जमिनमुनिको ग्यास ६ महिनाभित्र, हावाको बिजुली १५ रुपैयाँमा प्रस्ताव


माघ १३, २०७२- उद्योग मन्त्रालयले बजेट अभाव हुन नदिने प्रतिबद्धतासहित काम गर्न खानी विभागलाई निर्देशन दिएकाले ६ महिनाभित्र उपत्यकाको जमिनमुनिबाट ग्यास निकाल्ने दाबी गरेको छ ।

एक अध्ययनअनुसार उपत्यकामा २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास छ । उक्त ग्यास निकाल्ने गरी काम सुरु भइसकेको जनाउँदै उद्योगमन्त्री सोमप्रसाद पाण्डे र मन्त्रालयका उच्च अधिकारीहरूले ग्यास भएको स्थानको अवलोकन गरेका छन् । मन्त्री पाण्डे, खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले ललितपुरको इमाडोल र काठमाडौंको टेकुमा अध्ययन अवलोकन गर्दै पाइपबाट ग्यास वितरण गर्न सक्ने गरी काम अघि बढाएको बताएका छन् । पाइपबाट ग्यास वितरण गर्ने विषयको भाषणले केपी शर्मा ओली आलोचित बनिरहेका बेला उद्योग मन्त्रालयले यससम्बन्धी काम ६ महिनामा पूरा गर्ने जनाएको हो ।

मन्त्री पाण्डेले ६ महिनाभित्र ग्यास निकाल्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिइसकेको बताए । ‘ग्यास निकाल्न हामी तदारुकताका साथ लागिपरेका छौं,’ अवलोकनका क्रममा उनले भने, ‘प्राविधिक, जनशक्ति र बजेटको अभाव हुन दिँदैनौं ।’ उल्लेख्य मात्रामा ग्यास निस्कने भएमा सर्वसाधारणलाई वितरणका लागि छुट्टै प्राधिकरण गठनको पहल गर्नेसमेत उनले बताए । उनले भने, ‘ग्यास उत्खननपछि पाइप लाइनमार्फत गर्नुपर्ने भएकाले वितरणका लागि केही समस्या हुन सक्छन् । तर, वितरणको जिम्मा भने आपूर्ति मन्त्रालयले लिने छ,’ उनले भने, ‘ग्यास निकाल्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।’

जापानी सहयोग नियोग (जाइका) ले करिब २५ वर्षअघि गरेको अध्ययनअनुसार राजधानीका विभिन्न स्थानमा प्राकृतिक ग्यासको सम्भाव्यता औंल्याएको थियो । उक्त अध्ययनलाई आधार मानी जापानी विशेषज्ञ टोलीले २०३८ मा केही ठाउँबाट ग्यास उत्खननसमेत गरेको थियो । ललितपुरको इमाडोल, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको टेकु, विष्णुमती किनारा, भृकुटीमण्डपलगायत उपत्यकाका १४ स्थानमा ग्यास निकाल्ने थप अध्ययन मन्त्रालयले हाल गरिरहेको छ । जाइकाको अध्ययनलगत्तै सरकारले ग्यास पाइप लाइनमार्फत उपभोक्ताहरूलाई वितरण र उत्खनन गर्न लागत इस्टिमेट सहितको डिजाइन तयार पारी कामसमेत सुरु गरेको थियो । तर, सरकारी ढिलासुस्तीका कारणले ग्यास उत्खनन भने हालसम्म हुन सकेको छैन ।

६ महिनाभित्र ग्यास निकाल्न तयारीका साथ इमाडोलमा साढे तीन सय मिटर बोरिङ, ट्यांकी, सानो बुलेट निर्माण भइसकेको छ । जमिनमुनिबाट निस्कने ग्यास पाइपबाट मात्रै वितरण गर्न सकिने छ । मिथेन ग्यासलाई सिलिन्डरमा भर्न नसकिने भएकाले छुट्टै पाइपबाट मात्रै वितरण गर्नुपर्ने प्राविधिकहरूले औंल्याएका छन् । त्यसका लागि इनार खन्ने र स्टोरेज बुलेटको आवश्यकता पर्छ । एउटा इनार खन्नका लागि ५० लाख रुपैयाँसम्म लागत लाग्छ । स्टोरेज बुलेट खरिद गर्न ५० लाख रुपैयाँसम्म पर्न सक्छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले ग्यास उत्खननपछि ग्यासको फ्लो हेरेर मात्र सर्वसाधारणलाई वितरण गर्न सकिने/नसकिने थाहा हुने बताए । ‘प्रत्येक घण्टा जम्मा हुने ग्यासको मात्रा पछि मात्रै सर्वसाधारणलाई वितरण गर्नेबारे थाहा हुने छ,’ उनले भने, ‘२५ वर्षअघि गरिएको अध्ययन समयसपेक्ष नहुने भएकाले ग्यास निकाल्न पुन: अध्ययन गर्नुपर्ने देखिएको हो ।’ सरकारले गत वर्ष उक्त क्षेत्रमा ग्यास उत्खननका लागि ४० लाख रुपैयाँ खर्च गरिसकेको छ ।

‘टेकुमा सलाईको काँटी बाल्दा आगो बल्ने गर्छ,’ उनले भने । केही स्थानीयहरूले अनौपचारिक रूपमा सोही स्थानबाट आगोसमेत बालेका थिए । स्थानीयहरूका अनुसार हावा चल्दासमेत ग्यास नभिभ्ने गरेको छ । उद्योग मन्त्रालय प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका अनुसार जाइकाले सन् १९९७ मा उपत्यकामा सहयोग रूपमा ग्यास भण्डारको विषयमा अध्ययन गरेको थियो ।

अध्ययनले ४ करोड ५० लाख क्युबिक घनमिटर प्रमाणित र ३० करोड क्युबिक घनमिटर अर्ध प्रमाणित प्राकृतिक ग्यास रहेको देखाएको हो । ४ करोड ५० लाख क्युबिक घनमिटरले ६ वर्षसम्म २० हजार परिवारलाई प्रयोग गर्न सकिन्छ । प्रमाणित र अर्धप्रमाणित प्राकृतिक ग्यास टेकु–त्रिपुरेश्वर, कोटेश्वर–तीनकुने र महाराजगन्ज–इमाडोल क्षेत्रमा छ । भारतको अघोषित नाकाबन्दीका कारण ग्यास हाहाकार भएपछि उपत्यका भित्रको ग्यासको विषयले छलफलमा प्राथमिकता पाएको हो ।

ग्यास रहेको केही स्थानमध्ये खानी विभागले जग्गासमेत खरिद गरी ठाउँ ओगटिसकेको छ । टेकु र इमाडोलबाट तत्कालै निकाल्न सक्ने सम्भावना भएकाले यी क्षेत्रमा हाल काम गरिरहेको छ । सबै ठाउँमा भएको ग्यास प्रयोगमा ल्याउनका लागि १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
हावाको बिजुली १५ रुपैयाँमा प्रस्ताव
हावाबाट निकाल्ने बिजुली प्रतियुनिट करिब १५ रुपैयाँ (१४ रुपैयाँ ७० पैसा) मा किनिदिन लगानी बोर्डमार्फत द गोर्खाज यूके नामक कम्पनीले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

कम्पनीले मुस्ताङ जिल्लामा तीन वर्षमा ३ हजार मेगावाट ‘विन्ड इनर्जी’ निकाल्ने योजना अघि सार्दै उक्त मूल्यमा बिजुली किनिदिन प्रस्ताव गरेको हो । मुस्ताङ मुलुकको सबैभन्दा बढी हावा चल्ने जिल्ला हो । उक्त जिल्लामा हावाबाट तीन हजार मेगावाटभन्दा बढी बिजुली निकाल्न सकिने अध्ययनले देखाएको छ । विद्युत् प्राधिकरणले मुस्ताङमा हावाबाट ५ सय किलोवाट क्षमताको विद्युत् आयोजना बनाएको थियो । पोल र पंखा नै उडाइदिएपछि हावाबाट बिजुली निकाल्ने आयोजना अहिले बन्द छ । सम्भाव्यता बढी भएको जिल्लामा कम्पनीले हावाबाट बिजुली निकाल्ने आयोजना बनाउन चासो दिएको हो ।

कम्पनीले लगानी बोर्डमा हावाबाट बिजुली निकाल्ने आयोजनाबारे ब्रिफिङ गर्ने क्रममा हावा निस्कने बिजुलीको बिक्री मूल्य प्रस्ताव गरेको जानकारी बोर्डका एक अधिकारीले दिए । कम्पनीले हावाबाट बिजुली निकाल्न बढी लागत लाग्ने दाबी गर्दै महँगो दरमा विद्युत् किनिदिन प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बिजुलीको मूल्य निजी क्षेत्रबाट प्रवद्र्धित खिम्ती, भोटेकोसी र चिलिमे हाइड्रोबाट विद्युत् प्राधिकरणले खरिद गर्दै आएको बिजुलीभन्दा धेरै महँगो हो । प्राधिकरणले ती आयोजनाबाट प्रतियुनिट १० रुपैयाँको हाराहारीमा विद्युत् खरिद गर्दै आएको छ । प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँको दरमा भारतबाट बिजुली आयात गर्दै आएको छ ।

कम्पनीले हावाबाट ३ हजार मेगावाट बिजुली निकाल्ने आयोजनाका लागि पोल गाडेर पंखा राख्न, विद्युत्गृह बनाउन मुस्ताङमा १ लाख ४६ हजार रोपनी जग्गा उपलब्ध गराइदिनसमेत प्रस्ताव गरेको छ ।

कम्पनीले आयोजनास्थलसम्म पुग्ने सडक र प्रसारण लाइनको निर्माण सरकारले नै बनाइदिनुपर्ने सर्त राखेको छ । सडक र प्रसारण लाइन निर्माण गर्न ५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान सरकारको छ ।

लगानी बोर्ड कम्पनीको प्रस्तावप्रति विश्वस्त हुन नसकेको जानकारी बोर्डका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार बोर्डले कम्पनीलाई आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउने आधार र प्राविधिक प्रस्ताव पेस गर्न दुई महिनाको समय दिएको छ ।
वित्तीय तथा प्राविधिक प्रस्ताव चित्तबुझ्दो भएमा बोर्डले द ब्रिटिस गोर्खाज यूकेलाई आयोजना अघि बढाउन अनुमति दिने र चित्तबुझ्दो नभएमा उसले लगानीका लागि दिएको निवेदन खारेज गरिदिने छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress