‘यसरी गरेँ चार्ल्सको भूमिका’

‘हाइवे’ र ‘रंगरसिया’ फिल्मबाट बलिउडमा छवि निर्माण गरेका अभिनेता हुन्, रणदीप हुड्डा। पछिल्लो समय प्रवाल रमनले निर्देशन गरेको कुख्यात अपराधी चार्ल्स शोभराजको जीवनमा आधारित फिल्म ‘मैं और चार्ल्स’ मा चार्ल्सको भूमिकामा अभिनय गरेका रणदीपको चर्चा छ। उनले एक भारतीय मिडियामा अभिनय गर्दाका अनुभव बाँडेका छन्।

चार्ल्सको भूमिकामा अभिनय गर्न धेरै अध्ययन गरेँ। केही मान्छेसँग बातचित पनि गरेँ। चार्ल्सका बारेमा हरेक मान्छेले आ–आफ्नै तरिकाले व्याख्या गर्थे। अरूले भने अनुसारको चार्ल्स हो कि होइन भन्ने प्रश्न मेरो मनमा उब्जिरहन्थ्यो। फिल्मको कहानी चार्ल्सको मुद्दाको जिम्मा लिएका प्रहरी अधिकारी आमोद कंठको किताबमा आधारित छ। किताबमा चार्ल्सको संलग्नता राजीव गान्धीको हत्यामा समेत रहेको उल्लेख गरिएको छ। मैले चार्ल्ससँग सम्बन्धित धेरै लेखरचना, समाचार, डकुमेन्ट्री पनि हेरेको थिएँ। बाल्यकालमै चार्ल्सको बारेमा सुनेको थिएँ। सात मुलुकको प्रहरीले खोजी गरिरहेका व्यक्ति थिए, चार्ल्स। फिल्ममा मलाई चार्ल्सको भूमिकामा देखेपछि सबै कुरा थाहा लाग्नेछ।

चार्ल्सको जस्तै गेटअप बनाउन मैले र फिल्मका साथीहरूले धेरै मेहनत र प्रयास गर्नुपर्यो । पेरी पटेल, सलिम असगर अली र निर्देशक प्रवाल ज्यान दिएर लागिपरेका थिए। फ्रेन्च भाषा सिक्नका लागि प्रशिक्षक नै नियुक्त गर्नुपर्योछ। चार्ल्सको ‘मिमिक्री’ गर्न पनि निकै गाह्रो परेको थियो। मेरो प्रयासले भ्याएसम्म चार्ल्सजस्तै देखिन मैले कुनै कसर बाँकी राखेको छैन।

चार्ल्स शोभराज नेपालको जेलमा थुनामा रहेको मलाई थाहा थियो। फिल्म छायांकनको क्रममा उनलाई भेट्न म नेपाल आएँ। उनलाई भेट्न पाउने/नपाउने पक्कापक्की थिएन। नेपाल सरकारलाई आग्रह गर्दा भेट्न दिइयो। उनलाई टाढैबाट भने पनि हेर्ने मौका पाइयो। उनको अनुहार सुहाउँदो बन्न मलाई अझै सहज भयो।

फिल्म ‘हाइवे’ ले मलाई धेरै फाइदा भयो। दर्शकले मेरो धेरै प्रशंसा गरे। ‘स्टुडेन्ट अफ दी इयर’ मा पनि मलाई दर्शकले धेरै माया गरे। ‘हाइवे’ मा आलिया भट्टको धेरै हाइलाइट भयो। म यसबाट दुःखी त थिइँन। तर, इम्तियाज अलिले मलाई फिल्मको प्रमोसन र अन्य कुनै कार्यक्रममा सहभागी नै गराएनन्। सायद उनले मलाई ‘स्टार’ सोचेनन्। जब फिल्म प्रदर्शन भयो, फिल्ममा मेरो क्षमता देखियो। मेरो काम बोलिरहेको थियो। दर्शकले धेरै मन पराए।

मलाई ‘जन्नत २’ फिल्मले रक्सी पिउने बानी लगायो। पहिला त्यति धेरै पिउँदिनथेँ। फिल्ममा धेरै रक्सी पिएँ। त्यसपछि मलाई रक्सीको लत नै बस्यो। कहिलेकाहीँ अहिले पनि धेरै रक्सी पिउँछु।

खरो र रिसाहा स्वभावका कारण मैले धेरै फिल्म छाड्नुपरेको छ। म लोलोपोतो घसेर कुरा गर्न जान्दिनँ। कहिलेकाहीँ आफैँले दिएको अभिव्यक्तिले मलाई नै असर गर्छ। म आफ्नै शर्तमा काम गर्न मन पराउँछु। अभिनय गर्दा पनि राम्रो र विविधता भएको भूमिकामा काम गर्न रमाउँछु। कहिलेकाहीँ कुनै निर्देशकले ‘यो भूमिकामा तपाईंबाहेक कसैलाई सुहाउँदैनथ्यो’ भन्दा मज्जा आउँछ।

अभिनेता बन्न मैले पहिलेदेखि नै प्रयास गरिरहेको थिएँ। प्रशिक्षण लिइरहेको थिएँ। अस्ट्रेलियामा पढ्दा भाँडा मस्काउनेदेखि ट्याक्सी चलाउनेसम्म काम गरेको थिएँ। ट्याक्सी ड्राइभर हुँदा धेरै देशका धेरै प्रकारका मानिसहरूसँग भेट हुन्थ्यो। बातचित हुन्थ्यो। धेरै मान्छेका कथासँग नजिक हुन पाएँ। जसले मेरो अभिनयमा निखार ल्याउन सहज भयो।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress