के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?

रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई सताउँछन् । उनलाई थाहा छ यो सोच आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मन अशान्त हुन्छ, उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ । उनी लुगा धुन, नुहाउन पानीमा जानै हँुदैन, कारण उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनोरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन् तब उनले त्यहाँ घन्टौं बिताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ कि लुगा अझै सफा भैसकेको छैन अझ दस पटक पखाल्नुपर्छ । त्यसपछि उनी गन्दै दस पटक पुर्‍याउँछिन् र केही आनन्दको अनुभव गर्छिन् ।

फेरि सोचाइ दोहोरिन्छ अनि छटपटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा काममा पनि यस्ता समस्या आउँछन् । त्यसैगरी प्रकाश पनि ३० वर्षका भए । उनी किसान हुन् । गत १ वर्षदेखि उनको मनमा एउटै विचार दोहोरिरहन्छ । जब उनी सुत्न लाग्छन् तब उनलाई  मूल ढोकामा चुक्कुल लगाएको विषयमा शंका उठ्छ, उनी छटपटीमा पर्छन् र हेर्न जान्छन्, हेर्दा चुक्कुल लगाइसकेको देख्छन् तर फेरि जब उनी सुत्न लाग्छन् त्यही कुरा दोहोरिरहन्छ । उनले खाना खाएर दिसा–पिसाब गरेपछि ३०–४० पटकसम्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि उनी पटक–पटक हात धुन्छन् । यस्तै उनी बाटोमा हिँड्दा फोहोर वस्तु देखेर डराउँछन्, फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ फोहोर वस्तु खानु हुँदैन तर उनी खाऊँ खाऊँ जस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले उनी आफ्ना नातेदार केटी छेउ पनि बस्न सक्दैनन् । उनलाई थाहा छ उनको सोच गलत हो तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् ।

समाजमा रमा र प्रकाशलाई जस्तो समस्या भएका मानिस धेरै छन्, जसलाई यो रोग हो कि होइन थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ तब उनीहरू डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिसअर्डर भनिन्छ ।  यस्ता अनौठा सोच, तस्बिर, शंका उत्पन्न हुँदा बिरामी आत्तिन्छन् । पुस्तक पढ्दा चलचित्रका दृश्यहरू मनमा आइरहन्छ र पढाइमा ध्यान कम हुन्छ । अग्लो पहाडमा वा पुलमा जाँदा अचानक मनमा त्यहाँबाट हाम फालूँजस्तो हुन्छ । त्यसो त मनमा हाम फाल्दा खतरा हुन्छ भन्ने पनि छ तर यस्तो सोचाइले बिरामीमा छटपटी पैदा हुन्छ, बिरामी के गरौं, कसो गरौं जस्तो भएर कहिलेकाहीँ चिच्याउँछन् । 

घरमा खुकुरी, चक्कु वा बन्दुक नजिक बस्दा मनमा शंका उत्पन्न हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरूलाई हानिन्छ त्यस्तो गर्नु हुँदैन भन्ने थाहा छ तर पनि यस्तो शंका–उपशंका मनमा आइरहन्छ । त्यसैले बिरामी त्यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हुँदैन । यो मनोवैज्ञानिक समस्या हो । 

अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । मन्दिरमा गएर देवताका विषयमा नराम्रो सोच, शंका, उपशंकादेखि लिएर ‘आकाश किन नीलो हुन्छ’ भन्ने सम्मका अत्यन्तै विचित्रका सोच दिमागमा जबरजस्ती पस्छन् जसबाट बिरामीले यस्तो सोच हटाउन केही गर्नुपर्ने हुन्छ । प्राय: यस्ता बिरामी मन्दिरमा धेरै समय बस्न सक्दैनन् । जब सोचाइ चरम उत्कर्षमा पुग्छ तब उनीहरू मन्दिरबाट बाहिर निस्किन्छन् । आकाशमा हेरिरहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् । जुत्ता–मोजा लगाउने विद्यार्थी दिनभर जुत्ता–मोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाने बिरामी घन्टौं नुहाइरहन्छन् । टाउको र शरीर चिसो भैसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन्, कहिलेकाहीँ त एक्कासि चिच्याउँछन् । हात धुने सोचाइ आउने र यो क्रम दोहोरिँदा हात रातो हुन्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने र प्राय: पानीमा नै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा वा पानी मनोरोग पनि भनिन्छ । 
यो एउटा यस्तो रोग हो जसमा बारम्बार विचार, सोच, दृश्य आइरहँदा छटपटी हुन्छ । हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउँछ । यसलाई हटाउन बिरामीले कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ, जस्तै हात छुने, चुक्कुल लगाए नलगाएको चेक गर्ने आदि । त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ । कतिपय बिरामीमा डिप्रेसनको लक्षण पनि पाइन्छ । 

के कारणले यो रोग हुन्छ ? 
यो रोगको खास कारण थाहा छैन तर मस्तिष्कमा सेरोटोनिन भनिने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइन्छ । वंशानुगत रूपमा पनि यो रोग सर्छ । 

उपचार कसरी गरिन्छ ?
विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउन, बिरामीको ध्यान केन्द्रित हुन नदिन गरिन्छ । यो रोगका केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्न सक्छ । त्यसैले समस्या थाहा हुनेबित्तिकै उपचार गराउनुपर्छ । 

कस्ता मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?

यो रोग अत्यन्तै नैतिकवान्, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरू अत्यन्तै नैतिकवान् हुन्छन् र अरूबाट पनि त्यस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि ठूलो रूपमा लिने मानिसलाई पनि यो रोगले च्याप्ने सम्भावना हुन्छ । 

जान्नैपर्ने कुरा

  • यस्ता बिरामीले लुगा धुनु हुँदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ । 
  • यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोच परिवर्तन गर्नुपर्छ । 
  • खतरा हुने सामान र खतरा ठाउँमा बिरामीलाई राख्नु हुँदैन । 
  • जति नै ठूलो समस्या देखापरे पनि त्यो केवल बिरामीको मनमा मात्र हुन्छ । सँगैको साथीलाई पनि केही थाहा हुँदैन । 
  • कहिलेकाहीँ डिप्रेसन भए उपचार गर्नुपर्छ । 
  • धामीझाँक्रीबाट यो रोग निको हुँदैन ।
  • उपचार गरे यो रोग निको हुन्छ । 
  • यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । बिरामी कुनै कुरामा भुल्दा समस्या कम हुन्छ ।

मानसिक रूपमा कसरी स्वस्थ बन्ने ?

  • अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नराख्ने ।
  • अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
  • पुराना रुढिवादी कुरा जुन वर्तमानमा झूटो साबित भएका छन् तिनमा विश्वास नगर्ने ।
  • हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
  • जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने ।
  • लागूपदार्थ, रक्सी, ड्रग्स आदि सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना प्रबल हुने भएकाले ती वस्तुबाट टाढै रहने ।
  • दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
  • समाज एवं घरपरिवारबाट नकारात्मक वातावरणको अन्त्य गर्ने ।
  • अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
  • आफ्ना समस्या आफ्नो परिवार एवं साथीभाइलाई पनि भन्ने । 
  • मनलाई सधैं शान्त राख्ने ।

 (चितवन मेडिकल कलेजका, नशा तथा मानसिक रोग विशेषज्ञ डा सी पी सेडाईंको लेख)

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress