रारा पुगेपछि कोमललाई फर्किन मन लाग्दैन


मलाई मन पर्छ

भाद्र १६, २०७२- गायिका कोमल अोलीलाई सलमान खान मनपर्छaन् । उनको अभिनय भन्दा पनि हकी स्वभावले कोमललाई उनको प्रशंसक बनाएको हो । रारा ताल, सि फुड र आइफोन पनि उनलाई मनपर्ने कुरा हुन् । कोमललाई अरु के-के मनपर्छन् ?

ठाउँ
नेपालको रारा तालमा दुईपटक मात्रै गएकी छु। फेरि जाने धोको छ। त्यहाँ राजा महेन्द्रले बनाएको अप्सरा किनारा भन्ने ठाउँ निकै मनमोहक लाग्छ। त्यो ठाउँ पुगेपछि फर्किनै नपरे ’नि हुन्थ्यो जस्तो लाग्छ।

परिकार
त्यति चुजी छैन। भोक लागे जे पनि खाइदिन्छु। तर, स्वादकै कुरा गर्ने हो भने इटालियन फुड मन पर्छ। खास गरी पिज्जा, पास्ता, सी फुडले लोभ्याउँछ। प्राय: विदेश गएको बेला यिनै परिकार खाने गर्छु। दालभात त सदाबहार नै भइहाल्यो।

पेय पदार्थ
अल्कोहल कहिल्यै खाँदिनँ। ८ कक्षा पढदा जाँड चाखेकी थिएँ। त्यसपछि मेरो मन नै फर्किएन। जुस र पानी प्रशस्त पिउँछु।

साहित्य
मदन पुरस्कार प्राप्त साहित्यिक कृति नछुटाई पढ्ने गर्छु। पछिल्लो समय अमर न्यौपानेको ‘सेतो धर्ती’ उपन्यास निकै मन परेको थियो। संगीतसँग सम्बन्धित साहित्यमा पनि रुचि राख्ने गर्छु।

लेखक
थुप्रै छन्। सिद्धिचरण श्रेष्ठ, डायमनशम्शेर, तुलसी दिवस, युवराज घिमिरे मन पर्ने मध्येमा पर्छन्।

फिल्म
कथावस्तुमा भरपर्छ। ‘कान्छी’, ‘जीवन रेखा’, ‘चिनो’ पुरानामध्ये निकै मन पर्ने फिल्म हुन्।

अभिनेता/अभिनेत्री
अभिनेतामा बलिउडका सलमान खान सदाबहार हुन्। उनको हक्की स्वभावले मन छुन्छ। अभिनेत्रीमा बलिउडकै सुस्मिता सेन। उनको पर्सनालिटी र प्रस्तुति दुवै मन पर्छ।

गीत
‘म त खाँदिनँ कुवाको पानी…’, ‘मै छोरी सुन्दरी…’, ‘आमा रुँदै गाउँबेसी मेलैमा…’ जस्ता लोकगीत सुन्दै हुर्किएकी मलाई यस्तै गीत मन पर्छ। समयसापेक्ष नयाँ गीतहरू पनि राम्रा छन्।

गायक/गायिका
निकै रिस्की प्रश्न हो यो। तर, पुरानो पुस्तामा धर्मराज थापा, गणेश रसिक, हिरण्य भोजपुरे राम्रा गायक हुन्। गायिकामा बिमाकुमारी दुरा, हरिदेवी कोइरालाको स्वर लोकगीतमा सदाबहार लाग्छ।

ग्याजेट
आइफोनले मन चोरेको छ। डाउनलोड गर्न अलि गाह्रो लाग्छ, तर पनि यही मन पर्छ। सामाजिक सञ्जालमा तुरुन्तै आफ्ना गतिविधि दर्शकमाझ पुर्‍याउनुको मज्जै बेग्लै।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress