अमृत गुरुङको पोखरा–काठमाडौं पैदल–यात्रा


‘बाटोले बाटो देखाउँछ’

कार्तिक २०७३- पोखरा र काठमाडौं जोड्ने २ सय ३ किलोमिटरको सडक बाटोमा दैनिक हजारौं संख्यामा गाडी गुड्छन् । यो बाटोमा यसरी गाडी घुँइकिन थालेको धेरै भएको छैन । पृथ्वी राजमार्ग बनेकै चार दशक त भयो । सडक खुल्नुअघि गण्डकीतिरका मान्छे हिँडेरै नेपाल (काठमाडौं) आउने जाने गर्थे । तर, उनीहरूले पहिल्याएको बाटो अहिले खासै अस्तित्वमा छैन ।  गाडी गुड्ने सडक बनेसँगै गोरेटो बाटो बिलाएको हो । मान्छे नहिँडेपछि बाटो बाटो रहँदैन ।

आफ्नी बज्यैमार्फत् पोखरा–काठमाडौं पैदल मार्गबारे अनेक किस्सा सुनेका गायक अमृत गुरुङ त्यही बिलाएको बाटो खोज्दै सात दिनअघि पोखराबाट काठमाडौं हिँडेका थिए । ‘बाटोले बाटो देखाउँछ’ भन्ने विश्वाससहित साथी काशीलाई अघि लाएर उनी सात मुहाने देउरालीबाट ठमठम उँधो झरे ।

‘पुर्खाले हिँडेको बाटो हिँड्ने पुरानो धोको थियो,’ उताबाट हिँडेको आठौं दिन, काठमाडौंको कालिकास्थानमा भेटिएका अमृतले सुनाए, ‘२०/२२ किलोको भारी बोकेर दैनिक २०/२५ किलोमिटर लगातार हिँडेपछि मेरो धोको पूरा भयो ।’ पुर्खाले प्रयोग गरेको यो भित्री बाटो गतिलो ट्रेकिङ रुट हुन सक्ने उनले बताए ।

 

यातायात र सञ्चार 

अघिल्लो साल १६ दिन हिँडेर उपल्लो डोल्पा घुमिभ्याएका अमृतलाई छ/सात दिनको हिँडाइ ठूलो कुरा होइन । तर, हिँड्नकै लागि हिँडेका थिएनन् यसपालि । ‘हामीले हामी आएको बाटो बिर्सिनुहुन्नँ,’ हिँड्नुको कारण बताए, ‘विकास निर्माणका काम गर्दै जाँदा हाम्रो संस्कार र चालचालनका राम्रा पक्षको संरक्षणमा होस पुर्‍याउनुपर्छ । नयाँ बाटो बनाउनु अत्यावश्यक छ । तर, सँगसँगै पुरानो बाटोको संरक्षण हुनुपर्छ । नयाँले पुरानोलाई विस्थापित गर्नु भएन ।’ दिनको २० किलोमिटर हिँडदा अमृत र काशीले कास्की, लमजुङ, तनहुँ, गोरखा र धादिङका थुप्रै गाउँबस्ती नियाले ।

वरिपरि देखिने सेता हिमाल, पहेँलपुर धान खेत, कलकल बगेका खोलाखोल्सा, मखमली र सयपत्रको मोहक वासनाले ‘हयाप्पिनेस इन द एयर’ को आभास दिलाएको थियो । गाउँगाउँमा यातायात र सञ्चारको सुविधा पुगेको देख्दा यी ‘नेपाली टुरिस्ट’ द्वय थप रौसिए । ‘हिँडेर १ घण्टामा पुगिने ठाउँका लागि दुई/तीन घण्टादेखि गाडी कुरेको देख्दा रमाइलो लाग्यो,’ अमृत भने, ‘हामीलाई समेत कात्तिकको घाममा नहिँड, गाडी चढ भन्ने सुझाव दिए ।’ ऊ बेला बज्यैले डुंगामा पार गरेका बूढीगण्डकी, दरौँदी, मस्र्याङ्दीजस्ता नदीमा पक्की पुल बनेको देख्दा बज्यै सम्झेर आफू भावुक बनेको बताए । ब्रोइलर कुखुरा र चाउमिन नपाइने गाउँ भेटेनन् । घरघरमा टेलिभिज सेट देखे पनि कसैले नेपाली च्यानल हेरेको फेला पारेनन् ।

रेडियोमा लोक दोहोरी घन्काएको भने मज्जैले सुने ।  कतिपय ठाउँमा भेटिएका आफ्ना प्रशंसक देखेर मनमनै हाँसे । सिल्फी र फोटो खिच्ने चाहनेलाई केही बेर समय दिए । केहीले भने आफूलाई ‘रेसम…’ गाउने अमृत गुरुङ भनेर मरिकाटे नपत्याएको देख्दा गजब लागेको बताए । पर्यटकप्रतिको स्थानीय धारणा थाहा पाउँदा कुनै बेला मख्ख परे त कहिले निराश बनेको सुनाए । ‘कतिले हामीलाई नेपाली पनि टुरिस्ट हुँदा रैछन् भने,’ उनले भने, ‘कोहीले टुरिस्टहरू ‘हाम्रो फोटो खिचेर पैसा कमाउन आएका’ भन्ठान्दा रैछन् । त्यसैले गाउँलेहरू फोटो खिच्न मान्दैनन् आजकल ।’

सातमुहानेबाट चिसापानी आइपुगेपछि आफूहरू अलमलमा परेको अमृत सम्झन्छन् । ‘म एकातिर जाऊँ भन्छु काशी अर्कोतिर,’ बाटो भुल्दाको प्रसंग उनले सेयर गरे, ‘काशीले नै भनेकोतिर लाग्यौं । गलत बाटो परेछ । धान खेतमा जुकाले धुरुक्कै रुवायो । त्यसपछि मैले उसलाई बाटो र हिमालका मामिलामा तिमी बाठो नहोऊ भन्दिएँ । उसले भूल स्विकार्‍यो ।’ सिसाघाट, तार्कुघाट, खोप्लाङ, माटेपुल, सल्यानटार, भर्‍याङभुरुङजस्ता ठाउँमा पहिलोपटक पुगेका भए पनि अमृतका लागि यी नाउँहरू नौला थिएनन् । नौ सालअघि ९० वर्षको उमेरमा बिदा भएकी उनकी बज्यैले आफ्नो नातिलाई यी गाउँका नालीबेली सुनाउन भ्याएकी थिइन् । कुन गाउँको के विशेषता, कुन ठाउँमा को बस्छ जस्ता कुराको संक्षिप्त जानकारी थियो उनलाई । ‘सात वर्षमा बिहे गर्नुभएकी मेरी बज्यै १३ वर्षकी हुँदा पहिलो पटक यो रुटमा हिँड्नु भएको थियो रे,’ अमृतले भने, ‘उहाँकै बयान अनुसार र स्थानीयसँग सोधीखोजी गर्दै बाटो पहिल्यायौं । तर, धेरैलाई यो उहिलेको बाटोबारे थाहा रहेनछ ।

हिँड्नुअघि नक्सा हेरेको थिएँ, नक्सामा पैदल यात्रीलाई हुने खालको जानकारी पाइएन ।’ 

 

‘युद्ध फेरि नहोस्’

प्राकृतिक स्रोत र संरचनाको प्रशंसा गर्दै गन्तव्यतर्फ लम्किरहँदा अमृतहरूलाई पहिलो दिन नै ससानो सास्ती आइलाग्यो । लमजुङ र तनहुँको सिमाना पर्ने दुई पिप्लेमा बास पाएनन् ।

माओवादीको दसवर्षे सशस्त्र द्वन्द्वकालपछि गाउँघरमा बास दिने चलन मासिन थालेको अमृतले बताए । रात काट्ने छानो नपाएपछि त्यहाँबाट १० किमि हिँडेर धानफेदी पुगे । ‘साँझमा आउने पाहुनालाई देउतासरह मान्ने परम्परा थियो हाम्रो,’ उनले भने, ‘द्वन्द्वकालमा बास दिनेलाई माओवादी र सेना दुवैले दु:ख दिएपछि गाउँलेहरूको सातो गएको रहेछ । अहिले पनि त्यसको धङ्धङी मेटिएको छैन ।’ गृहयुद्धको त्रास बासमा मात्रै सीमित रहेको पाएनन्, नेपथ्य म्यानले । पोहोर सालको महाभूकम्पभन्दा एक दशकअघि झेलेको युद्ध स्थानीयले भुल्न नसकेको देख्दा उनी स्तब्ध भए । पन्ध्रकोसकी एक महिलासँग भूकम्पले पुर्‍याएको क्षतिबारे कुरा गर्दा उनले दिएको उत्तर सुनेर आफू बेजवाफ भएको बताए ।

‘भूकम्प त एक छिन आयो, गयो । प्रकृतिले दिने दु:खभन्दा मान्छेले दिने दु:ख कहाली लाग्दो हुँदो रहेछ,’ ती महिलालाई उद्धृत गर्दै अमृतले सुनाए, ‘अब कहिल्यै युद्ध नहोस् ।’  पालुङटार, लुइँटेल भञ्ज्याङ, चोरकाटे, कटुञ्जे, पन्ध्रकोस, भर्‍याङभुरुङजस्ता थुप्रै गाउँ पुन: निर्माणको पर्खाइमा रहेको उनले पाए । कतिपय गाउँमा इन्जिनियरहरू खटिए पनि आवश्यक सामग्री नहुँदा निर्माण कार्य थन्किएको देखे ।  भत्केका घरगोठ, अस्पताल, कार्यालयहरूसँगै आफू हिँडेको पुख्र्यौली बाटो पनि बेवारिसे र उराठलाग्दो बनेको उनले बताए । ‘पाटीपौवा, चौतारा, धर्मशाला सबै जीर्ण र दरिद्र अवस्थामा थिए,’ गुरुङले भने, ‘यिनको मर्मतसंहार गर्ने हो भने यो रुटलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने रहेछ ।’

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress