“स्टारडम’को भारी”

  • फिल्म
  • ‘स्वदेश’, ‘चक दे इन्डिया’, ‘माई नेम इज खान’ जस्ता राष्ट्रिय महत्त्वका विषयप्रधान फिल्म खेलेर समेत स्याबासी पाएका शाहरूख फिल्म करिअरको दोस्रो भागमा आइपुग्दा धरमराएका छन् ।

श्रावण २९, २०७४- पछिल्ला दिन बलिउडमा किंग खान भनेर पगरी गुथाइएका शाहरूख खानलाई सोही पगरी भारी पर्न थालेको छ । किंग खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा दुर्घटनामा परेको छ । शाहरूखको करिअरमा यसले अर्को चोट थपेको छ ।

झन्डै ८० फिल्म खेलिसकेका शाहरूखले १४ फिल्मफेयर अवार्ड्स र पद्मश्री सम्मान पाइसकेका छन् । रोमान्स अफ किंग भनेर समेत चिनिने शाहरूखको अभिनयमा मग्न हुनेको जमात ठूलो छ । ‘स्वदेश’, ‘चक दे इन्डिया’, ‘माई नेम इज खान’ जस्ता राष्ट्रिय महत्त्वका विषयप्रधान फिल्म खेलेर समेत स्याबासी पाएका शाहरूख फिल्म करिअरको दोस्रो भागमा आइपुग्दा धरमराएका छन् ।
सलमान खानलाई अहिलेका बक्सअफिस किंग मानिन्छ । हुन पनि उनका सबैजसो फिल्मले एकपछि अर्को गरी बक्सअफिस कलेक्सनमा रेकर्डतोड व्यापार गर्दै आएका छन् । तर ‘ट्युबलाइट’ मा आएर उनको पनि ब्रेक लाग्यो । तीन सय करोड भारुसम्म व्यापार गर्ने अनुमान गरिएको फिल्मले पहिलो साता मुस्किलले सय करोड छोयो । न त फिल्मले समीक्षकबाट नै तारिफ पायो । जबकि सलमानलाई ‘बजरंगी भाइजान’ बाट अभिनयमा समेत प्रशंसा गर्न थालिएको थियो ।
‘रकस्टार’, ‘बर्फी’ जस्ता फिल्मबाटै सदावहार नायकको छनक दिंदै बलिउड छिरेका रणवीर कपुरका केही समयदेखि दिन राम्रा चलिरहेका छैनन् । न रिल न रियल लाइफमा नै उनी खुसी छन् । कट्रिना कैफसँगको ब्रेकअपले टुक्रिएका रणवीरलाई उनै कट्रिनासँग खेलेको फिल्म ‘जग्गा जासुस’ बाट ठूलो आशा थियो । झन्डै चार वर्षदेखिको अथक मिहिनेतमा फिल्म रिलिजको पहिलो सातामै पानी छ्यापियो । तीन सातामा फिल्मले मुस्किलले ५० करोड भारु कमायो ।

अभिनय मात्रै राम्रो नभई पछिल्लो समय स्क्रिप्ट छनोटमा समेत कंगना रनावत र साहिद कपुर अब्बल देखिएका छन् । महिनादिनअघि यी दुवै अभिनीत ‘रंगुन’ रिलिज भयो । चर्को हाइपका बाबजुद पनि फिल्म सफल भएन । न त सुशान्त राजपूत र कृति स्यानोनको ‘रबता’, अर्जुन कपुरको ‘हाफ गर्लफ्रेन्ड’ ले नै आफ्नो पाइन देखाउन सक्यो ।
बलिउडका लागि वर्षको आठौं महिना चलिरहँदा एकपछि अर्को ठूलो धक्का लागिरहेको छ । स्टारडमले यतिबेला पूरै हावा खाइरहेको छ । बरु दक्षिणको ‘बाहुबली २’ ले बलिउडमै आएर हंगामा गरिदियो । तेलुगु फिल्म दर्शकमाझ मात्रै चिनिएका प्रभासलाई उक्त फिल्मले संसारभर चिनायो ।
रमाइलो त के भने, यो वर्षको शाख शाहरूख र सलमानले जोगाउन नसक्दा सबैको नजर यतिबेला अक्षयकुमारमाथि पर्न थालेको छ । कतै उनको ‘ट्वाइलेट’ ले पनि मार खाने त हैन ? त्यसो त अक्षयकुमारलाई सुरक्षित नायक मानिन्छ । लगातार चार फिल्मले सय करोड कमाउने रेकर्ड आफ्नै नाममा राखेका अक्षयको पछिल्लो फिल्म ‘जोली एलएलबी २’ ले विकेन्डका तीन दिनमै गरेको कमाई शाहरूखको ‘जब ह्यारी मेट सेजल’ ले साता दिनमा मात्रै छोएको छ ।
‘जब ह्यारी मेट सेजल’ मा ५१ वर्षीय शाहरूखको अनुश्का शर्मासँगको रोमान्स र ‘ट्युबलाइट’ मा त्यति नै उमेरका सलमानले निर्वाह गरेको एक सुस्त युवकको भूमिका दुवैलाई दर्शकले पचाएनन् । आफ्नै कारण फिल्म नचलेको स्वीकार गर्दै सलमानले त वितरकलाई केही रकम फिर्ता नै गरिदिएका थिए । यतिबेला क्लिसे स्टोरी र कमजोर पटकथामा पनि फिल्म खेल्न राजी भएकोमा शाहरूखको उनकै फ्यानले चर्को विरोध गरिरहेका छन् । खराब फिल्म खेलेकोमा उनलाई ओस्कार अवार्ड दिइनुपर्ने व्यंग सुनिन थालेको छ ।
फिल्म सफल हुन स्टार भ्यालु भएको कलाकार हुनु सुनमा सुगन्ध भए पनि सर्वोपरि नै त्यही हैन भन्ने उदाहरण यस वर्ष बलिउडले बुझ्यो । ‘चेन्नाई एक्सप्रेस’ जस्ता फिल्म खेलेकोमा गहन भूमिकाको अपेक्षा गर्ने दर्शकले शाहरूखप्रति असन्तुष्टि जनाए पनि उनी स्वयंका लागि करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म त्यही थियो । तर, यतिबेला भने उनका दुवै हात खाली रहे । एजेन्सी

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress