मनाङको तापक्रम माइनसमा झऱ्यो, जनजीवन प्रभावित, पर्यटक आगमन घट्दै


मंसिर ५, २०७३- हिमालपारीको जिल्ला मनाङमा चिसो बढेको छ । तापक्रम माइनस ७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ ।
मौसम पूर्वानुमानसम्बन्धी विभिन्न वेभसाइट र मौसम मापन यन्त्र (थर्मोमिटर) मार्फत् मनाङमा तापक्रम मापन गरिँदै आएको छ । चिसो बढ्न थालेपछि जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् । चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । ‘माथिल्लो मनाङ क्षेत्रमा रातको समय माइनस ६ देखि ७ डिग्री सेन्टीग्रेटसम्म तापक्रम झरेको छ । साँझ परेपछि तापक्रम घट्दै गएर बिहान घाम लाग्न थालेपछि मात्रै बढ्ने गरेको छ’ उनले भने । उनका अनुसार सदरमुकाम चामेमा भने तापक्रम माइनसमा १ देखि २ डिग्री सेन्टीग्रेटसम्म झरेको उनले बताए ।

 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय माइनस ७ डिग्री सेन्टीग्रेटसम्म तापक्रम झरेको छ । घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने गरेको उनले बताए । मौसमसम्बन्धी जानकारी दिने अक्कुवेदर डटकमलगायत विभिन्न वेभसाइट र थर्मोमिटरमार्फत मौसमी विवरण लिने गरिएको उनले बताए ।

‘पछिल्लो साता माइनस ५ देखि ७ डिग्री सेन्टीग्रेटसम्म तापक्रम मापन हुँदै आएको छ । तापक्रम अझै घट्दो छ’ उनले भने, ‘पर्यटकलाई मौसमी विवरण जानकारी गराउँदै आएका छौं । चिसोका कारण उनीहरु पनि सबेरै निस्कन सकेका छैनन् ।’ पर्यटकलाई सजिलो होस् भनी पछिल्लो ५ दिनको मौसमी विवरण पर्यटक चेकजाँच केन्द्रमा पर्यटकले देख्ने ठाउँमा राखेको उनले बताए ।

मनाङको हुम्डे क्षेत्रमा चिसोका कारण ढुंगा र चट्टानमा जमेको शीत ।

उनका अनुसार मनाङ गाउँ ३ हजार ५ सय ५० मीटर उचाइमा छ । ‘बढी उचाइमा मनाङको भन्दा चिसो अझ बढेको हुनसक्छ’ उनले भने । पर्यटकले मनाङबाट ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला भञ्ज्याङ पास गर्दै आएका छन् । चिसो बढ्न थालेपछि पर्यटकको आगमन घट्न थालेको उनले बताए । ‘दुई, तीन साताअघिसम्म कहिलेकाहीं दैनिक साँढे २ सय पर्यटक भित्रिएको थियो । चिसो बढेसँगै सरदर दैनिक १ सयको हाराहारीमा आउने गरेका छन्’ उनले भने । सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिना पर्यटकीय सिजन भए पनि जाडो बढेसँगै पर्यटक आगमन घटेको उनले बताए ।

खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका इन्जिनियर मधु तिमिल्सिनाले चिसोका कारण सेपिलो ठाउँमा रहेका जीआई पाइपहरुमा खानेपानी जम्न थालेको बताए । ‘घाम लाग्ने ठाउँमा समस्या छैन । पानी अत्याधिक चिसो छ’ उनले भने, ‘सेपिलो ठाउँमा भएकाले जमीनमुनीको पाइपमा पानी जमेर खानेपानीको समस्या आउन थालेको छ ।’ भर्खरमात्रै सरुवा भएर आएका उनले मनाङमा नयाँ अनुभव बटुलेको बताए । ‘भर्खर हिमाली क्षेत्रमा आएर पनि हुनसक्छ, निकै जाडोको महसुस गरेको छु’ उनले भने ।

स्थानीयका अनुसार राती खसेको शीत तथा पानी बाटोमा जम्ने गरेको छ । स्थानीय विकास अधिकारी कृष्णप्रसाद धितालले बाहिरै आगो बालेर बैठक बस्नुपर्ने अवस्था आएको बताए । ‘भित्र बसौं चिसोले काम गर्न गाह्रो । बाहिरै आगो तापेर बैठक बस्नुपर्ने अवस्था छ’ उनले भने । कतिपय कर्मचारीले दैनिक कार्यसम्पादन कार्यालय परिसरमै घाम तापेर बसेको बताएका छन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress