‘फर्गेट मी …तिम्रो मुटु छैन’ – तीर्थ सिग्देल


२६ फागुन, काठमाडौं । तिम्रो मुटु धड्किन्छ कि धड्किँदैन ? जुन मुटुले फेर्ने सासले मेरो आस जगाएको थियो । आज त्यो मुटुको चाल कस्तो छ ? कता, कुन गतिमा दौडदैछ, तिम्रो रगत ? कुन प्रगतिमा रमाएको छ, तिम्रो वर्तमान ? सायद मेरै भूल हो कि तिम्रो कसम, जसका लागि मैले जगाएको आशा मरेछ । यति छिट्टै यसरी आशाको दीयो निभ्ला भन्ने मैले कल्पनासम्म गरेकी थिइन । किन …यस्तो सोच्यौ ? कसरी यस्तो गर्यौ ?

‘फर्गेट मी …
‘तिम्रो मुटु छैन’…


अचानक यस्तो भावुक शब्दावलीको सामना गर्नुपर्दा रुन मन लाग्नु स्वाभाबिकै हो । तर, उसलाई थाहा थियो । रोएर मात्र समस्याको समाधान हुुनेवाला छैन । रुने त कमजोरले हो । बलियो र बाँगोले त सामना गर्ने हो । सामना गर्ने हो, समस्याको र समाधान गर्ने हो, कठिनाइको । समस्या र कठिनाइबाट भाग्ने त कायर हुन्छ, काँतर मात्र पुच्छर फर्काएर भाग्छन् ।

फेरि पनि मुटु नभएको आरोप खेप्नु पर्दाको पीडा त छँदैछ । ऊ पीडाबोध गरिरहेको छ, मुटु नहुनुको । आफ्नै धड्कनमाथि, आफ्नै प्रीय मुटुमाथि नभएको आरोप खेपिरहँदा पनि बिश्वास छैन ।
सीमाको त्यो मन पलाल्ने त्यो शब्द के हो त ? उसको त्यो मुटु नै छुने शब्द कस्तो हो ? के साँच्चै मेरो मुटु छैन ? ऊ सोच्न बाध्य छ ।

मुटु हुँदा र नहुँदाको अन्तर केलाउन थाल्दा उसले खासै अन्तर त पाएन । तर, शब्दरुपी बाँडको सामना गर्न भने नसक्दा उसलाई लाग्दैछ, साँच्चै उसले भनेजस्तो मेरो मुटु छैन कि क्याहो …? यसो छातिको देब्रे पाटो छामेर हेर्यो उसले । निक्कैबेर त्यहाँ हात राखिरह्यो । ढक्…ढक््… आवाज सुनियो । अनि मात्र बिश्वास लाग्यो उसलाई । हैन… मेरो मुटु नै त नभएको कहाँ हो रैछ र ?
मनको शान्ति न हो । बिश्वास न हो । मन र मस्तिष्क बीचको अन्तरले मान्छेलाई अल्मल्याउँदो रैछ । मनले सोच्छ, त्यसपछि बल्ल मस्तिष्कले अह्राउँछ । अनि शरिरले काम गर्छ । शरिरका अंगप्रत्यंगहरु, जो आँफै काम गर्न सक्दैनन् । उनीहरुलाई अह्राउनु पर्छ । मेरो मुटुले पनि आँफै काम गर्न नसकेर पो हो कि उसले त्यसो भनेकी …

सायद उसको मनको तरंगले छुन नसकेर हो या तनको रंगले धुन नकसेर हो । आज जसरी अर्जुनको जस्तो तिखो शब्दको बाँडले त्यही मुटुमा लाग्यो । त्यसपछि उसको मुटु अलिक छिटो छिटो धड्किँदै छ । त्यतिबेला मात्र उसले महसुस गर्यो । साँच्चै मुटुमा कुनै गम्भिर चोट लागेको छ या मनमा खोट । मुटुमा लागेको चोटले असह्य पीडा हुँदो रैछ । बरु तनमा लागेको चोट चोट नै हैन । तनमा लागेको चोट त एउटा सामान्य एमबीबीएस डाक्टरले नै चट् पार्न सक्छ । मनमा लागेको खोट बरु पखाल्न सकिएला । तर, मुटुमा लागेको चोट त न सर्जनले निको पार्न सक्छ न बैद्यले । किनकी मुटु त यति संबेदनशील हुँदो रैछ । यति कोमल हुँदो रैछ ।

हुनतः मुटु नभए कोपो बाँच्ला र ? मुटु नै नभएकासँग संबेदना हुँदैन । मसँग त संबेदना छ । बेदना छ ।
प्रीय सीमा…
मुटु नभएको आरोप लागेको रात म निदाउँन सकिन । सुत्न सकिँन, थाहा छ ? तिमी त निदायौ नै होला । किनभने मनको शान्ति नै सही कमसेकम् तिमीले एउटा शब्दबाँड त म तिर फ्याक्यौ । तिम्रो मनले कल्पेको त्यो शब्दले मेरो मुटुमै ठ्याक्कै लाग्यो । ठीक ठाउँमा प्रहार गरयौ, तिमीले । हो… दुश्मनलाई यसरी नै हो हान्ने । मर्नेगरि…

त्यही शब्दबाँडले लागेर म सुनको मृग झै ढलेको छु । एउटा भोको शिकारी झैं तिमी मेरो बरिपरि घुमिरहेको जस्तो अल्प सपना देख्दैछु । आँखामा मन्द बिषजस्तै निन्द्रा घोलिएको बेला झिरझिर यस्तै दृश्य देख्दैछु । हातमा अरु धेरै बाँड बोकेर पनि मेरो मुटुमा लागेर रगतै रगतले लत्पतिएको एउटा बाँड झिक्ने कोशिष गरिरहेको एउटा क्रुर शिकारीको पन्जामा म परेको दृश्य मेरा आँखामा नाँचिरहेका छन् । एउटा ब्यादाले जसरी मृग मारेर खाने योजना बनाउँछ, त्यसरी नै मेरो मुटुमा लागेको त्यो बाँडले तिम्रो पनि योजना पक्कै पूरा नै भयो होला । किनभने म त्यो शिकारी हैन, जसले तिम्रो कोमलतालाई आत्मसात गर्न सकेन । तिम्रो तनलाई अंगाल्न सकेन । म त्यो शिकारी हैन, जसले तिम्रो शरिरमाथि अधिकार जमाउन चाहेन । तिम्रो रहर पूरा गर्न सकेन । म त्यो ब्याभिचारी हैन, कुनै कुचक्र गर्न मनले मानेन । तिमीलाई दुश्चक्रमा फँसाउँन चाहेन, म त्यो शिकारी पक्कै होइन ।

के मेरो दोश यही हो ?

हो… आज मेरो मुटु छैन, तिमीले भनेजस्तो । तिम्रो प्रहारले मेरो मुटु छियाछिया परेको छ । खिया परेको छ, मेरो मुटु । बरु यतिबेला तिम्रो मुटुले शान्ति महसुस गरिरहेको होला । मनले पनि त्यस्तै सोच्दै होला । तनमा आरामै होला । तर, यो कुरा बुझिराख मुटु हुनु र नहुनुका बिचमा धेरै असमानता हुन्छ । जतिबेला रगतले आफ्नो चाललाई सही ढंगले चाल्छ, त्यतिबेलासम्म त ठीकै हो…मजा आउँछ । जव रगतले आफ्नो चाल बदल्छ, जव ब्ल्डप्रेसरले सताउँछ, त्यतिबेला शरिरले आराम पाउँदैन । त्यतिबेला न मन शान्त हुन्छ, न तन शान्त ।

हो…त्यतिबेला तिम्रो पनि मुटु दुःख्न सक्छ । हो… त्यतिबेला तिम्रो मुटु पनि सुक्न सक्छ । हो…त्यति नै बेर तिम्रो पनि मुटु नहुन सक्छ । के त्यतिखेर म तिमीलाई त्यसो भन्न सक्छु होला र ?
जसरी तिमीले एकै झोंकमा भन्यौ ।
‘फर्गेट मी …
‘तिम्रो मुटु छैन’…
(बिर्तामोड)

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *