प्रधानमन्त्री देउवा भारत भ्रमणमा, यस्तो छ कार्यतालिका

काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा शुरु भएको छ । उनी बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । 

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए ।  

प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुगेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  

 
नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा साँझ अबेरसम्म व्यस्त रहनेछन् । भारत भ्रमणको मुख्य लक्ष्य र उद्देश्य पनि सोही दिन पूरा हुनेछ ।
 
भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज अपराह्न नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । 

आज साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । 

बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन् भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ । 

दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । 
दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् । 

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । 
त्यसैगरी, उनीसँग  गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  

सोही दिन साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । 

शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवा शनिबार बिहान विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नेछन् । अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । 

आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर उहाँ विशेष विमानबाटै नयाँदिल्ली पुग्नेछन् ।सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ । 

भारत भ्रमणमा पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ 

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पुराना सम्झौता कार्यान्वयनका लागि जोड दिनुपर्ने सुझाव परराष्ट्रविद्हरुले दिएका छन् । 
हिजो भएको कार्यक्रममासो भ्रमण दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण बनाउन सकेमा विगतका सम्झौता क्रमिक रुपमा कार्यान्यवयन हुँदै जाने विचार व्यक्त गरे । 
कूटनीतिज्ञ डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावपूर्ण हुनुपर्नेमा जोडदिँदै भ्रमणमा नयाँ विषय ल्याउन नहुने र अहिलेसम्मका सहमति तथा सम्झौता कार्यान्वयनमा सकारात्मक वातावरण निर्माण गर्नुपर्ने बताए । 
उनले भने, ‘बाढी, जलस्रोत, सीमा, आपसी हितजस्ता विषयमा थप कुनै सहमतिभन्दा पनि भएकालाई कार्यान्वयन गर्ने विषयमा भ्रमण केन्द्रित हुनुपर्छ ।’ 
भारतका लागि पूर्वनेपाली राजदूत दुर्गेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध सद्भाव र विश्वासका आधारमा हुनुपर्नेमा जोडदिँदै नेपालको हितका लागि सबै राजनीतिक दल परराष्ट्र नीतिको बारेमा एक ठाउँमा उभिनुपर्ने बताए । 

प्रधानमन्त्रीको भ्रमणमा भारत र चीनबीचको विवादमा मौन बस्नुपर्ने बताउँदै उनले दुई देशबीचमा रहेर सन्तुलित सम्बन्ध राख्न नसकिए भोलिका दिनमा अनेक समस्या आइलाग्ने आशंका व्यक्त गरे । 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress