साल्ट ट्रेडिङले पनि पेट्रोल पम्प खोल्ने


असार १, २०७३- साल्ट ट्रेडिङले समेत पेट्रोल/डिजेल पम्प खोल्ने तयारी गरेको छ । ट्रेडिङका विभागीय प्रबन्धक पंकज जोशीका अनुसार विभिन्न क्षेत्रबाट पम्प सञ्चालनका लागि माग आएकाले खोल्न तयारी भएको हो । पम्प खोल्न २६ गते बसेको साधारणसभाबाट स्वीकृत भइसकेको उनले बताए ।

साधारणसभाबाट स्वीकृत भएपछि अध्ययन प्रक्रिया अघि बढाइएको जनाएको छ ।

पम्प सञ्चालन भए बजार हस्तक्षेप गर्न पनि सजिलो हुने उनको भनाइ छ । अहिले अधिकांश पम्पहरू निजी छन् । सरकारी पम्पको संख्या न्यून हुँदा बन्द हडताल/अभावको बेला सर्वसाधारणलाई दु:ख हुने गरेको छ । तर, सरकारी स्वामित्वमा रहेका संस्थानले पम्प खोले निजी क्षेत्रको एकाधिकार अन्त हुने जानकारहरू बताउँछन् ।

‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ उनले भने, ‘काठमाडौंसँगै अन्य जिल्लामा पनि विस्तार गर्ने योजना छ ।’ उनका अनुसार पहिलो चरणमा ३ देखि ४ वटा पम्प सञ्चालन हुने छ । त्यसलगत्तै करिब १५ वटा पम्प सञ्चालन गरिने जनाएको छ ।

जोशीका अनुसार साल्टको बिर्तामोड, विराटनगर, धनगढी, लहान, टिमुरा, वीरगन्ज, पोखरा, भैरहवा, महेन्द्रनगरलगायत क्षेत्रमा आफ्नै जग्गा छ । आफ्नै जग्गामा खोल्ने सक्ने/नसक्ने बारेमा पनि अध्ययन भइरहेको जनाएको छ ।

‘पम्पका लागि नियम कानुन, लागत, बजार, पूर्वाधार खोज्ने अध्ययन/प्रक्रिया हुँदै छ,’ उनले भने, ‘त्यसलगत्तै समिति गठन गरेर काम अघि बढाउँछौं ।’ अहिले साल्ट टेड्रिङले खाना पकाउने ग्यासको पनि कारोबार गर्छ । टेड्रिङले करिब ५ वर्षदेखि ‘एसटीसी’ ब्रान्डको ग्यास बिक्री गर्दै आएको छ ।

करिब १ लाख ७० हजार ग्राहक संख्या छन् । नाकाबन्दीको क्रममा अन्य कम्पनीले उपलब्ध गराउन नसकेको ग्यास एसटीसी ग्यास भने व्यवस्थित रूपमा वितरण गर्दै आएको थियो ।

ग्यासको कारोबार पनि विस्तार गर्दै लैजाने जोशीले बताए । एसटीसी ग्यासको रिफाइनेरी धादिङमा छ । ‘एसटीसी ब्रान्ड उपत्यकामा मात्रै छ, त्यसलाई पनि विस्तार गर्दै लैजाने योजना बनाएका छौं,’ उनले भने ।

आपूर्ति मन्त्रालयअन्तर्गत रहेका नेसनल ट्रेडिङ र नेपाल आयल निगमले पम्प सञ्चालन गर्दै आएको छ । नेसनलले टेकु र पोखराको पृथ्वीचोक पोखरामा पेट्रोल/डिजेल पम्प सञ्चालन गर्दै आएको छ । निगमले भने भैरहवामा सञ्चालन गरेको छ ।

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले पम्प खोल्ने व्यवस्थापनको कार्यक्रममा परेकाले सञ्चालन भए सर्वसाधारलाई सहज हुने बताए । ‘साल्ट ट्रेडिङको व्यावसायिक योजना हो, कार्यक्रममा पनि परेको छ तर बोर्डले निर्णय गर्न बाँकी छ,’ प्रवक्ता रेग्मीले भने, ‘पम्प सञ्चालन कतिसम्म सम्भव हुन सक्छ । सञ्चालन भए राम्रो हुन्छ ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानका अनुसार अहिले उपत्यकामा करिब १ सय २२ पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन् । मुलुकभरि करिब १३ सय पेट्रोल/डिजेल पम्प छन् ।

मटितेलसहित करिब २१ सय पम्पहरू सञ्चालनमा रहेको अध्यक्ष प्रधानले बताए । पम्प तथा ग्यास कम्पनी सञ्चालनका लागि सरकारले बिक्रेता विनियमावली २०६५ जारी गरेको छ । सोही विनियमावली भित्र रहेर सञ्चालन गर्नुपर्छ ।

पम्पका लागि कम्तीमा २ रोपनी जग्गा, सडक मापदण्ड (सडक पहुँच) भित्र हुनुपर्छ । सरकारले तोकेको कर तिरेको हुनुपर्छ ।

स्वामित्व देखाउनुपर्छ । एउटा पम्पबाट अर्को पम्पको दूरी साढे २ किलोमिटरभन्दा बढी हुनुपर्छ । तर, उपत्यकामा सञ्चालन भएका अधिकांश पम्पहरू मापदण्ड विपरीत रहेको उपभोक्तावादीहरू बताउँछन् । मापदण्डभित्र रहे/ नरहेको नियमन/अनुगमन गर्ने जिम्मा निगमको भए पनि निगम मौन रहेको उनीहरूको दाबी छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress