मेलम्ची आउन अझै १ वर्ष


जेष्ठ ३१, २०७३- मेलम्ची खानेपानी विकास समितिले आयोजनाको ८२ प्रतिशत काम पूरा भएको जनाउँदै १ वर्षभित्रै उपत्यकामा पानी आउने दाबी गरेको छ । खानेपानी आयोजनाअन्तर्गतका सुरुङ निर्माण, पाइप बिछ्याउने, पानी प्रशोधन केन्द्र निर्माण र पानी ट्यांकी निर्माणको आधाभन्दा बढी काम पूरा भएको उल्लेख गरेको छ । समितिले १ वर्षभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्ने जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सुरुङ खन्ने काममा सन्तोषजनक प्रगति भएको उल्लेख गर्दै २७ किमि सुरुङमध्ये १७ किमि खनिसकेको जानकारी दिए । उनका अनुसार अब १० किमि मात्र सुरुङ खन्न बाँकी छ । ‘ठेकेदारले दैनिक ४० मिटर खन्दै छ,’ उनले भने, ‘त्यसअनुसार काम गरे उपत्यकावासीले मेलम्चीको पानी चाँडै पिउन पाउँछन् ।’ नाकाबन्दी र भूकम्पले गर्दा निर्माणमा ढिलाइ भएको उनले बताए । ‘कडा चट्टान नभए २/३ महिनाभित्र सुन्दरीजल र सिन्धुबीचको सुरुङ जोडिन्छ,’ उनले भने, ‘काम निरन्तर भइरहेको छ ।’ यसअघि सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी ल्याइपुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, भूकम्प र भारतको नाकाबन्दीका कारण काममा ढिला भएको उनले बताए । सुरुङ निर्माण ठेक्काको म्याद आउँदो असोजमा सकिँदै छ ।

महानिर्देशक भट्टराईले सबै अडिटबाट मुख्य सुरुङ खन्ने काम धमाधम भइरहेको बताए । केही अडिटमा भने भौगर्भिक कारणले सुरुङ खन्ने काममा समस्या रहेको उनले बताए । ‘रातदिन काम गरेर भए पनि दैनिक ४० मिटर सुरुङ खन्ने काम भइरहेको छ,’ भट्टराईले भने ।

सुरुङसँगै पाइप लाइन बिछ्याउने काम पनि तीव्र रूपमा अघि बढिरहेको उनले बतए । उनका अनुसार सुन्दरीजलमा खानेपानी प्रशोधन केन्द्रको निर्माण काम ८३ प्रतिशत सम्पन्न भएको छ । ‘प्रशोधन केन्द्रको ठूलो काम सम्पन्न भइसको छ,’ उनले भने, ‘स–सानो काम मात्र बाँकी हो ।’ केन्द्रले दैनिक ८ करोड लिटर प्रशोधन गर्ने उनले बताए । तर, १७ करोड लिटर पानी प्रशोधनका लागि उक्त केन्द्रले क्षमता अपुग हुने भन्दै उनले अर्को निर्माण लागि पनि छलफल भइरहेको बताए ।

खानेपानी वितरण सञ्जालका साथै घर–घरमा धारा जडान प्रक्रियालाई तीव्र रूपमा अघि बढाएको उनले बताए । मेलम्ची खानेपानीअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीका अनुसार करिब ५० प्रतिशत काम पूरा भएको बताए । उपत्यकाको चक्रपथबाहिर र भित्रको सबै स्थानमा पाइपलाइन बिछ्याउने काम धमाधम भइरहेको उनले बताए । उनले ५१ किलोमिटर मुख्य पाइपलाइनमध्ये २२ किमिमा ठूलो पाइप बिछ्याएर सकिएको जानकारी दिए । ‘ठूलो पाइपबाट शाखा पाइप जडान गरिन्छ,’ उनले भने, ‘साना पाइप निर्माणको कामसमेत तीव्र रूपमा अघि बढिरहेको छ ।’ सानो पाइप (वितरण पाइप) ६ सय ५० किमिमध्ये ३ सय ५० किलोमिटर बिछ्रयाइसकेको उनले बताए ।

उपत्यकामा पानीको समानुपातिक वितरणका लागि महांकाल चौर, आरुबारी, बाँसबारी, बालाजु, महाराजगन्ज र ललितपुरको खुमलटारमा ४९ हजार घनमिटर क्षमताका ६ वटा पानी ट्यांकी निर्माण हुने उनले बताए । ‘५ वटाको निर्माणकार्य धमाधम भइहरेको छ, आरुबारीको अलि ढिला भयो,’ उनले भने, ‘यसको निर्माण पनि चाँडै हुन्छ ।’

पहिलो चरणमा रिङरोडभित्र पानी वितरण गरिने उनले बताए । दोस्रो चरणमा कीर्तिपुर, भक्तपुरको टिगिनी र कटुन्जेलगायत स्थानमा पानी वितरण गरिने उनले बताए । ‘२ वर्षपछि ती स्थानमा शाखा पाइप लाइन (धारामा जडान गरिने पाइप) वितरण गर्छौं,’ उनले भने, ‘यो दोस्रो चरणको काम हो ।’

साथै, ८० हजार धारामध्ये ३० हजार जडान गरिसकिएको उनले बताए । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी यी ट्यांकीमार्फत उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी उपत्यकावासीलाई वितरण गर्दै आएको छ ।

केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । वर्षातमा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । मेलम्चीबाट ल्याइने दैनिक १७ करोड लिटर पानीले उपत्यकाको माग नधान्ने मेलम्ची खानेपानी आयोजना निर्देशनालयका महानिर्देशक घनश्याम भट्टराई बताए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress