जिदानको जादु

जेष्ठ ११, २०७४- जिनेदिन जिदानले रियल म्याड्रिडलाई संकटापन्न क्लबबाट विजेतामा बदलिदिए । यो कसरी सम्भव भयो ? स्टार खेलाडीहरूको प्रतिभाले मात्र हो त ? त्यतिले मात्र विजेता बनिँदैन भनेर रियल स्वयंले बारबार महसुस गरिसकेको छ । जिदानले टिम स्पिरिट र हार नमान्ने स्वभाव जुन टोलीमा भरिदिए, त्यही नै यो सफलताको खास रहस्य हो ।

रियलले आइतबार ५ वर्षपछि पहिलो पटक ला लिगा उपाधि जित्यो । यो उसको ३३ औं ला लिगाको ट्रफी जित थियो । रियलले अन्तिम दिनको खेलमा मालागालाई २–० ले हराई बार्सिलोनाले लगातार जमाउँदै आएको घरेलु दबदबा तोडेको हो । हुन पनि बार्सिलोनाले स्पेनका पछिल्ला ८ उपाधिमध्ये ६ वटा आफ्नो पोल्टामा पारेको थियो । 

जिदानले गत वर्ष जनवरीमा टोली सम्हालेयता चार वटा ट्रफी जितिसकेका छन् । उनले जुन २ मा युभेन्ट्ससँग भिडेर च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने उद्देश्य राखेका छन् । 

रियलले मात्रै ३ अंकको अन्तरमा उपाधि जितेको हो । उत्तिकै शक्तिशाली अझ लियोनल मेसीजस्ता अभूतपूर्व खेलाडी भएको बार्सिलोनालाई उछिनेर जित्नका लागि रियलले निकै संघर्ष गर्‍यो । 

प्रतिभाको कुनै कमी नभएको टोलीले निकै जुझारु बन्नुपर्‍यो । ‘यो टोलीले मैदान पुगिसकेपछि गजब खेल्छ,’ जिदानले भने, ‘थोरै खेल्नेले पनि बढी खेल्ने बराबरकै प्रदर्शन गरेका छन् । ६० खेलको यो सिजन शारीरिक रूपले निकै चुनौतीपूर्ण छ । यस्तोमा उपाधि जित्नु महत्त्वपूर्ण छ ।’ 

रियलले विभिन्न ९ खेलका अन्तिम १० मिनेटमा गरेका गोलबाट १७ अंक बटुलेको थियो । 

‘फुटबलमा भाग्यजस्तो ठूलो अरु केही छैन,’ गत महिना स्पोर्टिङ गिजोनसँग अन्तिम मिनेटमा गोल गरी जित पाएपछि जिदानले भनेका थिए, ‘रियल म्याड्रिडले अन्तिम मिनेटसम्म लड्छ । त्यो हाम्रो डीएनएमै छ ।’ 

गत डिसेम्बरमा बार्सिलोनासँग १–१ को बराबरी गर्दा पनि रियलले उपाधि दौडमा ठूलो फाइदा लियो । थप समयमा सर्जियो रामोसले गरेको हेड गोलबाट उपाधि यात्रामा ३ अंकको स्वीङ निस्कियो । बार्सिलोनाले गत महिनाको एल क्लासिकोमा ३–२ ले हराएर रियललाई दबाबकै बाटोमा तान्यो । मेसीले अन्तिम क्षणमा गोल गर्दै बार्सालाई उपाधि दौडमा कायम राखे । 
अर्जेन्टिनी सुपरस्टारले आफू अझै सर्वोच्च खेलाडी भएको परिचय दिए पनि आखिर ९ महिना लामो सिजनमा उत्कृष्ट टोली चाहिँ रियल नै साबित हुनेवाला थियो । कुरा ११ खेलाडीको मात्र होइन । सबैभन्दा महत्त्पूर्ण त ती सबैमाथि जिदानले राखेको विश्वास थियो । 

जिदानले इबार, गिजोन, डिपोर्टिभो ला कोरुना, लिगानेस र ग्रानाडासँगका सिजन उत्तराद्र्धका खेलमा पहिलो टिमका नियमित खेलाडीलाई आरामसमेत थिए । म्याड्रिड बी टिमले समेत उनलाई २१ गोलसहित पाँचै खेलमा विजय दिलायो । 

‘हामीसँग सँधैं उत्कृष्ट खेलाडीहरू छन् । यसपालि सबैभन्दा महत्त्वपूर्ण चाहिँ के भयो भने सबैप्रेरित थिए । सबैबीच तालमेल भयो,’ रामोसले भने । 

अघिल्ला प्रशिक्षकहरूको पालामा मौकामा नपाएका खेलाडीहरूलाई समेत प्रेरित र सहभागी पारेका कारण रोनाल्डो, लुका मोड्रिक र टोनी क्रुजजस्ता खेलाडीले ताजा भएर अन्तिम समयसम्म खेल्न पाइरहे । रोनाल्डोले मैदानमा खेल्ने समय कम हुँदै गएको हो । अघिल्ला सिजनको तुलनामा उनले आरामको आवश्यकता स्वीकारेका छन् । यसै कारणले सिजनका अन्तिम साताहरूमा उनले उच्च फर्म देखाउन पाए । 

रोनाल्डोले मालागाविरुद्ध दुई मिनेटमै गोल गरे, जुन उनको पछिल्लो ९ खेलमा गरेको १४ औं गोल थियो । ‘मैले आफ्नो तालिम तालिकामा ठूलै परिवर्तन गरेको छु ताकि अन्तिम समयसम्म राम्रो खेल्न सकुँ,’ विश्व वर्ष खेलाडीले भने । उनले नै च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखलाई पाखा लगाएका थिए । 

ला लिगासँगै च्याम्पियन्स लिग पनि जितेको खण्डमा रियलले ५९ वर्षअघिको कीर्तिमान दोहोर्‍याउने छ । जिदानमाथि विश्वास राख्नेहरूले यसलाई अविश्वसनीय मानेका छैनन् । उनले रियल सम्हालेको १७ महिनामात्रै भयो । यतिमै यति धेरै गर्नेले पछिसम्म के पो नगर्ला र ?

‘थोरै खेल्नेले पनि बढी खेल्ने बराबरकै प्रदर्शन गरेका छन् । ६० खेलको यो सिजन शारीरिक रूपले निकै चुनौतीपूर्ण छ । यस्तोमा उपाधि जित्नु महत्त्वपूर्ण छ ।’

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress