अमेरिकाले हटायो भियतनाममाथिको सैन्य प्रतिबन्ध


जेष्ठ ११, २०७३- अमेरिकाले लामो समयदेखि भियतनाममाथि लगाउँदै आएको सैन्य प्रतिबन्ध हटाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भियतनाम भ्रमणका क्रममा उक्त घोषणा गरेका हुन् ।

हनोईमा भियतनामी राष्ट्रपति त्रान दाई क्वाङसँग गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले दुई देशबीचको रक्षा सहयोगको अभिन्न अंगको रूपमा प्रतिबन्ध हटाइएको बताए । उनले यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई काउन्टर दिन यो कदम चालिएको भन्ने कुरालाई भने अस्वीकार गरेका छन् ।

‘दुई देशबीचको वैचारिक विभाजनका आधारमा लगाइएको प्रतिबन्धलाई हटाई सम्बन्ध सामान्यीकरण गर्ने यो एउटा आकांक्षा पनि थियो,’ उनले भने ।

यसअघि दुवै नेताले राष्ट्रपति भवनभित्र रहेको कम्युनिस्ट नेता हो चि मिन्हको सालिकअगाडि हात मिलाएका थिए । ‘विगत कैयौं दशकमा सिर्जित सम्बन्ध नवीकरणको संकेतका रूपमा हामी यहाँ उपस्थित भएका छौं,’ ओबामाले भने ।

अमेरिकाले सैन्य बल फिर्ता गरेपछि तत्कालीन सैगन (हालको हो चि मिन्ह सिटी) को पतनसँगै सन् १९७५ को अप्रिलमा भियतनाम युद्ध समाप्त भएको थियो । उता सोमबारै चीनमा पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले प्रतिबन्ध हटाउनु उपयुक्त रहेको बताएकी छन् ।

‘सैन्य हतियारमाथिको प्रतिबन्ध शीतयुद्धको परिणाम थियो र यो लामो समयसम्म रहिरहनु उपयुक्त थिएन,’ उनले भनिन् । यसले यस्ता खालका सबै प्रतिबन्ध हटाउनाले क्षेत्रीय शान्ति र विकासमा फाइदा पुग्ने अपेक्षा गरिएको पनि बताइन् ।

‘रणनीतिक साझेदारीको विकास’

भियतनामको सेन्टर फर स्ट्राटेजिक स्टडिज एन्ड इन्टरनेसनल डेभलपमेन्टका अध्यक्ष गुयेन नोक ट्र्युओङले दुई देशबीच महत्त्वपूर्ण सांकेतिक विकास भन्दै पछिल्लो कदमप्रति खुसी व्यक्त गरे । उनले सैन्य प्रतिबन्ध हट्नुको अर्थ भियतनाम अमेरिकी हतियारको ठूलो क्रेता बन्छ भन्ने अर्थ नभई यो भविष्यका लागि महत्त्वपूर्ण भएको बताए ।

उनले अमेरिका र भियतनामबीच विकास भएको रणनीतिक साझेदारीको विषयलाई चीनले निकट रूपमा हेर्न सक्ने पनि बताए । उनले भियनताम र साउथ चाइना सीका विषयमा केही कदम चाल्नुअघि अब चीनले दुईपटक सोच्ने पनि बताए । चीनले साउथ चाइना सी र भियतनामका केही भूभागमाथि दाबी गर्दै आएको छ ।

एक साता लामो एसिया भ्रमणमा क्रममा ओबामा भियतनाम पुगेका हुन् । उनको भ्रमणको उद्देश्य यस क्षेत्रमा आर्थिक र सुरक्षा सहयोग वृद्धि गर्ने रहेको बताइएको छ । भियतनामपछि उनी जापान पुग्ने जनाइएको छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress