पशुपतिप्रसाद समीक्षा : विसर्जनको भय


माघ २३, २०७२- हरेक सहरका त्यस्ता केही क्षेत्र हुन्छन्, जहाँ सितिमिति कसैको ध्यान पुग्दैन । त्यसको छेउछाउ आवतजावत गर्ने, बन्द व्यापार गर्नेहरूको समेत ध्यान नपुग्ने त्यस्ता ठाउँलाई अंग्रेजीमा सहरको ‘अन्डरबेली’ भनिन्छ । मुख्य सहरले ढाड फर्काएर बस्ने यस्ता ठाउँका कथा बेलाबेला साहित्यमा आउँछन् ।

राजधानी काठमाडौंको पाशुपत क्षेत्र धेरै मानिसको आवतजावत हुने एउटा सक्रिय क्षेत्र हो । पशुपति मन्दिर, आर्यघाट र फूलप्रसादको व्यापार हुने ठाउँ पशुपतिका अनुहार हुन् । प्राय: मानिसको दृष्टि यहीबाट फर्किन्छ । तर, यसभन्दा पनि तल घाट वरपर, वृद्धाश्रम वरपर, श्लेषमान्तक वन वरपर, गौरीघाट र किरातेश्वर वरपर पनि मानिस छन् । हरेक दिन घाटमा मुर्दा पोल्ने मानिस, हनुमान वा कुनै भगवान् बनेर डुल्ने मानिस वा वागमतीमा फालिएका पैसा बटुल्न चुम्बक चलाउने मानिसजस्ता जीवात्माहरू पशुपतिका ‘बाईप्रोडक्ट’ मा आश्रित भएर बाँचिरहेका छन् । यी मानिससम्म धेरैको ध्यान पुग्दैन ।

यसपटक निर्देशक दीपेन्द्र के खनाल र लेखक खगेन्द्र लामिछानेले आफ्नो ध्यान यसै क्षेत्रमा आश्रित मानिसहरूसम्म पुर्‍याएका छन् । हरेक चम्किलो प्रकाशले छाया निर्माण गर्छ । जहाँ चमक छ, त्यहाँ अँध्यारो पनि हुन्छ । समग्र भनेको नै उज्यालो र अँध्यारोको मिश्रण हो । यो भिन्दै कुरा हो कि अँध्यारोमा वस्तुहरू सजिलै देखिँदैनन्, जति उज्यालोमा चम्किन्छन् । ‘पशुपति प्रसाद’ ले अँध्यारोमा धूमिल भएका कथालाई चम्किलो पर्दामा ल्याएको छ ।

एउटा थोत्रो र अँध्यारो कोठामा बस्ने घाटे, मैलो वागमतीमा टल्किएको चिताको आगोको प्रतिविम्ब, अनुहारमा रंग र मुकुन्डो लगाएको हनुमान, फोहोर वागमतीमा सुन खोज्ने डन र वृद्धाश्रममा आइपुगेकी सहरकी सम्पन्न महिलाका भावनालाई आशावादी गाउँले केटाको आँखाबाट यो फिल्मले हेर्छ । पशुपति मन्दिरभित्र प्रवेश नगरीकन, देउतालाई नछोईकन, धर्मबारे प्रवचन नदिईकन, कसैको आस्था वा भावनालाई गाली नगरीकन तिनै देउताको भरमा बसेका मानिसहरूको कथा भनिएको छ ।

Pashupati Prasad

भूकम्पमा परी मरेका आफ्ना मातापिताको ऋण तिरेर उनीहरूको अस्तु सेलाउनका लागि पशुपति आइपुगेको सिन्धुपाल्चोकको एक युवाको कथा हो ‘पशुपति प्रसाद’ । यसले काठमाडौंमा कमाउने दुश्मन, भेट्ने प्रेमिका र बनाउने साथीको सम्बन्धमा फिल्मको कथा घुम्छ । यो पात्रको परिधि भने सानो छ । फिल्मको कथा पाशुपत क्षेत्र वरपर घुम्छ । मुख्य पात्रको जीवनमा आउने मोड, जोडिने र तोडिने भावना प्राय: सबै पशुपति क्षेत्रमै छन् ।

‘पशुपति प्रसाद’ नेपाली समाजको मौलिक कथा हो । यसमा कुनै आयातित मसला मिश्रण गरिएको छैन । बासी बलिउडी फर्मुला यसमा प्रयोग गरिएको छैन । फिल्ममा प्रेम छ, तर यसका नाममा कुनै आइटम गीत छैन । फिल्ममा द्वन्द्व पनि छ तर यसका नाममा हिरोले २०–२५ भुसतिघ्रेलाई ढलाउँदैन ।
हरेक किसिमका ऊर्जाका लागि द्वन्द्व आवश्यक हुन्छ ।

फिल्म वा साहित्यमा कथालाई अघि बढाउनका लागि द्वन्द्व आवश्यक हुन्छ । पशुपतिप्रसादको पटकथाको सुन्दरता के हो यसमा द्वन्द्व पैदा गर्नका लागि अतिरिक्त बाहिरी पात्र वा घटना मिसाइएको छैन । यसको मूल कथा नै द्वन्द्वको स्रोत हो । यसैले फिल्म धेरै उपकथामा अल्भिँmदैन । कथा क्लाइमेक्सतिर जाँदै गर्दा पशुपतिप्रसादका सबै सम्बन्धहरूलाई एउटै बिन्दुमा ल्याइपुर्‍याउने शैली पनि पटकथाको सुन्दर पक्ष हो ।

फोहोर वागमती, मसान घाटजस्ता स्थललाई फिल्ममा पात्रजसरी नै प्रयोग गरिएको छ । तर, मुख्य सहर भने अतिथि भूमिकामा जसरी आउँछ, त्यो पनि क्रूर रूपमा । संवाद–प्रधान फिल्मले मुख्य सहरबारे भने मौन बसेर नै आफ्नो धारणा व्यक्त गर्छ ।

थोरै लगानी र सानो कथा लिएर पनि मन छुने फिल्म बनाउन सकिन्छ भन्ने उदाहरणका रूपमा ‘पशुपतिप्रसाद’ लाई आउने केही वर्षसम्म अघि सारिनेछ । जसरी ‘लुट’ ले काठमाडौं सहरको भित्री भाग र यसका पात्रहरूलाई एकदमै भिन्न दृष्टिले हेरेको थियो, त्यसैगरी ‘पशुपतिप्रसाद’ ले बाहिरी घेराका पात्रलाई हेरेको छ । क्यान्डी क्रसमा भुल्ने गुन्डा होस् वा घाटका मुडा जम्मा गरेर बेच्ने डन, यी सबै यही सहरले जन्माएका पात्र हुन् । हाम्रो ‘सोसियल न्यारेटिभ’ मा कहिल्यै पनि पात्र नबन्ने यिनीहरूका कथालाई टिप्नु यो फिल्मको विशेषता हो ।

फिल्ममा ‘मुख्य सहर’ का दुई पात्र छन् । तर, यी दुवैको परिचय फिल्मभरि लुकाएर राखिन्छ । ‘सहरका धेरै रूप हुन्छन्, यो हेर्दा एउटा देखिन्छ, वास्तवमा अर्कै हुन्छ’ भन्ने चल्तीको भनाइसँग यी पात्रहरू मिल्दा लाग्छन् । धर्मको पोसाकलाई फरक ढंगले पनि धारण गरिन्छ भन्ने यसले संकेत गर्छ । हनुमानको मुकुन्डोलाई फिल्ममा निकै प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ ।

तर, फिल्म संवाद–प्रधान छ । फिल्म केवल संवादको मात्रै साधन होइन । नाटक वा रेडियो नाटकजस्तो सबै कुरा संवादबाट मात्रै भन्ने हो भने त्यसले फिल्मलाई कमजोर नै बनाउँछ । सानो लगानीमा छिटो निर्माण गरिएकाले होला, यसको निर्माण मूल्य कमजोर देखिन्छ । फिल्मभरि भूकम्पको प्रसंग छ तर भूकम्पको प्रभाव दृश्यमा छैन । एकैपटक भत्केको धरहरा आइपुगेपछि मात्रै सहरमा भूकम्पको प्रभाव देखिन्छ ।

फिल्मको लम्बाइ पनि कम हुन सक्थ्यो । भस्मे र पशुपतिप्रसादबीचको ‘नोंकझोंक’ कम गर्न सकिन्थ्यो । आफ्नो ‘एरिया’ मा नयाँ मानिसलाई घुस्न नदिने भस्मेको नीति भने राजनीति र समाजका अन्य क्षेत्रमा पनि देख्न सकिन्छ ।

फिल्मको दोस्रो भाग पनि पहिलेकै संरचनामा छ । एउटै उद्देश्य पूरा गर्नका लागि ‘हिरो’ ले मध्यान्तर अघि र पछि उस्तै काम गर्छ । यसको ‘ट्रिटमेन्ट’ फरक गरिएका कारण दोहोरिएजस्तो चाहिँ लाग्दैन ।

पशुपतिप्रसादको अर्को ‘हाइलाइट’ अभिनय हो । ‘टलकजंग भर्सेज टुल्के’ बाट दर्शकको मन जितेका खगेन्द्र लामिछाने मुख्य भूमिकामा जमेका छन् । उनले एउटा सोझो तर उत्साही केटाको चरित्रलाई सुन्दर ढंगले निर्वाह गरेका छन् । घाटेका रूपमा प्रकाश घिमिरे र भस्मेका रूपमा विपिन कार्कीको अभिनय सम्झनायोग्य छ । आवाजमा समेत विपिनको मेहनत देखिन्छ । रवीन्द्र सिंह बानिया र वर्षा सिवाकोटी आफ्नो फरक भूमिकाअनुसार स्वाभाविक लाग्छन् ।

‘द युगदेखि युगसम्म’ र ‘धर्मा’ दुई सामान्य फिल्म बनाएपछि दीपेन्द्र के खनालले ‘चपली हाइट’, ‘भिजिलान्ते’ र ‘झोले’ बनाए । चपली हाइट सेक्स–थ्रिलरका रूपमा हिट भयो भने, भिजिलान्ते थ्रिडीमा प्रयोग थियो । एक रात एउटा घरमा भेटिने केही पात्रको कथा भएको झोले पनि उनको अर्को प्रयोग थियो । ‘पशुपतिप्रसाद’ उनको अर्को उपलब्धि मानिनेछ । निर्देशकका रूपमा मौलिक कथा छान्नु उनको प्रशंसायोग्य काम हो ।

घाट भनेको विर्सजनस्थल हो । मानिसको भौतिक शरीर मात्रै होइन, सपनाको पनि यहाँ विर्सजन हुन्छ । स–साना सपना लिएर सहर पस्ने सबैले लिएर आएका सपनाका बिरुवामा फूल फुल्दैनन् । कति बिरुवा ओइलाएर पनि जान्छन् । त्यही विसर्जनको भयले सहरलाई चलायमान बनाउँछ । त्यही भयले ‘पशुपतिप्रसाद’ जस्ता कथालाई जन्माउँछ ।

‘पशुपतिप्रसाद’ नेपाली समाजको मौलिक कथा हो । यसमा कुनै आयातित मसला मिश्रण गरिएको छैन । बासी बलिउडी फर्मुला यसमा प्रयोग गरिएको छैन । फिल्ममा प्रेम छ, तर यसका नाममा कुनै आइटम गीत छैन । फिल्ममा द्वन्द्व पनि छ तर यसका नाममा हिरोले २०–२५ भुसतिघ्रेलाई ढलाउँदैन ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress