डा. केसी पाँचौं अनसनमा

काठमाडौं- पाँच दशक ‘निष्ठाको राजनीति’ गरेका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो शपथग्रहणलगत्तै डा. गोविन्द केसीको अनशन तोडाउने सहमति गर्दै भनेका थिए, ‘यो प्रधानमन्त्रीको बाचा हो, तपाईं विश्वास गर्नुस्।’ त्यतिबेला टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. केसी चौथोपटक अनशनमा थिए।
अनशनको सातौं दिन २०७० फागुन २ गते प्रधानमन्त्री निवास, बालुवाटारमा कोइराला र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारीबीच वार्ता भएको थियो। डा. केसीले उठाएका मागमध्ये मेडिकल कलजको अनुचित सम्बन्धनमा लागिपरेको त्रिभुवन विश्वविद्यालय पदाधिकारीलाई कारबाही गर्ने र आइओएमलाई थप स्वायत्तता दिनेबारे आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री कोइरालाले बताएका थिए।
‘म प्रधानमन्त्री भएर आएको छु, तपाईंहरू अनशन खुलाउन पहल गर्नुस्, म माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु, तपाईंहरू मलाई विश्वास गर्नुस्,’ कोइरालाको भनाइ थियो।

उनै कोइराला ‘पटक–पटकको प्रतिबद्धताविपरीत आइओएमको प्राज्ञिक तथा भौतिक क्षमताले धान्नै नसक्ने गरी नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन दिलाउन अग्रसर भएपछि’ उनकै भर परेका डा. केसी आइतबार पाँचौंपटक अनशन बसेका छन्।

‘मैले १३ महिनाअघि उहाँकै प्रतिबद्धताको विश्वास गरेर अनशन तोडेँ, उहाँ निष्ठाको राजनीति गरेर आउनुभएको मान्छे, मेडिकल माफियासँगको लडाइँमा पक्कै मलाई साथ दिनुहुन्छ भन्ने लाग्यो, तर अहिले उहाँ आश्चर्यजनक रूपमा मौन हुनुहुन्छ,’ आइतबार अनशन बस्नुअघि नागरिकसँग कुरा गर्दै डा. केसीले भने।

‘अब मेडिकल माफिया को हो भन्न नै गाह्रो भयो, माफियाले सबैतिर आफ्नो जालो फिजाइसकेको छ,’ उनले भने, ‘प्रधानमन्त्री कोइराला आफैं पनि मेडिकल माफियाको दबाबसामु झुक्नुभयो, आफ्नो प्रतिबद्धतामा अडिन सक्नुभएन, गलत भएको छ भन्ने जान्दाजान्दै सच्याउन सक्नुभएन, उहाँ निरीह हुनुभयो, त्यसैले अब म जनतासामु उपस्थित भएको छु। म सबैलाई भन्न चाहन्छु, तीन करोड जनताको स्वास्थ्य सेवासँग जोडिएको चिकित्सा क्षेत्रको गुणस्तरमा खेलवाड हुनुभएन। मेरो लडाइँ यसैका लागि हो।’

त्रिविका पूर्व उपकुलपति डा. केदारभक्त माथेमा संयोजकत्वको चिकित्सा शिक्षा नीति निर्माण कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनुअघि नै सरकार मेडिकल सम्बन्धन दिन उद्यत देखिएकाले त्यसलाई सफल हुन नदिन अनशनको विकल्प नभएको उनले बताए।संयोजक माथेमाले आफू प्रतिवेदन बुझाउने अन्तिम चरणमा रहेको बताउँदै आएका छन्। हाल मनमोहन मेडिकल, पिपल्स डेन्टल तथा मेडिकल कलेज, नेपाल प्रहरी र काठमाडौं नेसनल आइओएमबाट सम्बन्धन लिन खोजिरहेका छन्।

‘माथेमा समितिको प्रतिवेदन आउँदैछ, त्यसले कहाँ मेडिकल कलेज चाहिन्छ, कहाँ चाहिँदैन भनी सुझाव दिँदैछ,’ उनले भने, ‘सरकारले भने त्यो प्रतिवेदन कुर्ने धैर्यसमेत देखाएन, यो सबै मेडिकल माफियाकै दबाबको नतिजा हो।’

विगतमा डा. केसीसँग पटक–पटक सम्झौता गरेको सरकारले यसपटक भने उनको अल्टिमेटम सुन्नसम्म चाहेन। अघिल्लोचोटि सार्क सम्मेलनको मुखमा डा. केसीले अल्टिमेटम दिँदा सरकारले रातारात वार्ता गरेको थियो। आइओएम पदाधिकारी र टिचिङ अस्पतालका चिकित्सकसँग हारगुहार गरेर डा. केसीलाई मनाएको थियो। यसपालि भने दस दिनअघि दससूत्रीय माग अघि सारेर अल्टिमेटम दिएका डा. केसीलाई सरकारले औपचारिक रूपमा कुनै ‘रेस्पोन्स’ गरेन।

‘यो १० दिनमा सरकारले वार्ताको कुनै पहल गरेन,’ डा. केसीले भने, ‘शुक्रबार मुख्यसचिव लीलामणि पौड्यालसँग एसएमएसमा अनौपचारिक कुराकानी भएको थियो, त्यत्ति हो।’

आइओएमले ‘सम्बन्धन नदिने’ भनी बिहीबार निर्णय गरेपछि मुख्यसचिवले एसएमएस पठाएको उनले बताए। जबाफमा उनले लेखे, ‘आइओएमले विगत दुई वर्षमा चार–पाँचचोटि सम्बन्धन नदिने निर्णय गरिसकेको हो, तर त्यसले कुनै परिवर्तन ल्याउन सकेन। यसपालि म यही निर्णयका आधारमा पछि हट्दिनँ, म आफ्ना १० बुँदे मागमा दृढ छु र आइतबारदेखि अनशन बस्दैछु।’

‘त्यसपछि पनि सरकारबाट कुनै प्रतिक्रिया आएन,’ डा. केसीले भने।

सरकारले १० दिनसम्म आफ्ना मागमा मौन साँधेपछि आइतबार दिउँसो १ बजे टिचिङ अस्पताल परिसरमा रहेको ‘डक्टर्स रूम’ मा पत्रकार सम्मेलन गर्दै उनले अनशन घोषणा गरेका हुन्।

सम्मेलनलगत्तै उनलाई आइओएम पदाधिकारीले बोलाएर ‘विरोध कार्यक्रम नगर्नू, नगराउनू’ भनी चेतावनीपत्र थमाएका थिए। पत्र बुझेपछि अस्पतालबाहिर निस्किएका डा. केसीले अनशनअघिको अन्तिम खाना भन्दै ‘भेज चिउरा सेट’ र कोक खाए। त्यसपछि आइओएमले थमाएको पत्र र आफ्नो कार्यक्रमबारे विद्यार्थी तथा रेजिडेन्ट डाक्टरसँग केहीबेर परामर्श गरे। आइओएमले टिचिङ अस्पताल परिसरभित्र विरोध कार्यक्रम नगर्नू भनेकाले अनशन स्थलबारे पनि छलफल भयो। रेजिडेन्ट डाक्टरहरूले अस्पताल प्रांगणमै अनशन बस्न सुझाए।

ठूलो संख्यामा उपस्थित रेजिडेन्ट चिकित्सक एवं विद्यार्थी र केही वरिष्ठ चिकित्सकमाझ अनशन सुरु गर्नुअघि डा. केसीले ‘तीन करोड नेपालीको स्वास्थ्यमाथि खेलवाड हुने कुनै पनि निर्णयलाई टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले अनशन थाल्नुपरेको’ बताए।

‘स्वास्थ्य सेवा र मेडिकल शिक्षाको पहुँच तथा गुणस्तरमै ह्रास आउने गरी सरकारले चालेका कदमलाई टुलुटुलु हेरेर बस्न मेरो अन्तरआत्माले दिएन,’ उनले भने, ‘कुनै पनि निकाय माफियाको प्रभावसामु नटिकेपछि फेरि पनि अनशनको विकल्प रहेन।’

त्यसअघि पत्रकार सम्मेलनमा डा. केसीले ‘शिक्षामन्त्री र त्रिवि पदाधिकारी यसअघि नै माफियाको स्वार्थसिद्धिमा लागिरहेको अवस्थामा प्रधानमन्त्रीले समेत आफैंले बनाएको कार्यदलको प्रतिवेदन नकुरी सम्बन्धन खुला गरेपछि नागरिक गुहार्नुको विकल्प नदेखेको’ बताएका थिए।

‘पहिला जनता रैती थिए, अब नागरिक भएका छन्,’ उनले भने, ‘सरकार चलाउनेहरू भने अझै रैती नै सम्झिन्छन्।’

‘अहिले पनि हजारौं जनता बसोबास गर्ने ग्रामीण क्षेत्रमा अस्पताल छैन, भएका ठाउँमा चिकित्सक पर्याप्त छैनन्, योग्य र क्षमतावान विद्यार्थीले चिकित्सा शिक्षा पढ्ने वातावरण बनेको छैन, सरकार भने जथाभाबी कलेज खोल्ने काममा लागेको छ,’ उनले भने, ‘म कलेज खोल्न हुन्न भन्दिनँ, तर ग्रामीण क्षेत्रमा खोल्नुपर्छ।’

एक वर्षअघि आठ दिन लामो चौथो अनशन तोड्ने क्रममा सरकारसँग ‘सम्बन्धन प्रकरण छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने, आइओएमलाई स्वायत्तता दिन २१ दिनभित्र विश्वविद्यालय सभा बोलाउने, त्रिवि पदाधिकारीसँग स्पष्टीकरण सोध्ने’ सहमति भएको थियो। यी कुनै सहमति पालना भएका छैनन्। उल्टो भौतिक पूर्वाधार विस्तारका नाममा आइओएम टुक्र्याएर कीर्तिपुर सार्ने र धमाधम सम्बन्धन बाँड्ने खेल भइरहेको डा. केसीको भनाइ छ।

यसबीच प्रधानमन्त्री कोइरालाले नै फागुन १ गते त्रिवि कुलपतिको हैसियतमा शिक्षामन्त्री चित्रलेखा यादवलाई पत्राचार गरी सम्बन्धन खोलेका थिए। उनले सत्तासाझेदार नेकपा एमाले नेताका दबाब र प्रभावमा ‘प्रचलित कानुनअनुसार सम्बन्धन प्रक्रिया जारी राख्न’ शिक्षा मन्त्रालयलाई पत्र पठाएका थिए।

यही पत्रका आधारमा शिक्षामन्त्री यादवले फागुन ६ गते त्रिविलाई र त्रिविले फागुन १७ तथा २७ गते आइओएमलाई पत्राचार गरी सम्बन्धन प्रस्ताव अघि बढाउन निर्देशन दिएका थिए%E@

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

1 Comment

  1. Pingback: ‘म झुक्नेवाला छैन’ (भिडियो सहित) - Digital Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress