सीमावर्ती क्षेत्रमा लूको प्रकोप सुरु


वैशाख १९, २०७३- मुलुकको भारतीय सीमावर्ती जिल्लाहरूमा लू (तातो हावा) सँगै उच्च गर्मीले उत्पन्न स्वास्थ्य समस्या देखिन थालिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरदेखि नवलपरासीसम्मको सीमावर्ती जिल्लाहरूमा एक सातादेखि ‘लू’ को प्रकोप देखिएको हो । यस्तै नवलपरासीदेखि झापासम्मको सीमावर्ती जिल्लाहरूमा उच्च गर्मीको समस्याले पिरोलेको छ ।

‘भारत र पाकिस्तानको मरुभूमिबाट आउने तातो हावा लूको समस्या वर्षेनी सीमावर्ती जिल्ला कञ्चनपुरदेखि नवलपरासीसम्म देखिन्छ,’ इपिडिमियोलजीका निर्देशक डा.बाबुराम मरासिनीका अनुसार यसपटकसमेत ‘लू’ ले गर्दा स्वास्थ्य समस्या देखिन सुरु भइसकेको छ । गत वर्ष जेठको दोस्रो सातादेखि लिएर मनसुनी वर्षा नभएसम्म जारी रहने लू यसपटक एक महिनाअघि नै देखिन थालेको छ । तर नवलपरासीदेखि झापासम्म लू नचले पनि अत्यधिक गर्मीले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्त्याउने गरेको छ ।

‘नवलपरासीको दाउन्ने पहाडले रोकेर हो कि त्यहाँबाट पूर्वतिर झापासम्म लू नदेखिएर अत्यधिक गर्मीको समस्या देखिने गर्छ,’ डा. मरासिनी भन्छन्, ‘लू र अत्यधिक गर्मीले मुलूकमा वर्षेनी केहीको ज्यानसमेत लिने गरेको छ ।’ यो मौसममा शरीरमा पानीको कमी (डिहाइड्रेसन) को समस्याले सबैभन्दा बढी हुने उल्लेख गर्दै डा. मरासिनी भन्छन्, ‘सैबभन्दा बढी पर्याप्त पानी, तरल पदार्थ सेवन र खानपानमा ध्यान दिनुपर्छ, गर्मीबाट बच्ने उपाय गर्नुपर्छ ।’

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार लू अत्यधिक गर्मी अर्थात् ‘हिट स्ट्रोक’ बढी चिन्ताजनक गर्मीसँग सम्बद्घ अस्वस्थता हो । यो अस्वस्थता शरीरले आफ्नो तापक्रम नियन्त्रण गर्न अक्षम हुँदा हुन्छ । यसमा शरीरको तापक्रममा धेरै छिटो वृद्घि हुन्छ भने पसिना निस्किने प्रक्रियाले काम गर्न छोडा शरीर चिसो पार्न सक्षम रहँदैन ।

यसमा १० देखि १५ मिनेटमा शरीरको तापक्रम १०६ डिग्री फरेनहाइट वा योभन्दा माथिसम्म पुग्छ । आकस्मिक उपचार नगरिए ‘हिट स्ट्रोक’ ले अपांगता मात्र होइन मृत्युसमेत हुन सक्छ ।

लू वा ‘हिट स्ट्रोक’ यस्तो शारीरिक अवस्था हो, जसमा अत्यधिक गर्मीका कारण शरीरको तापक्रम नियन्त्रित राख्ने तन्त्र बिफल भएर समस्या उत्पन्न हुन्छ ।

मानव शरीरले उष्णता र गर्मीको परिवर्तनलाई थेग्छ । यो गर्मी सहने प्रक्रियामा पसिना निस्किनु सबैभन्दा महत्त्वपूर्ण रहेको औंल्याउँदै डा.मरासिनी भन्छन्, ‘पसिनाले गर्दा शरीरको गर्मी बाहिर निस्किन्छ, लू लाग्दा वास्तवमा कोषिकाको प्रोटिनको उष्मा जम्मा हुन थाल्दा शरीरको तापक्रम नियन्त्रण केन्द्रमा असर पर्छ ।’ लू वा अत्यधिक गर्मीले गर्दा देखिने विभिन्न लक्षणहरू शरीरमा लवण पानीको आवश्यकतासँगै असन्तुलित अनुपातले गर्दा हुन्छ । शारीरिक तापक्रमलाई नियमित र नियन्त्रित राख्ने शरीरको तन्त्र धेरै बढी उच्च तापक्रमसँगै निर्जलीकरणको अवस्थामा बिफल हुन्छ ।

शरीरको तापक्रमलाई सन्तुलित बनाएर राख्ने मस्तिष्कको केन्द्रले काम गर्न छोड्छ । रातो रक्तकणिका रगतको नलीमा टुक्रिन्छ । कोषिकामा हुने पोटेसियम लवण रक्तसञ्चारमा आएर मुटुको चाल र शरीरको अन्य अवयवसँगै अंग प्रभावित भएर बिरामीको मृत्यु पनि हुन सक्ने डा.मरासिनी बताउँछन् ।

गर्मी याममा लू, उच्च गर्मीबाट जोसुकै आक्रान्त हुन सक्छ । त्यसमा पनि नवजात शिशु र बालबालिका, ६५ वर्ष माथिकाहरू, बढी तौल भएकाहरू, बिरामी र केही औषधि लिइराख्नेहरू, दिउँसो घाममा काम गर्ने व्यक्ति, यात्री, गर्भवती महिला, चिसो जलवायुमा रहने व्यक्ति, खेलाडी आदि गर्मी सम्बद्घ बिरामी उच्च जोखिममा रहन्छन् ।

जोखिम देखिए के गर्ने ?
प्रभावित व्यक्तिलाई छाया भएको चिसो ठाउँमा राख्नुपर्छ । शरीरका लुगालाई खुकुलो पार्नुपर्छ । प्रभावितलाई जुनसकै विधिबाट छिटो शीतल बनाउनुपर्छ । जस्तै : प्रभावितलाई चिसो पानीमा डुबाउनु, चिसो पानीले नुहाउनु, चिसो पानीको फोहोरा दिनु, पानीले भिजेको तौलियाले शरीर पुछ्नु, प्रभावित व्यक्तिलाई पानीमा भिजेको तन्नाले वरेर पंखा हल्लाउनुपर्छ ।

बिरामी यदि होसमा छ भने उसलाई चिसो स्वस्थकर पेय पदार्थ दिनुपर्छ । १०१ देखि १०२ डिग्री फरेनहाइटसम्म तापक्रम नझरेसम्म शरीरको तापक्रमको अनुगमन गर्नुपर्छ र यथासम्भव छिटो चिकित्सकीय सहयोग लिनुपर्छ ।

गर्मीबाट जोगिन
गर्मीले मुख्यत: गर्भवती महिला, कुपोषित बालबालिका, कामदार आदि प्रभावित हुने भएकोले उनीहरूलाई बिहान १० बजेदेखि साँझ ६ बजेसम्म छाया भएको चिसो ठाउँमा राख्ने प्रयास गर्नुपर्छ ।

घाम बाहिर निस्कँदा छातासँगै पानीको बोतलसमेत बोक्नुपर्छ । तातो हावा आदिबाट जोगिन पातलो सुतीको कपडाले टाउको, अनुहार र शरीरलाई छोप्नुपर्छ । चर्को घाम लागेको बेला बाहिर निस्कनु परे उचित रूपमा ताजा खानासँगै उपयुक्त मात्रामा पानी सेवन गरेर निस्कनुपर्छ । कहिल्यै पनि भोको पेट र उपयुक्त मात्रामा पानीको सेवनबिना बाहिर निस्कनु हुँदैन । घाममा काम गर्दा केही नियमित समयको अन्तरालमा छाया भएको ठाउँमा गएर विश्राम गर्नुपर्छ ।

दिउँसो घर बाहिर हुँदा केही समय अन्तरालमा शीतल पेय पदार्थ, चिसो पानी, ताजा फलको जुस, मही आदि सेवन गर्नुपर्छ ।

हिट स्ट्रोक, लूको लक्षण

  •  १०३ डिग्री फरनेहाइटभन्दा माथिको शारीरिक तापक्रममा
  •  बढी तिर्खा लाग्नु
  •  शरीर गह्रौं हुनुको साथै थकाइ लाग्नु
  •  रातो, न्यानो र सुक्खा छाला (पसिनारहित) हुनु
  •  तीव्र कडा नाडीको चाल हुनु
  •  पिसाब नहुनु वा कम हुनु
  •  स्पन्दनशील टाउको दुखाइ
  •  वाकवाकी लाग्नु, चक्कर आउनु
  •  शरीरको तापक्रम बढ्नु
  •  अचेतावस्थामा पुग्नु

बडी फयाक्ट

  •      दुवै हात फैलाउँदा शरीरको लम्बाइ बराबरकै लम्बाइ हुन्छ ।
  •      सबैभन्दा सामान्य मानसिक अस्वस्थता चिन्ता र निराशा हो ।
  •      घाँटीमा भएको ‘हायोड’ हाड मात्र शरीरका कुनै हाडसँग जोडिन्न ।
  •      सबैभन्दा संवेदनशील औंला चोरऔंला हो ।
  •      नवजात शिशुको टाउकोको तौल कुल वजनको एक चौथाइ हुन्छ ।
  •      मानिसले दैनिक २३ हजारभन्दा बढी पटक श्वास फेर्छ ।
  •      एक व्यक्तिको टाउकोको सबै कपालले १२ टन तौललाई थेग्न सक्छ ।
  •      खुट्टा र पाखुराको एउटै लम्बाइ हुन्छ ।
  •      शरीरले एक प्रतिशत पानी गुमाएपछि हामीलाई तिर्खा लाग्छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress