१८ सी.डी. ४ को यात्रा

भाद्र ९, २०७४ – मलाई उडेरभन्दा गुडेर यात्रा गर्न खुबै मन पर्छ । विद्यार्थी छँदैदेखि म देश–देशावर घुम्ने कुरामा निकै सोख राख्थें । सन् १९७९ मा २६ वर्षे उमेरमा म नेपाल आएको थिएँ, भारत हुँदै गाडी यात्रामा । त्यस बेलाको काठमाडौंमा अर्कै सुन्दरता थियो । अझ पोखरा निकै चित्ताकर्षक लाग्थ्यो । त्यहाँ निकै कम घर थिए । फेवाताल धेरै खुला देखिन्थ्यो, अहिलेजस्तो मिचिएको थिएन । त्यही बेला साइकल भाडामा लिएर मैले काठमाडौं–भक्तपुर यात्रा गरेको थिएँ, अलौकिक ठाउँजस्तै अनुभव पनि ‘अलौकिक’ थियो । 

त्यसपछि सन् २००३ मा नेपालको बाटो हुँदै तिब्बत गएको थिएँ, त्यहाँबाट माउन्ट कैलाश पनि पुगेको थिएँ । पछि सन् २०११ मा अफगानिस्तानमा मजारेसरिफ सहरको पुनर्निर्माण परियोजनामा जोडिएर झन्डै एक वर्ष बस्नुपर्दा दक्षिण एसियाली भूगोल र नेपाल मिल्दो भूबनोटमा भिज्न पाएको थिएँ । 
कूटनीतिक पदभार र जिम्मेवारीका क्रममा सन् २०१४ मा नेपाल आउन पाउँदा म खुसीले नाचेको थिएँ । यहाँको जनजीवन, संस्कृति र जे–जस्तै विपत्तिमा पनि सहज बन्न सक्ने नेपाली स्वभाव मेरा लागि सधैंको प्रिय सम्झना बनेको छ । विशेषत: आफ्नो करियरको अन्तिममा मीठो स्वाद बनेर नेपाल मन–मस्तिष्कमा गढेकै थियो, अझ काठमाडौंदेखि मेरो घर (जर्मनीको हेम्बर्ग) सम्म जान पनि सडकको बाटो रोजेर मैले जीवन भोगाइमा थप विविधता र रोमाञ्चकता भित्र्याउन चाहेको थिएँ । सेवाबाट अवकाश पाइसकेको ६५ वर्षे उमेरमा यो लहड किन भनेर धेरैले जिज्ञासा राखेका थिए । तर, म आज निकै खुसी छु— लहड नै सही, नसोचेको यात्रा पूरा गरेकोमा ।
नेपाली पात्रोअनुसार, गत जेठ २८ गते काठमाडौंको ज्ञानेश्वरबाट निस्केको म साउन १४ मा मात्रै हेम्बर्गस्थित आफ्नो घरमा आइपुगेको छु । यो डेढ महिनाको अवधिमा मेरो जापानी मित्सुबिसी पजेरोले १४ हजार किलोमिटर दूरी नाघेको छ, दक्षिण एसियादेखि पूर्वी युरोपसम्मका झन्डै एक दर्जन मुलुक मित्सुबिसीले छोएको छ । 
म आफ्नो कूटनीतिक स्टाटसको ‘१८ सीडी ४’ पजेरो लिएर आफैं ड्राइभिङ गर्दै बाटो लागेको थिएँ । साथमा एक जर्मन सहयोगी यात्रु थिए, मभन्दा उमेर खाएका । पेसाले मेडिकल डक्टर जोब्स्ट कोहलर मजस्तै अवकाशप्राप्त राजदूत हुन्, उनी सन् २००० देखि ३ वर्ष सुडानका लागि जर्मन राजदूत थिए । १४ हजार किलोमिटर दुरीमा दुईतिहाइ जति म आफैंले ड्राइभ गरेको थिएँ, बाँकी सहयात्रु जोब्स्ट कोहलरले । यसअघि पनि मैले कूटनीतिक ओहोदामा रहँदा वा बाहिरै छँदा विश्वको धेरै भाग घुमिसकेको छु । संसारका ९० देश जति पुगिसकेको छु । विशेषत: सन् १९८० मा जर्मन सरकारको विदेश सेवामा जोडिएपछि कूटनीतिक हैसियतमा म इजिप्ट, स्पेन, जोर्डन, ताजकिस्तान, सुडान, उज्वेकिस्तान, लिबिया, मोल्डोभा आदि मुलुक पुगिसकेको छु । तर, यसपटकको यात्रा भने नसोचेको र नभोगेको स्वादिलो बन्यो । कूटनीतिक सेवाबाट अवकाश पाएर ढुक्कै आफ्नो घर फर्किरहेका कारण मेरो यात्रा र अनुभूति निकै भिन्न बनेको थियो, कावा खान उडेको चराजस्तै । 
यात्रामा नेपाल बोर्डर महेन्द्रनगर हुँदै भारत छिरेपछि दिल्ली र आसपासमा केही दिन टहलिएको थिएँ । त्यहाँबाट पन्जाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पुग्दा मन आफैंमा शान्त भएको अनुभूत भएको थियो । त्यहाँको हावापानी र माहोल नै भिन्न लाग्यो । भोलिपल्ट साँझ बागा बोर्डरमा भारत–पाक सैन्य परेड हेरेर निकै रोमाञ्चित भएको थिएँ । टर्की पुगेर माउन्ट अरारत (५ हजार १ सय ३७ मिटर) छेउ पुगेर तस्बिर खिच्न पाएँ भने इरानका हजारौं वर्ष पुराना सम्पदालाई छोएर सभ्यताको इतिहास अनुभूत गर्न पाएँ । 
पन्जाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा माथियस ।
 
विशेषत: सडकबाट लामो यात्रामा निस्कने भएपछि मैले कूटनीतिक च्यानलबाटै बाटोमा पर्ने मुलुक र तिनका अध्यागमनमा खबर गरिसकेको थिएँ । नेपाल (महेन्द्रनगर नाका) र भारत (बागा) हुँदै पाकिस्तान पुगेपछि र त्यहाँबाट इरान छिरेपछि त्यो भूगोलका बारेमा सुनेको कुरा (बढीजसो नकारात्मक) बाट म झस्केको थिएँ । तर, यात्राभरको अनुभवमा यही भूगोल भने सबैभन्दा बढी आत्मीय र रोमाञ्चक बनेको थियो । आवरणमा सुनिने धार्मिक, जातीय, भाषिक अथवा अन्य कट्टरता र त्यसको कठिनाइका बारेमा जे जति सुनिएको थियो, त्यो सबै व्यर्थको कुरा रहेछ भन्ने लाग्यो । 

म पश्चिमा मुलुकको मानिस थिएँ । कूटनीतिक ओहोदा लिएर जे जहाँ पुगे पनि पाकिस्तान, इरानजस्ता मुलुकका बारेमा सुनेको/बुझेको सबै सूचना भ्रामक रहेछ भन्ने लाग्यो । यहाँ भेटिएका सबै मानिस विनम्र थिए, अति सहयोगी र मित्रवत् थिए । यो यात्रामा अति सकारात्मक प्रभाव परेको ठाउँ यही हो । कुनै देशको राजनीतिक स्थिति हेरेर त्यहाँका मान्छेका बारेमा त्यस्तै सोचाइ बनाउनु गलत रहेछ । जे होस्— मान्छे भनेको मान्छे हो, सहयोगी मन र मानवता भनेको सबैमा हुँदोरहेछ भन्ने भयो । जहाँ पुगे पनि सबैले नेपालमा भनिनेझैं ‘अतिथि देवो भव:’ भाव दखाइरहेका थिए, निकै आत्मीय मन–वचनले ।
यात्रामा  अरूभन्दा पनि मेरो गाडीको नम्बर देखेर कतिले ‘यो के हो’ भनेर बाटोमा सोधिरहेका थिए । म भने आफू नेपालबाट आएको र गाडीको बाटोबाट आफ्नो घर जर्मनी फर्किरहेको बताइरहेको हुन्थें । इरान हुँदै टर्की, ग्रीस, म्यासेडोनिया, अल्बानिया, क्रोएसिया, इटाली, अस्ट्रियाको रुटबाट म जर्मनी छिरेको थिएँ । विशेषत: दक्षिणपूर्वी युरोपेली मुलुक ग्रीसपछिका गन्तव्य मुलुकमा नेपालबारे थाहै नपाएका मानिसहरू पनि भेटें । मैले सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउन खोजें । विशेषत: नेपाली नम्बर प्लेट लिएर लामो यात्रामा निस्केको मलाई नेपाल बोकेर हिंडेजस्तै लाग्यो, नेपालको राम्रैसँग प्रचार गर्न पाएँ । जर्मनी छिरेपछि भने नेपाल भन्ने देश चिनाइरहनुपर्ने थिएन । धेरै जर्मन पर्यटक बनेर अथवा विकास कर्ममा जोडिएर नेपाल पुगिसकेका छन् । यसकारण पनि धेरै जर्मनलाई नेपाल भन्ने थाहा छ । तर बाटोमा पर्ने देशहरूमा भने नेपाल भन्ने देशको बारे थाहै रहनेछ । एक प्रकारले मलाई आफू जर्मनीको नेपालका लागि राजदूत मात्रै होइन, नेपालको पनि बाहिरी विश्वका लागि ‘अनरेरी’ राजदूतसरह भएको महसुस भैरह्यो । 
बागा बोर्डरमा भारत–पाक सैन्य परेड हेर्दै ।
मेरो बुझाइमा अनेक वेशभूषा, भाषा, जाति र संस्कृतिले भरिएको यो संसार साँच्चिकै सोचेभन्दा ठूलो छ । मैले यसपटक यो ठूलो संसारको सानो हिस्सा मात्रै घुम्न पाएको छु । तर, ‘लाइफटाइम अचिभमेन्ट’ जस्तो सुखद अनुभव भएको छ । यो एउटै जीवनकालमा सिंगो संसार घुम्न वा अनुभव गर्न असम्भवप्राय: छ । म जर्मनीमा पनि सानो ग्रामीण ठाउँ (हेम्बर्ग, आउमुह्ले) बाट उठेर आएको व्यक्ति हुँ । जीवन निर्वाह गर्ने अथवा दैनिकी चलाउने कुरामा संसारको जुनै कुनामा पुगे पनि थोरबहुत मात्रै भिन्नता होला । तर, जीवनको ‘रिदम’ भने उही हो, गति उस्तै हो । कतै प्राकृतिक विपत्ति आएको होला, कतै मौसम प्रतिकूल हुन सक्छ । तर, कतैको राजनीति अथवा कतैको धर्म/भाषालाई जोडेर हाम्रो मिडिया (विशेषत: पश्चिमा जगत्) ले इरानजस्तो मुलुकका बारेमा एकपक्षीय धारणा बनाइरहेको हुँदोरहेछ भन्ने यसपटक मलाई बोध भयो । मैंले मेरो जीवनकालमै देख्न पाएकोमध्ये संस्कृति र सभ्यताको धनी, सबैभन्दा सुन्दर तथा सत्कारभावले भरिएको मुलुकका रूपमा यसपटक इरानलाई पाएको छु । 
इरानको पर्सेपोलिसमा ।
इरान र टर्कीमा भित्री सहरहरू पनि निकै समय दिएर घुम्न पाएँ, जुन मेरो पहिलेदेखिको इच्छा थियो । एउटै रुट पारेर इस्फाहान, पर्सपोलिस, टाब्रिज, सिराज, कार्स, आनी, हातुसा, इस्तानबुलजस्ता ठाउँ घुम्न पाएँ । समुद्र किनाराका म्यासेडोनिया, अल्बानिया, क्रोएसिया पनि कम्ती रोमाञ्चक थिएनन्, निकै चाखलाख्दा मुलुकहरू । 
युनेस्को विश्व सम्पदा टर्कीको हतुसामा ।
यो लामो यात्रामा एउटै असहज अनुभव भने एउटा मुलुकमा (म नाम लिन चाहन्नँ) मैले गाडीका लागि डिजेल पाउनै सकिनँ, निकै मुस्किल परेको थियो । अब मेरो सडक यात्रा टुंगिएछ भन्ने भएको थियो । निकै मिहिनेतपछि मात्रै डिजेल भेटिएको थियो । म ताजकिस्तान, उज्वेकिस्तान, सुडान, लिबिया, मोल्डोभाजस्ता मुलुकमा राजदूत भैसकेको थिएँ । यस आधारमा संसारको भिन्न भूगोल र हावापानी मेरा लागि ‘एडजस्टेबल’ बनिसकेको छ । त्यसमा पनि नेपालको प्रकृति र भूगोल, यहाँको कला र संस्कृति मेरा लागि सधैं मनमस्तिष्कमा अमिट छाप बनेर बसेको छ । त्यसमाथि जर्मन सरकारले केही सहयोग गर्न सकेको भक्तपुर र चाँगुनारायण क्षेत्र मेरा लागि सबैभन्दा प्रिय थलो बनेको छ । 
भर्खरै नेपालबाट फिरेर घर आइपुगेको छु, अब अवकाश जीवन र समय नेपालसँगका थुप्रै स्मृति खेलाएर पनि बित्नेछ । अब केही दिनमा म मेरो पजेरोमा रहेको नेपाली नम्बर–प्लेट फेर्नेछु, यसमा केही अफिसियल प्रक्रिया बाँकी छ । र, यो सेप्टेम्बरमा फेरि घुमघाममा नेपाल जाने योजना बनाइरहेको छु । विशेषत: भक्तपुरसँगको मेरो माया र सम्बन्ध एकदमै विशिष्ट छ, भुल्न चाहेर पनि नसकिने । अरूभन्दा पनि यसपटक संसारको सानो हिस्सालाई मैले एकदमै नजिकबाट अनुभूत गर्न पाएँ, नेपालसँग जोडिएकै कारण । यो संसारलाई लिएर सानोठूलो भनेर अनेक तुलना गरिरहनुभन्दा पनि यो जीवन–जगत् निकै रंगीविरंगी रहेछ भन्ने यसपटक फेरि लागेको छ— खानपिन, रूपरंग, हावापानी र भूगोलका आधारमा । तर, एउटा कुरा मैले चहारेको यो दुनियाँभरका मान्छे भने उस्तै रहेछन्— विनयी, सहृदयी र अत्यन्तै मिजासिला । 
 
(नेपालका लागि पूर्व जर्मन राजदूत माथियस मायरसँग देवेन्द्र भट्टराईले गरेको फोनवार्ता आधारित ।)
loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress