५५ वर्षअघि नै बनेको संसारकै छिटो र सबभन्दा उचाइमा उड्ने विमान

तपाईंलाई थाहा छ संसारमै सबभन्दा छिटो उड्ने विमान कुन हो? सबभन्दा लामो दुरी उड्ने नि? वा, सबभन्दा धेरै उचाइमा उडेको विमान?

यस्तो विमान कुनै कम्पनीले बनाइरहेको होला भन्ने तपाईंको अड्कल हो भने एउटा महत्वपूर्ण विमानको कथा पढ्नुभएको छैन।

माथिका तीनै प्रश्नको जवाफ एउटै हो, लकहिड एसआर–७१।

यो विमान भर्खरै बनेको वा भविष्यमा बन्नेवाला होइन, ५५ वर्षअघि अमेरिकाको ‘लकहिड’ कम्पनीको ‘स्क‌ंक वर्क्स’ विभागले बनाएको हो।

आजसम्म यो विमानको गति, उचाइ र पार गरेको दुरी उछिन्ने अर्को विमान छैन। यो सर्वसाधारणको यात्रा निम्ति भने होइन। यो शीतयुद्ध बेला प्रयोग भएको अमेरिकी वायुसेनाको जासुसी विमान हो।

जासुसी विमान भन्नेबित्तिकै अनुमान लगाउनुभयो होला, यो कति गोप्य थियो। सन् १९५० दशकको अन्तिमतिर स्क‌ंक वर्क्सका इञ्जिनियरहरूले यसलाई गोप्य रूपमा डिजाइन गरेका थिए। त्यो बेला स्याटेलाइट र ड्रोन थिएनन्। युद्ध बेला दुश्मनको इलाकामा जासुसी गर्न बनाइएको लकहिड एसआर–७१ लाई दुश्मन फौजले पत्ता लगाउन सकेन। 

निकै शक्तिशाली यो विमानले तेर्सो र रकेटको शक्तिबिना सबभन्दा चाँडो उड्ने रेकर्ड आजसम्म आफ्नै नाममा सुरक्षित राखेको छ। सन् १९७६ मा एसआर–७१ ले ३ हजार ५ सय २९ दशमलव ६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा ८५ हजार ६९ फिट उचाइमा उड्दै हालसम्मकै रेकर्ड बनाएको हो।

तापक्रम सन्तुलन मिलाउन यो विमानमा कालो रङ लगाइएको थियो। त्यसैले यसलाई ‘ब्ल्याक बर्ड’ अर्थात् कालो चरा पनि भनिन्छ। भिन्न आकार र बनावट भएको यसको जस्तो डिजाइनमा न तत्कालीन समयमा अर्को कुनै विमान बनेको थियो न पाँच दशक पार हुँदा बनेको छ।

उड्ययन इतिहासकार तथा ‘डिजाइन एन्ड डेभलपमेन्ट अफ ब्ल्याक बर्ड’ किताबका लेखक पिटर मर्लिन यो विमानलाई आजका दिनमा पनि भविष्यको परिकल्पना भन्छन्।

‘उ जमानामा बनेको भए पनि यो अझै भविष्यमा बन्ने विमानझैं देखिन्छ। ब्ल्याक बर्डको शरीर घुमाउरो छ। पखेटा बटारिएजस्ता देखिन्छन्। बनावटकै कारण यो यान्त्रिकभन्दा बढी जैविक देखिन्छ। विमान मान्छेले बनाएका हुन् र त्यस्तै नै देखिन्छन्। तर ब्ल्याक बर्ड आफैं बनेको जस्तो देखिन्छ,’ पिटरले भनेका छन्।

यसरी बनेको थियो ब्ल्याक बर्ड

सन् १९६० मा ‘यू–टु’ नामको अमेरिकी जासुसी विमानले रुसी आकाशमा ‘एरियल’ फोटो लिँदै गर्दा गोली हानियो। अमेरिकाले पहिले उक्त विमान मौसम अनुसन्धानका लागि पठाएको भनेको थियो। रुसले कब्जा गरेको विमानका पाइलट र उनीहरूले खिचेका फोटा सार्वजनिक गरेपछि अमेरिकाले केही प्रतिक्रिया दिन सकेन।

उक्त घटनापछि अमेरिकाले छिटो र धेरै माथि उड्न सक्ने नयाँ विमान बनाउनुपर्ने भयो।

पिटर भन्छन्, ‘सिआइएलाई ९० हजार फिटभन्दा माथि उड्ने विमान चाहिएको थियो। योसँगै जतिसक्दो तीव्र उड्ने र सम्भवतः राडारमा अदृश्य हुने विमान आवश्यक थियो।’

यस्तो महत्वाकांक्षी मेसिन डिजाइन गर्ने जिम्मा त्यो बेलाका सबैभन्दा राम्रा विमान डिजाइनरमध्येका क्लारेन्स ‘कैली’ जोन्सनले पाए। क्लारेन्स र उनका इञ्जिनियरको टोलीले स्क‌ंक वर्क्स विभागमार्फत् यो काम गरेका थिए।

क्लारेन्ससहितको ब्ल्याक बर्ड टोलीले सन् १९९० मा अवकाश पाएका थिए। त्यसै वर्ष क्लारेन्सको निधन पनि भयो। अवकाश पाउने बेला क्लारेन्सले विमान बनाउँदा हरेक कुरा आफैं आविष्कार गर्नुपरेको बताएका थिए।

ब्ल्याक बर्ड श्रृंखलाको मुख्य विमान ए–१२ थियो जसले सन् १९६२ अप्रिलमा पहिलो उडान गर्यो। क्लारेन्सको टोलीले १३ वटा यस्ता विमान बनाएका थिए। यी सबैको निर्माण सिआइएद्वारा गोप्य रूपमा सञ्चालन गरिएको थियो।

टाइटेनियमले बनेको ब्ल्याक बर्ड

दुई हजार माइल प्रतिघन्टा गतिमा उड्न सक्ने गरी डिजाइन गरिएको ब्ल्याक बर्डको संरचना सामान्य विमानको तुलनामा अलग छ। यति तीव्र गतिमा उड्ने विमान वरपरको वातावरणका कारण तातेर पग्लिनै सक्छ। त्यसैले ब्ल्याक बर्डको बाहिरी आवरण टाइटेनियमले बनाइएको थियो। टाइटेनियम यस्तो धातु हो, जसले उच्च तापक्रम सहन सक्छ र स्टिलको तुलनामा हलुका पनि हुन्छ।

तर टाइटेनियमबाट विमान बनाउन सहज थिएन। निर्माण निकै चुनौतीपूर्ण र धेरै समस्या झेलेको पिटरले बताएका छन्।

विमानका पूरै उपकरण टाइटेनियमकै बनाउनुपर्ने थियो। स्टिलको नियमित सम्पर्कमा टाइटेनियम छरपस्ट हुने भएकाले पहिले भएका कुनै उपकरणले काम दिन्थेन।

अर्को समस्या त्यति धेरै टाइटेनियम कहाँबाट कसरी ल्याउने भन्ने थियो। पिटरका अनुसार त्यो बेला टाइटेनियमको मुख्य आपूर्तिकर्ता नै रुस थियो। दुश्मनसँग ‘लड्न’ गोप्य रूपमा बनाउने विमानको सामान उसँगै माग्ने कुरा भएन। त्यसैले अमेरिकाले गैरकानुनी र फर्जी कम्पनीहरूबाट किनेको पिटरले जानकारी दिएका छन्।

प्रारम्भिक उडान गर्दा विमानको रङ कालो थिएन। सन् १९६४ मा यसमा कालो रङ लगाइयो र ब्ल्याक बर्ड नामकरण गरियो।

पिटरका अनुसार सामान्य विमानको बनावट र धातुका कारण राडारमा चिनिने भएकाले ब्ल्याक बर्डहरू कहिल्यै प्रयोग नगरिएका सामानले बनाइएको थियो। एकदमै धेरै उचाइमा पुग्ने, मिसाइलभन्दा छिटो र राडारमा मुश्किलले देखिने ब्ल्याक बर्ड वास्तवमै कुनै समस्याबिनै दुश्मनको इलाकामा पुग्न सफल भयो र शत्रुको गोली लागेन।

ब्ल्याक बर्ड रुसी आकाशमा भने उडेन। पहिलेको घटनाका कारण अमेरिकाले रुसको आकाशमा यसरी उडान गर्न रोकेको थियो। तर शीतयुद्धमा ब्ल्याक बर्ड मध्यपूर्व, भियतनाम, उत्तर कोरिया लगायत अन्य क्षेत्रमा उडेको थियो।

सुरूमा जासुसी गर्न बनाइएका भए पनि छोटो अवधिमै ए–१२ लडाकु विमान बन्न थाले। लडाकु विमानमा आकाशमा अरू विमानमाथि आक्रमण गर्ने मिसाइल र ककपिट थपिएको थियो।

पछि ए–१२ जस्तै नयाँ विमान वाईएफ–१२ बनाइयो। ए–१२ गोप्य रूपमा बनाइएको भए पनि वाईएफ–१२ लाई सन् १९६४ मा राष्ट्रपति लाइडन जोनसनले सार्वजनिक गरेका थिए। वाईएफ–१२ का तीन विमान भने अमेरिकी वायुसेनाले बनाएर सञ्चालन गरेको थियो।

ए–१२ को तेस्रो संस्करणका रूपमा अर्को विमान एम–२१ बनाइयो। यस्ता दुइटा विमान बनिसकेका थिए तर सन् १९६६ मा आफ्नै विमानसँग ठोक्किएपछि यसको काम रोकियो। दुर्घटनामा एक पाइलटको निधन भएको थियो।

दुइटा ककपिट र धेरै इन्धन क्षमता भएको ए–१२ को अन्तिम संस्करण एसआर–७१ हो जसले सन् १९६४ डिसेम्बरमा पहिलो उडान भरेको थियो। त्यसपछि अमेरिकाले ३० वर्षभन्दा बढी समय गोप्य मिसनका लागि एसआर–७१ नै चलायो। यो क्रममा ३२ वटा एसआर–७१ विमान बने। योसँगै ब्ल्याक बर्ड श्रृंखलाका विमान ५० पुगे।

सफलतापूर्वक काम सक्ने यो विमानको विश्वसनीयतामा भने समस्या थियो। १२ वटा विमान दुर्घटनामा परेर हराएका थिए। साथै यसको सञ्चालन प्रक्रिया निकै जटिल भएको पिटर बताउँछन्।

‘यसको तयारीमै निकै सेना खटाउनुपर्थ्यो। पाइलटका लागि अन्तरिक्षयात्रीले लगाउनेझैं विशेष लुगा बनाइएको थियो। अझ तीव्र गतिमा उड्दा ककपिट एकदमै तातो हुन्थ्यो। पाइलटहरू आफ्नो खानासमेत त्यहीँ तताएर खान सक्ने भएका थिए,’ विमान सञ्चालनका जटिलताबारे पिटरले भनेका छन्।

सन् १९९० दशकमा मानवरहित ड्रोन र अन्य प्रविधि विकास भएसँगै यस्ता विमानको काम रोकियो। एसआर–७१ का दुइटा विमान अन्तिमपटक सन् १९९९ मा नासाले एक अनुसन्धानका लागि उडाएको थियो।

तीबाहेक बचेका सबै ‘ब्ल्याक बर्ड’ संग्रहालयमा राखिएका छन्।

S:Setopati

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *