प्रधानमन्त्री र राष्ट्रपति भेटेर वाङले भ्रमणको विट मार्ने

काठमाडौं–नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्छुटै भेटवार्ता गर्दैछन् । 
गत सोमबार तीनदिने नेपाल भ्रमणमा आएका उपप्रधानमन्त्री याङले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा दिउँसो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रपति भण्डारीसँग वाङले अपरान्ह चार बजे शितलनिवासमा भेटबार्ता गर्नेछन् ।

 यसअघि आजै वाङ नेतृत्वको टोलीसँग नेपाल उद्योग बाणिज्य महासंघकको टोलीले भेटबार्ता गर्दैछ । राष्ट्रपतिसँगको भेटवार्तापछि वाङ स्वदेश फर्कनेछन् । 
यसअघि वाङले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटबार्ता गरेका थिए । यसक्रममा नेपाल र चीनवीच तीन सम्झौतामा हस्ताक्षर भएका थिए । 
बाढी पीडितका लागि १० लाख अमेरिकी डलरको पनि घोषणा गरेका थिए । 

राजनीतिक भेटघाटका क्रममा उपप्रधानमन्त्री वाङले नेपाली नेताहरुलाई पुराना सम्झौताहरु कार्यन्वयनतर्फ अघि बढाउन चिनियाँ राष्ट्रपतिको सन्देश सुनाएका थिए । 
वाङले आज राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि सोही विषयमा चासो राख्ने बताइएको छ ।

नेपाली नेताहरुलाई सी जिनपिङको सन्देशः विगतमा भएका सम्झौता कार्यान्वयनबारे चिन्ता

काठमाडौं– चीनले नेपालसँग यसअघि भएका विभिन्न सम्झौताको कार्यन्वयनमा चासो देखाएको छ । नेपालमा छोटो समयमा सरकार परिवर्तन हुँदा आफुसँग भएका सम्झौता कार्यान्वयन रोकिने चिनियाँ चिन्ता रहँदै आएको थियो । यहि चिन्ता नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालक प्रमुख दलका प्रमुख नेताहरुसँगको भेटमा व्यक्त गरेका छन् ।  

नेपालको तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राजनीतिक भेटघाटका क्रममा चिनियाँ चासो व्यक्त गरेका हुन् । मंगलबार वाङले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारसँगको छुट्टाछुट्टै भेटवार्तामा चिनियाँ चासो व्यक्त गरेका हुन् । 

ओलीले प्रधानमन्त्रीको रुपमा चीन भ्रमणका दौरान पारवाहन लगायतका सम्झौता गरेका थिए भने माओवादी प्रचण्डले चीन भ्रमणका दौरान ओबिओआर सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रचण्डसँगको भेटमा वाङले चीनियाँ उपप्रधानमन्त्री याङले नेपाल र चीनबीच यसअघि भएका सहमति/सम्झौताको प्रभावकारी कार्यन्वयनमा चासो राखेका थिए । ‘तपाइको नेतृत्वको सरकारमा चीन र नेपालबीचको सम्बन्धमा राम्रो विकास भएको थियो । हामी विगतमा भएका ति सहमति सम्झौताको प्रभावकारी कार्यन्वयन होस भन्ने चाहान्छौ’, याङको भनाइ उधृत गर्दै भेटमा सहभागि माओवादी केन्द्रका नेता अग्नी सापकोटाले रातोपाटीलाई बताए ।

याङले चीनियाँ राष्ट्रपतिको सन्देश बोकेर आफू नेपाल आएको बताउँदै नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चीन लगानी गर्न ईच्छुक रहेको बताएका थिए । याङले ओबिओआर लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप उचाई दिएको बताउँदै नेपालको चासोंप्रति चीन सधैं सकारात्मक रहेको जानकारी दिएका थिए ।

उनले भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, तातोपानी नाका खोल्ने लगायतका महत्वपुर्ण विषयमा कुराकानी भएको बताए । भेटमा प्रचण्डले विगतका सहमति कार्यन्वयनका लागि आफ्नो पार्टी र सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए । 

यसैबीच, नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वसँग भेटवार्ता गरेको छ । 

तत्कालीन ओली नेतृत्वको सरकारका बेला चीनसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा छलफल भएको भेटमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

चिनियाँ उपप्रधानमन्त्री वाङले संविधान निर्माणमा एमालेले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको नेता ज्ञावालीले बताए । नेपालको विकासका लागि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । 

एमाले अध्यक्ष ओलीले चीनसँग भएका यातायात तथा पारवहन समझदारी कार्यान्वयन उच्च प्राथमिकतामा रहेको विश्वास दिलाए । उनले भने, “नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध छ पार्टीको भन्दा पनि नेपालको राष्ट्रिय नीति हो ।” 

चिनियाँ उपप्रधानमन्त्री वाङले हालै नेपालमा आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनतासँगै रहेको बताए । 

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव ज्ञवाली संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, नेताहरु विष्णु रिमाल र राजन भट्टराईको उपस्थिति थियो । 
 

फेरि तीन सम्झौता 

मंगलबार मात्र काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिव १५ अर्ब आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउनेसहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए ।  सो रकम रसुवाको टिमुरेमा पुल निर्माणका पनि खर्च गरिनेछ ।

बैठकमा नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवा २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदारी पनि भएको छ । त्यसैगरी नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्रयाउने समझदारीमा पत्रमा पनि चीन र नेपालबीच हस्ताक्षर भएको छ । 

नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए । समझदारी छिटो कार्यान्वयनमा लैजान पनि दुवै मुलुक सहमत भएका छन । समयको सीमा नतोकि भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरेका थिए । 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress