निगम लगातार दोस्रो वर्ष नाफामा


  • आर्थिक वर्ष २०७१/७२ मा १५ अर्ब कमाएको निगमको खुद मुनाफा गत वर्ष १६ अर्ब
  • १४ वर्षयता पहिलोपटक १ अर्ब ३० करोड आयकर बुझाएका छौं : निगम

श्रावण २३, २०७३- पाँच वर्ष घाटामा रहेको आयल निगमले पछिल्लो दुई वर्ष लगातार उच्च मुनाफा आर्जन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावाटअनुसार मूल्य नघटाएर निगमले उच्च मुनाफा आर्जन गरेको हो । सुरुमा ऋण तिर्नुपर्ने बाध्यता देखाउँदै निगमले अन्तर्राष्टिय बजारअनुसार मूल्य घटाएन भने पछिल्लो समय भारतभन्दा सस्तो हुने भनेर उच्च मुनाफा कायम राखेको छ ।

निगमको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नाफा १६ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निगमले भने स्वचालित मूल्यका कारण निगमको नाफा बढेको दाबी गरेको छ । ‘नाफा बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु र स्वचालित मूल्य हो,’ साहले भने, ‘त्यसको प्रभाव नाफा करिब १६ अर्ब रुपैयाँ पुगेको छ ।’ निगमले आर्थिक वर्षमा २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको थियो । त्यस बेला भने निगम ऋणमै थियो ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९/६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो । त्यसयता निगम निरन्तर घाटामा थियो । २०६५/६६ सालमा भने निगमको नाफामा ३ अर्ब ११ करोड रुपैयाँ भएको थियो । त्यसपश्चात् पुन: ५ वर्ष निरन्तर घाटामा गएको थियो ।

निगमभित्रको अपारदर्शिता र ट्यांकरमा हुने चुहावट, अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन नहुँदा घाटा बढेको जानकारहरूको भनाइ थियो । घाटा भए पनि आपूर्ति सहज बनाउन पटक/पटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण थियो । उक्त ऋण सरकारसँगै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र वाणिज्य बैंकसँग लिएको थियो । सबैभन्दा बढी अर्थ मन्त्रालयको १२ अर्ब ६० करोड ऋण थियो ।

२०७१ असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू भएपछि नाफा बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झरेपछि निगमको मुनाफा बढेको थियो । अहिले तेलको मूल्य प्रतिब्यारेल ४१ डलर छ ।

नाकाबन्दीको समयमा आपूर्ति नघटेको भए निगमको नाफा अझ बढी हुने अनुमान थियो । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आवमा ८४ अर्ब ३८ करोड रुपैयाँको इन्धन आयात भएको थियो । आव २०७१/७२ मा १ खर्ब २६ अर्ब रुपैयाँको आयात भएको थियो ।

आयातमा कमी भए पनि निगम नाफामा थियो, जसले गर्दा सम्पूर्ण ऋण चुक्ता गरिसकेको छ ।

नाफा भएपछि आयकर पनि पहिलोपटक बुझाएको निगमले जनाएको छ । निमित्त नायब कार्यकारी निर्देशक साहका अनुसार १४ dवर्षयता पहिलोपटक बुझाएको हो । ‘यसअघि निगम सञ्चित नोक्सानीमै भएकाले तिरेका थिएनौं । अब ऋणबाट मुक्त भएका छौं । नाफा पनि छ,’ साहले भने, ‘जसले गर्दा यसपटक १ अर्ब ३० करोड आयकर बुझाएका छौं ।’ उक्त रकम ठूला करदाता कार्यालयलाई बुझाएको उनले बताए । अबको प्राथमिकता पुँजी वृद्धि रहेको निगमका अधिकारीहरू बताउँछन् । अहिले निगमको पुँजी ९ करोड ६७ लाख १५ हजार रुपैयाँ मात्रै छ । चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने तयारी रहेको निगमले जनाएको छ ।

यस्तै, इन्धन भण्डारण, भौतिक पूर्वधार विस्तार गरिने जनाएको छ । अहिले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ ८३ पैसा, डिजेलमा २ रुपैयाँ १२ पैसा, मट्टीतेल १६ रुपैयाँ १८ पैसा नाफा छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ११ रुपैयाँ ७० पैसा, हवाई इन्धन आन्तिरिकतर्फ १५ रुपैयाँ ८८ पैसा र अन्तर्राष्ट्रियतर्फ २५ रुपैयाँ ३ पैसा नाफा छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यअनुसार अगस्ट महिनाको पहिलो १५ दिनमा इन्धनको कारोबारबाट ४४ करोड ३६ लाख रुपैयाँ नाफा हुने देखिन्छ । अगस्ट महिनामा ८८ करोड ७२ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress