मनमोहक कालिञ्चोक


कार्तिक २१, २०७३- लामो समयसम्म झरी र बादलभित्र हराएको कालिञ्चोक बिहानीपख कोठाबाट पर्दा खोलेर आधारशिविर कुरीतर्फ माधवी आँखाले हेरिरहेझै‌ लाग्छ । त्यसैले कालिञ्चोकको शीरमा सूर्योदयको पहिलो किरण पर्दाको माधुर्यतामै त्यहाँ पुगिहाल्न कुत्कुत्याउँछ ।

करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोकको टाकुरा पुग्न कुरीबाट दुई मार्ग छन् । हिँड्नुमा सौखिनहरु करिब डेढ घण्टाको ठाडै उकालो टाकुरा चुम्ने तृष्णामा स्वाँ स्वाँ गर्दै पदयात्रा थाल्छन् । सुविधायुक्त चालमा कालिञ्चोक पुग्नेहरु आधारशिविरबाट मोटरबाट घ्याङडाँडा पुग्छन् । त्यहाँबाट करिब पौने घण्टामै कालिञ्चोकलाई आलिङ्गन गर्छन् ।

 

रोजाइ आ–आफ्नै हुन्छन्, दुवैतर्फबाट उत्तिकै मानिस टाकुरातर्फ ‘मार्चपास’ शैलीमा देखिन्छन् । कालिञ्चोकको चुचुरा चुम्नुमा मानिसहरुका दुईवटा स्वार्थहरु बढी देखिन्छ । पहिलो स्वार्थ, हिन्दू धर्मकी शक्तिपिठ कालिञ्चोक भगवतीसँग साक्षात्कार गर्दै मनोआकाङ्क्षा पूरा गर्नु । दोस्रो स्वार्थ, प्राकृतिक रुपले पृथ्वीको ‘स्वर्ग’को मनमोहकतासँग मनोरञ्जन गर्नु ।

यहाँ कात्तिकदेखि मानिसहरुको जमघट औधी बढेको छ । मानिसहरुको चापले करिब तीन दर्जन होटलहरु खचाखच छन् । व्यवसायीहरु पाहुनालाई सत्कार गर्न भ्याइनभ्याइमा छन् । करिब एकलाख मानिसहरु बास बस्ने अनुमान गरिएको कुरीमा मोटरका लर्को छ । मानिसहरु कोही लठ्ठी टेकेर उकालिँदै छन् । कोही होटल वरपर र पाखामा खानपान गरेर रमाइरहेका हुन्छन् । कोही सेल्फी त, कोही अरुको सहायतामा आफूलाई धार्मिक र प्राकृतिक मनोरमसँग कैद गराइरहेका हुन्छन् । होटल टँसिदलेका सोनाम शेर्पाले कात्तिक लागेपछि ओइरिएको पर्यटकलाई पकाएर खुवाउँदै गर्दा बोल्न पनि फुर्सद नपाइएको बताए ।

कालिञ्चोक भगवतीको मन्दिर पुग्नेबेला प्रवेश गर्ने दुईवटा मार्ग छन् । धार्मिक दृष्टिले थुम्कोलाई दाहिनेतर्फबाट फेरो मारेर पश्चिततर्फको भर्‍याङ चढ्ने चलन छ । पूर्वतर्फकै बाटोबाट थुम्को पुग्न पनि रोकटोक छैन, तर उक्त मार्ग फर्कन प्रयोग गरिन्छ । कालिञ्चोकको शीरमा पुग्नेबित्तिकै रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खलाका हिमालहरुको मोहकतामा प्राय: सबैका आँखा नाच्न थाल्छन् । शनिबार थुम्कोमा पुग्नेहरु केहीले सर्वप्रथम हत्तरपत्तर एक, दुई ‘सेल्फी’ खिच्न मोबाइल उचालिहालेको देखियो । त्यसपछि मात्र मानिसहरुको ध्यान मन्दिर दर्शनको चाँजोपाँजोतर्फ मोडिएको देखियो ।

सेता दाँत देखाएर माधवी मुस्कान छरेका गौरीशंकर लगायत दर्जनौं हिमालहरुमा यतिखेर बादलको एकटुक्रा पनि दाग देखिँदैन् । बिहान ढल्कदै जाँदा तुवाँलोको हल्का छेकावट हुन्छ तर सूर्य पश्चिमतर्फ अस्ताउँदै गर्दा हिमाल झन् राम्रोसँग टहकिन्छ । टाकुराबाट देखिने पहाड र जंगलहरु सुन्दर पक्ष हुन्, जसले मानिसहरुको दृष्टि तानिरहेको हुन्छ । दोलखाका अधिकांश गाउँवस्तीका आकृति टाकुराबाट नजर लाउन सकिन्छ । नेपालको मध्यपूर्वीय जिल्लाहरुका पहाड र डाँडाहरुलाई क्षितिजसम्मको हेराइले मानिसहरुलाई आनन्द तुल्याउँछ । यो टाकुरामा पहिलोपटक आफ्नो पाइला राख्दा पत्रकार किशोर श्रेष्ठ लगायतको टिम यस्तै कुराहरुले आनन्दित भएको अनूभुति गर्छन् ।

राजधानी काठमाडौंबाट १३३ किलोमिटर अरनिको राजमार्ग र पुष्पलाल मार्गको लामोसाँघु जिरी सडक यात्रापछि दोलखाको मुख्यालय चरिकोट आउन सकिन्छ । यहाँबाट १७ किलोमिटर केही पक्की र अधिकांश कच्चीसडक यात्रापछि कालिञ्चोकको कुरी पुग्न सकिन्छ । निर्माणाधिन सडक भएकाले ‘फोरह्वील’ इन्जिन भएका गाडीहरु यात्राका लागि बढी सुरक्षित मानिन्छ । मौसमअनुसार अन्य इन्जिनका गाडी र मोटरसाइकलहरुबाट पनि मानिसहरु पुगिरहेका हुन्छन् ।

केही वर्षअघिसम्म उक्त सडकयात्रालाई जोखिम मानिन्थ्यो । सुधारपछि जोखिम कम हुँदै गएको यहाँ निरन्तर भ्रमण गरिरहने पर्यटकहरु बताउँछन् । कुरीबाट कालिञ्चोकतर्फको पदयात्रामा बाटो भुलेर मानिसले ज्यानै गुमाउनु परेको दु:खद् घटना छन् । अहिले बाटो देखाउने संकेतहरुले त्यो घटना दोहोरिने सम्भावना कम हुने अपेक्षा स्थानीयको छ । आरमस्थलहरु र खुड्किलो निर्माणले हिँडाइ सुविस्तायुक्त छ । बाटोको वरपर बार लगाइएकोले यात्रालाई थप जोखिममुक्त बनाइएको छ । भूकम्पले बिगारेको बटाहरु सुधारिएकाले घ्याङडाँडातर्फको यात्रा पनि सुरक्षित छ ।

कालिञ्चोक मन्दिरमा चढाइएका भेटी व्यवस्थापन समिति निर्माण गरी कुरीसम्मको ‘कोरिडोर’ सुधारमा स्थानीयहरु जुटेका छन् । कुरीबाट केबलकार निर्माण थालनीले यहाँको भविष्य थप उज्ज्वल देख्दै मानिसहरुले व्यावसायिक दृष्टिकोण राखेर ओइरिरहेका छन् । कुरी आफंै सरकारी जमिनमा रहेकाले जमिन ओगट्ने दाउपेचमा लाग्नेहरु पनि कमी छैनन् । देश विदेशबाट मानिसहरु आउने कालिञ्चोकलाई व्यवस्थित गर्न जग्गा व्यवस्थापन समिति बनेको छ, तर कामयावी नदेखिँदा कालिञ्चोक क्षेत्र अव्यवस्थित जनघनत्वको सिकार भइरहेको छ । साथै, जैविक पर्यवरणीय क्षतिको मारमा पनि परिरहेको छ ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress