मेरो ध्येय आर्थिक समृद्धि हो : भट्टराई


आश्विन १०, २०७२- हिजो शनिबार पत्रकार सम्मेलन गरी एमाओवादी र संसद सदस्य परित्याग गरेकाबाबुराम भट्टराईसँग संक्षिप्त कुराकानी :

अकस्मात एमाओवादी त्यागको निर्णय गर्नुभयो नि?
झट्ट हेर्दा अकस्मात देखिए पनि मैले यो कुरा धेरै समयअघिदेखि भनिरहेको थिएँ। माक्र्सवादी भाषामा भन्ने हो भने संविधान निर्माण भएपछि पुरानो सामन्तवादी युग सकिएर पुँजीवादी युग सुरु हुने, त्यसपछि समाजवादका लागि अरू लड्नुपर्छ भनेर भन्दै आएको थिएँ। असोज ३ गते संविधानसभाबाट नयाँ संविधान बनेसँगै अब हामीलाई नयाँ बहस चाहिएको छ। त्यो नयाँ बहस पुरानो पार्टीको पुरानो संरचनाले चलाउन सक्दैन, नयाँ सन्दर्भमा चल्नुपर्छ। यसका लागि पार्टीभित्र मात्रै बहस गरेर पुग्दैन। समाजका सबैसँग खुला छलफल गर्ने सोचका साथ अघि बढ्न पार्टी परित्याग गरेको हुँ।

एमाओवादी छाड्ने जानकारी पाएपछि अध्यक्ष पुष्पकमल दाहालले कस्तो प्रतिक्रिया दिनुभयो?
उहाँलाई पार्टी छाडेको जानकारीसहित पत्र पठाएको छु। केही प्रतिक्रिया पाएको छैन। उहाँप्रति मेरो कुनै दुराग्रह छैन। उहाँ पनि देश र जनताकै सेवामा लागेको नेता हो। सायद हाम्रो छिट्टै भेटघाट होला।

माओवादीका सशस्त्र युद्धमा तपाईंहरू दुई जनाको नाम चर्चामा हुन्थ्यो। अब सधैंलाई छुट्नुभएको हो?
प्रचण्डजीसँग मेरो व्यक्तिगत सम्बन्ध अहिले पनि राम्रै छ। भोलि पनि मुद्दागत आधारमा हाम्रो सहकार्य हुन सक्छ।
मैले दुराग्रह राखेको भए अरू साथीहरूसमेत लगेर पार्टी फुटाउन सक्थें। तर त्यसो गरिन। ममात्रै निक्लें।

दोस्रो संविधानसभा चुनावपछि नयाँ शक्तिको बहस चलाउन थाल्नुभयो। अब नयाँ शक्ति बनाउने हो?
अहिल्यै म त्यसरी भन्दिनँ। कतिपयले नयाँ शक्ति भन्नेबित्तिकै अहिले भएका शक्ति काम लागेनन्, नयाँ बनाउने भन्ने अर्थमा बुझ्छन्। तर नयाँ शक्ति भनेको अहिले भएकैबाट नयाँपन दिने कोसिस पनि हो। यसको अवधारणा अहिल्यै सबै भन्न सकिने अवस्था छैन। म सबैसँग छलफल गर्दैछु।

मधेसी र जनजातिलाई प्राथमिकता दिन खोज्नुभएको हो?
अहिले मधेस र पहाडबीच जुन दूरी निर्माण भएको छ, त्यसलाई समयमा ठीक ढंगले सम्बोधन गरेनौं भने देशमा डरलाग्दो खाडल बन्न जाने छ। राष्ट्रिय स्वाधीनता र अखण्डतामै चुनौती आउन पनि सक्छ। त्यसैले मधेस, पहाड र हिमालबीच सौहार्दता ल्याउन ढिलो गर्नुहुन्न भन्ने मेरो भनाइ हो। संविधानसँग केही समुदायको असन्तुुष्टि छ। नेपाल भनेको आर्यखसको मात्रै होइन, मधेस, हिमाल सबैको हो। यसबारे सोच्नुपर्छ।

कम्युनिज्म छाड्नुभएको हो?
त्यसरी सीधा भनिहाल्न मिल्दैन। म सुरुमा गणतन्त्रवादी र्‍याडिकल डेमोक्रयाट थिएँ। २०३७ सालपछि मात्रै कम्युनिस्ट भएको हो। त्यो क्रान्तिको चरण पूरा भयो, अब आर्थिक विकास र समृद्धि गरौं भन्ने हो। द्वन्द्वात्मक भौतिकवादप्रति मेरो अगाध विश्वास छ। त्यो समाजलाई वस्तुसंगत ढंगले बुझ्ने विज्ञान हो। तर समाजवादी मोडेलको प्रयोग विभिन्न देशहरूमा जसरी भयो, त्यो ठीक भएन। एक्काइसौं शताब्दीमा नेपालको प्रकृति सुहाउँदो शैली हामीलाई चाहिन्छ। त्यसका लागि माक्र्सवादलाई हाम्रै मौलिकतामा अझ विकास गर्नुपर्छ।

उसोभए स्टालिन र माओबाट बाहिर आउनुभएछ?
मैले त यसबारे बहस गरौं भनेको छु। यसको निष्कर्षमा म पुगिसकेको छैन। कतिचाहिँ हो भने, अहिले म एउटा घरबाट निस्किसकेको छु। तर अर्को घर कस्तो बनाउने भन्नेमा छलफल जारी छ। परम्परावादी अति केन्द्रीयतावादी कम्युनिस्ट धारसँग मेरो अलि पहिलेदेखि नै असहमति रह्यो। तर माक्र्सवादी दर्शनमै रहेर समाजवादको मोडल खोज्नुपर्छ भन्ने अझै लाग्छ।

त्यो भनेको अहिले चर्चामा रहेको नवमाक्र्सवादी बाटो हो?
त्यसरी भन्नुभन्दा पनि मैले यसलाई पाँच ‘स’ को अवधारणाका रूपमा व्याख्या गर्न खोजेको छु : स्वाधानीता, समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था, समृद्धि, सामाजिक न्यायका लागि समाजवाद र सदाचार।

उसोभए अब तत्कालको मार्गचित्र के हुन्छ?
सबैसँग खुला दिलले छलफल गर्ने सोचमा छु। हिजो माओवादी आन्दोलनबाट विभाजित भएका साथीहरूसँग कुराकानी भइरहेको छ। त्यसपछि कसरी अगाडि बढ्ने भन्ने चित्र आउने छ।

नयाँ पार्टी कहिले घोषणा हुन्छ?
तत्काल कुनै नयाँ पार्टी घोषणा हुँदैन। संस्थागत लोकतान्त्रिक ढंगबाटै यो विषय छिनोफानो हुनेछ। म एक्लै निर्णय गर्दिनँ। कति समय लाग्ला भन्नेबारे अहिल्यै भन्न सकिँदैन। संविधान त बन्यो, तर अशान्ति र अस्थिरता छ, यसलाई सम्बोधन गर्नेगरी निर्णय हुन्छ।

मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसँग समेत कुरा भइरहेको छ?
सबैसँग कुरा भइरहेको छ। विशेषगरी देशको काँचुली फेर्न लालायित युवा, देशभक्त नागरिकहरूसँग घनिभूत बहस भइरहेको छ। जस्तो, भूकम्पपछि जुन ढंगले हामी अगाडि जानुपथ्र्यो, त्यो गर्न सकिएको छैन। विपतलाई सम्बोधन गर्नेगरी हाम्रो नेतृत्वमा भिजन देखिएको छैन। मेरो अहिलेको ध्येय आर्थिक समृद्धि नै हो।

संसद् किन छाड्नुभएको?
जुन पार्टीबाट म सभासद चुनिएँ, त्यसलाई नै त्यागेपछि नैतिक रूपमा संसद्मा रहिरहनु उचित नहुने ठानेर त्यागेको हुँ। त्यसमाथि संसद् परित्याग त स्वत: हुने व्यवस्था नै छ। अब तत्कालका लागि कुनै पदहरूमा बस्ने सोच छैन। म मूल्य मान्यताको राजनीति र देशको रूपान्तरणका लागि केन्द्रित हुनेछु।

युद्धबाट शान्तिमा आउनुभयो। एमाओवादीप्रतिको मूल्यांकन के छ?
एमाओवादीको नेतृत्वमा जनयुद्ध नभएको भए आजको परिणाम आउँदैनथ्यो। समावेशी, परिवर्तनका एजेन्डा आज यसरी स्थापित हुँदैनथे। जनयुद्धका लागि मेरै सक्रियतामा ४० सूत्रीय माग तयार भए। यसमा मलाई गर्व छ।

तर तपाईंको राजीनामाले जनयुद्धको औचित्य पुष्टि भयो त?
पुष्टि भयो नि। किनभने आज त्यसैका आधारमा नेपालको अनुहार नै फेरिँदैछ। त्यसको जग नभएको भए यो समाजवाद उन्मुख यात्राको घर बन्दैनथ्यो। यसमा टेकेर नै शान्ति, समृद्धिको दिशामा अब देश अघि बढ्ने हो।

उसो भए कुनै पछुतो छैन?
पछुतो होइन, त्यो पहलकदमीप्रति मलाई असाध्यै गौरव छ। २००७ सालदेखिका परिवर्तनहरूमा कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण संघर्षको योगदान छ। संसारका महान परिवर्तन सशस्त्र ढंगले भएका छन्। हाम्रो समाज विश्व इतिहासभन्दा बाहिर छैन।
ekantipur

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress