यि हुन् भारतले तरार्इमा बाँधेका बाँध, जसले डुबे नेपाली बस्ती

सप्तकोसी :  अझै एक सय ४७ वर्ष भारतको जिम्मा
०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध ०२२ वैशाख १२ गते उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले सञ्चालन गर्ने गरी भएको सम्झौताअनुसार बनेको बाँध बल्ल ५२ वर्षको भएको छ । तर, अझै १४७ वर्ष भारतले नै सञ्चालन गर्नेछ ।

कानुनी वैधता लामो भए पनि बाँधको इन्जिनियरिङ क्षमता सकिएको छ । ५० वर्ष नाघेकाले बाँध कुनै पनि वेला भत्किन सक्ने चेतना नेपाल र भारत दुवै पक्षलाई छ । तर, यो विषयमा सार्थक सहमति भएको छैन ।

कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीको छ । कोसीमा यति क्युसेक पानी बग्यो भनेर आउने जानकारी पनि भारतीयहरूले दिएपछि नेपाली अधिकारीमार्फत मिडियामा आउँछ ।

गन्डक सम्झौता : ५८ वर्षअघि बाँध बनेदेखि विवाद
१९ मंसिर ०१६ मा नेपाल र भारतबीच गन्डक सम्झौता भएको हो । बाढी नियन्त्रण, सिँचाइ र विद्युत् उत्पादन गर्ने एकीकृत उद्देश्यले भएको सम्झौतामा नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्णशमशेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार नेपालले ४० हजार हेक्टर जमिनका लागि सिँचाइ सुविधा पाउनुपर्नेमा २५ हजार हेक्टरमा मात्रै पाएको छ । आवश्यक परेका वेला सिँचाइ नपाउने र अनावश्यक समयमा बाढी आउने समस्याले नवलपरासीका १३ गाविसका बासिन्दा पीडित छन् । जनस्तरमा यो विषय पटक–पटक उठे पनि कूटनीतिकस्तरमा प्रभावकारी बहस हुन सकेको छैन ।

 टनकपुर बाँध : ९७ वर्षअघिको अंग्रेजी घाउ
भारतमा अंग्रेजकै शासन भएका वेला सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने गरी शारदा सन्धि भएको हो । त्यतिवेला नेपाललाई चार सय ६० क्युसेक पानी दिने भनिए पनि नेपालले कहिल्यै पाएन ।

देशमा प्रजातन्त्र पुनर्बहाल भएपछि ०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । तर, त्यसअघि नै भारतले एकतर्फी रूपमा बनाएको जलाशयले पाँच सय ७७ मिटर नेपाली जमिन मिचेको छ ।

महाकाली सन्धिले भनेको छ– जलाशयबाट नेपालले तीन सय क्युसेक पानी पाउनेछ । जब कि महाकाली नदीमा औसतमा २४ हजार क्युसेक पानी बग्छ । नेपाली भूमि बचाउन र नदीमा आधा अधिकार स्थापित गर्न महाकाली क्षेत्रका जनताले १८ वर्षदेखि आन्दोलन गरिरहेका छन् । तर, देशका जिम्मेवार राजनीतिक दल यो विषयमा मौनजस्तै छन् ।

यी हुन् भारतले एकतर्फी बनाएका १५ बाँध

लक्ष्मणपुर बाँध : बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन् ।

कलकलुवा तटबन्ध : लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किमि लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएन । तर, नेपाली जनता पीडित छन् ।

धौलीगंगा बाँध : भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनेको बाँधले नेपाललाई अप्ठेरो पर्दै आएको छ । यही बाँधका कारण १ असार ०७० मा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगाको बजार बगेको थियो ।

कोइलाबास तटबन्ध : दाङको सीमाक्षेत्रको दाराखोलामा भारतले कोइलाबास बाँध बनाएको छ । बाँधका कारण बर्सेनि ३ हजारभन्दा बढी नेपालीको खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ ।

महलीसागर बाँध : ०५९ मा भारतले कपिलवस्तुको सीमाक्षेत्रमा एकतर्फी रूपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको छ । यस बाँधले सुक्खा मौसममा समेत १९१ हेक्टर जमिन डुबाउने गरेको छ, बर्खाको त हिसाब नै छैन ।

रसियावाल–खुर्दलोटन बाँध : रुपन्देहीको मर्चवार क्षेत्रनजिक भारतद्वारा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधका कारण १८ गाउँका बासिन्दाले बर्सेनि डुबान समस्या झेल्दै आएका छन् । राज्य र नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै स्थानीयले आक्रोश पोख्ने गरेका छन् ।

डन्डाफरेना बाँध: डन्डाफरेना तटबन्ध सिद्धार्थनगर नगरपालिका–२ देखि दक्षिण नेपाल–भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डन्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डन्डाफरेना तटबन्ध पनि जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो । तर, यस्तो विरोध त्यहीँका स्थानीयले गरेकोबाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न ।

लालबकैया तटबन्ध : ०६० मा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गरेको हो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको ।

बैरगनिया तटबन्ध : रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा बिसं २०३७ सालमा नेपालको सहमति विना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।

बागमती तटबन्ध : यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८.२५ किलोमिटर र बाँया किनारामा १८.२५ किलोमिटरको लामो तटबन्ध निर्माण गरेको छ । करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धका कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ ।

कमला तटबन्ध : कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण हरेक बर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

सिराहा तटबन्ध : सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर लम्बाई २० फिट चौडाईमा फैलिएको छ ।

खाँडो तटबन्ध : भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा निर्माण गरिएको खाँडो बाँध ।

कुनौली तटबन्ध : यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो । यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।

लुना बाँध : यो बाँध मोरङ जिल्लाको बक्राह नदिमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदिमा आफ्नो भूभागतिर बनाएको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress