पहाडमा पर्यटक लैजान पहल


चितवन-चितवनको पहाडी क्षेत्रका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न होटल व्यवसायी अग्रसर भएका छन्। चितवन होटल व्यवसायी संघले पहाडी क्षेत्रको लामो झरना, सिराइचुली, उपरदाङगढीलगायत ठाउँमा पर्यटक लैजान पहल सुरु गरेको हो। संघका पदाधिकारीले त्यस क्षेत्रमा पर्यटक लैजाँदा दिनुपर्ने सुविधा र शुल्कका विषयमा अध्ययन सुरु गरेका छन्।
‘हाम्रा होटलमा आउने पर्यटक लामो झरना, सिराइचुली र उपरदाङगढी जान चाएको धेरै पाइयो। ती क्षेत्रमा लैजाँदा के गर्नु पर्ला भनेर हामीले योजना बनाउन थालेका छौं,’ संघका सल्लाहकार दिनेशकुमार चुकेले भने। भरतपुर, नारायणगढ र मुग्लिन क्षेत्रका होटल व्यवसायी यो अभिायनामा सामेल छन्।
चण्डिभञ्ज्याङ गाविसमा पर्ने लामो झरनामा सय मिटरभन्दा अग्लो ठाउँबाट लगातार पानी झर्छ। नारायणगढ–मुग्लिन सडक खण्डको जलबिरेमा पर्ने लामो झरना चितवनमा पछिल्लो समय आकर्षक बन्दै गएको पर्यटकीय गन्तव्य हो। काउले गाविसमा पर्ने जिल्लाकै अग्लो चुचुरो सिराइचुलीबाट सूर्योदयको मनोरम दृश्य देखिन्छ।सिराइचुली समुद्र सतहदेखि एक हजार ९ सय ४६ मिटर उचाइमा छ। त्यहाँबाट उत्तरतर्फ लमतन्न परेको हिमालको लामो शंृखला देखिन्छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको हुग्दीबाट १५ किलोमिटरभन्दा धेरै ठाडो उकालो हिँडेपछि काउले गाविसको हात्तीवाङ पुगिन्छ। हात्तीवाङमा बास बसेपछि बिहान सबेरै सूर्योदय हेर्न सिराइचुली जान सकिन्छ।

दाहखानी गाविसमा पर्ने उपरदाङगढी जिल्लाको पुरानो सदरमुकाम हो। सो ठाउँमा बहादुर शाहको पालामा बनेको पुरानो किल्ला छ। सिराइचुली र उपरदाङगढी सडक सञ्जालबाट टाढा छन्। हुग्दीबाट हात्तीवाङसम्म जान पहाडी कच्ची बाटो छ। गाडी निकै कम चल्छन्। साना गाडी रिजर्भ गरेर लैजान सकिन्छ। स्थानीय सामान र यात्रु बोक्न साना ट्रक चल्छन्।

‘हात्तीवाङमा होमस्टे पनि छन्। नजिकैको तल्लो काउलेमा पर्यटक बस्न मिल्ने राम्रा घर छन्। उपरदाङगढीमा पनि केही होमस्टे छन्,’ चितवन होटल व्यवसायी संघका अध्यक्ष डाँसीराम ढकालले भने। एक दिनमा ४०/४५ जना पर्यटकलाई खान बस्न मिल्ने सुविधा त्यहाँ उपलब्ध रहेको उनले बताए।

‘अहिले उपलब्ध सुविधाका आधारमा प्याकेज बनाउने तयारी छ,’ सल्लाहाकार चुकेले जानकारी दिए। यसका साथै सुविधा थप्न सरकारलाई अपिल पनि गर्ने उनले बताए। जलबिरेको लामो झरना हेर्ने र सिराइचुली जाने, सूर्योदय हेरेर उपरदाङगढीसम्म पुग्ने कार्यक्रम बनाउन सकिने सम्भावना रहेको उनले बताए। यसका लागि दुई रात तीन दिनको प्याकेज बन्न सक्छ।

नारायणगढबाट जलबिरे हुँदै उपरदाङगढी पुगेपछि शक्तिखोर हुँदै पूर्वी चितवनको रत्ननगर पुगेर भरतपुरतर्फ आउनुपर्ने हुन्छ। ‘हिँड्नु पनि धेरै पर्छ। सुविधा अहिले पर्याप्त छैन। त्यसैले के कसरी पर्यटकलाई सुविधा हुन्छ र उनीहरु रमाउन सक्छन भनेर सोच्दै छौं,’ होटल संघका अध्यक्ष ढकालले भने। ती क्षेत्रमा अहिले पनि फाट्टफुट्ट विदेशी र केही स्वदेशी पर्यटक पुग्छन्।

प्राकृतिक दृश्यका साथै यी क्षेत्रमा आदिवासी चेपाङसहित गुरुङ, मगर जस्ता जनजातिको रहनसहन जान्न न र रमाउन पाउने अवसर पनि पर्यटकलाई छ। स्थानीय खानाको स्वादले पनि पर्यटकलाई लोभ्याउने चुकेले बताए। पर्यटन फस्टाए ती क्षेत्रमा बस्ने स्थानीय जाति जनजातिको आर्थिक अवस्था उकासिने उनको भनाइ छ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress