दैनिक ३२ लाख लिटर पेट्रोलियम खपत, डिजेल र पेट्रोलको आयात उच्च


 

काठमाडौं – मुलुकभर बढ्दो सवारी चाप र लोडसेडिङका कारण हरेक दिन पेट्रोलियम पदार्थको आयातमा समेत बृद्धि भईरहेको छ । दिनप्रतिदिन थपिदै गएको सवारीको संख्या, चर्को उर्जा संकटले पेट्रोलियम आयात बढाएपछि मुलुकको वैदेशिक व्यापार समेत ऋणात्मक बनिरहेको छ ।

राजधानी काठमाडौंलगायत मुलुकभर अहिलै दैनिक ३२ लाख ३ हजार ८ सय लिटर पेट्रोलियम खपत भइरहेको छ । यो उच्च परिमाण हो । कतिपय ठूला मुलुकमा पनि यो परिमाणमा पेट्रोलियम आयात र खपत हुने गरेको छैन ।

मानिसको जीवन शैलीमा आइरहेको परिवर्तन, सडक र सवारीको वृद्धि तथा विद्युतको वैकल्पिक माध्यम पनि पेट्रोलियम भएकाले यति धेरै आयात र खपत भएको हो । अर्कोतिर नेपालको भौगोलिक अवस्थाका कारण लामो दुरीका सावरी सञ्चालन हुने भएकाले पनि पेट्रोलियमको खपत बढ्दै गएको देखिएको छ ।

नेपाल आयल निगमका अनुसार सबै भन्दाबढी डिजेलको आयात तथा खपत छ । नेपालमा दैनिक २० लाख ५६ हजार ५ सय लिटर डिजेल खपत भइरहेको छ भने ८ लाख ८६ हजार लिटर पेट्रोल खपत छ । पछिल्लो १५ दिनमा मात्र कुल ४८ हजार ५७ किलो लिटर पेट्रोलियम पदार्थ आयात तथा बिक्रि भएको छ । १५ दिनमा डिजेलको आयात तथा बिक्रि मात्र ३० हजार ८ सय ४७ किलो लिटर छ । यस्तै, दोस्रो बढी पेट्रोलको आयात देखिएको छ । यो अवधीमा १३ हजार २ सय ९० किलो लिटर पेट्रोल बिक्रि भएको छ ।

निगमको अगष्ट महिनाको १५ दिनको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल पछि अन्तर्राष्ट्रिय हवाइ इन्धन खपत भएको छ । त्यस अवधीमा २ हजार ३ सय २७ किलो लिटर अन्तर्राष्ट्रिय हवाइ इन्धन खपत भएको छ । यस्तै, आन्तरिक हवाइ इन्धनको खपत ९ सय ९७ किलो लिटर छ भने सवैभन्दा कम मट्टितेलको खपत देखिएको छ । यो अवधीमा ५ सय ९६ किलो लिटर मट्टितेल खपत भएको आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता भानुभक्त खनाल पछिल्लो समय पेट्रोलियम आयतमा बृद्धि भइरहेको र यसले पनि व्यापार घाटा बढाउन सहयोग पुगेको बताउँछन् । निगमले माग अनुसार पेट्रोलियम पदार्थ उपलव्ध गराउँदै आएको र कुनै खास कारण वाहेक ठूलो संकट नआएको उनको भनाइ छ ।

ग्यासको खपत दैनिक ४७ हजार ५ सय सिलिण्डर
शहरिया परिवेशमा मानिसको जीवन शैली विकास भएकाले अहिले चुल्होमा दाउरा, कोइला वा अन्य प्रविधीको प्रयोग न्युन हुँदै गएको छ । खासगरि, राजधानी लगायत शहरी क्षेत्रका मानिसको खाना पकाउने एकमात्र भरपर्दो बिकल्प एलपी ग्यास बनेको छ । ठूला शहर मात्र नभएर पछिल्लो समय शहरउन्मुख गाउँहरुका मानिस पनि धुवाँ, धुलोमा खाना पकाएर खान रुचाउँदैनन् । जसले गर्दा दाउरा, कोइलाको प्रयोग भन्दा ग्यासको प्रयोग ह्वात्तै बढेको छ ।

निगमका अनुसार अहिले दैनिक ४७ हजार ५ सय ८० वटा एलपी ग्यास सिलिण्डर खपत भइरहेका छन् । खाना पकाउन विद्युतको भर नहुने भएकाले पनि ग्यासको खपत बढेको निगमले जनाएको छ । हरेक परिवारसँग दुई वा त्योभन्दा बढी ग्यास सिलिण्डर हुने गरेका छन् । यस्तै, ठूला होटल, रेष्टुरेन्टमा पनि ग्यासको खपत उच्च छ । पछिल्लो १५ दिनमा मात्र नेपालमा ७ लाख १३ हजार ७ सय ६ सिलिण्डर ग्यास आयात तथा बिक्रि भएको छ ।

अर्धमासिक नाफा कति ?

भारतिय आयल निगम (आइओसी) ले एक सेप्टेम्वरमा पठाएको पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको नयाँ मुल्य सूची अनुसार अहिले निगमलाई २८ करोड १९ लाख रुपैयाँ नाफा छ । यो अघिल्लो महिनाको तुलामा १८ करोडभन्दा बढीले कम हो ।

निगमलाई अहिले पेट्रोल बिक्रिमा ७ करोड ६० लाख रुपैयाँ कुल नाफा छ भने डिजेलमा ३ करोड ७१ लाख र मट्टितेलमा १ करोड १३ लाख रुपैयाँ कुल नाफा रहेको छ । यस्तै, आन्तरिक हवाइ इन्धनमा १ करोड ७९ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ६ करोड ३१ लाख रुपैयाँ कुल नाफा रहेको छ । एलपी ग्यासको विक्रिमा पनि निगमलाई ७ करोड ६६ लाख रुपैयाँ कुल नाफा छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress