‘म झुक्नेवाला छैन’ (भिडियो सहित)

त्रिवि शिक्षण अस्पताल डक्टर्स रुमको एउटा अँध्यारो काठोमा डाक्टर गोविन्द केसी कोल्टे परेर आँखा चिम्म गरिरहेका छन्। केही वरिष्ठ चिकित्सक सहकर्मीहरु आडैमा राखिएको कुर्सीमा लहरै बसेका छन्। त्यसकै एक छेउमा एमबिबिएसका विद्यार्थीहरु डा.केसीका दश सूत्रीय मागको फ्लेक्स टाँस्न खोज्दैछन्।

स्वास्थ्य अवस्थाले साथ छोड्दै गए पनि आत्मबलका धनी डा.केसीले नागरिकन्युजलाई विशेष विशेष अन्तरवार्ता दिँदै नागरिकले तिरेको करबाट तलब खाने सरकारी अधिकारी र संविधान निर्माण गर्न गएका सभासद्समेत जनस्वास्थ्यमा खेलबाड गर्नतिर लागेपछि आफू अनसनमा जान बाध्य भएको बताए। उनले दृढताका साथ भने, ‘यो आन्‍दोलनमा म झुक्नेवाला छैन।’ हेर्नोस् दीपक दाहालले गरेको विशेष कुराकानीको पूरा अंशः

‘नेताले डनको भूमिका आफैँ निर्वाह गर्न थाले’

तपाइले पाँचौ पटक आमरण अनशन सुरु गर्नु भएको छ । यो अभियानमा सहयोगको स्थिति कस्तो छ ?
पाँचौ पटकको तेस्रो दिन भयो आज । मैले अहिलेसम्म सबैको साथ र सहयोग पाएको छु । तर, जसको साथ र सहयोग पाउनुपर्ने हो उनीहरुको चाहिँ पाएको छैन । मुख्यरुपमा सरकारको साथ र सहयोग पाउनुपर्ने हो त्यो चाहिँ हुन सकेको छैन । यो विषयमा लक्ष्यमा पुग्न त्यति सजिलो छैन । तर मलाई के विश्वास छ भने हामी लक्ष्यमा पुग्छौं ।

स्वास्थ्यस्थिति कस्तो छ अहिले ? तपाईलाई कतिको गाह्रो भइरहेको छ ?
स्वास्थ्य स्थिति एकदमै कमजोर भएको अनुभूति भइरहेको छ । छातीमा पनि समस्या भएजस्तो छ । छाती दुख्न थालेको छ । हिजोदेखि रक्तचाप कम भइरहेको छ ।

तपाईले अनशन सुरु गर्नुभन्दा अगाडि नै निरासा देखाउनु भएको थियो । सम्बन्धित निकायले ध्यान नदिएको हुनाले जनतामा जान्छु भन्नु भएको थियो । यसरी सुरुमा नै किन निरास हुनुभएको ?

Dr. Govinda KCजुन मुद्दा हामीले उठाएका छौं, त्यो काम सरकारले, नेताले, संसदले गर्नुपर्ने काम हो । तर त्यसविरुद्ध तीन करोड नेपालीको स्वच्छ भएर जिउन पाउने अधिकार हनन् भएको छ । योग्य विद्यार्थीले आफूले इच्छाएको विषय पढ्न पाउने अधिकारको हनन् भएको छ । स्वास्थ्यसम्बन्धी सार्वजनिक संस्थानलाई धराशायी बनाएर गुणस्तरहीन मेडिकल कलेजलाई नीतिबीना नै ध्वस्त बनाउने काम भयो । अहिले पनि सबै स्वास्थ्य संस्था शहरमा मात्रै केन्द्रित छन् । ८० प्रतिशत जनता बस्ने ग्रामीण क्षेत्रमा न स्वास्थ्य संस्था छन् न मेडिकल कलेज छन् । प्रत्येक वर्ष एक महिना मुनीका ३० हजार बच्चाको मृत्यु भइरहेको छ, पाँच वर्ष मुनिका फेरि ३० हजार बालबालिकाको मृत्यु हुन्छ । त्यो पनि उपचार नपाएर । उनीहरुले सामान्य उपचारसमेत पाएका छैनन् । प्रत्येक चार घण्टामा गर्भवती महिला र शिशुको मृत्यु हुन्छ, त्यो पनि उपचार नपाएर ।

जम्मा २० प्रतिशत मानिस बस्ने ठाउँमा चाँहिने भन्दा बढी स्वास्थ्य संस्था र मेडिकल कलेज छन् । अनि यही ठाउँमा फेरि नयाँ मेडिकल कलेज खोल्ने काम भइरहेको छ । १७–१८ कजेज थपिने क्रममा छन् । यहाँ जति पनि थपिँदै छन्, ती सबै आर्थिक चलखेल र शक्तिको भरमा आउँदै छन् । पूर्वाधार नै भइकन बढी क्षमताका सिट दिने, मेडिकल कजेलको मात्र होइन नर्सिङमा पनि त्यस्तै अवस्था छ । पब्लिक हेल्थ, ल्याबमासमेत यस्तै समस्या छ। यी सबै क्षेत्रमा मनपरीतन्त्र छ । छोटो समयमा धेरै कमाउने पेशाको रुपमा प्रयोग भइरहेको छ । जब कि यी संस्था भनेका सेवामुलक हुन् नाफामुलक होइनन् । ठुला शहरमा पनि गुणस्तरीय स्वास्थ्य पाउन सक्ने अवस्था छैन । नेताहरु उपचार गर्न विदेश जान्छन्। जनताले तिरेको करबाट विदेशमा उपचार गराउने तर जनताले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने ? यो त हेर्नुस जघन्य अपराध हो ।

डा. केसीले उठाएको माग ठिक छ तर लड्ने तरिका ठिक भएन भनेर सोसल मिडियामा प्रतिक्रिया आएका छन्। त्यसमा के भन्नुहुन्छ ?
म यति भन्छु कि सरकार, दल, संवैधानिक निकायविरुद्ध लड्नु पर्ने अवस्था आयो । नेताहरु तीन करोड नेपालीको प्रतिनिधिको रुपमा चुनिएका थिए। तर उनीहरुनै जनताको हक अधिकारविरुद्ध गएपछि हामी जनतासँग जानुको विकल्प नै छैन। हामी लडिरहेका छौं त्यो तीन करोड नेपालीको लागि लडेका हौं। यो लड्नु पर्ने ती नेताहरुले हो। हामीसँग भएको सम्झौता कार्यान्वयन पनि नहुने कस्तो विडम्बना ।

नेताहरुले सार्वजनिक संस्थान ध्वस्त बनाउने । संस्थानको सेवा मुलक हुनुपर्ने ठाउँमा पैसा कमाउने थलो बनाउने । सबै संस्थानलाई आफ्नो अनुकुल बनाउने काम गरे । राजीतिक हस्तक्षेपले सार्वजनिक संस्थान ध्वस्त भयो । पहिला दक्षिणएसियामा सबैभन्दा राम्रो सेवा नेपाल वायु सेवा निगमको थियो। तर जहिले त्यँहा राजनीति भागबण्डा सुरु भयो अनि हामीले अहिले देखिरहेका छौं नेपाल वायुसेवा कम्पनीको हालत जस्तो छ। ट्रली बसको अवस्था देखिहाल्नु भयो। नेपाललाई चाहिने त ट्रली बस हो नि । अब शाही औषधि लिमिटेड, जनकपुर चुरोट कारखाना हेर्नुस त। सबैलाई ध्वस्त बनाउने । अहिले यो आइओएमलाई पनि ती नै संस्थान जस्तै बनाएर निजी क्षेत्रलाई दिने षड्यन्त्र हुँदैछ।

राजनीतिक दलका नेताले अपराधी, माफिया डनको भूमिका आफैं निर्वाह गर्न थाले। उनीहरुलाई संविधान बनाउने चिन्ता छैन। आफ्ना कार्यकर्ता र दलका मान्छेलाई बनाउने र आफू मोटाउने र संस्थान ध्वस्त बनाउने काम भयो। त्यसैले अहिले हामीले नेताले गर्ने काम गरेका छौं त्यसमा पनि उनीहरु धोका दिँदैछन्। प्रधानमन्त्री एउटा आशाका केन्द्र थिए, उहाँले पनि सम्झौता उल्लंघन गर्नु भयो। हामी कँहा जाने त ? त्यसैले हामी जनताकाबीचमा गएका हौं।

पछिल्लो पटक अनशन बस्नु अगाडि प्रधानमन्त्रीलाई भेट्नु भएको थियो ?
मैले भेटिनँ। यो भन्दा तीन चार महिना पहिला राष्ट्रिय चिकित्सा शिक्षा नीति बनाइयो। एक वर्ष भएपछि हामीले त्यसलाई कार्यान्वयन गर्न दवाब दियौं । कार्यन्वयन नगर्ने हो भने म अनशन बस्छु भने । नीति नबनेसम्म सम्बिन्धन नदिने भन्नु भएको थियो । हामी जनताको पक्षमा लडेका हौं ।

तपाइलाई गलेको हेर्न चाहनेहरु पनि छन्। यस्तो अवस्थामा तपाई आफ्नो कार्यक्रम कसरी अगाडि बढाउनु हुन्छ ?
म झुक्नेवाला छैन। नेपाल नागरिकको कर्तव्य मैले निर्वाह गर्छु। गलत तत्वहरुका कारणले जनताले दुःख पाउनु हुँदैन । त्यसैले म कुनै पनि हालतमा झुक्नेवाला छैन।

भिडियो अन्तरवार्ता


यो पनि पढ्नुहोस्:

डा. केसी पाँचौं अनसनमा

 nagariknews

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress