नेपाली गान्धी, लिंकन र मण्डेला


‘जो जे बाँड्न चाहन्छ, उसँग त्यो हुनुपर्छ। खुसी बाँड्ने हो भने त्यो व्यक्तिसँग खुसी हुनुपर्छ। इमानदारी बाँड्ने हो भने ऊ इमानदार नै हुनुपर्छ। आदर्श बाँड्न अडान भएको व्यक्ति नै हुनुपर्छ अनि मात्र ऊ आदर्श कहलिन्छ !-बहुचर्चित नेपाली भनाइ
उपरोक्त नैतिक भनाइबाट यो आलेख सुरु गर्नुको कारण अरू केही होइन, अहिलेको नेपाली समाजमा त्यसको खोजी गर्नका लागि नै हो। तर राजनीतिक नेतृत्वमा त्यसको खडेरी परेको छ। एउटा विषय यतिखेर खुबै चर्चामा छ र त्यो हो-आफू प्रधानमन्त्री बन्न कांग्रेस सभापति सुशील कोइरालाले एमालेसँग सातबुँदे सहमति गरे।
Krishnahari_murari_Bhandariत्यससँगै उनले एमाले नेतृत्वलाई के भनेर विश्वासमा लिए भने अहिले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न सघाउ पुर्‍याऊ एमाले अध्यक्ष ओली, म पनि तिमीलाई प्रधानमन्त्री बनाउन सघाउँछु ! त्यसपछि नै हो एमाले अध्यक्ष केपी ओलीले सुशीललाई प्रधानमन्त्री बनाउन र टिकाउन एकनासले सघाइरहेका।
एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेसी लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग संविधान बनाउन सोह्रबुँदे सहमति पनि भयो। त्यसैकारण ०७२ असोज ३ गते संविधानसभाबाट गणतन्त्र नेपालको संविधान घोषणा हुन सक्यो।
संविधान बनिसकेपछि प्रधानमन्त्री सुशीलले राजीनामा दिने सहमति बनेको थियो। तर सहमतिबमोजिम सुशीलले राजीनामा दिएनन्। उनको मनमा सत्ताको न्यानोमा रहिरहने पाप पलाउन पुगेको देखिएको छ।
उनले बोली फेरेर जिन्दगीभर कुण्ठित मनमा रहेको महत्वाकांक्षा अन्तिममा आएर फेरि बढाएका छन्।सहमतिबमोजिम ओलीलाई प्रधानमन्त्री बन्न नदिएपछि देशको अवस्था झन् के हुने हो भन्ने अन्योल ह्वात्तै बढेको छ।
दुई ठूला दलबीचको ‘त्यो भद्र सहमति’ त्यतिबेलासम्म कार्यान्वयन भइरह्यो जबसम्म संविधानको घोषणा भएन। सुशीलले जब प्रधानमन्त्री पद छोड्ने दिन आयो तब आलटाल र बहानाबाजी गर्न थाले। ओलीलाई प्रधानमन्त्री बनाउने जिम्मेवारीबाट सुशीलले बेइमानी गरिरहेका छन्।
उनमा अचम्मैसम्म सत्तामा टिकिरहने पाप र लोभ बढेको छ। उनको आनाकानीले मुलुकलाई त्यही ठाउँमा पुर्‍याउन थालेको अनुभूति राजनीति विश्लेषकहरूले गर्न थालेका छन्, जहाँ ०५२ सालताका मुलुक थियो। त्यतिबेला गोलमाल गर्ने गिरिजाप्रसाद कोइराला थिए अहिले त्यही भूमिका सुशीलले निर्वाह गर्न लागेका त होइनन् ? एक विश्लेषकहरूले गम्भीर प्रश्न उठाए।
सुशील अहिले पद छोड्न आनाकानी मात्र गरिरहेका छैनन्, उनी त फेरि प्रधानमन्त्री बनिरहन निर्लज्ज देखा परे, जसले मुलुकलाई भड्खालोमा जाक्ने निश्चित छ। प्राणले शरीर नत्यागेसम्म यी बिरामी कोइराला देशको प्रधानमन्त्री रहिरहलान् वा नरहलान् यो बेग्लै कुरा हो, तर प्रश्न के उठाउन खोजेको हो भने बेइमानी फेरि नेपाली राजनीतिमा हाबी हुनेछ।
यो बेइमानी देश त्यस्तो संवेदनशील अवस्थामा रहेको बेलामा हुँदै छ जतिखेर नेपाल स्वतन्त्र रूपमा रहने कि नरहने अवस्था सिर्जना भइरहेको छ । भारतले नेपाललाई घुँडा टेकाउन सीधै हस्तक्षेप र नाकाबन्दी गरिरहेछ।अहिले प्रत्येक नेपाली एक भएर विदेशी दबाब सामना गर्नुपर्ने बेला छ, तर देशकै प्रधानमन्त्री रहेका व्यक्ति दलीय इतिहासमै मुख्य दलहरू मिलेर संविधानजस्तो मूल कानुन बनाउन सफल भएको बेलामा यस्तो धुन्धकारी काम गरिरहेको देखिनु नेपाली जातिकै लागि अन्तरघात हो।
Sambidhan BICCसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन जुटेका एमाले, कांग्रेस र एमाओवादीबीचको अपूर्व एकतालाई भाँड्न खोज्नु देशद्रोह नै हो। यसमा कोइराला षड्यन्त्रको कार्ड बन्नु मुलुककै लागि अभिशाप हो । एक वाक्य ढंगले बोल्न नसक्ने अविवाहित कोइरालामा पलाएको यो लालच बुझिनसक्नुको छ।
सुशीललाई सत्ताको लालीपप देखाउँदै विदेशी प्रभु संघीय गणतन्त्र नेपालको संविधान ल्याउने नेताहरूबीच कार्यान्वयनको चरणमा मनमुटाव देखाएर नेपाललाई नै असफल बनाउन खोजिरहेछन्। यतिखेर झुट र फुटको खेती तथा सत्तालोभ होइन, संविधान कार्यान्वयन गरेर दह्रो नेपाल र सक्षम नेपाली बनाउनुपर्ने आवश्यकता छ। यो समय नेपालले कोसेढुंगाको छलांग मार्ने समय हो । सक्कली राष्ट्र निर्माणको समय हो।
माघ ८ गते संविधान जारी गर्न नसकेपछि खासमा सुशील धर्मराइसकेका थिए । एमालेका ओलीको स्पष्ट राष्ट्रवादी अडान र संविधान बनाउनैपर्ने दृढताले संविधान बन्ने आशालाई जीवितै राखेको कुरा बताउन अन्कनाउनु पर्दैन।
ओली र सुशीलको संविधान बनाउने सहमतिमा सहयोग गर्न ओलीले प्रचण्डलाई पनि सहमत गराए। त्यसपछि तीन नेताले विजय गच्छदारलाई पनि आफूसँगै ल्याए। सोह्रबुँदे सहमति गरेर संविधान बन्ने मार्गप्रशस्त गरे। विदेशी प्रभुको शरणमा नपरी नेपालमा गरिएको सोह्रबुँदे सहमति नै गणतान्त्रिक संविधान बन्नुको प्रमुख कारक मान्छन्, नेपाली राजनीतिलाई सूक्ष्मरूपमा अध्ययन र विश्लेषण गरिरहेका एक राजनीतिशास्त्री।
त्यही कारण हो, उनले भने-०३६ सालमा बीपी, ०४६ सालमा गणेशमान र कृष्णप्रसाद भट्टराई, ०५३ सालमा मनमोहन अधिकारी, ०६३ सालमा प्रचण्ड र बाबुरामजस्तै अहिले ओली, सुशील, प्रचण्ड र गच्छदारप्रति जनभरोसा उर्लिएको हो। उनीहरूले असम्भव ठानिएको कामलाई सम्भव तुल्याएकै हुन्।
गणतन्त्र नेपालको संविधान नेपालको संविधानसभाबाट नब्बे प्रतिशतभन्दा बढी मतले पारित भई जारी हुनु चानचुने होइन। संविधान जारी भइसकेपछि भारतले नाकाबन्दी लगाउँदा पनि भारी नपुगेको वा घट्टमा घान नपुगेको झैँ गरी नेपाली युवाहरू भन्न थालेका छन्, हे भारत ! छोटो होइन, धेरै लामो नाकाबन्दी लगाऊ नेपालमा ! अझ पूरै सिमानामा बंगलादेश र पाकिस्तानमा जस्तै बन्देज लगाऊ।
हाम्रा नेताहरूलाई एकैपटक लिंकन, गान्धी र मण्डेलाजस्तो बन्ने अवसर आएको छ। संविधान जारी गरेर त्यतातर्फ उनीहरू अभिमुख भएका पनि छन्, तर यात्रा गर्न अझै बाँकी छ। संविधानको संस्थागत र गणतन्त्रको कार्यान्वयन नभएसम्म उनीहरू एकताबद्ध भएर राष्ट्रनिर्माणमा लाग्नैपर्छ, अन्यथा यत्रो कार्यसम्पन्न गर्नुको कुनै अर्थ रहने छैन।    
नेपाल आउजाउ गर्न भिसा पासपोर्ट लगाऊ। तिम्रो नाकाबन्दीले नेपाली युवा पुस्ता भुत्ते होइन, सशक्त बन्नेछ । कतिसम्म भने विद्यार्थीहरूको एउटा जत्था आलेटाले गर्ने निर्माण मन्त्रालय र विभागलाई चुनौती दिँदै कुटो, कोदालो र साबेल बोकेर भुइँचालोले भत्काएको सडक खोल्न चिनियाँ सीमातिर पो लाग्यो।
झट्ट हेर्दा यो सानो घटना हो, तर यसले नेताहरू स्वाधीन निर्णय गर्न लाग्छन् भने युवा पुस्ता उनीहरूलाई सघाउन जुर्मुराएको एउटा अनुपम उदाहरण हो।
तथ्यांकले भन्छ-देशमा भित्र्याइने पेट्रोलियम पदार्थको ३३ प्रतिशत राजधानी काठमाडौँले खपत गर्छ। युवाहरू अग्रसर भएर ३३ प्रतिशत पेट्रोल चीनबाट ल्याउने पहल गर्छन् भने सरकारले बाँकी पेट्रोल भारतबाट ल्याउँदा भइहाल्यो नि ! एक युवाले क्यालकुलेटरमा हिसाब देखाउँदै भने।
अब पहिला जस्तो अवस्था देशमा छैन। सामाजिक-आर्थिक रूपान्तरणको चरणमा छ। पढेलेखेका नेपालीको संख्या प्रतिवर्ष बढिरहेको छ। विदेशका नामी विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरू नाम र दाम दुवै आर्जन गरिरहेका छन्।सूचना प्रविधिमा मात्र होइन, मंगलग्रहमा बाढी आउँछ भनेर पत्ता लगाउने हाम्रै नेपाली युवा हो।
मरेको मान्छेको मुटु झिकेर अर्को व्यक्तिमा सार्ने पनि नेपाली युवा नै हो। अमेरिकाको विश्वविख्यात संस्था नासामा कतिजना नेपाली अनुसन्धान गरेर नयाँनयाँ आविस्कार गरिरहेका छन्। विश्वव्यापीकरणले नेपाली राष्ट्रवाद र स्वाभिमान उँचो बनाइरहेछ।
युवामा अहिले अपूर्व रूपमा देखापरेको स्वाभिमान संस्थागत गर्न ओली, प्रचण्ड र सुशील नेपाली गान्धी, लिंकन र मण्डेला बनेर निस्किए भने भारतले लगाएको नाकाबन्दी हामीलाई वरदान साबित हुनसक्छ। भाइफुट भयो भने गँवारले लुट्ने निश्चित छ !
नेताहरूबीच भएको भद्र सहमतिलाई भाँडेर सुशीलले मुलुक र सम्पूर्ण नेपाली जनमाथि अन्तरघात गर्नु हुँदैन। जसरी ओलीले सुशीललाई सफल बनाउन लागिरहे, त्यसैगरी सुशील पनि ओलीलाई सफल गराउन लाग्नुपर्छ। यो गर्नु भनेको कांग्रेस हारेर एमाले वा एमाओवादीलाई जिताउनु होइन।
यो त कांग्रेस, एमाले र माओवादी मात्र होइन, नेपालको हित चाहने सबैको जित हो। यहाँ सुशील चुके भने गिरिजाप्रसादलाई राष्ट्रपति बनाउँछु भनेर जीवनभर प्रचण्ड चुकचुक चुकाएजस्तो मात्र हुनेछ। त्यसैले हे सुशील, राजनेताका रूपमा आफूलाई स्थापित गर। युवा भावना आत्मसात गर। तिमी आँट तिम्रो योजनालाई युवाहरूले कार्यान्वयन गर्नेछन्। तिम्रो पार्टी मात्र होइन, पूरै नेपाल नयाँ नेपालमा रूपान्तर हुनेछ।
नयाँ संविधान बनाएर अघि बढेको नेपालमा नेताहरू सत्ताका लागि हानथाप गर्न छोड ! तिमीहरूले सहमति गरेर चलायमान बनाएको देशलाई अब नयाँ गति देऊ। संविधान तिमीहरूले नै ल्याएका हौ। यसको जस इतिहासले तिमीहरूलाई नै दिनेछ।
अहिले असारमा रोपेको धान काट्ने धमाधम छ। तिमीहरूले संविधान बनाएर धान त काट्यौ हे नेताहरू हो। धान काटेर मात्र पुग्दैन। त्यसलाई चुटेर, बताएर, सुकाएर, भकारीमा राख्न पनि सक्नुपर्छ। त्यसपछि मात्र धान कुटेर भत्तेर खाने हो।
खै तिमीहरूले काटेको धान चुटेको ? खै बताएर भुस फ्याँकेको ? खै सुकाएको ? खै भकारीमा राखेको ? यो बेलामा त टँसको मस नभई नेताहरू एक हुनुपर्छ।संविधानसभा यिनै नेताहरूकै योजनाअनुसार दुई वर्षको लागि संसद्मा रूपान्तर भएको छ, तर त्यसले गर्नुपर्ने काम कति छ, थाहा छ?
संघीय संरचना सिमांकन आयोग र त्यसमार्फत संघ, संघभित्रका निकाय, संघको नामांकन, राजधानी, प्रशासन र संघभित्र प्रान्तीय, जिल्ला र स्थानीय निकायको स्वरूप, सुरक्षा निकायको स्वरूप, प्राकृतिक स्रोतसाधनको बाँडफाँटको चुनौती बाँकी नै छ।
आर्थिक स्रोत र कर ककसले उठाउने ? यति धेरै व्यस्त, क्रियाशील र ओझिलो हुनुपर्ने बेलामा बोझिलो तालले चल्दैन नेताहरू हो। यसो गर्‍यौ भने मातृभूमिले तिमीहरूलाई धिक्कार्नेछ । तिमीहरू नासिने, भासिने र मासिने छौ। यो कुरा बुझ!
स्वाधीन अमेरिका बनिरहेका बेला दक्षिणमा भएको विद्रोह सम्बोधन गर्न राष्ट्रपति अब्राहम लिंकन जनतामाझ गए। त्यही उनले भनेका हुन्, ‘अमेरिकी लोकतन्त्र जनताद्वारा, जनताको लागि… ‘ हो।हाम्रा नेताहरूले पनि भन्नुपर्छ-नयाँ संविधान नेपाली जनताका प्रतिनिधिहरूले जनताका लागि बनाएका हुन्।
अहिले भारतले नेपालमा नाकाबन्दी लगाइरहेको छ। तर त्यही भारतमा महात्मा गान्धीले भारतीय सर्वसाधारण जनतालाई कमिलाको ताँती लगाएर मौरीको चाका जस्तै बनाइदिए र कहिल्यै सूर्य नअस्ताउने बेलायती उपनिवेशवादीहरूबाट भारतलाई मुक्ति दिलाए। भारतभन्दा कता हो कता बढी नब्बे प्रतिशत बढी जनताका प्रतिनिधिहरूले बनाएको संविधान घोषणा गराउन सक्ने नेताहरूले जनतालाई एकबद्ध गराएर नेपालको विकास पनि गर्न सक्नुपर्छ !
त्यस्तै दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाले रंगभेदवादी गोराहरूको दासताबाट जनतालाई मुक्ति मात्र दिलाएनन्, संविधानसभाबाट लोकतान्त्रिक संविधान पनि जारी गराए। त्यसपछि उनले संविधान अनुकूलका काम पनि फत्ते गरेर देखाए। के हाम्रा नेताहरूले संविधान जारी गरेर मात्र पुग्छ ? त्यसलाई कार्यान्वयन गरेर देखाउनु परेन?
हाम्रा नेताहरूलाई एकैपटक लिंकन, गान्धी र मण्डेलाजस्तो बन्ने अवसर आएको छ। संविधान जारी गरेर त्यतातर्फ उनीहरू अभिमुख भएका पनि छन्, तर यात्रा गर्न अझै बाँकी छ। संविधानको संस्थागत र गणतन्त्रको कार्यान्वयन नभएसम्म उनीहरू एकताबद्ध भएर राष्ट्रनिर्माणमा लाग्नैपर्छ, अन्यथा यत्रो कार्यसम्पन्न गर्नुको कुनै अर्थ रहने छैन।
सुशील असफल बने भने ओली सफल हुन सक्दैनन्। ओली असफल बने भने सुशील पनि सफल बन्‍न सक्दैनन्। प्रचण्ड असफल बने भने न सुशील न ओली सफल बन्नेछन् ! तीनैजना मिले भने नेपाल र नेपाली समृद्ध बन्नेछन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress