खुलाएको छ।

जमिन भासिनु र भूमिगत पानीको स्रोत बढी चलाउनुमा प्रत्यक्ष सम्बन्ध हुन्छ। जुन ठाउँमा जमिनमुनिबाट अत्यधिक पानी तानिन्छ, त्यहाँको माटो सुख्खा हुँदै जान्छ। यसले जमिन भासिने र खाल्डो पर्ने समस्या देखिन्छ।

जकार्तामा पनि ठाउँ–ठाउँ जमिन भासिएर खाल्डो परेका छन्। बर्खा बेला पानी जमेर समस्या हुन्छ। उत्तरी जकार्ताका कतिपय ठाउँमा यस्ता घर थुप्रै छन्, जहाँको भुइँतल्लामा धेरैजसो समय पानी जमेको हुन्छ। जमिन भासिँदा भासिँदा सडक सतह उबडखाबड हुँदै गएका दृश्य प्रशस्तै देखिन्छन्।

भूमिगत पानीको स्रोत रित्तिन नदिन जति तानेको हो, त्यही बराबर ‘रिचार्ज’ (पुनर्भरण) गर्नुपर्छ भनेर वैज्ञानिकहरूले भन्दै आएका छन्। तर, तीव्र सहरीकरण र जनघनत्व बढी भएको जकार्ताजस्तो ठाउँमा भूमिगत पानी रिचार्ज हुन गाह्रो हुन्छ। अत्यधिक कंक्रिट संरचना निर्माणले यो समस्या अझ बढाएको छ। कंक्रिट संरचनाले जमिनमुनि पानी ‘रिचार्ज’ हुने ठाउँ दिँदैन।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

भूमिगत पानीको रिचार्ज बढाउन सहरमा जति बढी जनघनत्व भयो, कंक्रिट संरचनाहरू जति बढे, हरित पार्क निर्माण त्यही क्रममा बढाउँदै लग्नुपर्छ। पार्क र खुला सार्वजनिक स्थलले जमिनमा पानी रिचार्ज हुन पाउँछ। हामीले जमिनमुनिबाट जति पानी तानेको हो, त्यही बराबर पुनर्भरण हुने मौका दियौं भने माटो सुख्खा हुने र भासिने जोखिम कम हुन्छ।

यही कारणले पछिल्लो समय विकसित देशका अधिकांश ठूला सहरले पार्क र खुला सार्वजनिक स्थलमा जोड दिन थालेका छन्।

इन्डोनेसिया विश्वविद्यालयका भूगर्भ वैज्ञानिक स्याम्सू रोसिदले जकार्तामा भूमिगत पानीको सतह खतरनाक ढंगले घटेको र यसले सहर भासिने क्रम तीव्र भएको बताएका छन्।

उनले सन् २०१४ देखि २०१८ सम्मको तथ्यांकका आधारमा जकार्ताको भौगर्भिक अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानले जकार्ताको तटीय क्षेत्र वार्षिक औसत ११ सेन्टिमिटरका दरले भासिँदै गएको निष्कर्ष निकालेको छ।

‘यो खासगरी भूमिगत पानी दुरुपयोगको नतिजा हो,’ उनले जकार्ता पोस्टसँग भनेका छन्, ‘यही दरमा भासिँदै जाने हो भने छिट्टै यो सहरको ठूलो हिस्सा पानीमुनि हुनेछ। यहाँका भवन र भौतिक पूर्वाधारको स्थायित्व संकटमा पर्नेछ।’

जकार्तामा खानेपानीको समस्या छ। खानेपानी पाइपलाइनले यहाँको कुल मागको ६० प्रतिशत मात्र पूरा गर्छ। बाँकी ४० प्रतिशत माग पूरा गर्ने जमिन मुनिबाट तानेको पानीले हो। भूमिगत पानी व्यवस्थापनसम्बन्धी नीति–नियम प्रभावकारी कार्यान्वयन नहुँदा यहाँ गैरकानुनी इनार र कलधारा उल्लेख्य छन्।

भूमिगत पानीको अनियन्त्रित प्रयोग हुने घरायसी क्षेत्रमा मात्र होइन। त्योभन्दा कयौं गुणा बढी प्रयोग व्यावसायिक क्षेत्रमा हुन्छ, जसको नियन्त्रण सबभन्दा चुनौतीपूर्ण हो।

जकार्ता औद्योगिक तथा ऊर्जा एजेन्सीका अनुसार यहाँका ४ हजार २ सय ३१ व्यावसायिक भवनहरूले भूमिगत पानी नै प्रयोग गर्दै आएका छन्। यसमा अधिकांश ठूला होटल र अफिस कम्प्लेक्सहरू पर्छन्।

बढ्दो सहरकीकरणका कारण हरित क्षेत्र कम हुनुले पनि जमिन भासिँदै गएको भूगर्भ वैज्ञानिकहरू बताउँछन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress