७ वर्षपछि कोकाकोलाको नयाँ रणनीति


माघ १७, २०७२- बहुराष्ट्रिय कम्पनी कोकाकोलाले सात वर्षपछि आफ्ना सबै ब्रान्ड एकीकृत गर्ने गरी नयाँ विस्तार रणनीति सार्वजनिक गरेको छ । सन् २००९ देखि थालिएको कार्ययोजना परिवर्तन गर्दै कम्पनीले ‘टेस्ट द फिलिग’ नामक व्यावसायिक रणनीति सार्वजनिक गरेको हो ।

‘कोकाकोलाका सबै ब्रान्डलाई एकीकृत गर्ने रणनीति हो,’ कम्पनीका विश्वव्यापी उपाध्यक्ष एवं बजार प्रमुख मार्कोस डे क्विन्टोले एसिया प्रशान्त क्षेत्रका लागि रणनीति सार्वजनिक गर्न हङकङमा आयोजित कार्यक्रममा भने ।

नयाँ रणनीतिअन्तर्गत कम्पनीको नियमित कोकाकोलासँगै कोक जिरो, कोकाकोला लाइफजस्ता विशेष उत्पादनलाई पनि समेटिएको उनले बताए । अब सबै उत्पादनको प्रवद्र्धन नयाँ रणनीतिअन्तर्गत एकीकृत रूपमा हुने मार्कोसले जानकारी दिए । यसअघि विभिन्न सम्मानसमेत पाएको ‘ओपन ह्याप्पिनेस’ रणनीतिलाई परिवर्तन गर्नुमा कोकाकोलाका बिक्रीसँग पनि जोडिएको विश्लेषक बताउँछन् । सन् २०१५ को पहिलो ९ महिनामा कोकाकोलाको बिक्री (परिमाणका आधारमा) एक प्रतिशतमात्रै बढेको थियो ।

लामो समय विश्वकै उत्कृष्ट ब्रान्डमा कब्जा जमाएको कोकाकोलालाई सन २०१३ देखि अन्यले उछिन्न थालेका छन् । १३ वर्ष नै सबैभन्दा ठूलो ब्रान्ड बनेको कोकाकोलालाई सन २०१३ मा एप्पल र गुगलले उछिनेका थिए । यी दुईसँगै माइक्रोसफ्ट पनि कोकाकोलालाई चुनौती दिने ब्रान्डका रूपमा स्थापित भएको छ ।

नयाँ रणनीति सार्वजनिक भएपछि संवाददातासँग कुरा गर्दै कोकाकोलाको बजार हिस्सा भने नगुमेको मार्कोसको दाबी थियो । ‘हाम्रो बिक्री पनि बढिरहेको छ तर अरू ब्रान्ड हामीभन्दा बढी रफ्तारमा अगाडि गएका मात्रै हुन,’ उनले भने, ‘यसको अर्थ हाम्रो विस्तार रोकिएको होइन ।’

कम्पनीको नयाँ बजार ‘क्याम्पेन’ अन्तर्गत उसले विश्वव्यापी रूपमा एकै खाले प्रवद्र्धन गर्ने योजना बनाएको छ । जसमा स्थानीय कथालाई उनीहरूकै क्याम्पेनमा मिलाएर भनिने मार्कोसले बताए । यस अन्तर्गत प्रिन्ट मिडियासँगै अडियो र टेलिभिजन विज्ञापन तयार पारिएका छन् । १० वटा टेलिभिजन विज्ञापन सार्वजनिक गरिएका छन् । हङकङअघि विश्वव्यापी रूपमा केही सातापहिले पेरिसमा कोकाकोलाले यो रणनीति सार्वजनिक गरेको थियो ।

‘हाम्रो एउटै ब्रान्ड रणनीतिअन्तर्गत नेपाल, भारत लगायतका अन्य देशमा पनि स्थानीय कथा भन्ने गरी प्रवद्र्धन गरिनेछ,’ मार्कोसले भने । उनले कोकाकोलाका लागि सबै बजार उत्तिकै महत्त्वपूर्ण भएको बताए । कोकाकोला विश्वका २ सयभन्दा बढी मुलुकमा पाइन्छ । अधिकांशमा त्यही उत्पादन हुने गरेको छ । नेपालमा उसका बोटलर्स नेपाल र बोटलर्स तराई गरेर दुई उत्पादन इकाई छन् । ‘नेपालभन्दा साना देश नै किन नहुन सबै हाम्रालाई महत्त्वपूर्ण छन्,’ मार्कोसले भने ।

भूकम्प र नाकाबन्दीपछि धेरै बहुराष्ट्रिय कम्पनीले नेपालमा उत्पादन कटौती गर्न सक्ने चर्चा चलिरहेका बेला कोकाकोलाले भने आफ्नो विस्तार नरोक्ने बताएको छ । कोकाकोलाले गत वर्ष सिमरामा करिब ४ अर्ब लगानी गर्ने तयारी थालेको थियो । नेपालमा आफ्नो पुँजी बढाएर लगानी विस्तारको पहल थालेको थियो ।

तत्कालीन उद्योगमन्त्री महेश बस्नेतलाई भेटेर कम्पनीका अधिकारीले भारतमा समेत निर्यात गर्ने गरी उत्पादन थाल्ने जानकारी गराएका थिए । ‘हाम्रो उत्पादन विस्तार गर्ने योजना यथावत् छ,’ भारत र दक्षिण पश्चिम एसिया हेर्ने कम्पनीका बजार व्यवस्थापक (उपाध्यक्ष) देवव्रत मुखर्जीले भने । भूकम्पलगत्तै अन्तर्राष्ट्रिय रेडक्रस मार्फत १० करोड रुपैयाँ दिएको र त्यसबाट काम भइरहेको अर्का उपाध्यक्ष इस्तियाक अम्जदले बताए ।

बजार हेरी चिसो कफीलगायतका उत्पादनमा समेत हात हालेको कोकाकोलाले भारतमा दूधको बिक्री वितरण पनि थाल्ने भएको छ । दुई स्वादमा दूध बिक्री गर्ने योजना रहेको कम्पनीका भारत तथा दक्षिण पश्चिम एसिया हेर्ने अध्यक्ष बैंकटेश केनीले बताए । कम्पनीले रिलायन्स रिटेलसँग मिलेर बिक्री वितरण गर्नेछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress