व्यक्तिगत मुद्दतीमा व्याजदरको प्रतिस्पर्धाः साढे १२ प्रतिशत पुग्यो


नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दतीमा लगाएको अधिकतम सीमा हटाएपछि बैंकहरुबीच धेरै व्याजदर दिने प्रतिस्पर्धा सुरु भएको छ।

यसअघि साढे १० प्रतिशतको सीमा रहेकोमा त्यो हटेसँगै बैंकहरुले साढे १२ प्रतिशतसम्म पुर्याएका छन्। जनता बैंकले व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत व्याजदर दिने घोषणा गरेसँगै त्यो दरलाई उछिन्दै माछापुच्छ्रेले साढे १२ प्रतिशत पुर्याएको हो।

जनताले सो व्याजदरका लागि न्यूनतम मौज्दात १ लाख रुपैयाँ तोकेको छ भने माछापुच्छ्रेमा कम्तीमा ५० हजार रुपैयाँ राखेपछि वार्षिक साढे १२ प्रतिशत व्याजदर पाइन्छ। दुवै बैंकको न्यूनतम अवधि ३ महिना तोकिएको छ। माछापुच्छ्रेले ५ वर्षे अवधिसम्मका लागि यो व्याजदर दिन सक्ने जनाएको छ।

दुवै बैंकले सीमित अवधिका लागि यो योजना ल्याएको जनाएका छन्। थप निक्षेप संकलन नभएसम्म ऋण दिन नसक्ने अवस्थामा पुगेको भन्दै कतिपय बैंकले बैंकर्स संघको बैठकमा विरोध जनाएपछि व्यक्तिगत मुद्दतीमा अधिकतम सीमा हटाइएको एक बैंकरले जानकारी दिए।

‘कतिपय बैंकहरुले सिसिडी रेसियो नाघेर समस्यामा परेको गुनासो गरे, त्यसकारण व्यक्तिगत मुद्दतीमा भए पनि तत्कालका लागि सीमा हटाइएको हो’ उनले भने ‘बचत तथा संस्थागत मुद्दतीमा रहेको सीमा यथावत नै छ।’

प्राथमिक पुँजी र संकलित निक्षेपको योगफलबाट बैंकहरुले दिने कर्जाको हिस्सालाई सिसिडी रेसियो भनिन्छ। यस्तो रेसियो ८० प्रतिशत नाघ्न नहुने व्यवस्था छ। कात्तिक मसान्तसम्मको विवरणअनुसार केही बैंकको रेसियो ८० प्रतिशत नाघेको छ।

जनता र माछापुच्छ्रेसँगै अन्य बैंकहरुले समेत व्यक्तिगत मुद्दतीमा व्याजदरको सीमा बढाउने तयारी गरेका छन्। सीमित केही बैंकले मात्रै व्याजदर बढाउँदा निक्षेप खोसिने डरका कारण अन्य बैंकहरुलाई समेत व्यक्तिगत मुद्दतीमा व्याजदर बढाउन दवाव पुगेको छ।

असोज मसान्तसम्मको सिसिडी रेसियोअनुसार झण्डै १ दर्जन बैंकहरु थप निक्षेप नजुटाएसम्म ऋण दिन नसक्ने अवस्थामा छन्।

स्थानीय तहको खातामा रहेको ३९ अर्ब रुपैयाँ बैंकहरुमा निक्षेपका रुपमा गएसँगै बैंकर्स संघको भोलिपल्टै मंगलबार बसेको बैठकले व्यक्तिगत मुद्दतीमा सीमा हटाएको हो। स्थानीय तहको खातामा संकलन भएको रकमको आधा रकम बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरिएको छ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress