मन्दिरका पुजारी जनजाति, बडादशैं बाहुनको ?

दशैं नेपालको सबैभन्दा ठूलो चाड हो । धेरैलाई पुराना सम्झनामा लगेर झक्झक्याउने काम दशैंले जति सायदै अन्य चाडले गर्छन् । किनकि दशैं यस्तो चाड हो, जुन हिमालदेखि तराईसम्मका, बाहुनदेखि दलितसम्मले आफ्नै संस्कृतिका रुपमा मनाउँछन् । सरकारले पनि यस चाडलाई विशेष महत्व दिएर विदा दिने गरेको छ ।

तराईमा पनि धुमधामका साथ नवरात्रभरि नौ दिनसम्म देवीदुर्गा (नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री ) को पूजा हुन्छ ।

पहिला पहिला दशैं आउनु भनेको बच्चाहरुले नयाँ लुगा पाउनु हुन्थ्यो भने अहिले बसाइँसराइ र विकसित भएको समाजको संरचनाले त्यो मान्यता फेरिएको छ । अहिले दशैं आउनु भनेको गाउँ जानु हो ।

शहरमा भएकाहरु गाउँ गएनन् भने न शहरकालाई दशैं आउँछ, न गाउँमा कुरेर बस्नेलाई । बच्चाबच्चीहरूको एक बर्षदेखिको धोको हुन्छ, दशैँमा गाउँ जाने । त्यसैले दशैँमा शहरबाट गाउँ जानेको लर्को लाग्छ ।

शहरमा बसेर जागिर गर्ने, पढ्नेहरू मात्र हैन, शहरमै घर बनाएर बसेकाहरू पनि आफन्त भेट्न, छुट्टी मनाउन र ठूलाबडाको आशीर्वाद लिन दशैंमा गाउँ जान्छन् । त्योबेला काठमाडौँका सडक प्रायः रित्तै हुन्छन् र रित्तै सडकमा रैथाने केटाकेटी क्रिकेट खेलिरहेका भेटिन्छन् । त्योबेला काठमाडौं साँच्चै हेर्न र बस्न लायक हुन्छ । शान्त, सुनसान र कोलाहलरहित ।शहरमा भएकाहरु गाउँ गएनन् भने न शहरकालाई दशैं आउँछ, न गाउँमा कुरेर बस्नेलाई । बच्चाबच्चीहरूको एक वर्षदेखिको धोको हुन्छ, दशैँमा गाउँ जाने

यसको मतलब, हरेक एक नेपालीले आफ्नो चाड आएको महसुस गर्ने एकमात्र चाड हो दशैं ।

दशैं कसको चाडपर्व ?

सबैले मेरो चाड भन्ने यस्तो दशैँ केही वर्षयता कतिपयले कालो टीका लगाएर दशैँ बहिष्कार गरेको सुन्न थालिएको छ । अनि यहीबेला कसैलाई थुक्ने, कसैको फोटो जलाउने आदि आन्दोलन भएको पनि हेरिरहेका, भोगिरहेका छौँ हामीले ।

त्यसैले के दशैँ कसैलाई दबाउन र उक्साउन सुरु भएको थियो ? दशैं कसरी सुरु भयो भन्नेबारे चर्चा गरौंं ।

दशैँमा देवीको पूजा हुन्छ । नौरथाभरि नौ देवीलाई पुज्ने चलन नेपालमा मात्र हैन, भारतमा पनि छ । नवरात्रभर पुजिने नवदुर्गा, जसलाई शक्तिस्वरूपा पनि भनिन्छ । नवदुर्गाका यी नौ रूपको आश्विन शुक्लपक्ष प्रतिपदाको दिनदेखि महानवमीको दिनसम्म एक एक गरी नौ दिनसम्म पूजा गरिन्छ ।

तर, नेपालमा देवीको पूजा गर्ने चलन फरक छ । जमरा राखेर, नौ दिनसम्म देवीलाई पुजिन्छ । ठूलाबडाको हातबाट टीका थाप्ने र आशीर्वाद लिने थप चलन छ नेपालमा ।

दुर्गापूजाको समयमा पूजा गरेर राखिएका हतियार चलाउन युद्धमै निस्किए पनि साइत हेर्न पर्दैन भन्ने मान्यता छ । नवरात्रको दुर्गापूजा र विजयादशमीको सम्बन्धमा धर्मशास्त्रीय ग्रन्थ खोतल्दा देवीका प्रशंसा र पूजाका विषयमा लेखिएका किताबमा दुर्गोत्सवविवेक, दुर्गापूजाप्रयोगतत्त्व, दुर्गोत्सवपद्धति, मार्कण्डेयपुराण (देवीमाहात्म्य अर्थात् दुर्गासप्तशतीको पाठ), आदि पर्छन् ।

नेपाली विद्वानहरुकै कुरा गर्ने हो भने उन्नाइसौँ शताब्दीका वाणीविलास पाँडेको दुर्गाकृत्यकौमुदी र लक्ष्मीपति पाँडेको दर्गोत्सवकल्पतहरु पनि छन् ।

दुर्गापूजा र पशुबलि दशैँका विशेषता हुन् । जहाँ जुन समुदाय छ, त्यहाँको देवीमन्दिरमा तिनै जातका पुजारी छन् । हाम्रो समाजमा भएका ९९ प्रतिशत देवीमन्दिरमा जनजाति पुजारी छन् । यी तथ्यले के देखाउँछ भने दशंै ब्राह्मणहरुको नभएर रैथाने जनजातिको चाड पनि हो ।

दशैँ आउनै लाग्दा देशभरिका अधिकांश देवीमन्दिरहरु कहाँ कसरी कुन जातिका पुजारी छन् भन्ने विषयमा एकैछिन फेरो लगाऔँ ।

हामीले मनका हरेक इच्छा पूरा गर्ने देवीको रुपमा पूजा गर्ने एक प्रसिद्ध शक्तिपीठ या देवीमन्दिर हो मनकामना । मनकामना मन्दिरमा दशैंको अष्टमीका दिन बलि दिएर पूजा गरिन्छ ।

मनकामनामन्दिरका मूल पुजारी शुरुदेखि नै रैथाने थापा मगर छन् । हालका पुजारी पनि लखन थापाका सत्रौँ पुस्ताका सन्तान हुन् । पृथ्वीनारायण शाहका मगर र खस सेनाले लिम्बुवानका सेनालाई जितेर आएपछि लखन थापाले यहीँ आएर खड्ग बिसाएको र त्यही समयदेखि उनका पुस्ता यहाँको पुजारी हुन थालेको कुरा त्यहाँको शिलालेखमा उल्लेख छ ।

स्याङ्जाको साताैं चण्डीथान मन्दिर अर्को चर्चित देवीमन्दिर हो । त्यहाँ दशैँको समयमा मेला लाग्छ । सतौँ चण्डीथान मन्दिरका पुजारी थापा मगर छन् । पोहोर दशैँमा यो पंक्तिकार त्यहाँ पुग्दा पुजारी प्रेम थापा मगरले भनेका थिए, ‘यो हाम्रो पुस्तौनी पेशा हो । कति पुस्ताबाट यो मन्दिरका पूजारी मगरहरु थिए, ठयाक्कै मिति त भन्न सक्दिनँ । तर, यो मन्दिरमा सुरुदेखि नै हाम्रा पूर्खा पुजारी थिए । जहाँ महिला (देवी) कै पूजा गरिन्छ, त्यहाँ महिलाहरूलाई प्रवेश दिइँदैन ।

त्यस्तै बाराको गढीमाई मन्दिरमा नेपालको मात्र हैन भारत, बंगलादेश, भुटानसम्मका भक्तालुहरुको भीड लाग्ने गर्छ । गढीमाई नेपालको मात्र हैन, दक्षिण एसियाकै सबैभन्दा ठूलो बलि दिइने मन्दिर हो । यहाँ मेलाका बेला १० हजार बोका, राँगा, सुङ्गुर, कुखुराको बलि दिइन्छ । यस मन्दिरमा दशैँको अष्टमीको दिन विशेष पूजा हुन्छ । धेरै प्रसिद्ध यस देवी मन्दिरको पूजारी थारु हुन् । उनको पनि पुस्ताैंदेखिको पेशा हो ।

पूर्वको ताप्लेजुङमा रहेको पाथीभरा पनि अर्को प्रसिद्ध देवीमन्दिर हो । यो मन्दिर स्थानीय रैथाने लिम्बूहरूको संरक्षणमा रहेको छ । यहाँका पुजारी क्षत्री भए पनि यहाँको मन्दिरको पहिलो संरक्षण र यसको रेखदेख उनैले गर्दथे । उनीहरुले रैथाने लिम्बू भाषामा पाथीभरालाई मुम्तुवुङ भन्ने गर्दथे । मुम्तुुवुङ दुई शब्द मिलेर बनेको छ । मुम्तुको अर्थ शक्ति अर्थात् बल हुन्छ भने वुङको अर्थ बोट भन्ने हुन्छ । यसलाई एकै ठाउँमा राख्दा शक्तिको बोट या शक्तिको प्रतीक भन्ने हुन्छ ।

यसरी लिम्बुहरूले शक्तिको प्रतीकका रुपमा पूजा गर्ने यस पाथीभरामा समय बित्दै जाँदा यसको पूजा सबैले गर्न थाले र कालान्तरमा पवित्रताकी देवीका रूपमा पुज्न थालियो । पाथीमा भरेको जस्तै डाँडो हुनाले पछि गएर यसलाई पाथीभरा भन्न थालियो । तलबाट आएका बाहुन क्षत्रीयहरुको बाक्लो बसोवास बन्न थाल्यो र मन्दिरका पुजारी पनि क्षत्री भए । तर, रैथाने लिम्बूहरुका देवता हुन् पाथीभरा देवी ।

यस पंक्तिकारले गरेको एक अध्ययनका आधारमा केही मन्दिर र विभिन्न जातिका पुस्तौनी पुजारी रहेका देवीमन्दिरको थप उदाहरण हेरौं ।

काठमाडौंको दक्षिणकाली भगवतीमा वज्राचार्य, भक्तपुरको नवदुर्गा भगवतीमा वज्राचार्य, धनकुटाको छिन्ताङ देवी मन्दिरमा राई, सप्तरीको राजराजेश्वरीमा थारू, धरानको बुढासुब्बा र विष्णुपादुकामा वली रानामगर पुजारी छन् ।

भेडेटारको देवीमन्दिरमा लिम्बू, काभ्रेको पलाञ्चोक भगवतीमा बज्राचार्य, नुवाकोट भैरवीमा वज्राचार्य, दाङको बाह्रकुने तालको वाराही मन्दिरमा घर्ती मगर, काठमाडौंका शोभाभगवती र भद्रकालीमा वज्राचार्य र कर्माचार्य, धादिङको सल्यानकोट माईमन्दिरमा राना मगर र इलामको देवी मन्दिरमा पूजा गर्ने ब्राह्मण भए पनि मन्दिरमा पहिले लिम्बू र अहिले तामाङ पुजारी बस्छन् । जसबाट मन्दिरमा पुग्ने अधिकांश ब्राह्मण भक्तालुले टीका थापेर दक्षिणा र ढोग दिन्छन् । यद्यपि इलामको देवी मन्दिरमा चाहिँ काटमार गर्न पाइँदैन ।
यसरी नेपालका ९९ प्रतिशत (केही मन्दिरमा क्षत्रीहरू पनि पाइएका छन् ) देवीमन्दिरहरूमा जनजाति पुजारी छन् । भरखरै निर्माण गरिएका, जसको केही ऐतिहासिक पृष्ठभूमि छैन, काटमार नहुने मन्दिरमा मात्र ब्राह्मण पुजारी बस्न थालेको देखिन्छ ।

तर, देवी पुज्ने कुरा ब्राह्मण समुदायले यसरी अपनाइदियो कि कसको चाड हो भनेर पत्ता लगाउन सामान्य अनुसन्धानले पुगेन । यद्यपि पश्चिम नेपालका निश्चित भागमा मस्ट र भवानीको पूजा र मन्दिरका पुजारी पनि ब्राह्मणहरु नै पाइन्छन् ।

यसरी हेर्दा निर्धक्क भन्न सकिन्छ– नवदुर्गाको र विभिन्न देवीको पूजा हुने यो चाड दशैँ ब्राह्मणको चाड नभई स्थानीय रैथाने जनजातिबाट सुरु भई पछि ब्राह्मण, क्षत्रिय, वैश्य शूद्र सबैमा समान रूपमा कसको चाड हो भनेर छुट्याउनै नसकिने गरी फैलिएको देखिन्छ ।

हाम्रो समाजमा भएका ९९ प्रतिशत देवीमन्दिरमा जनजाति पुजारी छन् । यी तथ्यले के देखाउँछ भने दशैं ब्राह्मणहरूको नभएर रैथाने जनजातिको चाड पनि हो

हाम्रो समाजमा भएका ९९ प्रतिशत देवीमन्दिरमा जनजाति पुजारी छन् । यी तथ्यले के देखाउँछ भने दशैं ब्राह्मणहरूको नभएर रैथाने जनजातिको चाड पनि हो

पछि गोर्खा राज्य स्थापना भएपछि भने गोर्खाका राजाले यस समयमा बिदा नै दिने चलन चलाएर यसलाई अझै व्यापक बनाइदिए ।

भविश्य पुराणमा एक ठाउँमा म्लेच्छ, दस्यु र अङ्ग, वङ्ग कलिङ्गका मानिस तथा किन्नर, बर्बर र शक दुर्गापूजा गर्छन् भनेर उल्लेख गरेको छ । यसले धेरै पछिसम्म पनि दुर्गापूजाप्रति वर्णाश्रम धर्म मान्नेहरुमा घृणाभाव थियो र दुर्गापूजाको पछिसम्म पनि विरोध गर्थे भन्ने देखाउँछ ।

साथै यसबाट अर्को कुरा के बुझिन्छ भने रैथाने प्रवृत्ति र प्राचीनतालाई स्वीकार गर्दै दक्षिण एसियामा दुर्गापूजाको संस्कृति विकास भएको थियो । अरूको राम्रो संस्कार, भाषा सहजै स्वीकार गरेर सामाजिक हुने गुण भएका ब्राह्मणहरूले रैथानेहरूका यस्ता रीतिस्थिति पनि विस्तार विस्तार आफ्नो स्तरमा ढालेर मान्न थालेका हुन् । यसले धेरै पछिमात्र दुर्गापूजा हिन्दूकरण भयो भन्ने जनाउँछ ।

युद्ध कौशल भएका हुनाले धेरै राज्यमा जनजातिहरू नै प्रमुख शासक थिए र उनीहरू युद्धमा जानुअघि देवी पुज्ने र बलि चढाएर जाने गर्थे । यसरी जाँदा जितिने विश्वास पनि थियो ।

पछि अरूहरू पनि राज्यका प्रमुख भएर आए । अन्य जातिका प्रमुख भएर आए पनि तिनीहरूका सेनाका प्रमुख लडाकु भने रैथाने जनजाति नै हुन्थे । उनीहरु बलिया, आक्रामक र निडर हुनाले राजाहरूले युद्ध जित्न उनीहरुलाई नै लडाइँको मोर्चा सुम्पन्थे । त्यसै कारण देवी पुज्ने चलन अन्य समुदायका राजाहरूमा सहजै सर्‍यो ।

यता लिच्छवि, मल्ल हुँदै सबै राजाहरूले यसलाई पूर्णरूपमा अपनाए । दशैंमा बलि दिएरै यो संस्कृति अपनाउने बाहुनहरू पनि भए । यसरी रैथाने जनजातिहरुको चाडलाई शाह राजाहरूले पूर्णरुपमा अपनाइसकेका थिए भन्ने कुरा इतिहासविद् महेशराज पन्तले उहाँको लेखन मध्यकालमा दसैँमा उल्लेख गर्नुभएको छ ।

हाम्रो हिन्दू सभ्यतामा हुने र भएको सत्यता पनि यही नै हो कि हामी एक जातिका देवता अर्को जातिका देवता भनेर छुट्याउँदैनौँ । बरु तिनीहरुलाई पनि आफ्नो जस्तै गरेर एकअर्काले कसको संस्कृति हो भनेर चाल नपाउने गरी अपनाउँछौं । हामी एउटै घरमा कुनै कोठामा देवी, कुनै कोठामा विष्णु त कुनै कोठामा बुद्ध र शिव पुज्छौँ ।

पहिलेझैं अर्को देशलाई आफ्नो नियन्त्रणमा राख्न युद्ध गरेर जित्न पर्दैन । त्यस देशका संस्कृतिमा आक्रमण गरे पुग्छ । एकअर्काको संस्कारमा टमक्क बाँधिएको संस्कृति तोडिदिए पुग्छ । नेपालमा त्यही गर्न खोजिएको छ । समाजको एकात्मीयतामा रहेको सुन्दर संस्कार तोड्न पश्चिमाहरूले चलाएको उक्साऊ अभियानको शिकार बन्दैछ हाम्रो संस्कृति । त्यसको चेपुवामा छ देवीमन्दिरमा हुने बलिप्रथा पनि ।

बलिप्रथा वेदमा मात्र उल्लेख छैन प्राचीनकालमा यहुदी, क्रिस्तान र मुसलमानहरूमा पनि बलि थियो र छ । तर, पशुको हत्या गर्न हुँदैन हैन कि, पशु बलि दिन हुन्न भन्ने दशैँलाई केन्द्र बनाएर योजनाबद्ध विरोध भएको देखिन्छ । त्यो पनि जो देवीमन्दिरको पुजारी छ, उसैलाई भन्न लगाइयो कि दशैँ ब्राह्मणको चाड हो, हामीले बहिष्कार गर्नु पर्छ । तर, विडम्बना, दशैँ रैथाने आदिवासी जनजातिको संस्कृति हो र पछि ब्राह्मणदेखि सबै जातिले सहजै अपनाएका हुन् भन्ने कुरा धेरै घटनाले स्पष्ट बताउँछ ।

यसरी बर्णेतर (चार वर्णभन्दा फरक) जातिले मान्दै आएको देवीको पूजा गरिने दशैँलाई सबैले स्वीकार गरी अपनाउँदा उनीहरुले गर्व गर्नुपथ्र्याे । तर, यस तथ्यलाई जनजातिसमुदाय आफैँले खोज्न बिर्सिएको देखिन्छ ।

देवीलाई पूर्वका लिम्बूहरुले शक्तिको स्रोतका रुपमा मुम्तुवुङ भने झैं राजाहरुले तन्त्रशक्तिको केन्द्र बनाएका थिए । राजाहरुले ललितपुर, भक्तपुर र काठमाडौँलाई देवीको अधस्त्रिकोणमा विकास गरेको देखिन्छ ।

भक्तपुरको कमलविनायक छेउमा महाकाली, ललितपुरको महालक्ष्मीस्थानमा महालक्ष्मीको र काठमाडौंको लाजिम्पाटमा महासरस्वतीको गरी अधस्त्रिकोण आकारमा मन्दिर स्थापना गरेका थिए । अधत्रिकोणको बीचमा भने गुह्येश्वरी बनाइएको छ । अधस्त्रिकोण भनेको योनी अर्थात् प्रजनन या उर्वरताको प्रतीक हो । या भनौं दैवीशक्ति । अनि राज्य नै हाँक्ने (तन्त्रको केन्द्रको ) त्यस्ता शक्तिपीठको जिम्मा रैथानेहरुलाई थियो र छ पनि । राजाहरुले उनीहरुमा कति विश्वास गर्थे भन्ने कुरा यसलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

अर्को एउटा कथ्य र लेख्य पनि छ । त्यसले पनि बर्णेतरबाट सुरु भएको थियो दशैँ भन्ने पुष्टि गर्छ ।

हिमालय पर्वतमुनि दुर्गला भन्ने राज्य थियो । जसको नेतृत्व दुर्गाले गर्दथिन् । शुम्भ र निशुम्भ दुई दाजुभाइले पनि अन्य ससाना राज्य चलाएका थिए । जसले वरिपरिका गाउँका बासिन्दा मारेर गाउँ कब्जा गरिरहेका थिए । उसको आक्रमणबाट बच्न ती गाउँका जनता दुर्गाको शरणमा आए । अनि दुर्गाले तीन महिना लगाएर ती राक्षसलाई परास्त गरिन् ।

त्यो शरदकै समय थियो । युद्ध जितेर आफ्नो शरणमा आएकालाई सुरक्षा दिएर दुर्गाले उनीहरुको राज्य त फिर्ता गरिन् । तर, यो लामो युद्धमा धेरै धनजनको क्षति भयो । त्यसैले युद्धपछि अनिकाल र महामारी सुरु भयो । युद्धमा मरेका आफन्तको सम्झनामा एक छाक खाएर सोह्र दिन श्राद्ध गर्ने भनियो । साथै सोह्र दिनपछि उनले जितेकोमा बधाई दिन आएका सबैलाई अन्नको सम्मानस्वरुप रगतमा चामल मुछेर लगाइदिइन् । पछि यही दिन उसैगरी उत्सव मनाउन थालियो ।

दुर्गाको मृत्युपछि दुर्गाकै सम्मानस्वरूप उनैलाई सम्झेर आजपनि हामी बडादशैं मनाउँछौँ । उनै देवीलाई पुज्ने चाड हाम्रो मुख्य चाड हो । बडा दशैँ र त्यही समय सोह्रश्राद्ध गर्ने चलन पनि त्यसै समयदेखि सुरु भएको थियो भन्ने कुरा सस्कृति सम्बन्धी पुस्तकको एउटा लेखमा उल्लेख छ । ( धरणीधर दहाल, संस्कृति एक हामी अनेक, २०५३, निर्माण प्रकाशन ,नाम्ची दक्षिण सिक्किम)

दशैं र देवीपूजा कसरी एकैसाथ मनाइयो भन्ने कुरा चण्डीमा भएको वर्णन सबैभन्दा प्रामाणिक लेख्य हो । त्यसको एउटा उदाहरण हो दशैँमा पाठ गरिने पुस्तक दुर्गासप्तशतीमा गरिएको शुम्भनिशुम्भको बर्णन । जुन कुरा हामीले चण्डी अर्थात् दुर्गासप्तशतीमा पनि पढ्दै आएका छौं । (चण्डी अर्थात् दुर्गासप्तशती ९–१० अध्याय ।)

शुम्भ निशुम्भलाई मारेपछि दुर्गाकोमा शरण लिन आएका देवताहरूले दुर्गालाई बधाई दिएसम्मको कुरा ग्रन्थमा पाइन्छ भने बधाई दिन गएकालाई दुर्गाले युद्धमा मासिएको चामलको सम्मानस्वरूप त्यही रगतमा मुछेर चामलको टीका लगाइदिएर आशीर्वाद दिएको कथन छ ।

त्यसैगरी सातौँ शताब्दीदेखिका वाङ्मयमा चण्डिका, कात्यायनी र अम्बिकाको उल्लेख पाइन्छ । साथै उनीहरूलाई रगतको बलि दिन रगतले तीखा हतियारमा पाइन लगाउँदा हत्केला कडा भएको, जङ्गलमा बस्ने शबर जातिको युवाको बयान छ ।
कतै महानवमीमा राँगाको बलि दिएको, अनि राँगाको रगतले भिजेको अम्बिकाको त्रिशूलको बयान छ भनेर महेशराज पन्तले उहाँको कितावमा उल्लेख गर्नु भएको छ ।

कहिलेदेखि देवीपूजा थालियो भनेर ठ्याक्कै पाउन गाह्रो छ । दशैँमा पाठ गरिने ‘दुर्गासप्तशती’ अर्थात् ‘चण्डी’को पुस्तक यहाँ वि.सं. १२०० देखिका पाइने हुनाले त्यस ताकासम्म यतातिर दसैँको प्रतिष्ठा राम्रै भइसकेको थियो भत्र सकिन्छ । नेपालको इतिहासमा वि.स. ५६० को राजा मानदेवको पालाको शिलालेखमा भगवतीको चर्चा छ । ने.सं. २६४ मा राजा नरेन्द्रदेवको पालामा ललितपुरका सप्तकुटुम्बज शासकको लागि सारिएको ‘चण्डी’को पुस्तक र पुराना अभिलेख केलाएर हेर्दा नेपालमा वि.संं १४३२ सम्म दशैँको सन्दर्भ फेला पार्न सकिन्छ ।

जनजाति र आदिबासी रैथानेहरूले सुरु गरेको नेपालका हरेक जाति र सम्प्रदायको साझा चाड हो । जनजाति र आदिवासी रैथानेहरूले सुरु गरेको यो चाडलाई जनजातिविरोधी भनेर लेपन लगाउनु गलत मात्र हैन, जनजातिहरूको आफ्नै (जनजातिकै) संस्कृतिमाथिको अपमान हो

हिजो पनि जनजातिसमुदाय मातृसत्तात्मक थियो । आज पनि मातृशक्तिको उच्च सम्मान छ । शुम्भ निशुम्भ मार्ने लडाकु महिलाहरु पनि तिनै रैथाने आदिवासी जनजाति निडर महिला थिइन् । किनभने आज स्वतन्त्र हुनका लागि लडाइँ लडिरहेका वर्णाश्रमधर्मभित्रका (ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र) महिलाहरूले हिजो लडाकु भएर काम गरेका थिए भनेर पत्याउन सकिँदैन । गाउँगाउँमा हाहाकार बनाउँदै आएका दुई दाजुभाइ शुम्भ निशुम्भलाई मारेर अरु धेरै गाउँ सुरक्षित गरेका थिए उनीहरूले ।

मार्कण्डेयपुराणले दुर्गा हिमवत्खण्डको कोशी नदीको किनारमा भएको देखाएको छ । अन्य पुराणमा पनि दुर्गा सिद्धार्थ गौतमको अवसानपछिको समयमा हिमाली उपमहाद्वीपमा भएको भन्ने उल्लेख छ ।

हिमाली क्षेत्रको कुरा उठाइरहँदा हिमालमा बस्ने जनजाति मंगोलियनहरुबाटै दुर्गाले प्रतिनिधित्व गरेकी थिइन् र त्यहीँबाट दुर्गापूजा गर्न थालिएको थियो भन्ने स्पष्ट हुन्छ ।

एक शक्तिशाली महिला दुर्गाकै शरणमा रहेका गाउँलेहरूले उनीहरू मरेपछि दुर्गा, काली, चण्डी आदि नाममा स्थानहरू स्थापना गरी पुज्न थाले । पछि उनीहरूलाई खुशी पार्न भन्दै रगत चढाउन थालियो । सोही दिन पारेर भेला हुने अक्षता लगाउने र आशीर्वाद दिने गर्न थाले । यही चलन वर्णाश्रममा पर्नेहरूमा पनि बिस्तारै फैलिएको हो ।

तर, पछि बौद्धमार्गी र वैष्णव धर्म मान्नेहरूको प्रभाव स्वरुप ब्राह्मणहरूले भने पशु हिंसाको ठाउँमा कुभिण्डो, लौका, घिरौंला, काटेर चढाउने गर्न थाले । पछि गएर त ब्राह्मणहरुलाई काटमार गर्न, मासु खान नै बर्जित गरियो । खाइहाले जात घटुवा गर्नेसम्म गरिन्थ्यो ।

तर, अहिले को सामिश (मासु खाने) र को निरामिश (मासु नखाने) भन्ने नै हुँदैन । तरै पनि ब्राह्मणहरूले अहिले पनि अष्टमिको दिन देबीपूजा गर्दा कोहीले बलि नै दिने तर अरु कसैलाई काट्न लगाउने गर्छन् । कसैले फल काटेर बलि दिने गर्छन् भने पूर्वतिर जिउँदो माछा चढाउने पनि चलन छ ।

अक्षता मुछ्ने रङ्ग नआउञ्जेल वर्ण धर्म मात्रेहरू सेतै अक्षता लगाउँथे भनेर बूढापाकाहरू आफ्ना पूर्खाहरूबाट हामीले सुन्दै आएका हौं । पछि वर्णाश्रम धर्म मान्नेहरूमा यो यसरी फैलियो, मानौँ यो चाड आदिवासी जनजातिबाट नभएर वर्णाश्रम धर्म मान्नेहरूबाट सुरु भए झैँ भयो ।

राजाहरू शक्तिमा आएपछि त देवीहरूको भक्त नै भए । ठाउँठाउँमा देवीमन्दिर स्थापना गर्न लगाए । यसको प्रभाव भारतवर्षभरि नै फैलियो ।

अभिलेख र हाम्रा दन्त्यकथाले हजारौँ वर्ष पहिले सुरु भएको यो परम्परा केही थपिँदै केही फेरिँदै आज देवीपूजा र टीका लगाएर आशीर्वाद लिने चलन चलेको कुरा स्पष्ट गर्छ ।

हुन पनि जनैपूर्णिमा ब्राह्मणको, दशैँ काटमार हुनाले क्षत्रीको, तिहारमा व्यापार, जुवाताश हुने हुनाले वैश्य अर्थात् व्यापारीको र फागुमा निः संकोच अश्लीलतासमेत छुट रहेकाले शूद्रले मनाउने चाडको रूपमा मानिएको छ ।

त्यसकारण जानेर होस् या अञ्जानमा दशैँ रैथाने जनजातिहरूले सुरु गरेको चाड हुँदाहुँदै पनि त्यसैविरुद्ध उनीहरूकै आन्दोलनचाहिँ आफ्नै संस्कृतिमाथिको प्रहार हो । संस्कृति अध्ययन गर्ने सन्दर्भमा प्राप्त निष्कर्षका आधारमा भन्दा दशैँ जनजाति र आदिवासी रैथानेहरूले सुरु गरेको नेपालका हरेक जाति र सम्प्रदायको साझा चाड हो । जनजाति र आदिवासी रैथानेहरूले सुरु गरेको यो चाडलाई जनजातिविरोधी भनेर लेपन लगाउनु गलत मात्र हैन, जनजातिहरूको आफ्नै (जनजातिकै) संस्कृति माथिको अपमान हो ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *