जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित


जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन्। सत्तारुढ दल तर्फकी उम्मेदवार सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी हुन्।

करिब ९९ प्रतिशत मतगणना सकिँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत पाएकी छन्। राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो। तर, विपक्षी दलहरूले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन्।

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार भएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत पाएका छन्। हाल निर्वासनमा रहेका पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो।

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ। जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ।

साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ। उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ।

नवनिर्वाचित ६६ वर्षीया सालोम रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन्। उनी जर्जियाको स्वतन्त्र सांसद पनि थिइन्। पूर्व राष्ट्रपति साकाशभिलीले उनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए।

तर एक वर्ष नतिब्दै पार्टीभित्रको द्वन्द्वका कारण उनलाई विदेशमन्त्रीबाट हटाइएको थियो। उनको समर्थनमा हजारौंले राजधानी टिब्लीसीमा विरोध प्रदर्शन पनि गरेका थिए।

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा सालोमले ३९ प्रतिशत र अर्का उम्मेदवार भाशाजले ३८ प्रतिशत मत पाएका थिए।

जर्जियामा ३५ लाख मतदाता छन्। निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress