विश्वका नेपालीलाई जोड्दै भानुभक्त

भानुभक्तको नाममा भष्ट्राचार र राजनीति पनि उत्तिकै

२९ असार, काठमाडौं । आज विश्वभरि छरिएर रहेका नेपालीभाषीले एकसाथ २०६ औँ जन्मजयन्ती मनाइरहेका छन् । नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्डमा रहेका नेपालीहरुले भानु जयन्ती मनाउन थालेको दशकौं भइसक्यो ।

शताब्दीअघि नै रोजीरोटीको खोजीमा थातथलो छाडेका नेपालीहरुले आफ्नो भाषा बचाउन भानुभक्तलाई विशेष महत्व दिने गरेका छन् । कतिपय ठाउँमा त भानु जयन्तीलाई परम्परागत पर्व दशैंभन्दा बढी महत्व दिएको देखिन्छ । कतिपय ठाउँमा भानु जयन्ती जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार पनि भएका छन् ।

पछिल्लो समयमा भनु जयन्ती मनाउनेहरु विश्वका १०५ देशमा पुगेको अनुमान गरिएको छ । तेस्रो मुलुकमा स्थान्तरण गरिएका भुटानी-नेपाली तथा नेपालबाट बसाईं सरेर विभिन्न देश पुगेका नेपालीहरुलाई जोड्ने सेतु पनि भानुभक्त भएका छन् । त्यसमा भारतीय नेपालीहरु थपिएपछि यो एउटा महापर्व जस्तो भएको छ । विश्वभरि भानु जयन्तीका कार्यक्रम एकसाथ हुनुले पनि यसको छनक मिल्छ ।

नेपालमा भानु जयन्ती मनाउनकै लागि विभिन्न देशका नेपालीहरुलाई भानु प्रतिष्ठानले नेपाल निम्त्याएको छ ।

‘लक्ष्मीप्रसाद देवकोटा नेपालका ठूला कवि हुन्, उनका कार्यक्रम पनि विश्वभरि नै मनाइन्छन्,’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली भन्छन्, ‘तर भानुभक्तले नेपालसँग प्रत्यक्ष साइनो नभएका नेपालीहरुलाई पनि जोडेका कारण भानुभक्त कवि मात्र रहेनन्, यिनी नेपाल बाहिर बसेका नेपालीलाई नेपाल जोड्ने प्रतीक बनेका छन् ।’

लेकाली यतिखेर अमेरिकी-नेपालीहरुले मनाउने भानु जयन्तीका सिलसिलामा अमेरिका पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘सुरुमा भानुभक्तका सिर्जनाले नेपालीलाई जोड्यो, अहिले उनी नेपाली जातिका एकताका प्रतीक भएका छन् ।’

विश्वभरि छरिएर रहेका नेपालीहरुलाई जोड्ने मुख्यतः दुई वटा संस्था छन् । ती मध्ये अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपालीभाषी बसोबास गरेको र साहित्यिक गतिविधि गर्ने सबैजसो देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । यसलाई गैरआवासीय नेपालीपछिको ठूलो अन्तर्राष्ट्रिय सञ्जाल मानिन्छ । यो संस्थाले वर्षभरि नै साहित्यिक गतिविधि गरे पनि भानु जयन्तीका अवसरमा यसका सदस्यहरुको चासो बढी भएको अनुभव अध्यक्ष लेकालीले गरेका छन् ।

त्यसैगरी विश्व साहित्य महासंघले पनि विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई साहित्यको माध्यमबाट एउटै थलोमा ल्याउने प्रयास गरिरहेको छ । यो संस्थाले पनि आधिकारिक रुपमा आफ्ना सबै शाखाहरुमा भानु जयन्ती मनाउने गर्छ ।

‘हाम्रा लागि भानु जयन्ती एउटा पर्व जस्तै हो, खासमा हामी फल हौं भने भानुभक्त त्यो रुखका जरा हुन्, फलले जरा बिर्सने कुरै भएन,’ विश्व साहित्य महासंघका पूर्वअध्यक्ष केदार संकेतले अफगानिस्तानबाट अनलाइनखबरसँग भने, ‘हाम्रा सन्ततीलाई हामी को हौं भनेर देखाउने व्यक्ति भनेकै भानुभक्त हुन् ।’

नेपाल बाहिर भानुभक्तको महत्व कति छ भन्ने प्रत्यक्ष अनुभव गरेका व्यक्ति हुन्, नेपाली चलचित्रका वरिष्ठ निर्देशक तथा गीतकार यादव खरेल । ०४६ सालपछिको खुला वातावरणमा नेपाली चलचित्र मौलाउने अनुभव उनले गरेका थिए । यसै सिलसिलामा ०५३ सालमा उनको मनमा आदिकवि भानुभक्त चलचित्र बनाउने योजना फुर्‍यो । यसका लागि उनले ३ वर्ष मेहनत गरेर ०५६ सालमा यो चलचित्र तयार गरे ।

चलचित्र बनाउनुअघिका दुई वर्ष भानुभक्तको प्रभाव कहाँ-कहाँ कस्तोरुपमा रहेका छ र चलचित्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने अध्ययन गर्न उनी भारत र बर्माका नेपालीभाषी बस्तीहरुमा लामो समय डुलेका थिए । बर्मामा नेपाली राजदूतावासको सहयोगमा उनी त्यहाँ रहेका नेपालीहरुका दर्जनौं बस्तीमा पुगेका थिए भने सिक्किम र दार्जीलिङमा पनि त्यहाँका प्रभावशाली राजनीतिज्ञसँग भानुभक्त चलचित्रसम्बन्धी छलफल चलाएका थिए ।

‘म दार्जीलिङ पुग्दाको समयसम्म चियाबगानमा काम गर्ने मजदुरलाई भानुभक्तको रामायण टाउकोमा राखेर सफथ लिनुपर्ने चलन थियो । अहिले यो चलन हराएको सुनेको छु । टाउकोमा रामायण राखेर सपथ लिएपछि कसैले पनि गलत गर्दैनन् भन्ने विश्वास आज पनि त्यहाँ कायम नै छ,’ यादव खरेल भन्छन्, ‘चिया बगानमा यो त्रम घटे पनि स्थानीय समाजमा कसको गल्ती छ भन्ने पत्तो लगाउन गाउँका प्रमुखहरुले अझै पनि रामायणको प्रयोग गर्छन् ।’

यस्तैखालको आस्था बर्मामा बस्ने नेपालीहरुमा रहेको पनि खरेलले पाए । उनका अनुसार धार्मिक गतविधि वाहेक अन्यखालका सामूहिक काम गर्न नदिने तत्कालीन सैनिक सरकारको कडा उर्दीहरुका बीच पनि बर्माका नेपालीहरुले भानुभक्तको जन्म दिवस धुमधाम मनाए । असार २९ गतेलाई एउटा कविका रुपमा मात्र मनाउँदा सरकारले अनुमति नदिने अवस्था भएपछि बर्मेलीहरुले त्यसलाई धार्मिक रुप दिए । बाध्यताले जोडिएको यो धार्मिक बिऊ प्रजातान्त्रिक सरकारका पालामा साहित्यिक पर्वका मौलाएको देखिन्छ ।

‘बर्मेली नेपालीहरुले बाध्यताले बचाएको भानुभक्त अहिले त्यहाँका नेपालीहरुका एकताका प्रतीक भएका छन्,’ खरेल अनलाइनखबरसँग भन्छन्, ‘यही कारण अन्य धार्मिक कार्यक्रम जस्तै असार २९ लाई बर्मेली नेपाली भाषीहरुले महत्व दिन्छन् । फरक के छ भने त्यो साहित्यिक हुन्छ ।’

भष्ट्राचारको जड-राजनीतिको थलो

पहिले भानुभक्तसँग सरकार प्रत्यक्ष जोडिएको थियो । यो दिन सार्वजनिक विदा दिने चलन थियो । यही सरकारले भानुभक्तलाई राष्ट्रिय विभूति घोषणा गरेका कारण महत्व दिनु स्वभाविक पनि हो । शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय र प्रज्ञा प्रतिष्ठानका छुट्छुट्टै कार्यक्रम हुने गर्दथे । देशभरिका विद्यालय, शैक्षिक संस्था र साहित्यिक संस्थाहरुमार्फत नेपाली भाषाको प्रवर्द्धन गर्ने योजनाहरु बनाइन्थ्यो । त्यस्ता काम गर्नेहरुलाई पुरस्कृत गर्ने चलन पनि थियो । त्यसबेलाको सरकारको उद्देश्य भानुभक्तको नाममा कुनै न कुनै रुपमा नेपाली भाषाको प्रवर्द्धन गर्ने नै थियो ।

गणतन्त्र कालमा सरकारले यस्ता काम प्रत्यक्ष गर्न छाडेको छ । प्रज्ञा प्रतिष्ठानले पनि भानुभक्तको नाममा हुने पुराना खर्चहरु घटाएको दाबी गरेको छ । यद्यपि वर्षौंदेखि सरकारले पालनपोषण गरेका पुराना रीतिथितिहरु निजी क्षेत्रले लिएपछि भानुभक्तका नाममा व्यवशाय गर्ने एवंं शक्ति केन्द्रमा पुग्ने सिँढीमा परिणत भएको छ ।

भानुभक्तका नाममा गठन भएका संस्थाहरुमा विदेशमा रहेका नेपालीभाषीको आकर्षण त छ नै, त्यसमाथि सरकारले पनि त्यस्ता संस्थाहरुलाई विभिन्न नाममा सहयोग गर्ने भएकाले यस्ता संस्था खोल्ने र आफूलाई भानुभक्तको आधिकारिक संस्था दावी गर्ने चलन बढेर गएको छ ।

भानुभक्तको जन्मघर

यीमध्ये साहित्यिक पर्यटन प्रवर्द्धन गर्न सरकारकै संरक्षणमा खोलिएको भानु जन्मस्थल संरक्षण समिति र भानु प्रतिष्ठान मुख्य छन् । भानु जन्मस्थल संरक्षण समितिले निजी क्षेत्रसँग सहकार्य गरेर भानुभक्तको जन्मघर, भानुभक्तकालीन समाजको अभिलेख र रामायणकालीन सामग्रीको निर्माणमा ध्यान दिइरहेको छ । यहाँ साहित्यिक पर्यटन प्रवर्द्धन गर्न होटल, पर्यटकीय स्थलको निर्माण गर्ने गुरु योजना बनेको छ । ठूलो योजना भएकाले यसको जस कसले लिने भन्ने कुरामा हानाथाप भइरहेको छ ।

यता भानु प्रतिष्ठानले भने विश्वभर छरिएर रहेका नेपालीलाई संस्थामा आवद्ध गर्ने, साहित्यिक भेटघाट गर्ने र नेपालीभाषालाई विश्वव्यापीकरण गर्ने उद्देश्य लिएको बताउने गरेको छ । भानुभक्तका परिवारहरुका सदस्यहरुसमेत जोडिएका कारण यो संस्थाको आकर्षण विश्वभरिका नेपालीहरुको छ ।

संस्थाको उद्देश्य राम्रो भए पनि यो विवादमुक्त छैन । भानुभक्त जस्ता उच्च छविका नाममा संस्थाभित्र ठूलो भष्ट्राचार हुने गरेको आरोप त्यहीँभित्रका सदस्यले लगाउने गरेका छन् ।

‘स्पष्ट रुपमा भन्दा भानुभक्त र उनका परिवारको नाम जोडेर भानु प्रतिष्ठान केही मानिसहरुको कमाइ खाने र राजनीति गर्ने ठाउँ भएको हामीले महसुस गरेका छौं,’ भानुभक्तकै पनाति खलकका एकजना सदस्य भन्छन्, ‘भानुभक्तका नाममा संसार घुम्ने मानिसहरु पनि यही संस्थामा छन् र नेपाली कांग्रेसको संघटन गर्नेहरु पनि यहीँ छन् । विशुद्ध साहित्यको संस्थाभित्र यी दुवै कुराले जरो गाड्दै गइरहेको छ ।’

देशबाहिर झन् ठूलो राजनीति

झट्ट हेर्दा भानुभक्त नेपाली भाषाका एकजना पुराना कवि मात्र हुन् । तर, उनको नाममा देशभित्र र बाहिर कति ठूलो राजनीति अडेको छ भन्ने कुरा यादव खरेलले भोगेको एउटा उदाहरणबाट प्रष्ट हुन्छ ।

यादव खरेल

०५४ सालमा खरेल भानुभक्तसम्बन्धी अनुसन्धान गर्न सिक्किम हुँदै दार्जीलिङ पुगेका थिए । नेपाली भाषामा भानुभक्त चलचित्र बन्ने भएपछि सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङले ‘राम्रै बजेट’ निकाशा गरिदिने योजना सुनाए । सिक्किमले यसरी खर्च गर्ने भएपछि दार्जीलिङ पनि के कम, दार्जीलिङका तत्कालीन प्रभावशाली नेता सुवास घिसिङले दार्जीलिङ जिल्लाको केही बजेटमात्रै होइन, आफ्ना तर्फबाट केही जनशक्ति पनि खटाएर शुटिङका लागि सजिलो बनाइदिने निष्कर्ष सुनाए ।

तर, कुरा अड्कियो, भाषालाई के भन्ने सवालमा । दार्जीलिङ र सिक्किममा नेपाली भाषालाई नेपाली नभनेर गोर्खा भाषा भनिनुपर्छ भन्ने अडान लिइयो । नेपालबाट चलचित्र बन्ने भएकाले गोर्खा भाषा राख्न यसको निर्माता भानुभक्त जन्मस्थल विकास समिति तयार भएन । उता नेपाली भाषा राख्दा आफ्नो राजनीतिक करियर नै सकिने डर सिक्किम र दार्जीलिङका नेताहरुलाई थियो ।

अन्ततः अवस्था कस्तोसम्म आयो भने नेपाली भाषा राखिने अवस्थामा भानुभक्त चलचित्र शुटिङ हुँदा त्यसको शान्ति सुरक्षाको जिम्मा लिन नसकिने कुरा दार्जीलिङका नेताहरुले बताए । यसको अर्थ थियो, शुटिङ हुँदा केही तलमाथि पनि हुन सक्छ ।

यसले गर्दा भारतका आसाम, दार्जीलिङ, सिक्किम हुँदै पूर्वोत्तर भारतमा भानुभक्तका केही दृश्य समेट्ने योजना स्थगन नै गर्नुपर्ने भयो । आम दर्शकले ती क्षेत्रका नेपालीभाषी समुदायको झलक देख्न पाएनन् ।

‘यही अवस्था बर्मामा पनि भयो,’ खरेल सम्झन्छन्, ‘नेपाली दूतावासको सहयोगमा बर्माका गाउँगाउँ गएर स्क्रिप्टमा राख्न सकिने कुराहरु खोजियो । तर, त्यहाँको त्यहाँको सरकारले नेपाली भाषाको प्रवर्द्धन हुने किसिमका चलचित्र बनाउने कुरामा सहयोग गरेन । भानुभक्त कसरी अन्तर्राष्ट्रिय राजनीतिका सिकार भए, यो एउटा सानो उदाहरण हो ।

राजनीति आफ्नो ठाउँमा छ । तर, विश्वभर छरिएर रहेका नेपालीहरु भानुभक्तकै नाममा गोलवद्ध हुँदै गरेको भने सत्य हो । किनभने आज पूर्वोत्तर भारत, बर्मा, थाइल्याण्ड हुँदै विश्वभर छरिएर रहेका नेपालीहरु आज कुनै न कुनैरुपमा भानुभक्तको जन्म दिवस मनाइरहेका छन् । अझ दार्जीलिङ र सिक्किममा त आज सार्वजनिक विदासमेत छ ।

त्यसबाहेक विश्वका १०५ देशमा छरिएर रहेका नेपालीहरुले पनि विभिन्न किसिमका साहित्यिक कार्यक्रम पनि गरिरहेका छन् ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *