मधुमेहलाई सामान्य नसोच्नुस्, ‘एकपछि अर्काे दुःखले घेर्दै–घेर्दै लैजान्छ’


काठमाडौँ । आज विश्व मधुमेह दिवस । बर्सेनि यसरी दिवस मनाइरहँदा रोगीको सङ्ख्या पनि बढ्दै गइरहेको चिकित्सकहरूको भनाइ छ । पहिला ४० कटेपछि लाग्ने मधुमेह अहिले बालबालिका, युवा उमेरमा पनि देखिन थालेको छ । मधुमेह यस्तो रोग हो, लागेपछि शरीरमा विस्तारै अन्य रोगहरू सहजै लाग्न सक्छ । यो रोग लागेको व्यक्तिलाई आँखा, किड्नी, यौन दुर्बलता, डिप्रेसन, गिजाको रोग, खुट्टा नै काट्नुपर्ने अवस्थासम्म हुनसक्छ ।

पछिल्लो समय हामी धेरैजना मधुमेहको शिकार बनिरहेका छौँ । हाम्रो आधुनिक जीवनशैली र बदलिँदो खानपानले यसलाई बल पुर्याइरहेको छ । कुल जनसङ्ख्याको ८ प्रतिशत नागरिकमा मधुमेह भएको अनुमानित तथ्याङ्क सार्वजनिक भएका छन् ।

मधुमेह दिवसको अवसरमा मधुमेह विशेषज्ञ डाक्टर ज्योती भट्टराईले मधुमेह रोग, यसको रोकथाम, उपचार र सावधानीका बारेमा जानकारी गराएकी छिन् ।

मधुमेह कस्तो रोग हो ? 

साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह (चिनीरोग) अर्थात् डायबिटिज भनिन्छ । रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घट्दै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।

कुल रोगीमध्ये ५० प्रतिशतलाई मधुमेह भएको नै थाहा हुँदैन । थाहा भएकामध्ये पनि ५० प्रतिशतलाई यो रोगको लक्षण नै देखिँदैन । अनि बिरामीले मलाई केही भएको छैन, म किन उपचार गर्नु भन्नुहुन्छ । बिस्तारै अन्धोपन, किड्नी फेल भएरपछि मात्रै मधुमेहबाट यस्तो भएको हो भन्ने बल्ल थाहा हुन्छ । त्यो बेला धेरै ढिला भइसकेको हुन्छ ।

यो रोगलाई धेरैले चिनीरोग भन्ने गर्छन् । चिनीरोगको बारेमा जनचेतना जगाउन निकै ढिला भइसकेको छ । हामी धेरै नेपाली यो रोगको सिकार भइसकेको छौँ भने धेरैको ज्यान गइसकेको छ ।
पहिलाभन्दा केही हदसम्म स्वास्थ्य क्षेत्रको बारेमा सरकार अलि सचेत भएको छ । तथ्याङ्क नै नभए पनि अस्पतालमा भर्ना हुने ५० प्रतिशत बिरामीमा चिनीरोग देखिएको छ ।

पहिला–पहिला हामीमा अनिकाल थियो, खाना पुग्दैन थियो, अहिले खाना पुग्छ तर खानाको ज्ञान भएन । खाना खाए अनुसारको परिश्रम भएन । पार्टी भोजहरूको धेरै चलन आयो । म के भन्छु भने चिनीरोग अर्थात मधुमेह विकाससँगै आउने प्रतिफल हो ।

कोक, फ्यान्टा बिष हो 

पछिल्लो समय बढी मात्रामा चिसो पेयपदार्थ प्रयोग गर्ने धेरै छन् । पेयपदार्थ मानिसका लागि विष जस्तै हो । विषले जसरी एकै पटक नमारे पनि यस्ता बजारमा आएका विभिन्न प्रकारका पेयपदार्थले हाम्रो शरीरमा विभिन्न प्रकारका रोग लाग्छ र अन्त्यमा बिस्तारै बिस्तारै मृत्युको मुखमा पु¥याउँछ । गाउँगाउँसम्म पनि फ्याक्ट्रीबाट बनेको रेडिमेड खानेकुराले धेरै बजार पाउन थालेको छ ।

यस्ता खानेकुरा मानव स्वास्थ्यका लागि निकै हानिकारक छन् । ४० कटेपछि देखिने मुधुमेह नेपालमा युवा वर्गहरूमा पनि देखिन थालेको छ । बालबालिकालाई पनि यस्तो समस्या हुन्छ ।

विद्यालयमा अध्ययन गर्ने मोटा बालबालिकालाई भोलि मधुमेहको समस्या नहोला भन्न सकिन्न । १० वर्ष पहिलाको कुरा गर्ने हो भने ४० वर्षपछिको उमेर समूहमा मधुमेहरोग बढी देखिन्थ्यो भने अहिले २० वर्षमा नै मधुमेह देखिन थालेको छ । त्यो व्यक्तिले २० वर्षपछि कस्तो भयावह अवस्था सहनुपर्ला ?  त्यसैले रोगथामको लागि पोलिसी लेबलमा सरकारले गर्न सक्ने काम र परिवर्तनको विषयलाई सबैले जानकारी गराउन जरुरी छ । जसको लागि १, २ र ३ गरेर म तपाईंलाई जानकारी गराउँन चाहान्छु् ।

१. विद्यालयमा बालबालिकालाई नसर्ने रोगको बारेमा अध्ययन गराउन जरुरी छ ।

२. गाउँघरमा जग्गा भएको ठाउँमा बालबालिकालाई प्राङ्गारिक खेतीमा आबद्ध गराउनुपर्याे ।

३. स्कुलको हाताभित्र चाउचाउ, कोक, फ्यान्टा, जुस बेच्न नपाइने नियम बनाउनुपर्छ ।

यस्तै; सुगरको पनि चुरोटको जस्तै ट्याक्स लिनुपर्ने बेला आइसकेको छ । चिनीको मात्रा धेरै भएका कोक, फ्यान्टा, जुसले समाजमा व्यापकता पाइसक्यो । यो नै विष हो भनेर पनि विभिन्न अनुसन्धानले पत्ता लगाएको छ । जसका लागि हरेक अस्पतालमा पोषण शिक्षिका अर्थात शिक्षक हुनुपर्याे । रोकथाम मूलक कार्यक्रम हुनुपर्याे । सरकारले किड्नी फेर्न, डायलासिसका लागि पनि निःशुल्क व्यवस्था गरिरहेको छ । तर निःशुल्क गर्नुपर्ने र सिकाउनु पर्ने भनेको प्रेसर र सुगरको औषधि फ्री हुनुपर्छ । फ्री मात्रै होइन, सरकारले पहुँच पनि पु¥याउनुप¥यो, ताकि गाउँ–गाउँमा नसक्ने मान्छेले फ्रीमा औषधि पाओस ।

यी दुई रोगका औषधि नियमित खानाले एक हजारभन्दा कम पैसामा मासिक उपचार गर्न सकिन्छ  । तर जब रोग वृद्धि भएर किड्नी फेल र अन्धोपनमा पुगिन्छ, तब तपाईलाई मासिक २५ हजारले पनि पुग्दैन ।
हाम्रो प्रधानमन्त्रीज्यू पनि किड्नीको बिरामी हुनुहुन्छ भनेपछि, त्यो आम जनतालाई उपचारको खर्च कति पर्छ ? त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यो अवस्थासम्म नपुग्नका लागि मुहानमै यस्ता रोगलाई रोक्नका लागि सानै उमेरदेखि घरपरिवारमा सबैले जानकारी गराउन जरुरी  छ । इन्टरनेसनल डायबिटिज महासङ्घको यो वर्षको थिम ‘परिवारदेखि नैै सुरु गरौँ’ भन्ने रहेको छ ।

मधुमेहले निम्त्याउने समस्या 
मधुमेहले शरीरको अङ्ग–अङ्गलाई क्षति गर्छ । यौनदुर्बलता, डिप्रेसन, तनाव, गिजाको रोज, अन्धोपन, पक्षघात, मुटुरोग, किड्नीमा समस्या मधुमेहकै कारणले हुन्छ । मधुमेहकै कारणले किड्नी फेल भएका धेरै नेपालीहरू छन् । त्यसैले मधुमेह सकेसम्म लाग्न नै नदिनुस् । लागे पनि कन्ट्रोल गर्नुहोला । मधुमेह भएपछि सानोसानो घाउ पनि निको हुन गाह्रो हुन्छ । यो रोगले खुट्टामा सङ्क्रमण हुन्छ । सानो घाउँले पनि उग्ररूप लिन्छ । अन्त्यमा खुट्टा नै काट्नुपर्ने अवस्था पनि आएको छ ।

मधुमेहलाई सामान्य नसोच्नु होला यो रोग लागे पछि एक पछि अर्काे दुःखले तपाईंलाई घेर्दै–घेर्दै लैजान्छ । मधुमेहले मानसिक र शारीरिक धेरै समस्याहरू निम्त्याउँछ । त्यसैले मधुमेह नै हुन नदिनु उत्तम हो, भएपछि पनि कन्ट्रोल गर्नसक्नुपर्छ । यो नै सबभन्दा उत्तम उपचार हो ।

मधुमेह हाम्रो वंशाणुगत रूपमा नै हुने रोग हो । मधुमेहको क्यापिटल भनेर कहलिएको भारत पनि हाम्रो नजिक छ । वंशाणुगत रूपमा हामी भारतसँग सम्बन्धित नै छौँ । हामी त्यो वंशबाट आएको मान्छे हुनाले हामी यसै पनि मधुमेहको जोखिममा छौँ । अन्य विकसित मुलुकमा ४० कटेपछि मधुमेह जाँच भनिएको हुन्छ भने हाम्रो मुलुकमा ३० कटेपछि गरौँै । अझ हामीजस्तो चिकित्सकहरूले २५ वर्षमा नै मधुमेहको परीक्षण गरौँ भन्दै आइरहेका छौँ ।  बालबालिकालाई पनि मधुमेह हुनसक्छ । यस्ता बालबालिकाको कान्ति बाल अस्पताल काठमाडौँ, पाटन अस्पताल ललितपुर र धरान अस्पताल सुनसरीमा निःशुल्क उपचार हुन्छ ।

कल्चरले बढायो मधुमेह   
हामीले मान्दै आएका संस्कारहरूमा पनि परिवर्तन आएको छ । पारिवारिक भेटघाटमा पनि खानेकुरा खाने, चिसो पेयपदार्थ कोक, फ्यान्टा बढी प्रयोग गर्छाँै । यो गलत हो । स्वास्थ्यका लागि हानिकारक छ । भेटघाट गर्नु राम्रो हो । तर बजारमा आएका रेडिमेड खानेकुरा खानु राम्रो होइन । स्वास्थ्यलाई ख्याल गर्ने हो भने मकै भटमास, पानी खाँदा हुन्छ । कोको, फ्यान्टा, बियर बाँड्ने ठाउँमा हामीले दही, मोही बाँढ्नु पर्यो । नेपालमा बिरामीको सङ्ख्या बढ्नुको कारण विभिन्न सञ्चार माध्ययममा आउने, रेडिमेड खानेकुराको विज्ञापन पनि एक हो । जस्तो टेलिभिजनमा बालबालिकाकाको विकास हर्लिक्स खाएर हुन्छ भन्दै बालबालिकाको ठूलो भएको देखाउँछ । चिसो खाँदा एउटा पहाडबाट अर्काे पहाडमा उफ्रिनसक्ने देखाउँछ । यस्ता अनावश्यक भ्रम लादिएको कुरालाई सरकारले बन्द गर्नुपर्छ । हर्लिक्समा चिनीको घोल हुन्छ, यो बालबालिकालाई मात्रै होइन कसैका लागि पनि फाइदा छैन ।

मुधुमेहबाट जोगिन यसो गर्नुस् 
मधुमेह एउटा त वंशाणुगत नै हुने भयो । अर्काे जहाँ जहाँ सवारी साधन पुगेको छ, त्यहाँ मधुमेह पुग्छ । कारण सवारी साधन भएपछि हिँडाइ कम, परिश्रम कम हुँदा शरीरमा बोसोको मात्र बढी हुन्छ र मुधुमेह मात्रै होइन अन्य रोगको सिकार भइन्छ । दैनिक एक घण्टा हिँड्ने, चलायमान हुने, पेटको गोलाइप्रति सचेत हुने, महिलाहरूको ८० सेन्टिमिटर भन्दा कम राख्ने, पुरुषले ९० सेन्टिमिटर भन्दा कम राख्ने हुनुपर्छ । रेडिमेट खाना नखाने, घरमै बनाएको खाना खाने गर्नाले पनि मधुमेहबाट जोगिन सकिन्छ । मधुमेहलाई भयावह नसोच्नु होला, यो रोगलाई नियन्त्रण हामी आफैले गर्न सक्छौँ । नियन्त्रण गर्ने हो भने औषधि नखाँदा पनि हुन्छ ।

खाना खाँदा दुई मुठठी अन्न, बुढी औलाको टुप्पाजति तेल, धेरै तरकारी, दुई तीन पिस मासु, माछामासु नखानेले भटमास, दही गेडागुडी खाँदा राम्रो हुन्छ । मधुमेह भएको बिरामीले चामलको भात खानुहुँदैन ढिँडो चाहिँ खानुहुन्छ भन्ने कुरा गलत हो । जुन अन्न खाए पनि हत्केलाले च्यापेर दुई मुठ्ठीभित्र खानुपर्छ । बोक्रासँगै आलु खानुभयो भने त्यही दुई मुठी भात जति आलु खानुस् । रेसायुक्त खाना खाँदा राम्रो हुन्छ ।
खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ । खाना घटाउने, साधारण खाने, चपाएर खाने र प्राकृतिक खाना खाने, फ्याक्ट्रीको खाना नखाने सुपरमार्केटको खाना नखाने, गाउँघरको लोकल कुरा खाने, मज्जाले चपाएर खाने, सागसब्जी धेरै खाने ।

अहिलेसम्म जति तरकारी खाइन्थ्यो, त्यो मात्रामा भात राखौँ अर्थात् भात तरकारीको परिमाण उल्टो गरौँ । फाइवर (रेसायुक्त) खानेकुरामा जोड दिऔँ । त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो । यस्तो खानाले मधुमेह मात्रै होइन, अन्य रोगका बिरामीलाई समेत फाइदा पुग्छ ।

त्यस्तै; मधुमेहको बिरामीले मासु धेरै नखाऊँ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिँदैन भने पहिले नै गाँजर, काँक्रो, मूलाजस्ता सलादहरू खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।

के नखाने ? 
चिनी, मिठाई, कोक, फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरू नखाएको राम्रो किनकि मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ । फलफूलमा पनि स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफूल खान सकिन्छ तर अङ्गुर, आँप, लिची, अनार जस्ता फलफूल नखाँदा राम्रो हुन्छ । मासु नै खानपरे दुई टुक्राभन्दा बढी नलिने । रातो मासु सकेसम्म नलिने । माछा, कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो । अण्डाको पहेँलो भाग सक्दो नखाने ।

आलु पिँडालु पनि खान हुन्छ तर एकै पटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाइट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिँडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । भात, आलु, पिँडालु जस्ता कुराहरू एकै पटक धेरै खानु हुँदैन । मधुमेहबाट जोगिनका लागि मोबाइल हेर्ने, टिभी हेर्ने गरेर हुँदैन । हिँड्नुपर्छ, व्यायाम   गरिराख्नुपर्छ ।

अर्काे मधुमेहको जोखिम धुलोधुवाँ पनि हो । धुलोधुवाँको मात्रा बढ्दै गइरहेको छ, यसका लागि सरकारी मात्रै होइन हामी सबैनागरिकले पनि रोक्ने काम गर्नुपर्छ । नत्र हामी सबै रोगी हुने सम्भावना छ ।
टड्कारो परिवर्तन हुनुपर्छ

मधुमेहको बारेमा जानकारी दिनका लागि सरकारको पक्षबाट टड्कारो चेन्ज ल्याउनु नै पर्ने अवस्था आइसकेको छ । अर्काे नसर्ने रोगको जुन प्याकेज बनाइएको छ, त्यसलाई चुस्त दुरुस्त बनाइनुपर्छ । निःशुल्क प्याकेजको नेपालभरी नै सुविधा हुनुपर्छ । स्वास्थ्यको क्षेत्रमा पहिला भन्दा धेरै परिवर्तन भएको छ तर भएको कुरालाई पनि चुस्तदुरुस्त कार्यान्वयन गर्न जरुरीे छ । विद्यालयमा नसर्ने रोगको बारेमा अध्ययन गराउनुपर्छ । यो सरकारको तर्फबाट गर्नुपर्ने कुरा भयो भने हामीजस्ता नागरिकले पनि धेरै कुरा गर्नुपर्ने छ । विभिन्न रेडिमेड खाना, पार्टीमा खाने, फ्याक्ट्रीको खाना खाने त्यसैलाई राम्रो भन्ने हाम्रो बानी हटाउनुपर्छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress