महिला पनि डाक्टर हुन्छन् !

दिनको ३ : ४५ बजे । ग्राण्डी इन्टरनेश्नल अस्पतालको तेस्रो तला । ढोकामा नेम प्लेट छ, डा. भवानी मानन्धर, कन्सल्टेन्ट कार्डियोलोजिस्ट । तर भित्र कुर्सी खाली थियो । भनेको समयभन्दा ४५ मिनेट ढिलो पुगिएछ । डा. मानन्धरले फोनमा भन्नुभयो, ‘स्कुलबाट आएकी छोरीलाई रिसिभ गर्दैछु, पाँच मिनेट पर्खनुस् है, आइहालेँ ।’

खासमा डा. मानन्धरलाई भेट्न एक महिनाअघि नै समय लिइएको थियो । अघिल्लो दिन डा. भवानीले फोनबाट जानकारी गराइन्, ‘नानु साह्रै विरामी पर्‍यो । पछि कुरा गरौं, हुँदैन ?’ सहमति जनाउनुको विकल्प थिएन ।

****

‘डा. पुरुष र डा. महिलामा के फरक छ ?’ यही प्रश्नबारे मुटु रोग विशेषज्ञसँग कुरा सुरु भयो ।

‘एउटी महिलाले पेसा, आमा र बुहारीको भूमिका एकै पटक निर्वाह गर्नुपर्छ’, महिला हुनुका कठिनाई सुनाउँदै छिन् भवानी, ‘अझ महिलालाई त डाक्टरको रुपमा समाजले अहिले पनि स्वीकार गर्न गाह्रो मानिरहेको छ । १५ वर्ष मेहनत गरेर पनि फेरि विरामीको विश्वास जित्न ठूलो च्यालेन्ज छ । महिला कार्डियोलोजिस्टलाई त अझ कठिन ।’

भवानीले ग्राण्डीमा काम गर्न थालेको एक वर्ष भयो । इको गर्न पुग्दा पर्खिरहेका विरामीहरु हतारिँदै उनैलाई प्रश्न गर्छन्, ‘सिस्टर डाक्टर कति बेला आउनुहुन्छ ?’ भवानीको मन अमिलो हुन्छ । तर, फिस्स हाँस्दै जवाफ दिन्छिन्, ‘म नै हुँ डाक्टर ।’ हो भवानी आफूलाई डाक्टर सावित गर्न संघर्षको मैदानमै छिन् । किनकी उनी महिला हुन् ।

भवानीले सिद्धार्थ बनस्थली स्कुलबाट ०५२ सालमा एसएलसी पास गरिन् । त्यहीँ आईएससी अध्ययन शुरु गरिन् । आईएस्सीमा महिलातर्फ पहिलो भएपछि तत्कालीन राजाको हातबाट ऐश्वर्य विद्या पदक हात पारिन् । त्यसपछि छात्रावृत्तिमा कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस पास गरिन् । अनि दुई वर्ष पाटन अस्पतालमा हाउस अफिसरका रुपमा काम गरिन् । चिकित्सा शास्त्र अध्यययन संस्थान (आईओएम) महाराजगञ्जमा छात्रवृत्तिमा मुटुमा एमडीको पढाई शुरु गरिन् । बेस्ट रेसिडेन्ट अवार्ड पाएर पास गरिन् । त्यसपछि बिहे भयो २०१२ मा ।

भारतको कस्टर्वा मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा एसोसिएट प्रोफेसरको रुपमा दुई वर्ष विताइन् । अनि, छोरीलाई जन्म दिइन् । त्यसको केही समयपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डीएम सकिन् । त्यसपछि ग्राण्डीमा सेवा शुरु गरिन् । यो ४९ वर्षसम्मको भवानीको खास यात्रा यही हो । तर, उनको यात्रा सुन्दा जति सहज लाग्छ, उनको भोगाइ त्यति नै कठिन्, त्यति नै जटिल ।

****

 डा. भवानी युवा नै देखिन्छिन् । कतिले डाक्टर भनी नपत्याउँदा कपाल फुलेको भए हुन्थ्यो जस्तो पनि लाग्छ उनलाई । निधारमाथि बिहेको चिनो छ । घाँटीमा स्टेथोस्कोप झुण्डाएकी छिन् । घमण्डको राग कतैबाट आउँदैन । सरल भवानीको बोली धारा प्रवाह छ ।

उनलाई ब्रेक लगाउँदै छोरीले ढोका उघारिन् । छोरीको पछिपछि थिए डा. पंकज । प्याथोलोजिस्ट डा. पंकज ग्राण्डीको ल्याब प्रमुख हुन् । नाताले भवानीका श्रीमान् । साढे छ वर्षकी छोरीले भनिन्, ‘नाई ममी सँगै जाने ।’ तर पंकजले नै छोरीलाई दोहोर्‍याएर गेट वाहिर पुर्‍याए ।


ढोका लाग्नेवित्तिकै भवानीले भनिन्, ‘छोरीले पनि मसँगै डीएम गरिन् ।’ यो एउटा वाक्यले कुराकानीलाई गम्भीर मोडमा पुर्‍‍यायो । भवानीले डीएमको कोर्ष शुरु गर्दा छोरी १५ महिनाको थिइन् ।

छोरीलाई पीठ्युमै बोकेर डीएम गर्न धरान लागिन् । उनीसँग एकातिर उनको छोरी थिइन् र अर्कोतर्फ मुटु रोग विशेषज्ञ बन्ने भोक । ‘छोरीलाई घरको जिम्मा लगााएर पनि डीएम गर्न सक्थेँ, तर उसको त हक हो नि आमासँग बस्न पाउने’, आमाको ममता बोल्यो, ‘अरुले पाँच घण्टा समय दिनु र आमाले एक घण्टा दिनुले धेरै फरक पार्छ बच्चालाई । बरु नसुतेर पढ्छु भनेर छोरीलाई पनि सँगै लगेँ । उसलाई हेरचाह गर्न सासु ससुरा पनि हुनुहुन्थ्यो । कहिलेकाहीँ श्रीमान पनि आउनुहुन्थ्यो ।’

छोरीसँग डीएम गर्दा भवानीलाई सोचेभन्दा कष्टकर भयो । दिनमा मुश्किलले दुई तीन घण्टा मात्र छोरीका लागि फुर्सद पाउँथिन् । आठ बजे अस्पताल पुगिसक्नुपर्थ्यो । छोरीलाई खाना खुवाएर उनी अस्पताल जान्थिन् । प्रायः पाँच बजे फर्कन्थिन् । कहिलेकाहीँ विरामीको चापले साढे आठ बज्थ्यो । फर्किँदा छोरीको आँखाभरी आँशु हुन्थ्यो । कहिले त निदाइसकेको हुन्थिन्, परेलामा आँशु जमेको देखिन्थ्यो । भवानीले छोरीको आँखा पुछिदिन्थिन् र पढ्न शुरु गर्थिन् । भवानी भन्छिन्, ‘त्यो समय निकै संघर्ष गरेँ । छोरीलाई छोडेर नाइट ड्युटी जाँदा मुटु नै चुडिएजस्तो लाग्थ्यो ।’

एक पटक आकस्मिक कक्षमा हृदयघात भएको विरामीलाई विराटनगरबाट रिफर गरेको फोन आयो । एनजीओग्राफी गर्नुपर्ने । त्यसपछिको पाँच घण्टा अस्पतालमै बिताउनुपर्ने थियो । तर घरमा छोरी विरामी थिइन् । शनिबारको दिन । उनी विरामी छोरीलाई छोडेर जान कस्सिइन् । सँगै भएकी सासुले भनिन्, ‘उसलाई खान खुवाउन गाह्रो छ, खुवाएर जाउँ न ।’

भवानीले छोरीलाई ल्यापटपमा गीत सुनाउँदै हतार हतार खुवाउन थालिन् । हतार गर्दा विरामी छोरीले वान्ता गरिन् । किवोर्डमा लाग्यो, ल्यापटप बिग्रियो । उनले छोरीलाई हतारहतार औषधी पनि खुवाइन् र घरमा छाडेर अस्पताल लागिन् । ‘मेरा सम्पूर्ण थेसिसहरु त्यही ल्यापटपमा थियो’, अहिले पनि त्यो घटना सम्झदा भवानीको अनुहार मधुरो बन्छ ।

हुन त उनलाई डीएम गर्ने निर्णय लिन पनि निकै अप्ठ्यारो परेको थियो । श्रीमानभन्दा एक वर्षअघि नै भवानीले एमडी गरेकी थिइन् । हाम्रो समाजले हरेक कुरामा श्रीमान श्रीमतीभन्दा माथि भएको हेर्न चाहन्छ । त्यो भवानीको जीवनमा पनि लागू भयो । धेरैले प्रश्न गर्थे, ‘एमडी गरिहाल्यौँ, अब किन डीएम गर्नुपर्‍यो ?’ यसले उनी पनि अन्यौलमा परिन् । भवानी भन्छिन्, ‘डीएम गर्दिन होला भन्ने अवस्थामा पनि पुगिसकेको थिएँ । अझ आमा भएपछि त प्राथमिकता नै परिवर्तन हुँदोरहेछ । आवश्यकता र डिमान्ड चेन्ज हुँदोरहेछ ।’ तर श्रीमानले भवानीलाई डीएम गर्न प्रेरणा दिइरहे । भवानी भन्छिन्, ‘डीएम गर्नुमा बुवा–आमा र मेरो सपना थियो । तर, श्रीमानको सबैभन्दा ठूलो हात छ ।’

भन्छन् नि हरेक श्रीमानको सफलताका पछाडि श्रीमतीको हात हुन्छ । उसैगरी हरेक श्रीमतीको सफलताका पछाडि श्रीमानको हात हुन्छ या हुँदैन थाहा छैन । तर भवानीलाई श्रीमानको पूर्ण साथ छ । जसरी पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको सफलताको श्रेय आफ्नो श्रीमानलाई दिइन्छ ।

****

भवानी काठमाडौंको मध्ययमवर्गीय परिवारमा जन्मिइन् । आमा मैंया र बाबु कृष्णले इन्द्रचोकमा कपडा पसल गर्थे । एक छोरा र दुई छोरीमध्येकी एक भवानी पढाईमा तिख्खर थिइन् । उनकै भाषामा भन्ने हो भने स्वभाव ‘रिजर्व’ शैलीको । तर, उनीमा डाक्टर बन्ने मोह झन् गजब थियो । ८/९ कक्षामा पढ्दै भन्ने गर्थिन्, ‘म त मुटुको डाक्टर बन्छु ।’ किन मुटुकै डाक्टर बन्ने ? उनीसँग ठोस जवाफ थिएन । बुवा–आमाको पनि सपना उही थियो, ‘छोरी डाक्टर भएको हेर्ने ।’

उनले एमबीबीएस पनि सकिन् । त्यसपछि जीवनमा कहालीलाग्दा यस्ता दुई घटना भए, जसले उनलाई मुटु रोगकै विशेषज्ञ बन्न झक्झक्याइरह्यो ।

भवानीको परिवार ओटुमा बस्थ्यो त्यतिबेला । हजुरबा भवानीलाई निकै माया गर्थे । भवानी पनि उस्तै माया गर्थिन् । हजुरबालाई अकस्मात हृदयघात भयो ।

भवानीले एनेस्थेसियामा काम गरिसकेकी थिइन् । एम्बुलेन्समा अस्पताल पुर्‍याउँदै गर्दा आफैले माया गर्ने हजुरबाको मुखबाट पाइप छिराएर इन्ट्रोभेट गरिन् । सीपीआर चेक गरिन् । केही पनि भेटिनन् । किनकी अस्पताल नपुग्दै वाटोमा हजुरबाको मृत्यु भइसकेको थियो ।

अस्पतालका अन्य चिकित्सकले भनिरहेका छन्, ‘छोडिदिनुस् डाक्टर साब, अब केही अर्थ छैन ।’ र, पनि भवानीले बचाउन सकिन्छ कि भनेर प्रयास गरेकी थिइन् । ‘त्यतिबेला वाहिर सबै जना रोएर बसिरहनुभएको थियो । मैले कसरी हजुरबाको अवस्थाबारे भन्नु ?’ भवानीको गला अवरुद्ध बन्छ, ‘३–४ घण्टा भित्र हात बाँधेर यत्तिकै बसको थिए म ।’
आफूलाई सबैभन्दा बढी माया गर्ने हजुरबाको ‘डेथ सर्टिफिकेट’(मृत्यु भएको भनी डाक्टरले लेखेको पत्र) आफैंले बनाएर हस्ताक्षर गर्दा मरेतुल्य भएकी थिइन् उनी । भन्छिन्, ‘डाक्टर वा आफन्त एकको भूमिका निभाउन सजिलो छ । तर, दुवै हुन साह्रै गाह्रो छ ।’

यो घटनाले उनलाई मुटु रोगकै विशेषज्ञ बन्नुपर्छ भन्ने अठोट अझ बढ्यो ।

बिहेपछि त्यस्तै अर्को आइपर्‍यो जीवनमा । उनी आफ्नै सासुको उपचारमा थिइन् । सासुलाई हिस्टेरोटोमी भएको थियो । तर अप्रेशनको दोस्रो दिन अचानक स्वास्थ्य विग्रियो । एक्कासी छाँगाबाट खसेजस्तो भइन् भवानी । किनकी निश्चित थिएन कि सासुलाई बचाउन सकिन्छ ।

‘त्यतिबेला म एक्लै बसेर तीन चार वटा औषधि चलाइराख्नु परेको थियो । अरु कुनै सपोर्ट थिएन’, जीवनको अर्को कठिन मोडबारे बताउँछिन्, ‘उहाँको छोउमा बसिरहेको थिएँ, उपचार पनि गरिहेको थिएँ । सासु भन्ने कि विरामी ? त्यो मेरो लागि जीवनकै निकै कठिन क्षण थियो ।’

उनको श्रीमान र जेठाजुले भने हौसला दिइरहे । श्रीमानले भने, ‘मलाई थाहा छ तिमी एउटा राम्रो डाक्टर हो । जे गर्छौ गर । जस्तो सुकै रिजल्ट हामी स्वीकार्छौँ ।’ भवानीको अनुहारको रङ बदलिन्छ, ‘स्टिल सि इज वीथ अस ।’

कयौं चरणमा उनलालाई पेसाप्रति दिक्क लागेर छोडौं जस्तो पनि नभएको होइन । तर, आफ्नो बच्चैदेखिको सपना, आमाबाबुको मेहनत र यस्तै घटनाहरुले उनलाई सधैं बाँधिरह्यो । जिम्मेवार डाक्टर बनायो ।

उनीसँग डाक्टर हुनको परिभाषा पनि फरक छ । भन्छिन्, ‘डाक्टरको काम औषधी लेख्ने र पठाइदिने मात्र होइन । विरामीले डाक्टरसँग स्वतन्त्र फिल गर्नुपर्छ । औषधीको असर, फाइदा वेफाइदाबारे राम्रोसँग बुझाइदिनुपर्छ । नत्र त विरामीले कसरी औषधी सेवन गर्छ ?’

उनले विरामीको उपचार गर्नु त छँदैछ । त्योभन्दा बढी आफूलाई प्रमाणित गर्नु छ । धरानमा हुँदा आफ्नै पुरुष सहकर्मीले डाक्टर भन्न हिच्किचाएको अनुभव छ उनीसँग । उनी भन्छिन्, ‘जोसुकै होस महिलाको अगाडि पहिले नै प्रश्नचिह्न बोकेर उभिन्छ ।’

हुन त उनका लागि अरु साथीहरु जस्तै अमेरिका गएर उतैतिर बस्ने सहज बाटो पनि थियो । तर उनले चुनौती रोजिन् । ‘देशको माया लागेर बाहिर नगएको भनेर झुट बोल्दिनँ । तर, मेरो बाबा आमाले मेरा लागि जति त्याग गर्नुभयो, म उहाँहरुसँग भइनँ भने त्यसको के अर्थ ? त्यसको जिम्मेवारी एक कल फोनले कहिल्यै पनि पूरा गर्न सक्दैन’, उनी भन्छिन् ।

****

अहिले भवानीको जीवन लयमा छ । विहान ८ वजे अस्पताल पुगिसक्छिन् । श्रीमान–श्रीमती एउटै अस्पतालमा कार्यरत छन् । उनी हाँस्दै भन्छिन्, ‘एउटै हस्पिटलमा भएपछि सँगै आउन जान पाइयो, खाजा खान पाइयो ।’ एकअर्काका सहयोगी पनि भएका छन्, उनले नभ्याउँदा श्रीमानले छोरीलाई रिसिभ गर्छन् । अनि चार बजे सँगै घर फर्किन्छन् । हप्ताको दुई वटा कल र ओपिडी ड्युटी हुन्छ । र, दुवै जना डक्टर पेसामा भएका कारण कैयौँ चाड र पारिवारिक योजनाहरु भने रद्द हुन्छ ।

****

कुराकानी सकाएर झर्दा पार्किङमा डा. पंकज र छोरीले भवानीलाई कुरिरहेका थिए । किनकी छोरीले ममी आएपछि मात्र घर जाने सर्त राखेकी थिइन् ।

onlinekhabar

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *