पहिले चीन कि भारत ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी चलिरहेका बेला भारतीय राजदूत रणजित रायले उनको भारत भ्रमण तत्काल नहुने संकेत गरेका छन्। परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि मात्र चीन जाने बताएको भोलिपल्टै उनले भ्रमणको धेरै तयारी गर्न बाँकी रहेको बताएका हुन्।

‘प्रधानमन्त्री ओली ज्युको भ्रमणको सधै स्वागत गर्छौं। हाम्रा प्रधानमन्त्री (नरेन्द्र मोदी)ले पनि बधाई र भ्रमणको निमन्त्रणा दिनु भएको हो,’ बुधबार काठमाडौंस्थित भारतीय दूतावासभित्रै आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओली ज्यू तत्काल भारत भ्रमणमा जान लाग्नु भएको हो? भनि सोधिएको प्रश्नमा राजदूत रायले भने, ‘यस्तो उच्चस्तरीय भ्रमणका बेला धेरै विषयमा कुराकानी गर्नुपर्ने हुन्छ। भ्रमण अघि त्यस्ता महत्वपूर्ण विषयहरुमा तयारी गर्न आवश्यक छ।’

प्रधानमन्त्री ओलीले आइतबार २०७२ साल भित्रै भारत र चीन दुवै देशको प्रधानमन्त्रीका रुपमा भ्रमण गर्ने दाबी गरेका थिए। त्यति मात्र होइन उनले दुवै ठूला छिमेकीसँग नेपालले मित्रता चाहेको बताउँदै चीन र भारत मध्ये कुनको पहिलो भ्रमण गर्ने भन्ने कुनै नियम नभएको स्पष्ट पारेका थिए। पहिला भारत भ्रमण हुन नसके चीन जान आफू नरोकिने उनले प्रष्ट बताएका थिए।

ओलीले आफू छिट्टै चीन जाने संकेत गरेको तीन दिन बित्न नपाउँदै चीनबाटै फर्कदै गर्दा मंगलबार परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाएको बताए। थापाले आफ्नो भ्रमणको बेला हुन नसकेका सम्झौता छिट्टै हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हुने विश्वास समेत व्यक्त गरे।

चीनबाट स्वदेश फर्केकै साँझ मंगलबार परराष्ट्रमन्त्री थापाले बिबिसी नेपाली सेवालाई अर्न्तवार्ता दिने क्रममा अर्को दाबी गरे, ‘भारतको पहिले नै निमन्त्रणा आइसकेको थियो। अहिले चीनले पनि निमन्त्रणा गरेको छ। भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ। पहिला भारत जानुहुन्छ, त्यसपछि चीनको भ्रमण गर्ने सम्भावना देख्छु।’

नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न र आफ्नो राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एकलाई नेपाल पठाउन तयारी अवस्थामा रहेको चीनले जनाउँ दिईसकेको छ। परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङ वी बीच भएको द्विपक्षिय बैठकमा चीनले मौखिक रुपमा प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो दिएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमणका आधार भनेको यही हो।

‘चीनले पहिला नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न र त्यसपछि सम्भवतः आफ्नो राष्ट्रपतिलाई नेपाल पठाउन चाहेको छ,’ चीन भ्रमणबाट मंगलबार स्वदेश फर्केको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले भने। ती सदस्यका अनुसार चीनले प्रधानमन्त्री ओलीलाई २०१६ को मार्च २२ देखि २५ सम्म (चैत ९ देखि १२ गते) चीनमा आयोजना हुने वोआओ फोरमको बैठकमा निम्तो दिन खोजेको छ। योभन्दा अघि प्रधानमन्त्री ओली चीन जाने सम्भावना न्यून छ।

‘प्रधानमन्त्रीको भ्रमणका बेला देखिने गरी केही सम्झौता हुन जरुरी छ। अहिले परराष्ट्रमन्त्रीको भ्रमणमा सम्झौता हुन नसकेको मुद्दामा आजैबाट गृहकार्य थालियो भने मार्चसम्म टुङगाउन सकिन्छ। खासगरी इन्धन आपूर्ति र व्यापार तथा पारवहन सम्झौताको लागि धेरै कुरा गर्न बाँकी छ, जुन अहिले बाहिर भनिएजस्तो सजिलो र सहज छैन। त्यसैले पनि ती मुद्दामा सहमति जुटाउन कम्तिमा पनि तीन महिनाको समय आवश्यक पर्छ,’ चीन भ्रमणबाट फर्केका उच्च सरकारी स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीका वरिष्ठ वैदेशिक सम्बन्ध विज्ञ गोपाल खनालले भारतबाट प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नआएको बताए। तर चीन भ्रमणको गृहकार्य पनि सुरु नभएको उनले जनाए। उनले थप स्पष्ट पारे, ‘सन् २०१६ को सुरुमै चीन भ्रमण गर्ने भन्ने हो, गृहकार्य केही भएको छैन। चीनबाट निमन्त्रणा आएकोले मार्चसम्म चीन भ्रमण गर्नेकी भन्ने छ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण मार्च भित्र हुनसक्ने बताउँछन्। दुई देशका परराष्ट्रमन्त्री स्तरीय बैठकमा दुवै देशबाट एकअर्कामा उच्च स्तरको भ्रमण गर्ने सहमति भएकोले सम्भावनालाई नकार्न नसकिने तर्क उनको थियो। ‘दुवै देशबीच उच्चस्तरको भ्रमण गर्ने सहमति भएको छ। सम्भवत २०१६ को मार्च भित्र प्रधानमन्त्री ज्यूको चीन भ्रमण हुनसक्छ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले पनि लिखित रुपमा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो पठाइसकेको छ। मन्त्रिपरिषदले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न तीन बुँदे प्रस्ताव पारित गरेकै दिन यही पुस ६ गते त्यसको भारतले स्वागत गरेको थियो। नयाँ संविधान जारी हुँदा स्वागत नगरेको भारतले तीन बुँदे प्रस्तावको स्वागत गरे लगत्तै प्रधानमन्त्री ओलीलाई पनि भारत भ्रमणको निम्तो पठाएको स्रोत बताउँछ।

यसअघि ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिंदै उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। तीन महिनादेखि नाकाबन्दी लगाउँदै आएको भारतले तीन बुँदे प्रस्तावको स्वागत गरेपछि भने भ्रमणलाई औपचारिक रुपमै अघि बढाउने प्रक्रिया सुरु भएको स्रोत बताउँछ। यही गृहकार्य अघि बढेकै कारण परराष्ट्रमन्त्री थापाले चीनबाट फर्केकै दिन प्रधानमन्त्रीले ओलिले पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने उद्घोष गरेको भनाई स्रोतको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउन भारतीय पक्ष पनि उत्तिकै हतारिएका छन्। प्रधानमन्त्री ओलीले नाकाबन्दी खुलेपछि मात्र वा आफू भारत भ्रमण गएकै दिन नाकाबन्दी खुल्ने आश्वासन पाए मात्र भारत भ्रमणमा निस्कने अडान लिएपछि प्रक्रिया केही सुस्ताएको हो। आफ्नो भारत भ्रमण छिटो होस भनेर नै अहिले प्रधानमन्त्री आँफैले चीन भ्रमणको कुरा उठाइरहेको बुझाई स्रोतको छ। ‘प्रभानमन्त्री ज्यूले सकेसम्म पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्नुहुनेछ। भारत जान सम्भव भएन भने मात्र उहाँले विदेश भ्रमण चीनबाट थाल्नुहुने छ,’ स्रोतले भन्यो।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress