प्रथम श्रेणीमा २४ बैंक

भाद्र १८, २०७४- सञ्चालनमा रहेका २८ मध्ये २४ वाणिज्य बैंक प्रथम श्रेणीमा परेका छन् । बैंकको वित्तीय अवस्था र व्यवस्थापन मूल्यांकन गर्न प्रयोग गरिने क्यामेल्स विधिका आधारमा ती बैंकको अवस्था राम्रो देखिएको हो । यस्तै, ४ बैंक ठीकै अवस्था (दोस्रो श्रेणी) मा छन् । बैंकहरूले प्रकाशित गरेको गत वर्षको वित्तीय विवरणका आधारमा यो विश्लेषण गरिएको हो । 

क्यामेल्स विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन विधि हो । यो विधिअनुसार वित्तीय संस्थाको रेटिङ (मूल्यांकन) गर्दा पुँजी, सम्पत्ति, व्यवस्थापन, आम्दानी, तरलता र बजार संवेदनशीलता (बजार जोखिम) समावेश गरिन्छ । यहाँ हरेक सूचक (कम्पोनेन्ट) मा प्राप्त अंकलाई १ देखि १ सयसम्मको भार दिइएको छ । यस्ता विश्लेषणहरूमा प्राय: १ देखि ५ अंकको भार दिएको हुन्छ । 
१ अंकलाई उत्कृष्ट मानिन्छ भने ५ लाई खराब मानिन्छ ।

तर, राष्ट्र बैंकले भने बढी अंक ल्याउनेलाई उत्कृष्ट र कम ल्याउनेलाई सोहीअनुसार कमसलको रूपमा विश्लेषण गर्ने गरेको छ । जसमध्ये औसतमा ६० भन्दा धेरै अंक पाउने बैंकलाई पहिलो (राम्रो), ५० भन्दा बढी ६० भन्दा कम अंक पाउने दोस्रो (ठीकै) र ५० भन्दा कम अंक पाउने संस्थालाई तेस्रो (नराम्रो) श्रेणीका रूपमा विश्लेषण गरिन्छ । 

यो वर्गीकरण अनुसार पहिलो श्रेणीमा रहेका वित्तीय संस्थालाई राम्रो, दोस्रो श्रेणीका लागि सन्तोषजनक र तेस्रो श्रेणीलाई नराम्रो मानिन्छ । क्यामेल्सअनुसार अहिले २४ बैंकले ६० देखि ७८ अंक पाएका छन् । तीमध्ये ७ बैंकले ७० भन्दा बढी अंक ल्याएका छन् । बाँकी ४ बैंकले ५० देखि ६० बीचको अंक पाएको विश्लेषणले देखाएको छ । 

के हो क्यामेल्स ?

अंग्रेजी अक्षर सीएएमईएलएस जोडेर क्यामेल्स बनाइएको हो । सन् १९७९ मा अमेरिकी केन्द्रीय बैंकले क्यामेल्स विधि प्रयोगमा ल्याएको हो । अहिले सबै देशका केन्द्रीय बैंकले यो विधि अपनाएका छन् । 

सी : क्यामेल्समा ‘सी’ को अर्थ क्यापिटल एड्यकेसी (पुँजी पर्याप्तता) हो । कर्जा लगानी गर्दा वित्तीय संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजी नै पुँजी पर्याप्तता हो । विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकले न्यूनतम ११ प्रतिशत पुँजी पर्याप्तता कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

ए : ‘ए’ को अर्थ एसेट क्वालिटी (सम्पत्तिको गुणस्तर) हो । यसबाट संस्थाको असल र खराब कर्जा छुट्याइन्छ । खराब कर्जाबापतको व्यवस्था, कर्जाको क्षेत्रगत प्रवाह, लगानी नीति, नीति कार्यान्वयन, सञ्चालकले लिएको कर्जालगायत कर्जाको सम्पूर्ण विवरण अध्ययन गरिन्छ । 

एम : ‘एम’ ले म्यानेजमेन्ट (व्यवस्थापन) हो । यसबाट संस्थाको व्यवस्थापकीय क्षमता मूल्यांकन गरिन्छ । यसअन्तर्गत सञ्चालक र उच्च तहका पदाधिकारीको योग्यता, योजना निर्माण, कार्यान्यवन क्षमता, नियामक निकायको निर्देशन पालना, आन्तरिक नियन्त्रण प्रणाली र औद्योगिक सम्बन्ध अध्ययन गरिन्छ । 

ई : ‘ई’ को अर्थ अर्निङ हो । यसमा सेयर पुँजीमा प्रतिफल, सम्पत्तिको प्रतिफल कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड), लागत, लाभांश वितरणको अवस्था र दिगोपनालगायत पक्षहरू समावेश गरिन्छ ।

एल : ‘एल’ ले लिक्विडिटी (तरलता) को अवस्था देखाउँछ । यसले कुल निक्षेपमा तरलता अनुपात, सीआरआर, एसएलआर, सीडी रेसियो, न्यूनतम ३० दिनका लागि तरलताको मागलगायत पक्ष अध्ययन गरिन्छ ।

एस : ‘एस’ को अर्थ सेन्सिटिभिटी अफ मार्केट रिस्क (बजार जोखिम) हो । कुल आम्दानीमा ब्याज आयको अनुपात, वैदेशिक मुद्रा सञ्चिति, सेयरबाट प्राप्त आय, वस्तु बजारबाट प्राप्त आय अध्ययन गरिन्छ, जुन बजारको परिवर्तनबाट प्रत्यक्ष प्रभावित हुन्छन् । 

क्यामेल्स विधि ६ वटा सूचक हेरेर तयार गरिन्छ । तर, यहाँ ४ वटा (पुँजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा, प्रतिसेयर आम्दानी र तरलता) सूचक मात्र समावेश गरिएको छ । क्यामेल्सका ६ वटा सूचकमध्ये बजार जोखिम र व्यवस्थापनसम्बन्धी सूचक समावेश गरिएको छैन । ती दुई सूचक बैंकले प्रकाशित गरेको प्रतिवेदनका आधारमा मूल्यांकन गर्न सम्भव हुँदैन । त्यसका लागि स्थलगत रूपमा मूल्यांकन गर्नुपर्ने हुन्छ । नेपालमा त्यो काम आन्तरिक सुपरिवेक्षणका लागि राष्ट्र बैंकले गर्छ । यसकारण राष्ट्र बैंकले गर्ने क्यामेल्स रेटिङ पूर्ण मानिन्छ । तर, राष्ट्र बैंकले ती सूचकमा दिएको अंक गोप्य हुन्छ । सार्वजनिक गरिँदैन । सोही कारण ६ सूचकमध्ये ४ वटाका आधारमा यो विश्लेषण गरिएको हो । 

क्यामेल्स रेटिङ नियामक निकायले आन्तरिक प्रयोजनका लागि गर्ने सुपरभाइजरी रेटिङ भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । यसलाई विश्वभरकै केन्द्रीय बैंक वा नियमनकारी निकायले संस्थाको वित्तीय अवस्था अध्ययनका लागि उपयोगमा ल्याउने पनि उनले जानकारी दिए । ‘क्यामेल्स निक्षेप संकलन गर्ने वित्तीय संस्थाको वित्तीय र व्यवस्थापकीय अवस्था मूल्यांकन गर्न अपनाइने मापन विधि हो,’ पौडेलले भने, ‘यो कम्पनीको सुपरिवेक्षण गर्ने उद्देश्यका लागि उपयोगमा ल्याइन्छ ।’ 

आफू मातहतका संस्थाको प्रगति, सुशासनलगायत वित्तीय स्वास्थ्य मूल्यांकन गर्न प्रयोग गरिने औजार भएको चार्टर्ड एकाउन्टेन्ट एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेले बताए । ‘बासेलबाट प्रतिपादन गरिएको यो औजार वित्तीय संस्थामा भित्री अवस्था पत्ता लगाउन उपयोगमा ल्याइन्छ,’ उनले भने । 

यस्तै, क्यामेल्सबाट बैंकमा सम्पत्ति तथा दायित्वको अवस्था, सञ्चालन क्षमता, व्यावासायिक निरन्तरताको सम्भावना र दिगो विकासका लागि व्यवस्थापकीय दक्षताको अध्ययन गरी वित्तीय संस्थाको वर्गीकरण गरिने गरिन्छ । क्यामेल्स रेटिङ आधा अडिटजस्तै हो ।

यसमा राम्रा तथा नराम्रा सबै पक्ष समावेश हुने भएकाले यसका आधारमा निर्णय गर्न संस्था र नियामक निकायलाई सजिलो हुने विज्ञहरूको भनाइ छ ।

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress