सुन्दरी कारखाना – सुन्दरीहरूको देश


दिवंगत नेता ह्युगो चाभेजको देश भेनेजुएलाले पश्चिमी जगतले तेस्रो विश्वमाथि लाद्न खोज्दै आएको प्रभुत्व र वैरभावको जमेर विरोध गर्ने गरेको छ। अमेरिकाविरोधी क्रान्तिकारी छवि बनाएको यो देशले अर्को छवि पनि बनाएको छ- सुन्दरीहरूको देश। नभन्दै अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित सुन्दरी प्रतियोगिताका सर्वोच्च उपाधि हडप्ने सवालमा भेनेजुएलालाई अन्य कुनै पनि देशले उछिन्न सकेको छैन।

भेनेजुएलाले आजका मितिसम्म छपटक ‘मिस वर्ल्ड’, सात पटक ‘मिस युनिभर्स’, छपटक ‘मिस इन्टरनेसनल’ र दुईपटक ‘मिस अर्थ’को ताज हासिल गरिसकेको छ। यसलाई भेनेजुएलाका जनताले राष्ट्रिय गौरवको विषय बनाएका छन्। तर, सुन्दरी उत्पादन गर्ने ध्याउन्नमा भेनेजुएला बाहिरी आवरणको सुन्दरताप्रति बढी समर्पित हुँदै गएको र यसले त्यहाँका बालिका तथा किशोरीहरूको शरीरदेखि मनोविज्ञानसम्मलाई दूषित र रोगी बनाइरहेको तथ्यबारे भने धेरै कम कुरा मात्र बाहिर आएका छन्।

बाल्यकालदेखिकै तयारी
Child Modelभेनेजुएलाका बालबालिकाले सानैदेखि भविष्यमा नामी मोडल हुने र राष्ट्रिय–अन्तर्राष्ट्रिय ‘ब्युटी क्विन’को ताज पहिरिएर नाम र दाम कमाउने अभिलाषा राख्ने गरेका छन्। उनीहरूको यस्तो अभिलाषाप्रति अभिभावकहरूले मञ्जुरी जनाउने मात्र होइन, यसका निम्ति उनीहरूलाई तयार बनाउन अग्रसरतासमेत लिने गरेका छन्। यस्तो अग्रसरताका कारण त्यहाँका हजारौँ बालिकाको शरीरमा महिनावारी सुरु हुनुअगावैदेखि हार्मोन ‘इन्जेक्ट’ गर्न थालिन्छ। साथै, कस्मेटिक सर्जरीमार्फत उनीहरूको सुन्दरता मर्मत गर्ने गरिन्छ। सुन्दर बन्ने र बनाउने धुनमा त्यहाँका बालिक तथा किशोरीहरूको शरीरमाथि हुने ‘एक्सपेरिमेन्ट’को कथा हाम्रोजस्तो देशका मानिसलाई निर्मम र अपत्यारिलो लाग्ने गर्छ।

सुन्दरता उत्पादनको निर्मम काइदा
किशोरवय सुरु नभईकन भेनेजुएलाका बालिकाहरूमाथि कस्मेटिक सर्जरी गराइन्छ। १२ वर्षको उमेरदेखि हिप पोटिलो बनाउन, नाक घुम्रेकोजस्तो नौलो र आकर्षक बनाउन सर्जरी गरिन्छ। सर्जरी गर्न बालिकाका अभिभावकले समेत अग्रसरता लिने गर्छन्। किनकि, भेनेजुएलाका प्रत्येक बालिकालाई भोलि गएर ‘ब्युटी क्विन’ बन्नु छ र हरेक छोरीका आमालाई ‘ब्युटी क्विन’की आमा भनेर समाजमा प्रतिष्ठित बन्नु छ।

‘मिस वर्ल्ड’ र ‘मिस युनिभर्स’जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सुन्दरी प्रतियोगिताका ताज बारम्बार भित्र्याइरहने भेनेजुएलाका हरेकजसो स्त्रीलाई यस्ताखाले सुन्दरी प्रतियोगितामा सरिक हुने रहर हुन्छ। यसका लागि उनीहरूलाई सानैदेखि तयार पार्ने काम सुरु हुन्छ। स्लिम बन्न १६ वर्षको उमेरमै त्यहाँका किशोरीले आन्द्राको एउटा भागलाई शल्यक्रियामार्फत काटेर मिल्काउने गरेको पाइएको छ, जसले गर्दा खाएको कुरा राम्रोसँग नपचीकन निकास हुन्छ र जीउ लाग्न पाउँदैन। यसो गर्दा स्लिम भइरहने र सुन्दरीको ताज पहिरिने सम्भावना बढ्न पुग्छ।

Model 2जीउ लाग्न नपाओस् भनेर त्यहाँका किशोरी र युवतीले अपनाउने काहालीलाग्दा तरिका अरू पनि छन्। जस्तो कि, ठोस चिज खान नसकियोस् र जीउ नलागोस् भनेर कतिपयले जिब्रोमा प्लास्टिकको जाली जडान गर्ने गर्छन्। यसरी जिब्रोमा जाली जडान गर्दा ठोस खाद्यवस्तु खाँदा मुख असाध्यै दुख्ने गर्छ, जसले गर्दा उनीहरू तरल खाद्य पदार्थ मात्र खान बाध्य हुन्छन् र मोटाएर सुन्दरता ‘गुम्ने’ जोखिम हुँदैन। कम्मर र हिपमा मासु र बोसो नथुप्रियोस्, बरु यो अझ सुडौल र आकर्षक होस् भनेर कम्मरमा प्लास्टर गराउने किशोरी तथा युवती पनि भेनेजुएलामा प्रशस्त पाइन्छन्। त्यस्तो प्लास्टर, जुन हात अथवा खुट्टा भाँच्चिएको बेला लगाइन्छ।

कतिपय अभिभावकले सुन्दरीको ताज आफ्नो छोरीको हातबाट भविष्यमा नउम्कियोस् भन्नका लागि छोरीको महिनावारी सुरु हुनुअगावै उनीहरूको शरीरमा हार्मोन ‘इन्जेक्ट’ गरिदिनेसम्म गर्छन्। यसो गर्दा महिनावारी सुरु हुने अवधि पर धकेलिन्छ र बालिकाहरू अग्लो हुने अवधि बढी प्राप्त हुन्छ। अग्लो युवतीलाई सुन्दरी उत्पादन गर्ने र ‘सर्टिफाई’ गर्ने कारखानाले प्राथमिकता दिने भएकाले छोरीको उचाइ महिनावारीले छेक्न नसकोस् भन्ने चाहना धेरै भेनेजुएलाली आमामा हुन्छ।

बग्रेल्ती प्रशिक्षण केन्द्र
शारीरिक रूपमा आकर्षक बन्नु प्रतिष्ठाको विषय बन्न पुगेको भेनेजुएलामा आवरणको सुन्दरतालाई उच्च प्राथमिकता दिने संस्कृतिले जरा गाडिसकेको छ। यहाँका हरेक स्त्री ओठ रसिलो बनाउन चाहन्छन्। नाक मिलेको छ भन्ने सुनिश्चित गर्न चाहन्छन्। होचो हुनु उनीहरूलाई कुनै पनि हालतमा मञ्जुर छैन। उनीहरूलाई आफ्ना स्तन, हिप र तिघ्रा कुनै पनि हालतमा पुष्ट र आकर्षक चाहिन्छ। उनीहरूको यस्तो चाहना पूरा गर्न भेनेजुएलाभरि हजारौँ प्रशिक्षण केन्द्र खुलेका छन्, जहाँ उनीहरूलाई सुन्दरताको यस्तै पाठ पढाइन्छ र ब्युटी केन्टेस्टका निम्ति उनीहरूलाई तम्तयार बनाइन्छ।

यस्ता प्रशिक्षण केन्द्रले फेसन उद्योगले तय गरेको मापदण्डअनुरूप सुन्दर बन्न बालबालिका तथा अभिभावकलाई प्रोत्साहन गर्ने र सहयोग गर्ने गर्छन्। यस्ता केन्द्रमा लाखौँ बालिका, किशोरी तथा युवतीहरू भविष्यमा ‘ब्युटी क्विन’ बन्ने सपना बोकेर भर्ना हुन्छन् र आफ्नो सुन्दरतालाई ‘परिष्कार’ गर्दै जान्छन्। अभिभावकहरूले चार वर्षभन्दा कम उमेरका छोरीलाई पनि यस्ता केन्द्रमा भर्ना गरिदिने गरेका छन्।

त्रासद अन्त्य
Model‘ब्युटी क्विन’ बनेपछि नाम त कमाइन्छ नै, दाम पनि प्रशस्तै कमाइन्छ। यही दामको लोभले समेत सुन्दरता उत्पादन गर्ने उद्योगप्रति भेनेजुएलाका स्त्री र उनीहरूका अभिभावकलाई आकर्षित गर्ने गरेको छ।

त्यहाँका धेरै अभिभावकले छोरीको ‘ब्युटी क्विन’ उपाधिलाई गरिबीबाट सम्पूर्ण परिवारलाई मुक्त गर्ने हतियारका रूपमा हेर्ने गरेका छन्। त्यही भएर छोरीलाई सुन्दर बनाउन उनीहरू जस्तोसुकै मूल्य चुकाउन, उनीहरूलाई जस्तोसुकै महँगो प्रशिक्षण केन्द्रमा भर्ना गराउन र उनीहरूको शरीरमा जस्तोसुकै महँगो शल्यक्रिया गराउन पनि तयार हुन्छन्। यसो गर्दा लाग्ने खर्चले पूरै परिवार ऋणमा डुब्छ भने पनि त्यो उनीहरूलाई स्वीकार्य हुन्छ।

यसरी सुन्दर बन्ने धुनको परिणाम अधिकांश सन्दर्भमा विषादपूर्ण र कहिलेकाहीँ वियोगान्त हुने गरेको छ। कस्मेटिक शल्यक्रियाका कारण भेनेजुएलामा हरेक वर्ष दर्जनौँ किशोरीको ज्यान जाने गरेको छ।

Model 2हालसालै भेनेजुएलामा १२ वर्ष पुग्नुअगावै बालिकाको हिपमा लिक्विड सिलिकन इन्जेक्सन लगाएर यसलाई भविष्यमा पोटिलो र आकर्षक बनाउने प्रयासले निम्त्याउनसक्ने अप्रिय परिणामबारे सचेतना जगाउने कार्यक्रम सुरु भएको छ। ‘नो टू बायोपोलिमेयर्स, एस टू लाइफ फाउन्डेसन’ नामक संस्थाले यस्तो अभियान सुरु गरेको हो। मेरी पर्डोमो नाम गरेकी युवती यो अभियानकी जननी हुन्, जसले किशोरवयमा हिपमा लिक्विड सिलिकन इन्जेक्ट गरेकी थिइन् र यही कारणले गर्दा अभियान सुरु भएपछि उनको निधन भएको थियो।

सोही अभियानमा संलग्न मारिया टि्रनिड्याड भन्छिन्, ‘भेनेजुएलामा हरेक केटीले फेसन सोमा ताज पहिरिने सपना बुनेका हुन्छन्। ताज पहिरिएका स्त्रीलाई यहाँ पर्फेक्ट स्त्री मानिन्छ। जब तपाईं यस्तो देशमा बस्नुहुन्छ, जहाँ बलियो कार्यक्षमता र उत्तम पढाइ भएका महिलाको भन्दा शारीरिक रूपमा सुन्दर युवतीको व्यावसायिक जीवनको सम्भावना उज्ज्वल हुनछ, त्यस्तो देशमा सुन्दरताभन्दा ठूलो कुरा अरू केही पनि छैन भन्ने मान्यता आत्मसात् गर्न तपाईं बाध्य बन्नुहुन्छ।’

सुन्दरी प्रतियोगिताको क्रेज
हरेक वर्ष हुने मिस भेनेजुएलालाई त्यहाँका मानिसले चासोपूर्वक लिने गर्छन्। किनकि, मिस भेनेजुएलालाई मिस वर्ल्ड, मिस युनिभर्स आदिमा भिड्ने अवसर प्राप्त हुन्छ। टेलिभिजनबाट प्रसारण हुने मिस भेनेजुएलाको प्रत्यक्ष प्रसारण त्यहाँ यति लोकप्रिय हुन्छ कि यसलाई तीन करोड भेनेजुएलालीमध्ये दुई तिहाईले टेलिभिजनमा हेर्ने गर्छन्।

सन् २००५ मा टेलिभिजनबाट मिस भेनेजुएलाको प्रसारण भइरहेको थियो। त्यत्तिकैमा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको भाषण प्रसारणका लागि भन्दै टेलिभिजन स्टेसनले १५ मिनेटका लागि सुन्दरी प्रतियोगिताको प्रसारण रोकिदियो। यसप्रति राजधानी काराकसका हजारौँ बासिन्दाले आक्रोश व्यक्त गर्दै घरका झ्यालबाट भाँडाकुँडा बाहिर फाल्ने र घरमा भएको बन्दुकबाट हवाई फायर गर्नेसम्मका काम गरे।

सुन्दरी प्रतियोगितामध्येको सर्वाधिक महŒवपूर्ण मानिने ‘मिस वर्ल्ड’को भर्खरै सम्पन्न फाइनल सुरु हुनुभन्दा एक साताअघि भेनेजुएलाको एउटा प्रशिक्षण केन्द्रको अवलोकन गर्दा त्यहाँ प्रशिक्षार्थीहरूलाई कसरी क्याटवाक गर्ने, अग्लो हिल भएको जुत्ता लगाएर कसरी हिँड्ने, हाउभाउ र शब्द उच्चारण कसरी गर्नेजस्ता कुरा सिकाउने काम भइरहेको थियो। साथै स्तन, कम्मर र तिघ्रालाई ९०–६०–९० सेन्टिमिटरको आदर्श आकारमा ढाल्ने तरिका सिकाउने काम पनि भइरहेको थियो।

Model 1त्यस प्रशिक्षण केन्द्रमा पाँचदेखि २९ वर्षबीचका छ सय केटी भर्ना भएका थिए। पूर्व मिस भेनेजुएला मारियाना जिमिनेज त्यही प्रशिक्षण केन्द्रकी उत्पादन हुन्।

केन्द्रमा भर्ना भएका केटीहरूले साताको एक दिन बिहान अथवा दिउसो केन्द्रमा कक्षा लिने गर्छन्। कक्षामा सहभागी हुन टाढा–टाढाका ग्रामीण क्षेत्रबाट गरिब परिवारका छोरीहरूसमेत घण्टौँ लामो बाटो छिचोलेर आउने गर्छन्।

त्यस प्रशिक्षण केन्द्रका निर्देशक एलेक्जेन्डर भेलसक्विजका अनुसार भर्ना भएका अधिकांश बालिका, किशोरी तथा युवती प्रतिमहिना ५० डलरको आसपासमा कमाइ गर्ने मध्य अथवा निम्न परिवारका सदस्य हुन्छन्। प्रशिक्षण केन्द्रले हरेक प्रक्षिार्थीबाट प्रतिमहिना १० डलर असुल्ने गर्छ। पहिरन, मेकअप र फेसन सोका लागि हुने अन्य खर्च सबै जोड्दा एकजना प्रशिक्षार्थीले प्रतिमहिना करिब २५ डलर खर्च गर्नुपर्ने हुन्छ। ‘भोलि ‘ब्युटी क्विन’ बनेर छोरीले परिवारलाई गरिबीको दलदलबाट बाहिर निकाल्छे भन्ने आश सबै अभिभावकले गरेका हुन्छन्। मिस भेनेजुएला हुन सके पैसा र ख्याति कमाइन्छ र रातारात सेलिब्रिटी भइन्छ भन्ने लालसा प्रशिक्षार्थीमा हुने गर्छ,’ उनी भन्छन्।

सुन्दरताको मानक
प्रशिक्षण केन्द्रमा भर्ना भएकाहरूको क्षमता र सम्भावनालाई ध्यानमा राखेर उनीहरूलाई विभिन्न समूहमा विभाजित गर्ने गरिएको प्रशिक्षण केन्द्रका निर्देशक भेलसक्विज बताउँछन्। ब्युटी क्विन हुने सम्भावना भएकाहरूलाई ‘टप’ र ‘मिनी टप’ समूहमा राखेर प्रशिक्षण दिने गरिन्छ। ‘यदि १३ अथवा १४ वर्षको उमेरमा उनीहरू ५ फिट ६ इन्च अग्ला छन्, दुब्लापातला छन्, हेर्दा सलक्क परेका आकर्षक छन् भने त्यस्ता प्रशिक्षार्थीमा सम्भावना बढी छ भन्ने निष्कर्ष हामी निकाल्छौँ,’ उनी भन्छन्, ‘त्यस्तालाई ‘टप’ र ‘मिनी टप’ समूहमा राखेर प्रशिक्षण दिने गर्छौं।’

विद्यालयकोे पढाइ छोडेर एकैपटक तीन/चार ठाउँमा जागिर गरी पैसा कमाएर प्रशिक्षण केन्द्रमा भर्ना हुन आएका युवतीहरूसमेत आफ्नो प्रशिक्षण केन्द्रमा रहेको उनी बताउँछन्। यसरी कमाएको पैसा प्रशिक्षण केन्द्रमा शुल्क तिर्न, सौन्दर्य प्रसाधन खरिद गर्न र कस्मेटिक सर्जरी गराउन उनीहरूले खर्च गर्ने गरेका छन्। पैसाको जोहो गर्न कतिपयले मालदार युवकसँग प्रेमसम्बन्ध गाँस्ने गरेको र काम फत्ते भइसकेपछि त्यस्ता केटालाई छोडिदिने गरेको उदाहरणसमेत प्रशस्त भेट्टाउने गरेको उनी बताउँछन्।

उनका अनसार स्तन प्रत्यारोपण गर्नमिल्ने औसत उमेर भनेको १६ वर्ष हो। ‘ब्युटी क्विन बन्ने हो भने स्तन धेरै ठूलो र चौडा हुनु हुँदैन। यो कसिलो र पोटिलो हुनुपर्छ। विभिन्न सुन्दरी प्रतियोगिताले भिन्न आकारका स्तनलाई मानक बनाएका हुन्छन्। र, कुन प्रतयोगिताका लागि आफूलाई तयार बनाउने हो, त्यसले तोकेको मानकबमोजिमको स्तन बनाउने गरी सर्जरी गर्ने गरिन्छ,’ उनी भन्छन्।

कारखानामा सुन्दरता उत्पादन
प्रतिस्पर्धामा सहभागी हुनेगरी शरीरको वजन घटाउन कसै गरी पनि नसक्नेहरूले जिब्रोमा प्लास्टिकको जाली राखेर खानपिन घटाई आफूलाई स्लिम बनाउने गर्छन्। १६/१७ वर्षका कतिपय किशोरीले खाना नपचोस् र वजन नबढोस् भनेर आन्द्राको एउटा भाग मिल्काउने शल्यक्रियासम्म गराउने गरेको उनी बताउँछन्।

किशोरी र उनीहरूका अभिभावक दुवैले यस्तोखालका शल्यक्रियाको चाहना राख्ने गरेको उनी बताउँछन्। ‘अभिभावकहरू चाँडै नतिजा चाहन्छन्। यसका लागि शल्यक्रिया आवश्यक छ भन्ने उनीहरूको मान्यता छ,’ उनी भन्छन्।

पाँच फिट नौ इन्च उचाइ सौन्दर्य प्रतियोगितामा प्रबल दाबेदारी प्रस्तुत गर्ने बलियो आधार मानिन्छ। आफ्ना छोरीले यति उचाइ हासिल गरून् भनेर उनीहरूको महिनावारी सुरु हुने अवधि पर धकेल्न हार्मोन इन्जेक्ट गराइदिने अभिभावकहरूसमेत आफ्नो सम्पर्कमा आएको भेलसक्विज बताउँछन्।

‘हाम्रो केन्द्रमा भएकी एउटी नौ वर्षकी बालिकालाई यस्तै हार्मोनको इन्जेक्सन लगाइएको छ। यसले गर्दा महिनावारी ढिलो सुरु हुन्छ। यसबीचमा उनीहरू अझ अग्लो हुने सम्भावना रहन्छ,’ उनले भने।

भेलसक्विज भेनेजुएलालाई सुन्दरीहरूको देश मान्न कदापि तयार छैनन्। ‘यो सबैभन्दा सुन्दरी पाइने देश होइन, तर यहाँ कसरी सुन्दर र पर्फेक्ट स्त्री उत्पादन गर्ने भन्ने ज्ञान छ। त्यही भएर हामीले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न सकेका छौँ,’ उनी सगौरव सुनाउँछन्।

उनको प्रशिक्षण केन्द्रमा क्याटवाक सिकाउने प्रशिक्षक ग्याब्रियल रोजो प्रशिक्षार्थीहरूलाई निर्देशन दिइरहेका हुन्छन्, ‘टाउको माथि पार, अडियन्ससँग आई कन्ट्याक्ट गर, सुरुमा देब्रेेतिर हेर अनि दाहिनेतिर।’ प्रशिक्षार्थीहरू उनले भनेबमोजिम गरिरहेका हुन्छन्।

प्रशिक्षण केन्द्रमा नृत्यकलासमेत सिकाइन्छ। सुन्दरी प्रतियोगितामा आफूलाई बलियो बनाउन नृत्य कला पनि आवश्यक पर्छ भन्ने धेरैको बुझाइ हुन्छ।

केही दिनअघि राजधानी काराकसमा क्रिसमसको अवसरमा स्थानीय स्तरको एउटा सुन्दरी प्रतियोगिता भएको थियो। त्यहाँ अभिभावकहरू आफ्ना छोरीको प्रस्तुति हेर्न दर्शकदीर्घाको पंक्तिमा व्यग्र भएर बसिरहेका थिए। यस्ता स–साना सुन्दरी प्रतियोगिताका सहभागीमध्येबाटै ‘ब्युटी एजेन्ट’ले सम्भावना बोकेका मोडलहरूको चुनाउ गर्ने भएकाले अभिभावक र छोरी दुवैले यस्ता स्थानीयस्तरका सुन्दरी प्रतियोगितालाई पनि प्राथमिकता दिएका हुन्छन्।

प्रतियोगिता सुरु भएपछि सहभागी युवतीहरू पूर्ण आत्मविश्वासका साथ र्यााम्पमा क्याटवाक गर्दै आउँछन्, कम्मरमा हात राखेर पोज दिन्छन्, फ्लाइङ किस दिने अथवा हातले हावामा पानको पात बनाउने गर्छन्। शरीरका हरेक अंगको आकार झल्कियोस् र आफ्नो सुन्दरता खुलस्त होस् भनेर उनीहरूले मिनिस्कर्ट, स्विमसुटजस्ता शरीर प्रदर्शन हुनेखालका पहिरन लगाउने गर्छन्।

ब्रुनो कालडाइरन भेनेजुएलाको ‘सुन्दरता उद्योग’का एक नामी उद्यमी हुन्। उनको संस्थाले मिस भेनेजुएलाजस्ता लोकप्रिय ब्युटी कन्टेस्ट आयोजना गर्ने गर्छ। सुन्दरता उद्योगले स्त्रीमा हुने कमीकमजोरी कस्मेटिक सर्जरीमार्फत ‘करेक्ट’ गर्न प्रोत्साहन गर्ने गरेको उनी बिनाहिचकिचाहट बताउँछन्।

‘एकैखालको अनुहार र जीउडाल भयो भने काम लाग्दैन। सुन्दरी प्रतियोगितामा विजयी हुने खालको अनुहार र जीउडाल विशिष्ट हुन्छ। त्यही भएर हामीले त्यस्तै खालको अनुहार, जीउडाल निर्माण गर्नुपर्छ। यदि कुनै यवतीको पेट चेप्टो खालको छैन भने उनीहरूले लिपोसक्सन नामक सर्जरी गरेर यसलाई सही आकारमा ल्याउन सक्छन्। हल्का घुमि्रएको जस्तो नाक छैन भने नाकको सर्जरी गराउन सक्छन्। कपाल असाध्यै बाक्लो छ भने अतिरिक्त कपाल रोप्न सक्छन्। दाँत त्यति राम्रो छैन भने मर्मतसम्भार गर्न अथवा नक्कली लगाउन सक्छन्,’ उनी भन्छन्।

ठूला सुन्दरी प्रतियोगितामा भाग लिने भेनेजुएली युवतीमध्ये प्रायः ले प्लास्टिक सर्जरी गर्ने गरेको उनी बताउँछन्। ‘करिब आधा जतिले नक्कली कपाल लगाएका हुन्छन्। यो ठगी होइन। बरु यो विजयी हुने मानसिकताको उपज हो,’ उनको भनाइ छ।

–एजेन्सीको सहयोगमा

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress